तपाईका घरमा हाम्रा डाक्टर



डा. हरिहर खनाल
फिजिसियन/मुटुरोग विशेषज्ञ
म अहिले ३० वर्षकी भएँ । हाम्रो परिवार सबैको तिलकोठी आएको छ । तर मेरो भने अनुहारभरि तिलकोठीहरु छन् । यो हट्छ रे भन्ने सुनेकी छु । हटाएपछि फेरि पछि आउँछ कि रु साथै तिलकोठी हटाएपछि कुनै साइडइफेक्ट त हुन्न होला नि रु के गरौं ?
– सीता महत, मन्थली, रामेछाप

सीताजी, तिलकोठी जरैदेखि हटाएमा आउने भन्ने हुँदैन, जसको लागि प्लास्टिक सर्जन वा कस्मेटोलोजिस्ट नै चाहिन्छ । त्यो हटाउँदा कुनै साइडइफेक्ट पनि हुँदैन । कोठी हटाउन काठमाडौं आउनुभएमा सहजै सेवा मिल्नेछ । कुनै पेसाले, परिस्थितिले निकाल्नै पर्ने नभएमा त्यसले कुनै हानि–नोक्सानी गर्दैन । त्यसकारण ननिकाले पनि हुन्छ । कतिलाई त त्यो तिलकोठीले अझै सुन्दर देखाउँछ भन्ने गर्छन् ।

म अहिले ४३ वर्षकी भएँ । मेरो आँखामा कुनै कमजोरी छैनजस्तो लाग्छ, प्रस्टरुपमा देख्छु । तर केही दिनयता आँखा दुःखेको महसुस भएको छ । मेडिकलमा गई आई ड्रप किनेर ल्याउँदा हुन्छ कि चेक नै गराउनुपर्छ रु आफूखुशी आई ड्रप प्रयोग गर्न हुन्छ कि हुँदैन ।
– सम्झना महर्जन, नुवाकोट

सम्झनाजी, आँखा दुख्नु आँखामा समस्याको कारणले त छँदै छ, कहिलेकाहीँ पिनासले वा मस्तिष्कको समस्याले पनि दुख्न सक्छ । आँखाकै विशेषज्ञ भेटेर परामर्श लिनुभएमा उचित सल्लाह मिल्नेछ । जुन सेवा शिक्षण अस्पताल, आँखा अस्पताल तथा तिलगंगा अस्पताल सबै केन्द्रहरुमा प्राप्त छ ।

मेरो कम्मरमा केही मसिना गिर्खा आएको छ । नदुखे पनि बढ्दै जाने हो कि भन्ने चिन्ता लागेको छ । यो कस्तो समस्या हो र कसरी हटाउन सकिएला ?
– रञ्जन बुढाथोकी, बेंसीसहर, लमजुङ

रञ्जनजी, कम्मरमा आएका ती गिर्खाहरु नहेरीकन यत्तिकै भन्न गाह्रो पर्छ । दुखेको छैन अनि बढेको पनि छैन भन्नुभएकाले डर लाग्दो नहोला । तर पनि एकपटक पोखरा क्षत्रीय अस्पताल वा मणिपाल अथवा चरक अस्पतालमा गएर छालारोग विशेषज्ञ देखाउनुभएमा निश्चित निदान हुनेछ । त्यसपछि के गर्ने भन्ने सल्लाह पनि पाइनेछ । काठमाडौं आएर सम्बन्धित चिकित्सकलाई देखाउन पनि सक्नुहुन्छ । जिज्ञासाको उचित परामर्श पनि पाइनेछ । ती गिर्खाहरु बढ्दै जान थालेमा पहिलो सूचना तपाईं आफैंले पाउनुहुनेछ, गिर्खा बढेछ भनेर । गिर्खा बढ्दै गएको आभास भयो भने सक्दो छिटो नजिकको
अस्पताल गइहाल्नुस् ।

