रसियामा एमबीबीएसको डिग्रीसँगै फिजियो थेरापी, विकिरणको माध्यमबाट उपचार गर्ने ‘लेजर थेरापी’ लगायतका विषयमा अध्ययन पूरा गरेर सन् २००१ मा नेपाल आई लेजर थेरापी उपचार सेवा दिने डा. सुशीला वैद्य नेपालको पहिलो लेजर थेरापिस्ट हुनुहुन्छ ।
नयाँ विषयका रुपमा रुसमा लेजर थेरापीको अध्ययन सकेर नेपाल आउँदा यहाँ यो उपचार सेवा शुरु गर्न निकै अप्ठ्यारो परेको थियो । साथीहरुले नै ‘यस्तो मेसिनले बत्ती बालेका भरमा कसरी रोग निको हुन्छ ?’ भनेर खिसिटेउरी पनि गरेका थिए । नयाँ विषय भएकाले स्वास्थ्य निकायबाट लेजर थेरापीसम्बन्धी उपचारको स्वीकृति लिनसमेत कठिनाइ भएको थियो ।
तैपनि डा. वैद्यले निरास नभई सबैलाई यो विषयको महत्वबारे बुझाउँदै सेवाको शुरुवात गर्नुभयो । उपचार गरेर निको भएका बिरामीकै प्रचारका कारण पछि उहाँकहाँ यति धेरै बिरामी आए कि सबैलाई एक्लै उपचार गराउन नै मुस्किल भयो । आज उहाँले एउटा छुट्टै भवनबाट बृहत्रुपमा लेजर थेरापी सेवा सञ्चालन गरिरहनुभएको छ । उहाँको भनाइमा यो सेवा निकै सहज, सरल र सस्तो पनि छ । स्त्री क्यान्सर रोग विशेषज्ञ तथा नेपालकै प्रथम लेजर थेरापी विशेषज्ञ डा.सुशीला वैद्यसँग साधनाका प्रतिनिधि भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीको सार प्रस्तुत गरिएको छ ः
लेजर थेरापी भनेको के हो ?
लेजर थेरापी भनेको कम शक्तिको विकिरणबाट सेकेर विभिन्न प्रकारका रोगहरुको उपचार गर्ने विधि हो । यो विधिबाट झन्डै ४ सय प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ । लेजर थेरापी फिजियो थेरापीअन्तर्गत लाइट थेरापीमा पर्दछ ।यो विधिमा ५ वाटको विकिरण लिएर छाला हुँदै कोषिकाको माध्यमबाट भित्र पठाइन्छ र शरीरको भित्रसम्म सेकेर उपचार गरिन्छ । लेजर थेरापीमा लेजर मेसिनबाट निस्केको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी भित्रसम्म सेक्ने गरिन्छ । जसले गर्दा दुखाइ कम हुनुको साथै सुन्निएको पनि कम हुन्छ । रक्तसञ्चालन गरी कोषिकाहरुलाई सुचारु गर्छ र रोग निको पार्छ ।
यो विधिबाट अहिलेसम्म कस्ता–कस्ता बिरामीको उपचार गर्नुभयो ?
हालसम्म मुटुसम्बन्धी रोगहरु, कोलेस्ट्रोल बढेको, फोक्सोसम्बन्धी रोगहरु, हाडजोर्नीसम्बन्धी रोगहरु– बाथ, हड्डी खिइएको जस्ता समस्याको विभिन्न चरणमा सेकेर उपचार गरिँदै आएको छ । जोर्नी, गर्दन दुखाइ, कम्मर, ढाड, कुइना, नाडी, कुर्कुचा, मेरुदण्डको समस्या भएका, शरीर नै नचलेर प्यारालाइसिस भएका बिरामीको समेत उपचार गरिएको छ । यस्ता बिरामी आउँदा स्ट्रेचर, ह्वीलचियर, गाडीमा बोकिएर आउँछन् र उपचारपछि आफैँ हिँडेर जान्छन् ।
त्यस्तै पेट, आन्द्रा, नसा, पित्तथैलीको संक्रमण, कलेजो सुजन भएको, ढाड र गर्दनको नसा च्यापिएको, मस्तिष्कबाट हुने पक्षघात, पिसाबसम्बन्धी समस्या, पाठेघरको मुखको घाउ, नाक–कान–घाँटी, माइग्रेन, छालासम्बन्धी समस्याहरुको विनाशल्यक्रिया लेजर थेरापीको माध्यमबाट उपचार गरिएको छ । मैले यो विधिबाट अहिलेसम्म ३० हजारभन्दा बढी बिरामीको उपचार गरिसकेको छु ।
तपाईं नेपालको पहिलो लेजर थेरापिस्ट हुनुहुन्छ, कसरी यो विषय पढ्ने विचार आयो ?
