त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज बिरामीको निकै चाप हुने अस्पताल हो । यो अस्पतालमा बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न विभिन्न विभागहरुको छुट्टै भवन बनाई उपचार सेवा दिइरहे पनि कहिलेकाहीँ आकस्मिक कक्षको एउटै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने बाध्यता अहिले पनि कायमै छ ।
भर्ना हुनुपर्ने बिरामीले तत्काल बेड नपाउने, अपरेसनहरुका लागि लामो समय पर्खिनुपर्ने स्थिति पनि छ । शिक्षण अस्पताल भएका कारण यहाँ जनशक्तिको अभाव खड्किँदैन । बिरामीको चापसँगै डाक्टरहरु र नर्सिङ स्टाफहरु पनि थपिइरहेका हुन्छन् । तुलनात्मकरुपमा यस अस्पतालमा काम गर्नेहरुको पारिश्रमिक पनि राम्रै छ ।३९ वर्षदेखि नर्सिङ पेसा सम्हाल्नुभएकी कविता देवकोटालाई त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जका चिकित्सक, नर्स, कर्मचारी, बिरामी मात्र नभई अस्पतालका हरेक कुना–कुनाको जानकारी छ ।देवकोटाले विगत २ वर्षदेखि त्रि.वि. शिक्षण अस्पतालमा नर्सिङ निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुरा कानीको सार:
नर्सिङ पेसामा कसरी र कहिले देखि आबद्ध हुनुभयो ?
म नर्सिङमा एस.एल.सी.पछि २०३५ सालबाट आबद्ध भएँ । २०३५ सालमा वीर अस्पतालको महाबौद्ध नर्सिङ क्याम्पस (हालको महाराजगन्ज नर्सिङ क्याम्पस) मा पढाइ शुरु गरेँ । इन्टर्नसिप वीर अस्पतालमा नै गरे ।यो क्याम्पस सन् १९७२ देखि त्रिभुवन विश्वविद्यालयमा समायोजन भयो र नर्सिङ पढाइको सम्पूर्ण पाठ्यपुस्तक त्रि.वि.कै स्वामित्वमा गयो । त्यति बेला ३ वर्ष अध्ययन गरेपछि काम गर्न योग्य हुन्थ्यौं । नर्सिङ काउन्सिल बनेको पनि थिएन ।
नर्स हुनका लागि लाइसेन्स चाहिँदैनथ्यो ?
प्रमाणपत्र नै लाइसेन्स हुन्थ्यो । दर्ता हुनुपर्ने नियम पछि मात्र बनेको हो । नियम बनेपछि मैले पनि नयाँ नियम अनुसार दर्ता गरेर ‘रजिस्टर नर्स’ का रुपमा काम गर्न थालेको हो ।
त्यस बेला नर्सिङ पेसालाई कसरी हेरिन्थ्यो ?
मैले काम शुरु गर्दाको समयमा नर्सिङ पेसालाई त्यति सम्मानजनकरुपमा हेरिँदैनथ्यो । मैले नर्सिङ पढ्दा पनि परिवारबाट समेत राम्रो सहयोग नहुने स्थिति थियो ।
परिवारले पनि नसघाएको अवस्थामा तपाईंलाई नर्सिङ पढ्न केले आकर्षण ग-यो त ?
मैले सानै बेलादेखि नर्स बन्छु भन्ने अठोट लिएकी थिएँ । म काठमाडौंमै जन्मिएर यहीँ हुर्किएँ । परिवार तथा आफन्तहरु बिरामी हुँदा वीर अस्पतालमा भेट्न जान्थेँ । जब नर्सहरुले सेतो कोट लगाएर बिरामीहरुको सेवामा जुटेको देखेँ, तब म पनि नर्सिङ पेसाप्रति आकर्षित भएँ । परिवारले नर्सिङ नपढ भने पनि मैल मानिन । परिवारको सपोर्टविनै नर्सिङ पेसामा आएँ र २०३८ सालदेखि हालसम्म नर्सिङ पेसालाई निरन्तरता दिँदै आएकी छु ।
अहिले नर्सिङ पेसाको अवस्था कस्तो छ ?
नर्सिङ अहिले अन्तर्राष्ट्रिय स्तरकै बेस्ट पेसा भएको छ । सन् २०१५ को महाभूकम्प र कोभिड–१९ को महामारीले नर्सहरुको महत्व र उनीहरुको कार्यलाई अझ उजागर गरेको छ । यी घटनाहरुले नर्सहरुलाई स्वास्थ्य क्षेत्रका फ्रन्ट लाइनर, हिरो अफ द एयर आदि रुपमा पनि परिचित गराएको छ । पुरानो पुस्ताले मात्र नभई वर्तमान नयाँ पुस्ताले समेत नर्सहरुले गर्न सक्ने योगदान र महत्वबारे बुझिसकेका छन् । यसले गर्दा नर्सहरुको इज्जत अझ बढेको छ ।
नर्सिङ पेसा कहाँबाट शुरु गर्नुभयो ?