मैले सुनेअनुसार कामेर अनेक कुरा बताउनु एउटा रोग हो । यहाँ एउटा प्रसंग कोट्याउन चाहन्छु । धेरै वर्षअगाडि दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्ने थाङ्बारु भन्ने ठाउँमा म गएको थिएँ । त्यहाँको एक पहरोको चेपमा निकै आकर्षक देवीको मूर्ति थियो । सो मूर्ति फलानो व्यक्ति कामेर बताएअनुसार यो पहरोमा आएर हेर्दा फेला परेको त्यहीँका एक व्यक्तिले बताएका थिए । मूर्ति फेला पर्नुअगाडि यहाँ कोही पनि आइनपुगेको उनले बताएका थिए । आखिर अहिले सो मूर्ति गायब भइसकेछ । शायद पहरो नै फुटाएर चोरी भयो होला । अब कुनै व्यक्ति कामेर कसैलाई थाहा नभएको पहरोमा मूर्ति छ भन्ने कुरा बताउनुमा वैज्ञानिक आधार के छ रु काम्नु रोग नभएर कुनै शक्ति हो कि रु स्पष्ट पारिदिनुहुन्थ्यो कि ?
–विवेक घिमिरे, हिलेपानी, दोलखा, हाल ः काठमाडौं

विवेकजी, काम्नु अनि कामेर केही भन्नु वा गर्नुपछाडिको वैज्ञानिक आधार भनेको ‘हिप्नोटाइज्ड’ वा ‘हिस्टेरिक’ हुनु हो । पुरानो भजन–कीर्तन गर्दा कता–कता हनुमान उत्रने गरेको भनिन्छ । त्यस्तै कतिपय लामा–झाँक्रीहरु साँच्चिकै हल्लने वा काम्ने गरेको पनि भन्ने गरिन्छ । यी पनि यसकै उदाहरण हुन् । तसर्थ त्यो तपाईंले भनेको मूर्ति पहिले नै थाहा पाएर वा देखेर प्रभावित भएर र विश्वस्त भएर अनि कामेर ९हिप्नोटाइज्ड वा हिस्टेरिक भएर० भनेजस्तो लाग्यो । जे होस्, यसरी हिप्नोटाइज हुने घटना छिटफुट भेटिने गर्छन् । यो मनोरोग वा मनोचिकित्साको एउटा अवस्था अथवा हुने परिस्थिति हो । जसलाई सहजरुपमा लिने र मनोचिकित्सकसँग परामर्श लिने गरेमा सबै प्रस्ट हुनेछ । यस्तो खास शक्ति वा क्रियाकलापप्रति अति नै प्रभावित भएर, शरीरमा विद्यमान सम्पूर्ण शक्ति केन्द्रित भएर असामान्य अझ कहिलेकाहीँ त असम्भव क्रियाकलापसमेत हुने गरेको पाइन्छ । यो सबैलाई ‘हिप्नोटाइज्ड’ वा ‘हिस्टेरिक’को रुपमा लिइन्छ ।

म ४३ वर्षको भएँ । मलाई अन्य केही रोग भएजस्तो लाग्दैन तर छिन्–छिन्मा पिसाब लागिरहन्छ । राति पनि कम्तीमा तीनपटक पिसाब फेर्न उठ्नै पर्छ । यद्यपि ढोकाको चुकुल लगाउन पनि नभ्याउलाजस्तो हुन्छ । पिसाब छिरिहाल्छ । मलाई के भएको होला र उपचारको बाटो के होला रु उत्तरको प्रतीक्षामा छु ।
– अर्जुन अधिकारी, गोरखा