लेजर विकिरणका बारेमा नेपालमा कहीँ पनि पढाइ हुँदैन । एम.बी.बी.एस. सकिँदासम्म म पनि अनभिज्ञ नै थिएँ । म मास्टर्स पढ्न मस्को गएको बेला कुनै नयाँ विषय पढ्ने पारिवारिक सल्लाह भयो । श्रीमान्ले कार्डियाक विषयमा पढ्नुभएकोले मलाई नेपालमा नभएको विषय पढ्न प्रेरित गर्नुभयो । ‘नेपालमा जोर्नीसम्बन्धी समस्या भएका बिरामी धेरै छन्, उनीहरुको उपचार गर्नुपर्छ’ भन्नुभयो ।
वास्तवमा मेरो घरमै पनि बुबा, भाइ बाथको बिरामी भएकाले मलाई यो विषयमा अझ रुचि जाग्यो । त्यहाँ हिजो ऐया–ऐया गरेर छट्पटाउँदै आएको बिरामी आज मजाले बसेर गफ गरेको देखँे । यसबाट म धेरै प्रभावित भएँ र लेजर थेरापीको पढाइ शुरु गरेँ ।
मैले रसियाको सैनिक अस्पतालमा लेजर थेरापीको अभ्यास गरेको थिएँ । त्यहाँ आफँैले उपचार सेवा दिइरहेका अशक्त बिरामी ५ देखि १० दिनसम्ममा हेर्दाहेर्दै उठ्न र हिँड्न सक्ने भएको पाएँ । त्यहाँको विशेषज्ञको रोहबरमा मैले आफैँले मेसिन लगाएको बिरामी निको हुँदै गएको पाएँ । यसले मलाई लेजर थेरापीमा काम गर्ने उत्साह अझ थपियो । लेजर थेरापी मेसिन अत्यन्तै महँगो थियो । उक्त मेसिन रसियामा मात्र किन्न पाइन्थ्यो । त्यहाँ पनि लेजर थेरापी विषय पढेर प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले मात्र किन्न पाउँछ । किनकि कम मात्राको विकिरण भएको मेसिन भए पनि चलाउन जानेन भने बिरामीलाई नकारात्मक असर गर्छ । यो मेसिन फिजियो थेरापीजस्तो घरमा राखेर चलाउन पाइन्न । किनकि विकिरणको मात्रा एकदमै मिलाउनुपर्छ ।
कुनै पनि विषयमा विज्ञता हासिल गरेको चिकित्सकले मात्र यो विषय पढ्न पाउँछ । मैले एमबीबीएस पढ्दापढ्दै छुट्टीको समयमा रसियामै फिजियो थेरापी, अकुपञ्चर पनि पढेको थिएँ । यी तीनवटै विषय दुखाइसँग सम्बन्धित एक–अर्काका परिपूरक हुन् । रसियामा बिरामी निको भएको देख्दा म नेपालका बिरामी सम्झिरहन्थेँ । मैले ज्ञान र सीप सिकँे तर मेसिन खरिद गर्न पैसाको खाँचो भयो । त्यहीँ काम गरेर केही रकम जम्मा गरी मेसिन किनेर सन् २००१ मा नेपाल फर्किएँ । मेरो ठूलो लक्ष्य नै दुखाइको पीडा भोगिरहेका नेपालीलाई लेजर थेरापी विधिबाट उपचार गरी निको पार्नु थियो ।
लेजर थेरापी नयाँ विषय भएकाले सेवा सञ्चालनमा कुनै कठिनाइ प-यो कि ?