अध्ययनको क्रममा प्रयोगात्मक अभ्यास गर्ने थलो वीर अस्पताल नै थियो । २०३८ देखि २०३९ सालसम्म त्रिपुरेश्वर आँखा अस्पतालमा काम गरेँ । २०४० सालदेखि हालसम्म अनवरतरुपमा त्रि.वि. शिक्षण अस्पतालमा सक्रिय रुपमा नर्सिङ पेसामा जुटेको छु ।
नर्सिङ पेसा सम्मानजनक र संघर्षपूर्ण छ । तपाईंको जीवनमा कस्तो रह्यो ?
पढाइ सक्नेबित्तिकै जागिर खाइयो । त्यसपछि विवाह भयो, बच्चा भए । घर, बच्चा, जागिरलाई सँगसँगै हिँडाउनुपर्दा निकै कठिन भएको थियो । परिपक्वता पनि आइनसकेको बेलामा यति धेरै जिम्मेवारी एकैपटक आउँदा धेरै नै गाह्रो भयो । त्यसमाथि पनि कहिले नाइट ड्युटी, कहिले डे ड्युटी गर्दा तालमेल मिलाउन धेरै गाह्रो भयो । त्यति बेला ६ नाइट, ७ नाइट प्रत्येक दिन १२ घण्टासम्म निरन्तर काम गर्नुपर्ने हुन्थ्यो । यो भनेको निकै लामो र कठिन ड्युटी हो । हप्ताभरि अस्पतालमा नाइट ड्युटी गरेर घरपरिवार, बच्चाको हेरविचार गर्नुपथ्र्यो । त्यति बेला अत्यधिक खटाइ र गाह्रो अवस्था थियो ।
विवाहपछिको अवस्थामा नर्सिङ काम गर्दा तपाईंले परिवारबाट कत्तिको सहयोग पाउनुहुन्थ्यो ?
ज्वाइन्ट फेमिलीमा बस्ने चलन भएकाले बच्चाहरुको स्याहारसुसार, हेरविचार राम्रै हुन्थ्यो । त्यसैले त १२ घण्टा काममा हुँदा पनि बच्चाको चिन्ताभन्दा बिरामीको सेवामा खट्न पाइन्थ्यो । यिनै संघर्ष र पारिवारिक सहयोगकै कारण आज यहाँसम्म पुग्ने सफलता मिलेको छ ।
नाइट ड्युटी गरिरहँदा बच्चाहरु र परिवारसँगको सामीप्यता कस्तो रहन्थ्यो ?
शुरु–शुरुका दिनमा साह्रै नरमाइलो लाग्थ्यो । परिवारका सबैजना खाना खाने, बच्चाहरुलाई खुवाउने र सुत्ने बेलामा आफू ड्युटीमा हिँड्नुपथ्र्यो । समयको पालना गर्नुपर्ने, परिवार छोड्नुपर्ने, रातभरि बिरामीको सेवा गर्नुपर्ने हुँदा शुरुमा नरमाइलो लागे पनि बानी पर्दै गएपछि मेरो काम नै यही हो भनेर काम गरियो । सजिलो र रमाइलो पनि लाग्दै गयो । रातभरि बिरामीको सेवा गरी बिरामीलाई बचाउन पाउँदा त्यही नै आफ्नो दायित्व हो भन्ने भयो ।
पहिला र अहिलेको नर्सिङ पेसामा के भिन्नता आएको छ ?
अहिलेको दाँजोमा नाइट ड्युटी गर्न पहिला गाह्रो थिएन । जनमानसमा आएको सचेतनाका कारण अब नर्सले ड्युटी मात्र गरेर पुग्दैन । पेसेन्ट पार्टीको हरेक प्रश्नअनुसारको उत्तर दिन सक्ने गरी तयारी अवस्थामा पनि बस्नुपर्ने हुन्छ । नर्सले एउटा प्रश्नको उत्तर दिँदा बिरामी र आफन्तले दुईवटा प्रश्न गर्नुहुन्छ । हातैमा संसार छ, यदि नर्सले उत्तर दिन सकेन भने यस्तो हो भनेर पेसेन्ट पार्टीले दबाब सृजना गर्छन् । त्यसैले पहिलाको दाँजोमा अहिले नर्सलाई काम गर्न धेरै चुनौती थपिएको छ ।
नर्सिङ पेसामा नयाँ आउने नर्सहरुलाई के भन्न चाहनुहुन्छ ?
