१. अहिले मङ्कीपक्स रोगबारे धेरै चर्चा भइरहेको छ । यो कस्तो रोग हो, नेपालमा यो रोग फैलिने खतरा कत्तिको छ ? यसबाट बच्ने तरिकासमेत बताइदिन अनुरोध छ ।
– विशाल रेग्मी, बालाजु, काठमाडौं ।
विशालजी, अहिले हल्ला चलेको नयाँ देखिएको रोग मङ्कीपक्स पनि कोरोना जस्तै–जस्तै ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने, कमजोर हुने पाइएको छ । मङ्कीपक्सको हकमा शरीरभरि फोका तथा डाबर आएको पनि पाइन्छ । शुरुमा ती फोका छालाको दाग मात्रै जस्तो साधारण देखिन्छन् । त्यसपछि त्यसमा पानी भरिएर फोका बन्छ अनि पछि पाक्ने, पीप भरिने अवस्थामा पुग्ने हुन्छ । त्यस्तै गरी काखीमा डल्ला
(Lymph Nodes) आएको पाइन्छ । यिनीहरु हेर्दा स्मलपक्स अथवा बिफरजस्तै गरी ज्वरो, फोका, पानी–फोका, पीप–फोका हुँदै चार तहमा विकास हुन्छ । यो रोग पहिले बाँदरमा देखिएकोले यसको नाम बाँदरबाटै मङ्कीपक्स राखियो । तर अहिले थाहा भएअनुसार यो मङ्कीपक्स रोग रोगी जनावरको नपकाएको मासु खाएमा, बाँदरले चिथोरेमा वा टोकेमा, मुसाले टोकेमा वा रगत वा रस सम्पर्कमा आएमा सर्छ । बिफरको भ्याक्सिन लगाएकालाई यो रोगको प्रभाव अलि हल्का भएको पाइएको छ ।
यो रोगको पहिलो केस कंगोमा पाइएको थियो भने अहिले युरोप, अस्ट्रेलिया तथा अमेरिकामा फैलिसकेको पाइएको छ । यो रोग अलि सरुवा किसिमकै छ । अहिले देश–विदेशमा मानिसहरुको आवतजावत, हिँडडुल, घुमघाम प्रशस्तै हुने गरेको छ । साथै यातायातको सुविधाका कारणले हाम्रो संसार साँघुरिँदै पनि गएको छ । त्यसैले हामी यो रोगको जोखिममा नहुने भन्ने कुरै भएन । त्यसैले सधैँ सक्दो सतर्कता अपनाउनुपर्ने भएको छ ।
२. मासुभन्दा माछा स्वास्थ्यका लागि राम्रो भन्छन्, तर के तेलमा चुर्लुम्म डुबाएर पकाएका माछाका परिकार साँच्चै नै स्वास्थ्यका लागि फाइदाकारक छन् त ?
– वृक्षीलाल, भरतपुर ।
वृक्षीलालजी, तपाईंले भनेको एकदम सही हो । शरीरको लागि मासुभन्दा माछा धेरै गुणा लाभदायक हुन्छ । यसमा युरिक एसिड बढाउने तत्व एकदमै कम हुन्छ । माछामा पाइने तेल लाभदायी हुन्छ । त्यस्तै माछाको बोसो पनि खराबी नगर्ने खालको हुन्छ भने माछामा पाइने प्रोटिन पनि सहजै पच्ने, उपयोग हुने र फाइदाजनक हुन्छ ।
तर हामीले पकाउने र खाने तरिका भने निश्चय नै फाइदाकारी छैन । तपाईंले भनेजस्तो तेलमा चुर्लुम्म डुबाएर पकाउने, तेलमा तार्ने अनि झोल माछा बनाउँदा पनि त्यही तारेको माछा राखेर बनाउने गरिन्छ । धेरै तेल, मसला हालेर तयार गरिएको माछाको परिकारको स्वाद पनि हराएर अर्कै हुन्छ । यसरी माछा बनाउनु स्वस्थकर हुँदैन, बरु हानिकारक हुन्छ ।.माछा धेरै तार्ने गर्दा ट्रान्सफ्याट धेरै हुन्छ, कोलेस्टेरोल पनि धेरै हुन्छ । त्यस्तै माछामा निहित पौष्टिक तत्व पनि नष्ट हुन्छ । त्यसैले माछा पकाउँदा माछाका टुक्राहरु नुन, मसलामा राखी उमालिएको झोलमा हालेर पकाइएमा माछामा पाउने सबै पोषक तत्व पाइन्छ, पच्छ पनि । अनि त्यो स्वास्थ्यका लागि लाभदायी पनि हुन्छ ।
३. म ४० वर्षकी भएँ । मेरो अनुहारमा १६–१७ वर्षको उमेरदेखि नै बाक्लै कोठीहरु आएका छन् । यस्ता कोठीले क्यान्सर पनि हुन सक्छ भन्छन्, अनुहार पनि नराम्रो देखिएको छ । यसलाई हटाउने कुनै उपाय भए बताइदिन अनुरोध छ । साथै कोठीबाटै क्यान्सर निस्किने सम्भावना कत्तिको छ ?
