रोगको प्रमुख कारण नै खाना



तपाईं–हामीले दैनिक भान्सामा बनाउने परिकार कतै शरीरका लागि विष त बन्दै छैनन् ? हामीले चट्ट मीठो मानी टक्क जिब्रो पड्काउँदै खाएका खानेकुरा नै हाम्रो शरीरका लागि विषादी पनि बन्न सक्छ भन्ने कुरा अमेरिकाको हार्डबर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता प्रो. डना स्पिगेलम्यान र काठमाडौं विश्वविद्यालयकी अनुसन्धानकर्ता डा. अर्चना श्रेष्ठले गरेको अनुसन्धानले समेत पुष्टि गरेको छ । उहाँहरुको समूहले वर्षौं लगाएर गरेको अनुसन्धान र व्यावहारिक रुपमा परिवर्तनका लागि थालनी गरेका योजनाहरु नेपाल मात्र नभई विश्वका १४ वटा मुलुक साक्षी छन् ।

पछिल्लो समय मानवशरीरमा देखा परेका सर्नेभन्दा नसर्ने रोगको मूल माध्यम खानपान नै भएको विभिन्न समयमा गरिएका अन्य अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ । गुणस्तरीय खानाको सही रुपमा प्रयोग नहुनु नै रोगको मूल कारण भएको डा. अर्चना र प्रो. डनाको भनाइ छ ।

नेपाली खानाको विषयमै पीएचडी गर्नुभएकी डा. अर्चना श्रेष्ठ भन्नुहुन्छ– ‘विश्वव्यापीरुपमा रोगको प्रमुख माध्यम खानासँग नै सम्बन्धित छ ।’ डा. अर्चनाले काठमाडौं विश्वविद्यालय, शिक्षण अस्पताल धुलिखेलमा सन् २०१३ मा धुलिखेलका एक तिहाइ घर छनोट गरी १ हजार ७२ जनामा नेपाली खानाको विषयमा अनुसन्धान गर्नुभएको थियो । अनुसन्धानका क्रममा समेटिएका व्यक्तिहरुले नियमित सेतो चामलको भात र रातो मासु बढी खाने गरेको पाइयो । ती व्यक्तिहरुमा मधुमेह, उच्च रक्तचाप र मोटोपनका कारण स्वास्थ्य समस्या बढी भएको देखा प¥यो । यो जनस्वास्थ्यका लागि निकै नराम्रो तथा दीर्घकालीन जटिल समस्या बन्ने ठहर गर्दै डा. श्रेष्ठ थप अध्ययन–अनुसन्धान गर्ने निर्णयमा पुग्नुभयो ।

उहाँले नेपालमा बढ्दोरुपमा देखा परेको स्वास्थ्य समस्याको मूल माध्यम दैनिक खानेकुरा भएको पहिचान गरी अमेरिकास्थित हार्डबर्ड विश्वविद्यालयमा गएर थप अनुसन्धान गर्ने निर्णय गर्नुभयो । उहाँको यो निर्णयलाई हार्डबर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले अहिलेसम्म नै साथ दिँदै आएको छ ।

अस्पतालको चमेना गृह त यस्तो पो !

डा. अर्चना

अनुसन्धानमा समेटिएका व्यक्तिहरुले सेतो चामलको भात र रातो मासु बढी खाने गरेको पाइयो । उनीहरुमा मधुमेह, उच्च रक्तचाप र मोटोपनका कारण स्वास्थ्य समस्या बढी भएको देखा पर्यो ।