मैले मेसिन ल्याउँदा यसबारेमा नेपालमा विरलैलाई थाहा थियो होला । ‘तिमीले ल्याएको यस्तो बत्ती आउने सानो मेसिनले रोग निको पार्छ र ?’ भनेर साथीहरुले जिस्क्याउँथे । ‘यो मेसिनको प्रयोग गरेर आफ्नै हातले मैले धेरैलाई निको पारेको छु’ भन्दा उनीहरु छक्क पर्थे । त्यस बेला सरकारी मान्यता पनि थिएन ।
शुरुमा मलाई उपेन्द्र महतो र जिबा लामिछानेले साथ दिनुभयो । उहाँहरुले मस्कोमा नै मलाई काठमाडौं जानेबित्तिकै पुतली सडकमा रहेको मेडिकेयर अस्पतालमा काम शुरु गर्नुपर्छ भन्नुभएको थियो । जनस्वास्थ्यबाट स्वीकृति लिएर मेडिकेयरको एउटा कोठाबाट सेवा शुरु गरेँ । तर शुरुमा कसैले विश्वास गरेनन्, अलि समस्या भयो । विदेशमा लेजर थेरापीको लागि अर्थो र नसाको डाक्टरले रिफर गर्छन्, यहाँ त कुनै डाक्टरले बिरामी रिफर गरेनन्, बिरामी पनि आएनन् ।
मैले गाबहालमा आफ्नो घरमा पनि क्लिनिक राखेँ । शहरमा कसैले खुट्टा खोच्याएका मानिस देखेँ भने आफैँले उसलाई ल्याएर लेजर उपचार गर्थें । यो क्रमसँगै ढाड दुख्ने बिरामी पनि आउन थाले । निको हुने बिरामीले अरु पनि बिरामी ल्याए । प्रतिफल राम्रो आयो अनि लेजर थेरापीको प्रचार पनि बढ्दै गयो ।
एकपटक वीर अस्पतालमा एउटा बिरामीको खुट्टा काट्नुपर्ने भयो । उहाँ भास्कुलर रोग विभागमा डा. प्रेम वैद्यसँग उपचार गराइरहनुभएको थियो । उहाँको एउटा औँला काटेर घाउ निको भएन । खुट्टा काट्ने भनेपछि बिरामी अस्पतालबाटै भाग्न थाले । डा. प्रेमले ‘तिमीले यो निको गर्न सक्छ्यौै ?’ भनेर सोध्नुभयो । मैले सक्छु भनेर उपचार शुरु गरेँ । मैले लेजर थेरापी शुरु गरेको ४ दिनपछि नै फाइदा भयो ।
बिरामीको चाप बिस्तारै बढ्न थाल्यो । मैले टेबहाल, खुशीबु, अल्का अस्पतालमा पनि शाखा खोलेँ । भक्तपुर क्यान्सर अस्पतालमा मेरो जागिर पनि भइसकेको थियो । मैले चारैतिर दौडन नभ्याएपछि अस्पतालको ड्युटीबाहेकको समयमा अल्का अस्पतालमा मात्र सेवा सीमित गरँे । हाल अल्का अस्पतालसँगै एउटा भवनमा लेजर थेरापी क्लिनिकबाट सेवा सुचारु गरेको छु । अहिले ७ वटा मेसिन छन् । छुट्टै पहिचानसहितको लेजर थेरापी क्लिनिक सञ्चालन भइरहेको छ । अहिले विदेशबाट समेत बिरामीहरु आउन थालेका छन् । शुरुमा गाह्रो भए पनि अहिले मैले सफल भएको ठानेकी छु ।
यो विधिबाट कुन–कुन रोगको उपचार गर्न मिल्छ ?
दुईवटा आँखाबाहेक कपालको रौंदेखि खुट्टाको नङसम्मको समस्याका लागि लेजर थेरापी उपयोगी छ । कान पाक्ने, दम, नाकमा मासु पलाउने, मुखभित्रको जिब्रोको घाउ, टन्सिल, मेनेन्जाइटिस, फोक्सोको रोग, निमोनिया, कोभिडपछि वा क्षयरोग लागेपछि फोक्सोमा क्षति भएकालाई पनि लेजर थेरापीबाट फाइदा हुन्छ ।यो उपचार गर्दा शुरुको दिनभन्दा दोस्रो दिन सहज हुँदै पाँचौँ दिनसम्ममा सन्चो हुन थाल्छ ।
कैयौँ दिनदेखि दुखाइको पीडाले सुत्न नसकेका बिरामी सुत्न थाल्छन् । नचलेको अंग चल्न थाल्छ । हिँड्न गाह्रो हुने मान्छे बिस्तारै हिँड्न थाल्छन् । कतिपयको दबेको स्वरसमेत निस्कन्छ ।
ढाड, गर्दनमा नसा च्यापिएको उपचारको लागि लेजर थरापी वरदान नै साबित हुन्छ ।यति मात्र नभई डाइबेटिजमा यो सेकाइ विधिपछि इन्सुलेन आफैँ बनाउँछ । पेटको आन्द्राको घाउ छ भने घाउ निको बनाउन मद्दत गर्छ । महिलाहरुको पाठेघरसम्बन्धी रोग निको पार्न पनि लेजर थेरापीले सहयोग गर्छ ।हिमाली क्षेत्रमा जानेहरुको नाकको टुप्पो, कानमा कालो भएको समस्यामा पनि यो उपचार प्रभावकारी छ । रसियाका हरेक अस्पतालमा यो मेसिन छ र विज्ञ चिकित्सकहरु पनि अनिवार्यरुपमा हुनुपर्ने नियम छ । लेजर थेरापीको कुनै साइड इफेक्ट पनि नभएकोले निकै लाभदायी छ ।
कुन–कुन रोगमा यो थेरापी गर्नुहुन्न ?
