तपाईंका घरमा हाम्रा डाक्टर



 

१. केटाकेटीलाई हुने बाथ मुटुको रोगले भविष्यमा धेरै ठूलो क्षति गर्ने रहेछ । यसबाट बालबालिकालाई बचाउने उपयुक्त उपाय बताइदिनुभए आभारी हुने थिएँ ।

– सोमराज लुइँटेल, ठिमी, भक्तपुर ।

सोमराजजी, यहाँले भनेजस्तै अझै पनि अविकसित राष्ट्रहरुमा बाथ मुटुको रोग विकराल समस्याको रुपमा रहेको छ । धेरै युवाहरुलाई अपांग बनाउने मात्र होइन, रोगी तथा मृत्युको कारण पनि बनेको छ बाथ मोटुरोग । बच्चाको घाँटी दुखेर टन्सिल हुने तर सही उपचार नहुने वा उपचार नै नभएको अवस्था भएमा टन्सिल त्यसै हराएर जान पनि सक्छ । तर भित्रभित्रै त्यसको प्रतिक्रियास्वरूप शरीरको आत्मशक्तिमा परिवर्तन हुन्छ अनि पटक–पटक टन्सिल दोहोरिने हुन्छ । त्यसपछि अरु विकसित रुप लिई मुटुका भल्भहरुको घात–प्रतिघातस्वरूप बाथ मुटुरोग नै भएर जान्छ । यसमा मुटुका भल्भहरु नै घाइते भएर जान्छन् । भल्भले गर्ने काममा अवरोध वा कमी–कमजोरी हुन्छ । मुटु फेल भएर मृत्युसम्म हुने सम्भावना पनि रहन्छ । यसबाट बालबालिकालाई बचाउने भनेकै उनीहरुको खानपान, स्वास्थ्य र सरसफाइमा ख्याल गर्ने अनि घाँटी दुखेमा वा टन्सिल भएमा स्वास्थ्य संस्था वा चिकित्सककोमा गएर उपचार गराउने हो । घाँटी दुख्ने अनि टन्सिल हुने अवस्था नै आउन नदिने, यदि त्यस्तो भइहालेमा उपचार गरी ठीक पार्ने गर्नु जरुरी छ । यदि बाथरोग भैहाल्यो तर मुटु छोइसकेको छैन भने पनि त्यसको प्रतिरोधस्वरूप औषधि प्रयोग गरेर सुरक्षा प्रदान गर्न सकिन्छ । साधारण अवस्थामै ख्याल गरेमा वा बुद्धि पु¥याएमा जटिल अवस्था आउँदैन ।
२. स्तन क्यान्सरबाट बच्न सकिन्छ भन्ने मैले सुन्ने गरेकी छु तर कसरी भन्ने बारेमा बुझेकी छैन । केही प्रस्ट पारिदिनुहुन्छ कि ?

– शर्मिला नकर्मी, ताहाचल, काठमाडौं ।

शर्मिला नकर्मीजी, तपाईंले सुनेको एकदमै सही हो । आफ्नो स्वास्थ्यको ख्याल नगर्दा एकैपटक अन्तिम स्टेजमा मात्रै क्यान्सर निदान हुने अनि खर्च, पारिवारिक तनाव, पीडा बढ्ने हुन्छ । कहिलेकाहीँ त बिरामी गुमाउनुपर्ने समेत हुन सक्छ । स्तन क्यान्सरबाट बच्नको लागि त्यति ठूलो तपस्या वा महाभारत केही गर्नुपर्दैन । खाली जीवनशैली परिवर्तन गर्नको लागि साधारण सात्विक भोजन गर्ने, नियमित व्यायाम गर्ने, धूमपान–मद्यपान नगर्ने, समयमा वैवाहिक सम्बन्ध गाँस्ने, समयमै बच्चा जन्माउने, नियमित स्तनको स्वपरीक्षण गर्ने गरेमा भैहाल्छ । यदि स्तनमा सानो नै भए पनि गाँठागुठी भएको शंका लागेमा वा देखिएमा तुरुन्तै चिकित्सक भेटेर परामर्श गरिहाल्नुपर्छ । शुरुमै यसो गर्दा स्तन क्यान्सर नै रोकथाम हुन्छ अथवा क्यान्सर भई नै सकेको रहेछ भने पनि बेलैमा निदान अनि उपचार हुन्छ । त्यसले गर्दा हैरानी वा नोक्सानीबाट बच्न सकिन्छ ।