डा. श्रेष्ठले आफ्नै कार्यथलो धुलिखेल अस्पतालको चमेना गृहमा बनाइने खानेकुरालाई गुणस्तरीय बनाएर आफ्नो अनुसन्धानको पाटोलाई सकारात्मकरुपमा प्रयोगमा ल्याउने निधो गर्नुभयो । यो निर्णयको धुलिखेल अस्पतालका साथै हार्डबर्ड विश्वविद्यालयको समूहले स्वागत गर्दै सघाउने निर्णय गर्यो । सन् २०१७ को डिसेम्बर ३ देखि धुलिखेल अस्पतालको चमेना गृहमा सेतो चामलको भात, मैदाबाट बन्ने परिकार र चिसो पेयपदार्थ कोक, फ्यान्टाजस्ता खानेकुरा पाइन्न । यहाँ पेयपदार्थको सट्टा परिवर्तित र स्वस्थ खानेकुरा पाइन्छ । चिकित्सक, कर्मचारी मात्र नभई दैनिक अस्पतालमा उपचार गराइरहेका बिरामीले समेत सोही चमेना गृहमा बनाएका खानेकुरा खाने गर्छन् ।

सधैँजसो सेतो चामल सेवन गर्दा मधुमेहको सम्भावना अधिक हुन्छ । धेरै मात्रामा गेडागुडी पनि खानुहुन्न । गेडागुडीको मात्रा धेरै हुँदा कार्डियो भास्कुलर डिजिज, क्यान्सरजस्ता समस्यामा वृद्धि हुन्छ । त्यस्तै रातोमासु बढी खानाले हृदय रोग, क्यान्सर, मधुमेहजस्ता रोग निम्तिन्छ । मैदाबाट बनेका परिकार र बढी चिल्लोयुक्त परिकारले पनि स्वास्थ्य समस्या निम्त्याउने हुन्छ । त्यसैले हामी औषधिरुपी खाना खाँदै छौं कि विषरुपी खाना खाँदै छौं भन्ने कुरा हेक्का राख्नुपर्छ ।

खैरो चामल स्वास्थ्यका लागि अत्यन्तै लाभदायी हुन्छ । फलेर सेतो बनाएको चामल आँखाले हेर्न मात्र राम्रो हुने तर स्वास्थ्यका लागि हितकारी नहुने डा. अर्चना बताउनुहुन्छ । उहाँका अनुसार सेतो चामलमा विशेष गरी गुलियो चिनीको मात्रा बढी हुने हुनाले मधुमेह, उच्च रक्तचाप, मोटोपना, मुटुको रोग, क्यान्सरजस्ता रोगको चाप दिन–प्रतिदिन बढ्दो मात्रामा देखिएको छ । यसका साथै हामीले मीठो मानेर खाने गरेका मम, समसा, चाउमिन, निम्की, बिष्कुट, कुकिजलगायतका खानेकुरा मैदाबाट बन्ने हुँदा उल्लिखित रोगको मूल माध्यम यिनै खानेकुरा बन्दै आएका छन् । धुलिखेल अस्पतालको चमेना गृहमा यस्ता कुरालाई ख्याल गरी खाद्यपरिकार
बनाइने गरेको छ ।

यति बेला धुलिखेल अस्पतालको चमेना गृहमा स्वास्थ्यप्रद खानेकुरा मात्र पाइन्छ । यहाँ कोक, फ्यान्टा पाइँदैन । मैदाविनाको केक, पाउरोटी, बम पाइन्छ । यहाँ आटाबाट बनेका खैरो परिकार मात्र पाइन्छ । यी खानाले शरीरको तौल कम गर्नुका साथै निरोगी बनाउँछ ।

अब समसा, निम्की नै नखाने त ?

