केही महिनाअघि लुम्बिनी प्रदेशकी स्वास्थ्यमन्त्री विमला वलीले कथित प्रेमी एकराज बस्नेतकी पत्नी मिनामाथि घरमा नै गई हातपात गरेको दाङको घटनाले सञ्चारमाध्यमलाई निकै ततायो । श्रीमान्को मृत्युपछि चुनाव लडेर सांसद भएकी वली राजनीतिक सक्रियतासँगै एकराजसँग नजिकिएको कुरा बाहिर आएको छ र वलीले आफ्नो प्रेमी भएको भनेको चर्चा पनि भयो ।
सार्वजनिक पदमा बसेकै बेलामा भएको यस्तो घटनाले चर्चा पाउनुको साथै विभिन्न कोणबाट विश्लेषण एवं चर्चा–परिचर्चा भए । साथै हिंसा गरिएको सन्दर्भको चर्को विरोध भयो । यसको परिणामस्वरुप सुरक्षा निकायबाट वलीलाई हिरासतमा राखियो । उनले मन्त्री पदबाट राजीनामा पनि दिनुप-यो । यस घटनामा पनि खासै चर्चा–परिचर्चा नभएको एक कुरा हो, मानव यौनिकताको सन्दर्भमा अर्को महिलाप्रतिको आक्रामकता तथा यौन प्रतिस्पर्धा । यस अंकमा यसैको बारेमा केही चर्चा गरिँदै छ ।
महिलाबीचको आक्रामकता
अहिले समाजका धेरैजसोले यौनको सन्दर्भमा कुरा गर्दा पुरुषहरू अर्को पुरुषप्रति आक्रामक हुन्छन् र कतिपय स्थितिमा महिलाप्रति पनि आक्रामक हुन्छन् भन्ने गरेको पाइन्छ । यस सन्दर्भका अनेकौं अध्ययन–अनुसन्धान भएका र त्यसका प्रमाणहरू रहेको भनेर पढ्ने-पढाउने गरिन्छ ।
लैंगिक हिंसासम्बन्धी कतिपय कार्यक्रमहरू सञ्चालन गरिएका छन् । तर यौनको सन्दर्भमा महिलाले अर्को महिलाप्रति गर्ने आक्रामक व्यवहारको सन्दर्भमा भने निकै कम मात्रै चर्चा हुने गरेको पाइन्छ । यस क्षेत्रमा सीमित मात्र अध्ययन–अनुसन्धान भएको पाउँछौं । त्यसैले जानकारी पनि तुलनात्मकरुपमा सीमित रहेको पाइन्छ । भविष्यमा यस सन्दर्भमा थप अध्ययन–अनुसन्धान हुँदै गए अनुसार थप जानकारी पनि आउने नै छन् । तर अहिलेसम्मका विभिन्न अध्ययन–अनुसन्धानले महिलाले पनि अर्को महिलाप्रति आक्रामक हुने, हिंसा गर्ने र आफ्नो यौनसाथीसँगको प्राप्त अवसरको प्रतिस्पर्धालाई कम गर्ने उपाय अपनाउने देखिएको छ ।
धेरै भाले जाति वा धेरै पोथीसँग यौनसम्बन्ध राख्ने कतिपय अन्य जातिभन्दा अहिले केही अपवादलाई छोडेर मानव जाति एक पति तथा एक पत्नीसँग यौन तथा वैवाहिक सम्बन्ध राख्नेतिर उन्मुख छ । सामाजिक मूल्य–मान्यता पनि त्यसै अनुसार प्रचलित बन्दै गएका छन् । यस्तो प्रचलन एवं नियमको कारणले अर्को विवाह गर्ने विकल्पलाई धेरै नै न्यून गर्दछ । यसो हुँदा पुरुष तथा महिला दुवैलाई आफ्नो लागि सर्वोत्तम यौनजोडी खोज्नु र चयन गर्नुपर्ने स्थिति आउँछ । यसले गर्दा सम्भावित सर्वोत्तम यौनजोडीलाई आफ्नो जीवन साथी बनाउने र त्यसलाई निरन्तरता दिने प्रतिस्पर्धालाई झनै बढाउने गर्दछ ।
पुरुषको आक्रामकतासँग दाँज्ने हो भने महिलाको आक्रामताको घटना कमै मात्र हुने हुन्छ र शारीरिकरुपमा गम्भीर प्रकृतिका घटना पनि कम मात्रै हुने गर्दछन् । आफ्नो यौनसाथी वा सम्भावित यौनसाथीको सम्भावनालाई कम गर्ने परिस्थितिलाई सामना गर्न महिलाहरूले एकातिर प्रत्यक्ष हिंसाको माध्यम अपनाउने गरेको देखिन्छ भने अर्कोतिर अप्रत्यक्ष तरिका । विकासवादको जैविक सिद्धान्त अनुसार पुरुषको आक्रामकता बढी हुनुले नै प्रजनन सफलतालाई सकारात्मक प्रभाव पार्ने ठानिन्छ ।