अर्जुनजी, तपाईंलाई त्यस्तो लाग्नु नराम्रो होइन तर पनि लक्षण देखिएपछि परीक्षणहरु गर्नुप¥यो । अनि बल्ल थाहा लाग्छ के–कसरी यस्तो भयो भनेर । यसरी छिन्–छिन्मा पिसाब लाग्नुको कारणमा या त संक्रमण, या त पत्थरीको शुरुको कणहरुकै अवस्था, या त पुरुषहरुमा हुने प्रोस्टेट भन्ने ग्रन्थि बढेर हो । त्यसका लागि तपाईंले भेट्ने भनेकै युरो सर्जन हो । उनीहरुलाई काठमाडौंका जुनसुकै अस्पतालमा पनि भेट्न सकिन्छ । जसले आवश्यक परीक्षण गरेर तपाईंको अवस्थाको निदान गर्नेछन् अनि सोही अनुसारको उपचारको सल्लाह पनि दिनेछन् । प्राथमिक परीक्षणमा पिसाबको रुटिन परीक्षण अनि पेटको भिडियो एक्सरे गरेपछि कुनै खराबी छ वा छैन भन्ने सबथोक स्पष्ट हुन्छ ।

मेरो हातमा पहिलो पटक साधना परेको छ । तपाईंका घरमा हाम्रा डाक्टर स्तम्भ निकै मन प¥यो । त्यसैले मेरो समस्या पनि राख्दै छु । हामी सँगै कलेजमा पढ्ने दुईजना साथी मिलेर कोठा भाडामा लिएका छौं । तर साथीको घुराइले म पटककै निदाउन सक्दिन । बिरामी नै हुने अवस्था आयो । मिलेर बसेको साथीसँग छुटिने कुरा पनि भएन । त्यसैले साथीको घुर्ने बानी हटाउने कुनै औषधि भए म आफैंले किनेर दिनेथिएँ । मेरो समस्या सुल्झने उपाय बताइदिनुहुनका लागि साधनामार्फत अनुरोध गर्दछु ।
– चन्दनकुमार सेढाईं, बल्खु, काठामाडौं

चन्दनजी, घुर्ने बानी धेरैको हुनसक्छ । ज्यादाजसो मोटो शरीर हुनेहरु घुर्ने गर्छन् । त्यस्तै कहिलेकाहीँ त्यो बानी हटाउन सकिन्छ भने कहिलेकाहीँ सकिँदैन । तौल घटाउने अनि घुरेको बेलामा नघुर्नु भनेर झकझकाउने, हल्लाउने गरेमा धेरैको घुर्ने बानी हराएर जान्छ । कतिले त बानी परिसकेकाले साथी घुरेको सहजरुपमै लिएको पनि पाइन्छ । त्यस्तै नघुर्नको लागि मुख बन्द गर्ने औजार पाइन्छ, तर त्यो भन्दा पहिले प्राकृतिकरुपमै झक्झकाउने गरेर, तौल घटाएर अनि कोल्टे सुतेर हेर्नुपर्छ । भएन भने बल्ल अरु उपायतिर लाग्नुपर्छ । सुत्ने, घुर्नेबारेमा परामर्श दिने क्लिनिक काठमाडौंमा पनि हुनाले खास परामर्श लिन पनि सकिन्छ ।

मेरो प्रायः हातगोडा फुटिरहन्छ । जाडो महिनामा त झन् असाध्यै फुट्छ । यतिसम्म कि कुर्कुच्चा फुटेर कहिलेकाहीँ रगत नै निस्कन्छ । मैले कुन औषधि प्रयोग गरेमा निको होला रु मेरा हातगोडा कलकलाउँदा हुने उपायहरु के–के होलान् ?
– विनिता तामाङ, बारबिसे, सिन्धुपाल्चोक