समसा, मम, निम्की, चाउमिन, बिस्कुटजस्ता खाद्यपरिकार नखानु नै भन्ने छैन । यी सबै परिकार जौ–गहुँको पीठोबाट बनाएर खान सकिन्छ । जौको दानामा हुने भित्री बोक्रा नफली त्योसहित पिँधेको पीठोबाट यस्ता सबै परिकार बनाउन सकिन्छ । केक, पाउरोटी, बम, दुनोटलगायतका खानेकुरा अहिलेसम्म मैदाको पीठोबाट नै बनाउने गरेको पाइन्छ । मैदामा चिनीको मात्रा बढी हुने हुनाले शरीरमा एकैपटक आवश्यकताभन्दा बढी मात्रामा चिनी प्रवेश गर्दा मधुमेह, उच्च रक्तचाप, मोटोपना, क्यान्सरजन्य रोगले ठाउँ लिन थाल्छ ।

यिनै खानेकुराका कारण पछिल्लो समय के बच्चा, के युवा, के वयष्क सबै उमेर समूहमा उच्च रक्तचाप, मधुमेह, मोटोपन, हृदयरोग र क्यान्सर व्याप्त भएको डा. अर्चनाको भनाइ छ । यसलाई सुधार्न हरेक घरका भान्सामा पाक्ने खानेकुरा स्वस्थ हुनुका साथै कार्यस्थलका चमेना गृहदेखि, होटल, रेस्टुरेन्टले पनि खानाका परिकारमा प्रयोग गर्दै आएको चामल र पीठोमा परिवर्तन गरी नागरिकको स्वास्थ्यमा ध्यान दिन डा. श्रेष्ठले अभियान नै थालनी गरिसक्नुभएको छ ।

बढी मात्रामा जनघनत्व रहेका शहर, अफिस, खाद्यान्नमा प्रयोग हुने कच्चा पदार्थ उत्पादन गर्ने कल–कारखाना, साना–ठूला उद्योगसमेतमा जनचेतनाका लागि आफ्नो टोलीले भिजिट गरी स्वस्थ उत्पादनका लागि प्रस्ताव अघि सार्ने अभियान नै अघि सार्ने कार्यक्रम रहेको डा. श्रेष्ठ बताउनुहुन्छ ।

सर्नेभन्दा नसर्ने रोगको मूल स्रोत भनेकै खानपान भएकाले यसको न्यूनीकरणका लागि आफू र आफ्नो समूह सक्रियताका साथ लागिपर्ने डा. श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘शुरुका दिनमा खैरो चामल एवम् खैरो पाउरोटी धुलिखेलका बजारमा पाइँदैनथ्यो । हामीले मिलमै गएर अस्पतालका लागि खैरो चामल उपलब्ध गराइदिन अनुरोध गर्यौँ । त्यसै गरी पाउरोटी कारखानामा गएर सञ्चालकहरुसँग अस्पतालका लागि आटाको पीठोबाट खैरो पाउरोटी बनाइदिन आग्रह गर्यौँ ।’

उहाँका अनुसार अहिले अस्पतालमा मात्र हैन, बजारमा पनि खैरो चामल र आटाको पाउरोटी सर्वसाधारणले प्रयोग गर्न थालेका छन् । स्वास्थ्यप्रति सचेत व्यक्तिले स्वादमा हैन, स्वास्थ्यमा ध्यान दिन्छन् । खानेकुरा नै रोग हो, तर यसलाई मिलाएर खान सके यो औषधि पनि हो ।

खाना कस्तो खानुपर्छ ?

पहिलो छनोट अर्गानिक खानेकुरामा हुनुपर्छ । एकपटकमा एक अँजुलीभन्दा बढी खाना खानु नहुने डा. अर्चनाको भनाइ छ । हामीले पछिल्लो समय पौष्टिक तत्व फालेका खानेकुरामा जोड दिएकै कारण बढी रोगी भएका हौं । पहिला–पहिला बोक्रासहितको अर्गानिक र शुद्ध पीठोको प्रयोग हुन्थ्यो । उत्पादनका लागि शारीरिक परिश्रम पनि त्यत्तिकै हुन्थ्यो । अहिले देख्दा राम्रो र जिब्रोको स्वादका लागि मात्र खाना खाने र बढी विलासिताको जीवन बिताउँदा शरीर दिन–प्रतिदिन कमजोर र रोगी बन्दै गएको डा. अर्चना बताउनुहुन्छ ।