तर अहिलेको सामाजिक परिस्थितिमा सन्तान हुर्काउन मातापिता दुवैको आवश्यकता पर्ने हामी मानव जातिमा महिलामहिलाबीचको प्रतिस्पर्धा पनि चर्को नै हुने देखिन्छ । प्रजनन सफलताको लागि महिलाले पुरुषबाट गुणस्तरीय वंशाणुको मात्र होइन स्रोत उपलब्धताको पनि अपेक्षा गर्दछ । महिलाहरू पुरुषको दाँजोमा प्रत्यक्ष हिंसाको बाटो रोज्ने तुलनात्मकरुपमा कम देखिन्छ । प्रत्यक्षरुपमा हिंसामा संलग्न हुँदा आफूलाई लाग्ने चोटपटकको नकारात्मक असर प्रजनन क्षमता तथा सन्तानको हेरचाहमा पर्ने भएकोले जैविकरुपमा नै महिलाले यसो नगर्ने ठानिन्छ ।
महिलाहरूले अपनाउने उपायहरू
महिलाहरुले ‘मूल्यवान्’ यौनजोडी प्राप्तीको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै नै तरिकाहरू अपनाउने गर्दछन् ।
प्रत्यक्ष उपाय:
तुलनात्मकरुपमा पुरुषभन्दा कम मात्रै प्रत्यक्ष शारीरिक हिंसामा संलग्न हुने भए पनि आफ्नो हैसियत देखाउन वा उसलाई आफ्नो यौनजोडीबाट टाढा राख्न केही परिस्थितिमा हिंसाको प्रयोग गर्दछन् । माथि उल्लिखित घटना यसको उदाहरण हो । यस्तो हिंसा पिट्नेदेखि लिएर, गालीगलौज गर्ने वा अन्य अभद्र व्यवहार गर्नेसम्मका हुन्छन् । यो विशेष गरी किशोरावस्था तथा यौवनावस्थामा उच्च हुने गर्दछ भने उमेर बढ्दै गएपछि बिस्तारै कम हुने गर्दछ ।
अप्रत्यक्ष उपाय:
धेरैजसो महिलाले यौनजोडीको प्रतिस्पर्धामा आफूलाई अग्रस्थानमा राख्न अप्रत्यक्ष तरिका बढी अपनाउने गर्दछन् । जस्तै कि स्वः प्रवद्र्धन, प्रतिस्पर्धीको अपमान इत्यादि ।
स्वः प्रवद्र्धन: अर्की महिलासँगको प्रतिस्पर्धाको लागि स्वः प्रवद्र्धनको तरिका एक महत्वपूर्ण पक्ष हो । यसको लागि महिलाले विलासिता (luxury) का सरसामान, शृङ्गार तथा सौन्दर्यका सामानको प्रयोग, सौन्दर्य बढाउन कस्मेटिक शल्यक्रिया वा भनौं प्लास्टिक सर्जरी गर्ने रणनीति अपनाउने गर्दछन् ।
प्रतिस्पर्धीको अपमान: त्यसै गरी महिलाहरूले अर्को रणनीति आफ्ना सम्भावित यौन प्रतिस्पर्धीलाई अपमान गर्ने वा नीच देखाउने वा होच्याउने हो । सम्भावित प्रतिस्पर्धीको सन्दर्भमा गलत हल्ला फैलाउने वा रुपको बारेमा आलोचना गर्ने गर्दछन् । सामाजिकरुपमा नै उनीहरूलाई अलग्याउन वा एक्ल्याउन सक्दो कोशिश गर्दछन् । शारीरिक आकर्षण बढी भएकी महिलाहरू यस्तो आक्रामकतामा बढी पर्ने देखिन्छ । सामाजिक हैसियत माथि उठाउन चाहने महिलाहरूले अरु महिलाको आक्रामकता भोग्नुपर्ने हुन्छ । अर्को तरिका हो फोहोरी किसिमका कुरा गरेर लाजमर्दो बनाउनु । भनिन्छ, पुरुष तथा महिला दुवैले नै स्रोतको सम्भावना तथा यौनको लागि उपलब्ध भएको जनाउने सन्देशहरूलाई जीव वैज्ञानिकरुपमा ग्रहण गर्ने हुनाले प्रतिस्पर्धीको अपमानको तुलनामा स्वः प्रवद्र्धन बढी प्रभावकारी हुने गर्दछन् ।
यसरी सञ्चालित हुन्छ आक्रमकता