३. क्षयरोगीको सामुन्ने पुग्नेबित्तिकै रोग सर्ने हो कि धेरैबेर सँगै बस्दा सर्ने हो ? घरमा क्षयरोगी छन् भने रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?

– खड्ग बमजन, मकवानपुर ।

खड्गजी, क्षयरोग एउटा सरुवा रोग हो । यो रोग बिरामीले खोक्दा, हाच्छिउँ गर्दा सर्ने सम्भावना हुन्छ । आँखाले नदेखिने खकारका कणहरु बिरामीले खोक्दा वा छिउँ गर्दा अर्को मान्छेले लिने श्वासमा परेमा यो रोग सर्ने हुन्छ । त्यसैले बन्द कोठामा धेरैबेर बिरामीसँगै बस्नेलाई यो सर्ने सम्भावना बढी हुन्छ । त्यस्तै बिरामीले मास्क नलगाई वा हातले नछेकी खोक्ने, हाच्छिउँ गर्ने गरेमा अरुलाई सर्ने मार्गप्रशस्त हुन्छ । बिरामीबाट क्षयरोगका कीटाणु वातावरणमा पनि फैलिन सक्ने हुन्छ । यदि सधैँ बिरामीसँगै वा धेरै नजिक भैरहने व्यक्तिलाई यो रोग सर्ने अझ बढी डर हुने नै भयो । यदि घरमा क्षयरोगी भएमा उसले सकेसम्म बढी समय मास्कमा रहने, खोक्दा वा छिक्दा मुख छोप्ने गर्नुपर्छ । सम्भव भएसम्म क्षयरोगीका लागि छुट्टै कोठाको व्यवस्था गर्ने, क्षयरोगीसँग लसपस हुँदा राम्रोसँग साबुन–पानीले हात धोएर मात्रै खाना खाने, सम्भव भएमा सबैले मास्क प्रयोग गर्ने गर्नु नै बचावटको उपाय हो । आजकल नयाँ औषधिको प्रयोगले एक महिनामै यो रोग नसर्ने हुन्छ । तसर्थ सतर्क हुनु त प-यो तर धेरै लामो समय त्यस्तो परहेज गरिरहनुपर्दैन ।
४. मेरी १४ वर्षकी छोरीको अझै महिनावारी नहुँदा घरमा चिन्ता शुरु भएको छ । यो सामान्य कुरा हो कि उपचार नै गर्नुपर्ला ? सुझावका लागि आग्रह गर्दछु ।

– लीला, धुलिखेल ।

लीलाजी, पहिलो महिनावारी १२ वर्षदेखि १८–२० वर्षसम्म हुन सक्छ । पहाडी जिल्लामा अलि ढिलो हुन्छ भने तराई वा उपत्यकामा अलि चाँडो हुन सक्छ । धुलिखेल पनि पहाड नै भएकोले अहिले नै किन भएन वा ढिलो भयो भनेर आत्तिनुपर्ने देखिँदैन । किनकि साधारणतया महिनावारी हुन सक्ने समय अझै धेरै छ । अन्य लैंगिक चरित्रहरू जस्तै– शारीरिक विकास, स्तनको विकास, यौनांगमा परिवर्तन तथा रौँ उम्रनु, स्वरमा परिवर्तन आदि कुरामा पनि विचार गर्नुपर्ने हुन्छ । यी कुराहरु परिवार सबैमा शेयर गर्ने नभएर आमाले बुझ्ने अनि जाँच्ने वा परामर्श गर्नुपर्ने हुन्छ । यदि सबै कुरा अध्ययन गर्न सामाजिक रुपमा गाह्रो भएमा चिकित्सकीय सल्लाह लिनु पनि राम्रो हुन्छ । तर अहिले तुरुन्तै उपचारको रुपमै लिन नापर्ला कि !