अहिलेको समय पीसीएल फेजआउट भएको छ । जति पनि नयाँ आउनुहुन्छ, उहाँहरु बीएस्सी नर्सिङ गरेर, साइन्स पढेर आउनुभएको छ । हामीलाई भन्दा उहाँहरुलाई धेरै ज्ञान छ । ४ वर्ष नर्सिङ पढेर आएका व्यक्तिलाई आफ्नो स्ट्यान्डर मेन्टेन्ड गर्ने गरी ज्ञान र सीपलाई सँगसँगै लैजान सल्लाह दिन्छु ।
नयाँ युवा पुस्ताको नर्सिङ जनशक्ति कस्तो पाउनुभएको छ ?
अहिलेको युवा पुस्ताको उद्देश्य नै बीएस्सी नर्सिङ पढ्ने, एक–दुई वर्ष अनुभवका लागि नेपालमा काम गर्ने, त्यो अवधिमा विदेश जाने तयारी गर्ने र विदेशिने नै लक्ष्य देखिन्छ । त्रि.वि. शिक्षण अस्पतालमा २०७८ माघ महिनामा ५० जना नर्स लिएकोमा ३३ जनाले विदेश जानकै लागि राजीनामा दिइसके । अहिलेको पुस्ता आफ्नो भविष्य निर्माणका लागि सचेत देखिन्छन् । हामीले त्यसो गर्न जानेनौं ।
विदेश नै किन रोज्छन् ? यहाँ स्थिर हुन नसक्नुको पछाडि के कारण देख्नुहुन्छ ?
कोही मास्टर्स पढ्न जान्छन् भने कोही कामकै लागि जान्छन् । विशेष त क्यारियर डेभलप गर्न र परिवारका सदस्य विदेशमै भएकाले उतै सजिलो हुने भएर पनि विदेशिने बढी छन् । विवाह गरेर भविष्यको सुनिश्चितता देखेर नै विदेश पलायन हुने नर्सको संख्या नेपालमा बढ्दो छ ।
नेपालमा त्यस्तो अवसर नभएर हो कि ?
नेपालको त्रि.वि.मा स्थायी प्रक्रिया ढिलो छ । त्रि.वि.को नियम अनुसार सेवा आयोगले खुल्ला गरेपछि स्थायी प्रक्रिया शुरु हुन्छ । यो प्रक्रिया ढिलो हुने गरेकै कारण युवाशक्ति विदेशिने क्रम बढेको छ ।
कोभिडको समयमा स्वास्थ्य क्षेत्रमा पनि ठूलो समस्या आयो, अस्पतालको नर्सिङ व्यवस्थापन कसरी गर्नुभयो ?
विश्वव्यापी महामारीको मारमा त्रि.वि. शिक्षण अस्पतालले पनि धेरै संकट व्यहोर्नुप-यो । मलगायत हाम्रो टिम एकढिक्का भएर काम गरेकै कारण सफलता मिल्यो पनि । नेपालमा सबैभन्दा धेरै कोभिडका बिरामी त्रि.वि. शिक्षण अस्पतालले हेरेकै हो । कोभिड–१९ को चाप बढ्दा दिनमै ४ सयजनासम्म बिरामीलाई शिक्षण अस्पतालले उपचार दिएको थियो ।
यतिसम्म कि अक्सिजन कतै नभएको अवस्थामा पनि त्रि.वि.ले प्यासेजमा बिरामी राखेर भए पनि अक्सिजन दिएर उपचार सेवा दिएको थियो । नयाँ महामारी रोग भएकाले सबैमा डर–त्रास थियो । तर पनि हामीमा अभूतपूर्व एकता भयो र सबैको सहयोग पनि पाइयो । ‘हामीले नगरे कसले गर्छ ?’ भन्दै हामीले अस्पताल पुगेका सम्पूर्ण बिरामीलाई सेवा दिन सफल भयाैं । बिरामीको सेवाका लागि हामी सधैँ बैठक बसेर कामको बाँडफाँड गथ्र्यौं ।
अस्पतालमै पनि बस्नुभयो कि ?