यौन तथा यौनिकताको कुरा गर्दा गुणस्तरीय वंशाणुको साथसाथै स्रोत–साधनको उपलब्धता सन्तानको गर्भधारण गर्न, जन्माउन र हुर्काउन आवश्यक हुन्छ । यसले प्रजनन सफलतालाई सहयोग गर्दछ । यस अर्थमा यौनजोडीको लागि प्रतिस्पर्धा हुनु र प्रतिस्पर्धीलाई पछि पार्नु मानवलगायत प्रत्येक जीवत्माको यो ध्येय प्राकृतिक हो । प्रतिस्पर्धीलाई पछि पार्दै आफू अगाडि रहने कुराको यौनको सन्दर्भमा आक्रामकता जोडिएको छ । यसको सञ्चालन जैविक तथा सामाजिक कुरा एक जटिल प्रक्रियाबाट हुन्छ । मस्तिष्क तथा रागरस (हर्मोन)को प्रभाव रहेको पाइन्छ । मस्तिष्कको कुरा गर्दा पुरुष–महिलामा खासै अन्तर नभेटिएको देखिएको छ भने महिलामा स्नायु प्रणालीले कसरी काम गर्दछ भन्ने अझै स्पष्ट छैन ।
हर्मोनको कुरा गर्दा, पुरुषको जस्तो आक्रामकतामा टेस्टेस्टेरोनको भूमिका धेरै रहेको देखिन्न । इस्ट्रोजन तथा प्रोजेस्टेरोनजस्ता महिला हर्मोनले आक्रामकतालाई कम गर्ने विश्वास गरिन्छ । अक्सिटोसिनजस्ता हर्मोनको परिस्थिति अनुरुप आक्रामकता कम वा बढी गराउन सक्छ । शारीरिक आक्रामकता वा हिंसामा संलग्न हुँदा लाग्ने चोटपटकले हालको वा भविष्यमा जन्माउने सन्तानको जीवित रहने सम्भावना नै कम हुन जाँदा प्रजनन क्षमतामा नकारात्मक असर पर्ने भएकोले महिलाले सकभर त्यसो गर्ने गर्दैनन् ।
कतिपय अन्य जनावरको तुलनामा अहिलेको स्थितिमा जन्माइसकेपछि सन्तानको हेरचाह गर्ने कार्यमा मातापिता दुवै नै संलग्न हुने देखिन्छ । तर पनि पुरुषको तुलनामा महिलाको जिम्मेवारी बढी रहेको पाइन्छ ।महिलाले आर्थिक स्थिति, गुणस्तरीय वंशाणुलाई महत्व दिएको स्थिति पनि त्यति नै महत्वपूर्ण छ । गुणस्तरीय वंशाणुसँगको मिश्रणमा जन्मिएको सन्तान राम्रो हुने स्थिति हुन्छ । विभिन्न सामाजिक परिस्थितिहरूमा गरिएका अध्ययनहरूले
श्रीमान्का अन्य श्रीमती (सौता) वा अन्य प्रेमिकाप्रति आक्रामकता देखाउने गर्दछन् ।
धेरैजसो स्थितिमा महिलामा यो आक्रामकता १५–१९ वर्षको उमेर समूहमा देखिने गर्दछ र पछि केही कम भएर जान्छ । जैविक विकासवादको सिद्धान्त अनुसार अन्तरनिहित कारण प्राकृतिकरुपमा एकातिर भए पनि सामाजिक विकासको क्रममा केही फरक प्रभाव पनि देखिएको बारेमा समेत चर्चा गरिने गरिएको छ । सबल तथा सक्षम महिलाको भूमिकामा एक हदसम्म पुरुषत्वको गुण देखिने कारणले पुरुषको जस्तै नै शारीरिक हिंसामा संलग्न हुने ठानिएको छ ।विभिन्न सामाजिक परिस्थितिमा गरिएका अध्ययनमा सौता–सौताका बीचको द्वन्द्वको सन्दर्भलाई सन्तान तथा स्रोतको कारणले भएको मान्ने गरिन्छ । तर वास्तवमा ९० प्रतिशत घटनामा यौन तथा भावनात्मक कारण रहेको देखिएको छ ।
यस्ता कतिपय महिला–महिलाबीचमा राम्रो यौनसाथी प्राप्त गर्ने सन्दर्भमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै तवरले एक किसिमको प्रतिस्पर्धा गर्नु र एक किसिमको द्वन्द्वको स्थिति हुनु प्राकृतिक कुरा भएको हुनाले आमूल परिवर्तन गर्न नसकिए पनि अहिलेको आधुनिक समाजका प्रचलित नियम अनुसार बस्नुपर्ने हुन्छ । त्यसो गर्न नसकिए समाजमा अपहेलना, मान हानि मात्रै होइन, सजायको भागीदार हुनुपर्ने स्थिति आउँछ ।