विनिताजी, हातगोडा सुख्खापन, धूलो आदिले फुट्ने गर्छ । छाला अस्वस्थ भएर पनि फुट्ने हुनसक्छ । राम्रो स्याहार गरेमा ठीक पनि हुन्छ, फुट्न पनि कम हुन्छ । हरेक दिन मनतातो पानीले हातगोडा धुने, पानी सोस्ने गरी पुछ्ने अनि ग्लिसिरिन वा भ्यासेलिन दलेर खुट्टाको हकमा मोजा लगाउने, हात पनि छोप्ने गरेमा फुटेको ठीक भएर जान्छ । यसो गेरपछि अघिपछि फुटेको भए पनि नफुट्ने भएर जान्छ । कडा साबुन, खरानी, सिमेन्ट, धूलोज आदिको सम्पर्कले पनि नफुटेको हातगोडा फुटाउने गर्छ । यसले अलि–अलि फुटेको बढाउने अनि ठीक हुन नदिने हुनसक्छ । त्यसैले स्याहार गरेमा सुख्खा हुने, फुट्ने प्रक्रिया कम भएर जान्छ र रोकथाम पनि हुन्छ । तपाईंले भनेजस्तै जाडो महिनामा बढी मात्रामा फुट्ने, चिरा पर्ने हुनाले जाडोमै छालाको अधिक स्याहार जरुरी पर्छ ।

हामी भर्खरै वैवाहिक बन्धनमा बाँधिएका छौं । केही वर्ष बच्चा नपाउने विचारमा छौं । त्यसैले परिवार नियोजनको सबैभन्दा उत्तम उपायका बारेमा सल्लाहको लागि यो इमेल प्रेषित गरेका छौं ।
– नवदम्पती, काभ्रे

नवविवाहित दम्पती, यो साधनाको इतिहासमा सबभन्दा धेरै सोधिने प्रश्न हो । परिवार नियोजनको बारेमा साधनाका अघिल्ला अंकहरुमा धेरै व्याख्या गरिएको छ । आपसी सल्लाहले योजना बनाउनु अनि जिम्मेवार भएर सही बाटोमा हिँड्नु राम्रो पक्ष हो । अघिल्ला अंकहरुमा यसबारेमा सल्लाह–सुझाव दिइए पनि संक्षिप्तरुपमा फेरि प्रस्ट पार्न चाहन्छु । परिवार नियोजनका उपलब्ध अनन्य अस्थायी उपायहरुमा यो राम्रो, यो कम राम्रो, अनि यो खराब भन्ने भन्दा पनि दम्पतीलाई आपसी सल्लाहमा कुन उपाय सहज, स्वीकार्य लाग्छ त्यो नै उपाय अपनाउने हो । अस्थायी परिवार नियोजनका साधनमध्ये भौतिक साधन वा उपायमा कन्डम, कपर टी, पाठेघरको मुखमा राख्ने डायफ्राग्म, महिलाको यौनांगमा राख्ने चक्की पर्दछन् । त्यस्तै हर्मोनल उपायमा गुलाफ खाने चक्की, डिपो सुई, पाखुरामा छालाभित्र राख्ने वा लगाउने क्याप्सुल पर्दछन् । यसै गरी प्राकृतिक उपायमा महिनावारी चक्रका सुरक्षित दिनहरु, यौनांगबाहिर स्खलन तथा यौनजन्य क्रियाकलापबाट टाढा बस्ने नै मुख्य हुन् । यी उपायहरुमध्ये जुन पनि अपनाउन सकिन्छ । ज्यादाजसो महिलाले उपयोग गर्ने उपायहरु उपलब्ध छन् भने पुरुषको साधन कन्डम मात्रै हो । श्रीमान्–श्रीमतीको आपसी सहमति अनि सहजताअनुसार यिनीहरुमध्ये कुनै उपाय अपनाउने परामर्श परिवार नियोजनका क्लिनिकहरुमा वा स्वास्थ्य सेवकहरुबाट पाउन सकिन्छ । सबभन्दा सहज, साइड इफेक्ट नभएको, सहजरुपमा उपलब्ध हुने र प्रभावकारी माध्यममा कन्डम पर्दछ । यसको न कुनै हर्मोन प्रभाव हुन्छ, न कुनै दूरगामी प्रभाव । त्यसको पनि नियमित उपयोग गर्दा महिनावारीका असुरक्षित दिनहरुमा प्रयोग गर्ने अनि सुरक्षित दिनहरु आफैं सुरक्षित नै भए भन्ने सिद्धान्तअनुसार गर्न सकिन्छ । तर यसको लागि महिनावारी नियमित, सधैँ उत्ति दिनको चक्र हुनुपर्ने हुन्छ । यी सबै डिटेल साधनामा भन्नुभन्दा एकजना विज्ञको परामर्श लिनुभएमा राम्रो हुनेछ ।