उहाँका अनुसार स्वस्थताका लागि खानामा ध्यान पर्याउनै पर्छ । खाना खाँदा थालमा तीन भागको एक भाग हरियो तरकारी सागसब्जी हुनुपर्छ । अन्नमा भात, ढिँडो, रोटी, चिउरा जे भए पनि एक चौथाइ मात्र हुनु उत्तम हुन्छ । दाल, गेडागुडी, अण्डा, मासुमध्ये जुन हुन्छ त्यो एक चौथाइ लिनुपर्छ । त्यसै गरी फलफूल, सलाद आधा चौथाइ लिनुपर्छ । यस किसिमको खानेकुराले शरीरलाई निरोगी र स्वस्थ बनाउन सकिने अनुसन्धानले देखाइसकेको छ । यसका साथै नूनको मात्रा दिनमा एक चम्चा अर्थात् ५ ग्राम मात्र मानवशरीरका लागि आवश्यक पर्ने डा. अर्चनाको कथन छ । बढी गुलियो, अनि कोक, फ्यान्टाजस्ता पेयपदार्थ खानै हुँदैन । यसले शरीरलाई थप रोग निम्त्याउने उहाँ बताउनुहुन्छ ।

डा. अर्चना भन्नुहुन्छ– ‘रातो मासु मनपर्छ भनेर धेरै खानुहुन्न । मासु खाँदा सकेसम्म कुखुरा र माछा खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ । मममा पनि बोसो नभएको मासु राख्ने, भेजिटेबलमा आलुभन्दा बन्दाकोपीको मात्रा बढी राख्ने, समसामा पनि आलुको सट्टा काउली, भ्यान्टा र बन्दा राख्ने गर्नुपर्छ । समसा तेलमा बढी खार्नुभन्दा मम बनाएजस्तै गरी उमालेर खाएमा स्वास्थ्यलाई फाइदा हुन्छ ।’

नेपालीहरु खानामा सचेत हुँदै छन्

धुलिखेल अस्पतालको चमेनागृहमा यो अभियान झन्डै एक वर्षअघिदेखि शुरु गरिएको हो । हुलास वायर इन्ड्रस्ट्रिज, प्रगति टेक्स्ट टायलमा पनि यो अभियान शुरु गर्न लागेको डा. अर्चनाको भनाइ छ । नेपाली नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै छन् भन्ने धरानको भाटभटिनी सुपर मार्केटमा खैरो पाउरोटी आउनासाथ सकिने र खैरो चामलको माग पनि बढ्दै जानुले देखाउँछ । डा. अर्चना भन्नुहुन्छ– ‘धुलिखेलको हिमालय बेकरीले अहिले खैरो पाउरोटी नै बढी उत्पादन गर्छ । कारखानामै आएर उपभोक्ताहरुले खरिद गर्छन् । यहाँको खैरो पाउरोटी बजारमा पनि पाइन्छ ।

खान परिवर्तन कसरी गर्ने ?

हामीले ६ महिनाको हुँदादेखि सेतो चामल, बढी चिनीको प्रयोग गर्दै आएका कारण थाहा पाएर पनि जिब्रोलाई नयाँ स्वादमा बानी पार्न ६ हप्ता लाग्छ । लगातार ६ हप्तासम्म फरक स्वादमा बानी पारेपछि मात्र नयाँ खानाको स्वाद जिब्रोले स्वीकार्ने भएका कारण शुरुमा मानिसलाई परिवर्तन गर्न समय लाग्छ ।

यो अभियान नेपाल भारत, चीन, अमेरिका, ब्राजिल, कोस्टारिका, केन्या, कुवेत, मलेसिया, मेक्सिको, नाइजेरिया, तान्जेनिया, इरान आदि १४ मुलुकमा हार्डबर्ड विश्वविद्यालयको अनुसन्धान समूहको निगरानीमा नै थालनी भैसकेको प्रो. डना बताउनुहुन्छ ।