अस्पतालमै त बसेनौं । १२ घण्टा ड्युटी गर्ने र होटलको व्यवस्था गरी होटलमै बसेर पनि अस्पतालको काम ग-यौं । ड्युटी गर्ने, क्वारेन्टाइन बस्ने जस्ता हरेक प्रक्रिया पूरा गर्दै बिरामीको सेवा गरी नै रह्यौं । जुन बेला कोरोनाको पिक टाइम थियो, त्यस बेला हामी स्वास्थ्यकर्मी आफैं पनि संक्रमित भयौं । त्यति बेला धेरै गाह्रो भयो । बिरामीका साथै आफ्नो हेरचाह कसरी गर्ने भन्ने ठूलै चुनौती हाम्रा सामु आएको थियो । कोभिडका बिरामी हेर्ने नर्स आईसीयुको ज्ञान भएको पनि हुनुपर्ने, गर्भवतीलाई सुरक्षित गर्नुपर्ने, सामानको अभाव भइरहने जस्ता अनेक चुनौतीहरुको सामना गर्दै हामी आजको अवस्थामा आइपुगेका हौँ । मलाई यस्तो कठिन अवस्थामा पनि नर्सिङ दिदी–बहिनीहरुको लगनशीलता देखेर गौरव लाग्छ ।
तपाईं एक सिनियर नर्स भएको नाताले बिरामीले कस्तो व्यवहार गर्दा खुशी लाग्छ ?
बिरामी निको भएर हाँस्दै, खुशी व्यक्त गर्दै गएको देख्न पाउनु नै हाम्रो उपलब्धि र खुशीको कुरा हो । हिँड्नै नसक्ने बिरामी उपचारपछि हिँडेर घर जान सक्नु हाम्रा पलपलका खुशीका क्षण हुन् ।
बिरामीको उपचार गर्दागर्दै मुत्यु हुन्छ, त्यस्तो अवस्थामा कस्ता समस्या आउँछन् ?
हामी सक्दो बचाउने उद्देश्यले नै उपचार गर्छौं । अजम्बरी कोही पनि हुँदैन । बिरामीको मृत्यु हुँदा हरेक बिरामीका आफन्तले अस्पताल र डाक्टर–नर्सको कमजोरीले बिरामीको मृत्यु भयो भनेर आरोप लगाउनुका साथै कतिपयले तोडफोड गर्ने, हातपात गर्ने, कम्पेन्सेसन माग्ने जस्ता कुरा हुन्छन् । त्रि.वि.ले कहिल्यै पनि कम्पेन्सेसन दिन सक्दैन । बिरामीलाई सकेसम्म उपचारकै लागि प्रयत्न गर्छ । यो अस्पतालमा बिरामीको उपचार गरेर आएको आम्दानीबाट कर्मचारीलाई तलब खुवाउने हो । पेसेन्ट पार्टीको वास्तविक मान्छेले कुरा बुझिसकेको हुन्छ । यस्तो अवस्थामा पनि बाहिरी मान्छेले आएर उचाल्ने र तोडफोड गर्ने गर्छन् ।
मेरो बिरामी हिँडेर आएको थियो, अस्पतालको लापरबाहीले मृत्यु भयो भन्ने पेसेन्ट पार्टीले आरोप लगाइरहँदा त्रि.वि.ले कसरी समस्याको समाधान गर्छ ?
त्रि.वि.मा मेडिकल अडिट कमिटी छ । त्यो कमिटीले बिरामीको सबै फाइल अध्ययन गर्छ । कहीँ कतै कमजोरी छ कि भनेर सूक्ष्म ढंगमा केलाएर हेर्छ र पेसेन्ट पार्टीलाई बुझाउने गरिन्छ । समग्र समस्याको समाधानका लागि तत्काल सम्बोधन गर्ने गरी स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिलजस्ता निकायले छिटो निर्णय गर्ने व्यवस्था भयो भने बिरामीको मृत्युपछि आउन सक्ने थप समस्याहरुको छिट्टै न्यूनीकरण हुन सक्थ्यो भन्ने लाग्छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
समय–समयमा कर्मचारी स्थायी ग-यो भने स्थिरता हुन्थ्यो । स्थायी जागिर छोडेर विदेश हत्तपत्त जान कसैले पनि चाहँदैन । यस्ता अवसरहरु दिनुपर्छ । काम अनुसारको सेवा–सुविधा नर्सलाई पनि हुनु जरुरी छ । नर्सले अस्पताल र बिरामीको सेवामा धेरै समय खट्नुपर्छ । त्यही दाँजोमा सेवा–सुविधा पनि हुनुपर्छ । १२ घण्टा ड्युटी गर्नुपर्ने, २ घण्टा जति बाटोमै आउजाउ गर्दा लाग्ने हुँदा पूरा जीवन नै अस्पताल र बिरामीको सेवामा समर्पित भएको हुन्छ । यस्ता नर्सलाई काम अनुसारको सेवा–सुविधा दिनुपर्छ । नियमित ड्युटी नै ८ घण्टाको हुन्छ । त्रि.वि. शिक्षण अस्पतालमा पेन्सनको पनि व्यवस्था छ, यो सकारात्मक पक्ष हो ।