म एक ३२ वर्षीया विवाहित महिला हुँ । महिनावारी हुँदा पेट दुख्ने समस्या त छँदै छ । यसका अतिरिक्त महिनावारीका समयमा अत्यधिक रक्तश्राव हुने गर्छ । कतै पिल्स चक्कीको प्रयोगले त यस्तो भएको होइन रु डा.साबबाट सल्लाह–सुझाव चाहन्छु ।
– मीना, नुवाकोट

मीनाजी, महिनावारी हुँदा पेट सबैको दुख्छ, फरक त्यही हो कोहीको ज्यादा दुख्छ भने कोहीको कम । त्यस्तै कोही बढी सहनशील हुन्छन भने कोही सहन नसक्ने । त्यस्तै गरी रक्तास्राव पनि अति न्यून, ठिक्क वा अधिक हुनसक्छ । यो सबै वैयक्तिक विविधतामा आउँछ । साधारणतया पिल्स चक्कीले यस्तो गराउँदैन । साह्रै दुख्ने र धेरै रक्तास्राव हुने गरेमा त्यो अलि नर्मलभन्दा बाहिर भयो । त्येसैले एकपटक स्त्रीरोग विशेषज्ञ देखाउन सान्दर्भिक हुनेछ । यसका लागि काठमाडौं आएर प्रसूति गृह, शिक्षण अस्पताल वा अन्य अस्पतालबाट परामर्श लिनुस् । समस्याको समाधान हुनेछ ।

मेरो अनुहारमा कालोपोतो आएको धेरै भयो । अहिलेसम्म कुनै उपचार गरेकी छैन । गाउँघरमा सबैले यस्तो हुँदा पनि किन चुप लागेर बसेकी भन्छन् । आजकल कालोपोतो हटाउने अनेक उपाय हुन्छ भन्ने सुनेकी छु । त्यस्ता के–के उपाय हुन्छन्, मैले गर्न सक्ने उपायहरु बताइदिनुभए आभारी हुने थिएँ ।
– पार्वती श्रेष्ठ, चरिकोट, दोलखा

पार्वतीजी, कालोपोतो धेरै किसिमका हुन्छन् । हाम्रो भाषा त्यति धनी नभएकाले अनुहारमा आउने सबै प्रकारका दागहरु वा टाटाहरु सबैलाई कालोपोतो भन्ने गर्छौ । त्यसको प्रकृति तथा वास्तविकता थाहा पाउन या त आँखाले हेर्नै पर्छ वा फोटो हेर्नुपर्ने हुन्छ । कोहीले मखिया भन्छन् भने कोहीले थोप्ला–थोप्ला भन्ला । कसैले टाटा पनि भन्लान् । ती सबैको बुझिने नाम कालोपोतो नै हुन्छ । तपाईंको त्यो आएको धेरै भएकाले त्यति अर्जेन्ट भएन । त्यहाँ कुनै केही नगरी एकपटक समय मिलाएर काठमाडौं आउनुस् । दोलखा त्यति टाढा पनि होइन । यहाँ वीर अस्पताल वा शिक्षण वा अन्य अस्पतालको छाला विभागमा गएर देखाउनुभएमा सम्बन्धित विज्ञले आफ्नै आँखाले हेरेर निदान गरी त्यो कालोपोतोको भाग्य भनिदिनेछन्, ठीक हुने, कम हुने वा नहुने भनेर ।

प्रतिक्रिया दिनुहोस्