क्यान्सर रोगमा यो थेरापी गर्नुहुन्न । किनभने यो थेरापीबाट दुखाइसँग सम्बन्धित रोगमा केन्द्रित भई दुखेको भागको नसालाई सक्रिय बनाउने गरिन्छ । क्यान्सर एकठाउँबाट अर्को ठाउँमा नसरोस् भन्नका लागि क्यान्सरका बिरामीलाई यो थेरापी गर्नुहुन्न ।
लेजर थेरापी विधि कत्तिको महँगो छ ?
यो थेरापी अरु पद्धतिको तुलनामा महँगो नभई निकै सस्तो, सजिलो र प्रभावकारी छ । यो विधिमा अस्पतालमा भर्ना भएर बसिराख्नुपर्दैन । दैनिक एक घण्टा समय निकाल्दा रोग निको पार्न सकिन्छ ।
लेजर थेरापीको कोर्स कति दिनको हुन्छ ?
पहिलोपटक आउनेलाई २० दिनको कोर्स हुन्छ । ढाड दुखी बोकेर ल्याएको बिरामी ३ दिनपछि आफैँ उठ्न सक्ने भएका छन् र १० दिनदेखि राम्रैसँग हिँड्न सक्छन् । १० दिन दिएको डोजले एक महिना काम गर्छ । रक्तनलीको रक्तकोषिकाहरुमा यो विधि सक्रिय भएर काम गरिरहेको हुन्छ । यो विधिले जहाँ–जहाँ समस्या थियो त्यहाँ चार्ज गरेर अरुलाई सक्रिय बनाइरहेको हुन्छ । लेजरले सक्रिय बनाएको चार्ज सकिन ४ हप्ता लाग्छ । ४ हप्तापछि आउँदा क्लिनिकबाट जाँदाभन्दा निकै राम्रो भएर आउनुहुन्छ ।
लेजर थेरापीबाट उपचार गर्दा बिर्सनै नसक्ने घटना कुनै छ कि ?
मैले वर्षौंसम्म चल्न नसकी ह्वील चियरमा गुडाएर ल्याएको व्यक्तिलाई २० दिनको उपचारपछि हिँडाएर फर्काएको छु । खुट्टा काट्ने अवस्थामा पुगेका व्यक्ति, हिँड्न, बोल्न नसकेको व्यक्तिलाई हिँड्न, बोल्न सक्ने बनाउँदा भगवान् भन्दै पुकारेर फर्कंदा आफ्नो ज्ञान र सीपको सही सदुपयोग भयो भनेर खुशी लाग्छ । एक व्यक्ति ढाडको नसा च्यापिएको अप्रेसन गरेको ९ महिनासम्म थला परेको अवस्थामा थिए । मैले घरमै गएर ६ दिन थेरापी गर्दा निको पारेको अवस्था मिराकल नै हो । उनले ९ दिनमा आफैँले चिया पकाएर खुवाए । मेरो जीवनमा सबैभन्दा खुशीको दिन हो यो । आफ्नो व्यावसायिक जीवनमा यस्ता थुप्रै स्मरणीय घटना भएका छन् । त्यस्ता बिरामीमध्ये कतिपय बिरामी अहिले आफैँ बाइक चलाएर पनि आउँछन् ।
सुविधा सम्पन्न ठाउँमा पढ्नुभयो, सीप सिकेर नेपाल आउँदा सोचेजस्तो सहयोग नपाउँदा उतै फर्किऊँ–फर्किऊँ लागेन ?
शुरुकै दिनमा मैले उता राम्रो अवसर पाएको थिएँ । म नजाऊँ भन्दाभन्दै पनि देशमै सेवा गर्ने अठोट बोकेर आएकाले पुनः विदेश फर्कन भने मन लागेन । श्रीलंकामा मेरो लागि आवासीय सुविधासहित दिने गरी अफर आएको थियो । म आफ्नो देश र आमाबुबालाई छोड्नै सक्दिन भनेर फर्किएँ ।छोराछोरीलाई बाबुआमाले पढाउँछन् । छोरोछोरी विदेशमै पलायन हुँदा बूढा बाबुआमालाई पानी खुवाउनेसम्म मान्छे नहुँदा वृद्धाश्रम पुगेका छन् । यो अवस्था म हेर्नै सक्दिन र मलाई मेरो देश र बाबुआमाभन्दा राम्रो अरु कुनै पनि अफर हुनै सक्दैन ।
मलाई खान–लाउन पुगेकै छ, श्रीमान् डा. प्रेमराज वैद्य पनि कार्डियाक सर्जन हुनुहुन्छ, म आफैँ डाक्टर, छोरीले पनि चिकित्सा विज्ञान नै पढेकी छन् । त्यसैले विदेश जाने र कमाउने रहर ममा छैन । मेरो आमाबुबाजस्ता हजारौं नेपाली बा–आमाको सेवा गरेर पुण्य कमाउनु छ । त्यसैले विदेश गएर काम गर्नेबारे त म सोच्न पनि सक्तिन ।