– सुष्मा, कास्की पोखरा ।
सुष्माजी, अनुहारमा कोठी धेरै हँुदा सबैमा हुन सक्ने सोच, चिन्ता, पिर अनि डर यहाँमा पनि छ । त्यो स्वाभाविक नै हो । साधारण कोठीहरु त्यति हानिकारक हुँदैनन् भने ठूला, अस्वाभाविक कोठीहरू भएमा वा समय बित्दै जाँदा कोठीहरू परिवर्तन भएर ठूलो हुँदै गएमा, कोठीको रुपरंग बिग्रिँदै गएमा डरलाग्दो हुन सक्छ । यसले कहिलेकाहीँ क्यान्सरको बाटो लिन पनि सक्छ ।
तर साधारणतया नर्मल कोठी (तपाईंको भनाइअनुसार यहाँका कोठीहरू पनि त्यस्तै लाग्छन्) मा चिन्ता गर्न त्यति जरुरी देखिँदैन । जहाँसम्म कोठीले राम्रो÷नराम्रो लाग्ने होला, त्यो पनि खास गरी सेलिब्रेटीहरुको हकमा हुन सक्ला । तर मानिसको सुन्दरता भनेको उसको गुण, शिक्षा अनि संस्कारबाट उजागर हुन्छ, न कि उमेर ढल्केपछि खस्किँदै जाने अनुहारबाट । तपाईंको जिज्ञासा अनुसार ती कोठीहरु हटाउने वा हटाउन सम्भव हुने-नहुने भन्ने कुरा कोठीको बनावट अनि गहिराइ हेरी छाला रोग विशेषज्ञ वा कस्मेटिक वा प्लास्टिक सर्जनले स्पष्टरुपमा परामर्श दिन सक्ने हुन्छ । त्यसैले यहाँले त्यहीँ पोखरामा सम्बन्धित चिकित्सक भेट्न सक्नुहुन्छ वा काठमाडौंमा आएर देखाउन सक्नुहुन्छ ।
४. बेला–बेलामा मलाई घाँटी दुख्ने समस्या छ । यसरी दुख्न थालेपछि एन्टिबायोटिक नै खानुपर्ने स्थिति आउँछ । यो समस्याबाट बच्ने उपाय बताइदिन अनुरोध छ ।
– एकराज दाहाल, रुपन्देही ।
दाहालजी, यहाँको उमेर थाहा भएन । यदि ५ वर्षदेखि १५ वर्षको उमेरभित्र यस्तो घाँटी दुख्ने भएमा र त्यसको सही उपचार हुन सकेन वा पाएन भने मुटुको बाथरोग हुने डर हुन्छ । त्यसरी घाँटी दुखेमा सम्बन्धित चिकित्सकको सल्लाहमा एन्टिबायोटिक खानु ठिक्कै हो, सधैँ त्यस्तै गर्नुहोला ।
घाँटी दुख्ने समस्याबाट बच्नको लागि घाँटीमा संक्रमणको परिवेश निर्माण गर्ने चिसोपनाबाट बच्नुहोस् । जस्तो– पानी पिउँदा, खानेकुरा खाँदा ख्याल गर्नुप-यो । घाँटी पोल्ने, बिजाउने, टट्टाउने
(irritation) खालका पिरा, ताता, अमिला, खस्रा आदि खानेकुरा खानु भएन । यस्तै गरी यदि छिटो–छिटो टन्सिल बढ्ने, घाँटीमा अवरोध हुने भएमा नाक, कान, घाँटी विशेषज्ञको सल्लाह लिनुपर्ने हुन्छ । टन्सिल नै अप्रेसन गरेर फ्याँक्ने पनि गरिन्छ । यी सबै कुरा स्पष्ट हुन नाक, कान, घाँटी विशेषज्ञलाई भेट्न र परामर्श गर्न सल्लाह दिन्छु ।
५. हामीलाई सानामा आमाले सधैँजसो कानमा तेल राखिदिनुहुन्थ्यो । यो कार्य अनिवार्यजस्तै थियो तर अहिले कानमा तेल हाल्न, कान कोट्याउन हुँदैन भन्छन् । कुनचाहिँ सही हो ? स्पष्ट पारिदिन अनुरोध छ ।
– बेलबहादुर सिंह, रोल्पा ।
बेलबहादुरजी, तपाईंले भनेको ठिक्कै हो, जथाभावी कानमा तेल हाल्नुहुँदैन । त्यो तेल हाल्ने सिद्धान्त अनुसार कानेगुजी निकाल्ने भन्ने हो । त्यसमा पनि पहिले–पहिले उमालेको तातो तेल, कपुर फुराएर हाल्ने गरिन्थ्यो । त्यसले कतिपयका कान नसुन्ने हुने, जल्ने, प्वाल पर्ने भएर ड्यामेज भएका धेरै अवस्था अझै देखिन्छ । तेलले कानमा हुने कानेगुजी झन् कडा हुने, डल्लो ठूलो हुने र झन् अँठिठ्ने डर हुन्छ । बरु यसको लागि कानेगुजी पगाल्ने खास गुण भएका ड्रपहरु पाइन्छन् । ती औषधि कानमा हाल्न सकिन्छ । यी कुराहरुका बारेमा थप स्पष्ट हुनको लागि सम्बन्धित विशेषज्ञ भेटेर छलफल गर्न पनि सकिन्छ ।