जाडो मौसम मृत्युको कारण नबनोस्



डा. प्रकाशराज रेग्मी

बूढापाकाहरु भन्ने गर्थे, जाडो भगाउने तीन उपाय छन् । रुई, दुई र फुई । रुई अर्थात् कपास, न्यानो कपडा, सिरक । दुई अर्थात् दुईजना सँगै सुत्ने÷बस्ने, जसले गर्दा एकलाई अर्कोको तातोले सपोट गर्छ । फुई अर्थात् आगो ।

जाडोको समयमा चिसो अत्यधिक बढ्छ । चिसोको मौसममा थुप्रै मान्छे प्रभावित हुने गरेका छन् । रोग बढ्ने गर्छ । चिसोमा विभिन्न रोगका कारण मृत्यु हुनेको संख्या पनि बढ्छ । चिसोको कारणले स्वास्थ्यमा असर पर्छ । यसले दुई प्रणालीमा बढी असर पार्छ । एउटा श्वासप्रश्वास प्रणाली र अर्को रक्तसञ्चार प्रणालीमा ।श्वासप्रश्वास प्रणाली अन्तर्गत अर्थात् रेस्पिरेटरी सिस्टम भन्नाले फोक्सो, श्वासनली पर्छ । रक्तसञ्चार प्रणाली भन्नाले रक्तनलीहरु र मुटुसँग सम्बन्धित पर्छ ।

श्वासप्रश्वासमा असर पर्ने भनेको चिसोमा रुघाखोकी धेरैलाई लाग्छ । रुघाखोकी बढ्दै गएर फोक्सोसम्म पुग्यो भने निमोनिया हुन्छ । त्यस्तै दम–खोकीबाट पीडितहरुलाई जाडोमा समस्या अझ बढ्छ । सुषुप्त अवस्थामा छ भने पनि चिसोमा दम बढ्ने, ज्वरो आउने, धेरै खोकी लाग्ने, पहेँलो कफ निस्कने समस्या आउन सक्छ । अनि शरीरमा अक्सिजनको कमी भएर यही कारणले मृत्युसमेत हुन सक्छ ।

चिसोको बढी खतरा साना बालबालिका र वृद्ध नागरिकलाई हुन्छ । चिसोले छातीमा असर ग¥यो, श्वासप्रश्वासमा असर ग¥यो भने वृद्धवृद्धा र बालबालिकाको मृत्युसमेत हुन सक्छ । जाडोमा कतिपय वृद्धवृद्धाले ‘यसपालिको पुस–माघ कट्ने हो कि हैन, गइने पो हो कि यसपालि’ भन्ने गर्छन् । माघ सकिएर फागुन ल्याग्यो, न्यानो शुरु भयो भनेपछि ‘ओ हो, यसपालिको खड्गो ट¥यो’ भन्ने चलन पनि छ । त्यसैले जाडो मौसम भनेको बालबालिका र वृद्धवृद्धाका लागि कालसरह हो । ठूलो असर पार्ने मौसम भएकाले यो बेला एकदमै सुरक्षित भएर बस्न आवश्यक हुन्छ ।

रक्तसञ्चार प्रणालीमा चिसोले कस्तो असर पार्छ भन्दा, पहिलो त चिसोका कारण मुटु छिटो चल्छ । चिसोको प्रभावले शरीरको तापक्रम घट्न थाल्छ । रगत सञ्चालन र तापक्रम उत्पादन गर्नका लागि मुटुलाई छिटो चल्नुपर्ने हुन्छ । त्यसैले मुटु छिटो चल्न थाल्छ, जाडोको प्रभावले । मुटु धेरै चल्नेबित्तिकै मुटुमा दबाब बढ्छ र मुटु कमजोर छ भने हार्ट फेलियरको अवस्थासमेत आउन सक्छ । मुटुको रोग जाडोमा किन बढ्छ भने, मुटुको धड्कन बढछ र मुटुमा चाप बढी पर्छ ।

दोस्रो कुरा, जाडोको प्रभावले रक्तचाप पनि बढ्छ । उच्च रक्तचाप भएका रोगीको रक्तचाप गर्मीमा भन्दा जाडोमा अत्यधिक बढ्छ । यो जाडोको प्रभावले हो । त्यस्तै मुटुका रक्तनलीहरु जाडोको प्रभावले एकाएक खुम्चिन सक्छन् । एकाएक खुम्चियो भने यसले हृदयाघात हुन सक्छ । जाडोको असरले रगतको जम्ने प्रक्रिया पनि बढ्छ र हृदयघातको सम्भावना बढ्छ । रक्तनलीभित्र कोलेस्टेरोल जमेर साघुँरो भएको छ भने त्यो बेला जमेको कोलेस्टेरोल च्यातिने सम्भावना अत्यधिक हुन्छ र त्यो ठाउँमा गएको रगत जमेर त्यहाँ पूरै ब्लक गरी हृदयघात हुने, मस्तिष्कघात हुने सम्भावना अत्यधिक हुन्छ ।

चिसोका थुप्रै असरहरु छन् । विशेष गरी मुटु र रक्तनलीहरुमा धेरै असर पार्छ । त्यसैले चिसोको समयमा के देखिन्छ भने, मानिसहरु जब घरभित्रबाट बाहिर सडकमा निस्कन्छन्, एकैचोटि चिसोको स्याँठमा पर्छन् र ह्वात्तै हृदयघात वा मस्तिष्कघात भएर सडकमा लड्छन् । विशेष गरी हिउँ पर्ने पश्चिमा मुलुकमा त्यस्ता घटना धेरै देखिन्छन् ।