५. मेरो पैतालामा कुनै बेला काँडा बिझेको थियो । त्यतिखेर निकाल्न सकिएन । अहिले त्यही ठाउँमा खिल पल्टिएर मासु बढेकाले हिँड्न कठिन भएको छ । यसको सही उपचार कहाँ र कसरी गर्न सकिएला ?

– राजुराज दाहाल, त्रिशूली, नुवाकोट ।

राजुराजजी, यदि त्यसरी काँडा गढेर खिल पल्ट्यो तथा मासु पलाएर वा बढेर डल्लो बढ्यो भने त्यो दुख्ने नै भयो । त्यसले हैरानी नै गराउँछ । यसको उपचार भनेको शल्यक्रिया गरेर त्यो काँडासहितको डल्लो निकाल्नुपर्ने हुन्छ । त्यसपछि ड्रेसिङ गरेर घाउ पुरिने गरी ठीक पार्नुपर्ने हुन्छ । यसको लागि केही मेहनत, नियमित घाउको स्याहार, छिटो पुरिने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । यो सबै गर्नका लागि राम्रो स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ । त्यसैले वीर अस्पताल वा शिक्षण अस्पताल गएर सर्जरी विभागमा देखाई सेवा लिन सकिन्छ । छाला रोग विभागमा पनि सेवा मिल्न सक्ने हुन्छ । अब उपचारको लागि नुवाकोटमा बसेर भएन, छिटो नजिकको स्वास्थ्य संस्था वा माथि भनिएका अस्पतालमा आएर परामर्श एवं उपचार गराउनुहोस् ।
६. मेरी ११ वर्षीया छोरीको ओठ जन्मजात खुँडे छ । आर्थिक हिसाबले उनको उपचार गर्न कठिन छ । कहीँ निःशुल्क उपचार हुने व्यवस्था छ कि ? सुझावका लागि आग्रह गर्दछु ।

– मीनकुमार विक, उदयपुर ।

मीनकुमारजी, ओठ तथा तालु खुँड़े भएकाहरुको बेलैमा अर्थात् ५–७ वर्षको उमेरमै उपचार गरेर निको भएका धेरै घटना छन् । तपाईंकी छोरीको खुँडे ओठको उपचार गर्न अलि ढिलो भयो । तैपनि धेरै ढिलो भने भएको छैन । ‘फेक्ट’ भन्ने गैरसरकारी संस्थाको सहयोगमा मोडेल अस्पतालको कीर्तिपुर शाखामा यसको निःशुल्क उपचार गरिन्छ । त्यसैले अब ढिलो नगरी काठमाडौंमा ल्याएर आवश्यक परामर्श अनि उपचार गर्नुहोला ।
७. म २२ वर्षको भएँ । सानैदेखि चुरोट खाने लत बसेको छ । यो लत छुटाउन चाहन्छु । यसको लागि उपयुक्त सुझावको प्रतीक्षामा छु ।