प्रो. डना

नेपाल वातावरणीय दृष्टिकोणले अत्यन्तै राम्रो मुलुक हो । यहाँका मानिसले खानेकुरामा मात्रै ध्यान पर्याउने हो भने धेरै स्वस्थ रहन सक्छन् । 

प्रो. डना विगत ८ वर्षदेखि हार्डबर्ड विश्वविद्यालयमा रही स्वस्थ खाना खानका लागि मानिसलाई कसरी सम्झाउने भन्ने अभियानमा लाग्नुभएको छ । उहाँको समूह हरेक २ महिनामा एकपटक हरेक देशमा पुग्न नसके पनि भिडियो मिटिङ गरेर १४ वटै मुलुकका प्रतिनिधिहरुसँग छलफलमा जुट्ने गरेको छ । यो आलेख तयार गर्दासम्म उहाँ नेपालमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘मानिसलाई परिवर्तन गर्नु निकै ठूलो चुनौतीको विषय हो तर प्रयास गरे अवश्य सम्भव छ ।’

उहाँका अनुसार नेपाल वातावरणीय दृष्टिकोणले अत्यन्तै राम्रो मुलुक हो । यो मुलुकमा कहीँ पनि नपाउने सुन्दर हिमाल, पहाड, तराई, जडीबुटी र सधैँ हँसिला मान्छे छन् । यहाँका मानिसले खानेकुरामा मात्रै ध्यान पर्याउने हो भने धेरै स्वस्थ रहन सक्छन् । खाद्य विज्ञद्वय डा. अर्चना र प्रो. डनाको अनुभवले नेपालीहरुको खानपानमा परिवर्तन गर्नु जरुरी देखाउँछ । यसका लागि नेपालको स्वास्थ्य नीति मात्र नभई खाद्यपदार्थसम्बन्धी नीति–नियमको पालना भए/नभएको अनुगमन गरी कार्यान्वयनमा कडाइको खाँचो रहेको छ ।

खाना सन्तुलित भएमा औषधि, नत्र विष

सेतो चामल सधैँ प्रयोग गर्दा मधुमेह हुने सम्भावना धेरै हुन्छ । सेतो चामलको सट्टा नफलेको खैरो चामल ५० ग्राम प्रयोग गर्दा चिनीरोग लाग्ने सम्भावना १६ प्रतिशतले कमी आउँछ । त्यस्तै धेरै मात्रामा गेडागुडी पनि खानुहुन्न । गेडागुडीको मात्रा धेरै हुँदा कार्डियो भास्कुलर डिजिज, क्यान्सरजस्ता समस्यामा वृद्धि हुन्छ । त्यस्तै रातोमासु बढी खानाले हृदय रोग, क्यान्सर, मधुमेहजस्ता रोग निम्तिन्छ । त्यसैले हामी औषधिरुपी खाना खाँदै छौं कि विषरुपी खाना खाँदै छौं भन्ने कुरा हेक्का राख्नुपर्छ ।

पेयपदार्थका लागि शुद्ध पिउने पानी सबैभन्दा उत्तम हुन्छ । नूनले खानालाई मीठो त बनाउँछ तर नूनमा ४० प्रतिशत सोडियमको मात्रा हुन्छ । मानिसको शरीरमा सोडियमको मात्रा अत्यन्तै कम अर्थात् दैनिक २ प्रतिशत भए पुग्छ । सोडियमले मानिसको शरीरलाई सक्रिय बनाउने, नसाहरुलाई चलाउने, पानी र मिनरलको मात्रा मिलाउने काम गर्दछ । तर नूनको प्रयोग बढी मात्रामा भएको खण्डमा उच्च रक्तचाप, हृदयरोग निम्त्याउँछ ।

त्यसैले खाना खाँदा यस्ता कुरामा ख्याल गर्नु जरुरी हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्