घरभित्र न्यानो बनाइराखेको हुन्छ । सडक भने हिउँ परेर चिसो बनेको हुन्छ । न्यानो वातावरणबाट बाहिर चिसो वातावरणको सडकमा आउँदा सीधै असर पर्छ । तातो चिया खाएपछि, चिसो पानीले ग्लास पखाल्दा फुटेको जस्तो ।त्यसैले जाडोको मौसममा होसियार हुनै पर्छ । जो फोक्सो, मुटुका रोगी छन्, उनीहरुसहित बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउन उपायहरु गर्नुपर्छ ।

शरीरमा चिसो पस्ने पाँच स्थान

हाम्रो शरीरमा चिसो पस्ने पाँच स्थान छन् । टाउको, घाँटी, छाती, हात र खुट्टाबाट शरीरमा धेरै चिसो पस्छ । त्यसैले टाउको, घाँटी, छाती, हात र खुट्टालाई चिसोबाट बचाउन न्यानो बनाउनुपर्छ । टाउकोलाई न्यानो बनाउन टोपी लगाउने, घाँटीमा गलबन्दी, छाती जोगाउन वृद्धवृद्धा र केटाकेटीलाई भोटो वा थर्मल लगाउन दिएर न्यानो लुगा लगाइदिने गर्नुपर्छ ।
लुगा पनि पत्र–पत्र बनाएर लगाउने गर्नुपर्छ । यसरी पत्रपत्र लगाउँदा बाहिरको चिसो भित्रिने र भित्री शरीरको तातो बाहिरिने सम्भावना कम हुन्छ ।
जाडो मौसममा सावधानी

नेपालमा कोठाको तापक्रम र बाहिर सडकको तापक्रम खासै फरक हुँदैन । हाम्रो कोठा तताउने खासै हिटिङ सिस्टम हँुदैन । सडकबाट चिसो आउने झ्यालढोकाका चरहरु बन्द गर्ने व्यवस्था गर्नुपर्छ । भेन्टिलेसनको लागि भित्रको हावा बाहिर जाओस् भन्ने व्यवस्था गर्नुपर्छ । कोठामा तताउने हिटर बाल्ने गर्न सकिन्छ ।

ग्यास हिटर बाल्दा रातभर बाल्ने गर्नुहुँदैन । कतिपय स्थानमा आगो बालेर घरभित्र कोठा तताउने चलन छ । तर रातभर आगो बाल्ने गर्न पनि हुँदैन । कारणः मन्द धुवाँले रातभरमा मान्छेको ज्यान पनि जाने गरेको छ । यसमा ध्यान दिनुपर्छ । न्यानो बनाउनका लागि बारम्बार तातो पानी पिइरहने हो भने धेरै फाइदा गर्छ । गुलियो, पिरो, अमिलो खानेभन्दा पनि भिटामिन, प्रोटिनलगायतका पोषक तत्व भएका खानेकुरा खाँदा फाइदा हुन्छ । फलफूल, हरियो सागसब्जी, अण्डा, माछामासु र गेडागुडी मिलाएर खाने गर्नुपर्छ । यस्ता खानेकुराले शरीर तताउने मात्र होइन, स्वास्थ्यका लागि धेरै फाइदा गर्छ ।

एउटा भ्रम छ, रक्सीले शरीर तात्छ भन्ने । कतिपयले बेलुकी जाडो छ, जीउ तताउनका लागि भन्दै रक्सी खाने गर्छन् । यो सरासर गलत कुरा हो । रक्सीले तापक्रम बढाउने नभएर, शरीरमा भएको तापक्रमसमेत घटाइदिन्छ । रक्सी खाँदा क्षणिक रुपमा जीउ तातेको जस्तो अनुभव हुने मात्र हो । जीउ तातेको जस्तो अनुभव हुने भनेकोचाहिँ चिसो थाहा पाउने एउटा प्रक्रिया हुन्छ, त्यसमा अवरोध भएर थाहा नपाउने मात्रै हो ।

 

रक्सीले जीउलाई झनै चिसो बनाउँछ । त्यसैले जाडो भगाउने नाममा रक्सी खानु उचित होइन ।

बरु बेलुका गुन्द्रुकको झोल खाने गरेमा यसले जीउ तताउन मद्दत पुग्छ । जाडोमा हात–खुट्टा, जीउ चिसो हुने भएकाले शरीर तताउनकै लागि बेलुका हट वाटर ब्याग प्रयोग गर्न सकिन्छ । इलेक्ट्रिकल ब्ल्याङ्केट प्रयोग गर्न सकिन्छ ।अर्को कुरा, जाडोमा मुटुको धड्कन बढ्ने, रक्तचाप बढ्ने भएको हुनाले उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुले औषधिको मात्रा बढाउनुपर्ने हुन सक्छ ।

औषिध सेवन गरिरहेकाले जाडोमा एकपटक आफ्नो चिकित्सकसँग परामर्श लिनुपर्ने हुन सक्छ । साथै जाडोमा चिसोले रुघा, खोकी र निमोनियाको समस्या निम्तिने भएकाले यसविरुद्धको खोप दिन सकिन्छ । ६५ वर्ष नाघेकालाई निमोनियाविरुद्धको खोप एकपल्ट र रुघा–खोकीको वार्षिक रुपमा दिन पनि सकिन्छ । यी जाडोबाट बच्ने केही उपाय हुन् । जाडो नै रोगको कारण नबनोस् । जाडोबाट बच्ने यिनै उपाय अबलम्बन गरौं । विशेष गरी जाडोबाट बच्ने खालका खानपान गर्ने, लुगा लगाउने, व्यायाम गर्ने लगायतका जीवनशैली अपनाऔं । जाडो मौसम मृत्युको कारण नबनोस् ।

प्रतिक्रिया दिनुहोस्