– सुरज, धनकुटा ।

सुरजजी, सानो उमेरदेखि चुरोट खाने लत बसेको भन्नुभयो । त्यो राम्रो पक्ष किञ्चित होइन । तर तपाईंले यो लत छुटाउन चाहन्छु भन्नु एकदमै राम्रो पक्ष हो, सकारात्मक हो । छोड्न चाहन्छु भन्नु नै आधाजस्तो छोड्नु हो । जसको भित्र मनैदेखि चुरोट छोड्ने धारणा विकास हुन्छ उनीहरु छोड्न सफल हुन्छन् । त्यसैले प्राकृतिक रुपमा अलि–अलि गरेर छोड्ने योजना बनाई तयारीमा लाग्नुभएमा त्यति गाह्रो होलाजस्तो लाग्दैन । यदि दिनमा १० खिल्ली चुरोट लिने गरेको भए आजैदेखि ८ वटामा झार्नुस् । ३–४ दिनपछि फेरि ६ वटामा झार्नुस् । अर्को ३–४ दिनपछि ४ वटामा झार्ने कोशिश गर्नुस् । यसै गरी अन्त्यमा एकवटामा झारेर ४–५ दिनपछि त्यो पनि छोड्नुस् । चुरोट सम्झिएर तलतल लागेमा ल्वाङ, केही दिन सुकुमेल लिने गर्नुस् । यो त दैनिक १० वटा चुरोट लिनेको लागि भयो । त्यो संख्या यदि अर्कै भएमा त्यही अनुपातमा अलि–अलि गर्दै घटाएर छोड्नु सबभन्दा राम्रो प्राकृतिक बाटो हो । यसमा महत्वपूर्ण कुरा भित्री आत्मबल तथा तत्परता नै हो । आफैँले छोड्नुपर्ने भनेर मनैदेखि विश्वस्त भएमा यो छोड्न धेरै गाह्रो नहोला । यदि यो सहज उपायले पार नलागेमा चिकित्सकको सहयोग लिने, नक्कली चुरोटको वा वैकल्पिक सुर्तीको उपयोगसहित प्रतिस्थापन गरेर चुरोट छुटाउन सकिन्छ । यसको लागि नजिकैको अस्पतालमा गएर फिजिसियनसँग परामर्श गर्न सकिन्छ ।
८. मलाई बिहान उठ्दा एकदमै दिक्क लाग्छ । निरास हुन्छु, केही गर्न मन लाग्दैन । यस्तो भएको दुई महिनाजति भयो । यो रोग नै हो भने कसरी उपचार गर्ने ? सुझावको अपेक्षा गर्दछु ।

– शेषकान्त शर्मा, गोंगबु, काठमाडौं ।

शर्माजी, यो मानसिक अवस्था हो । डिप्रेसनतिर जान लागेको अवस्था वा लक्षण हो । यसको धेरैजसो कारण आफ्नो पृष्ठभूमि वा घटनासँग सम्बन्धित हुन सक्छ, जसले गर्दा त्यस्तो भावना आउन थाल्यो । मान्छेलाई आफूले सामना गर्नुपरेको समस्या वा परिवेशको निकास देखा परेन, नकारात्मकता मात्रै अनुभूति भयो भने यस्तो भावना विकास हुन सक्छ । तपाईंलाई यो समस्या देखा परेको धेरै भएको रहेनछ, शुरुकै अवस्था रहेछ । त्यसैले सक्नुहुन्छ भने जुन समस्या महसुस गर्नुभएको छ, त्यसको बारेमा मनन गरी किन यस्तो भयो, मेरो यसमा कत्तिको भूमिका छ, यसको प्रभावबाट बच्न के–के गर्न सकिन्छ भन्ने कुरा विश्लेषण गर्नुस् । त्यो परिवेशबाट टाढा हुन सकिन्छ भने टाढा हुने कोशिश गर्नुहोस् । अथवा त्यसलाई स्वीकार गर्ने, सकारात्मक पाटोबाट सोच्ने, हिम्मत गर्ने, बिहान–बेलुका २०–३० मिनेटको दरले ध्यान गर्ने गर्नुस् । यसो गरेमा प्राकृतिक रुपमा सुधार हुन सक्छ । पूरै निको पनि हुन सक्छ । यदि आफैँले ठीक पार्न सकिएन वा सक्छु भन्ने भावना विकास गर्न सकिएन भने मनोचिकित्सक भेटेर परामर्श लिई उपचार गराउनुहोला ।

प्रतिक्रिया दिनुहोस्