‘म लाई आफैँ वा घरमा पकाएर ताजा खाना खाने समय छैन, मेरा छोराछोरीले दालभात खाँदैनन्, चिउरा र मकै उनीहरुको घाँटीबाट छिर्दैन, पिजा, केक आदि तयारी खाना खान मात्र रुचाउने गर्छन्’ भन्नेहरुले शायद स्वास्थ्य र समयबीचको सम्बन्ध बुझेका हुँदैनन् ।
स्वस्थकर खाना खाने समय नभएका मानिसहरु केही समयपछि बिरामी (शारीरिक र मानसिक) हुन्छन् । उनीहरुका छोराछोरी पनि बिरामी पर्छन् । युवा अवस्थामै तनावले गर्दा अनेक समस्या आइपर्छ । अनि बिरामी भएपछि त जसरी भए पनि स्वस्थकर खानाका लागि समय निकाल्नै पर्छ । तर हामीमध्ये धेरैले पछिको समयका बारेमा विचार गर्दैनौं । मानसिक र शारीरिक रुपमा बिरामी पर्छौं अनि मात्र झसङ्ग हुन्छौँ । आधुनिक चिकित्सा विज्ञानले शारीरिक स्वास्थ्य र भोजनको बारे अध्ययन धेरै गरे तापनि मानसिक स्वास्थ्य र भोजनको सम्बन्धका बारेमा भने बिस्तारै अध्ययन हुँदै छ ।
मानसिक स्वास्थ्यसँग भोजनको सम्बन्ध बलियोसँग जोडिएको छ भन्ने तथ्य त केही चिकित्सकले धेरै अगाडिदेखि भन्दै आएका छन् । तर चिकित्सा जगत्ले अहिले बल्ल यसबारे विचार विमर्श शुरु गरेको छ । पेटको स्वास्थ्य राम्रो रहनको लागि स्वस्थकर खाना खान जरुरी छ भन्नेमा शंका छैन । वैज्ञानिक भाषामा अहिले ‘गट माइक्रोबायोम’ को बारे धेरै छलफल शुरु भएको छ ।
‘माइक्रोबायोम’ शब्दको नेपालीमा विशेष शब्द छैन । यो भनेको ‘पेटको संसार’ भनेर बुझ्न सकिन्छ । यसको अर्थ पेटमा रहेका विभिन्न सूक्ष्म जीव अर्थात् कीटाणु, जीवाणु, ढुसी आदि हुन् । यिनले शरीरको विभिन्न अंगमा रहेर त्यसको वातावरणलाई स्वस्थ वा अस्वस्थ राख्न सक्छन् । यी कीटाणु शरीर र पेटको विभिन्न भाग (आन्द्रा) छाला, फोक्सो आदिमा पनि अवस्थित रहन्छन् ।पेटका कीटाणुहरुकोे उपस्थितिले हाम्रो शरीरको स्वास्थ्य र मानसिक स्वास्थ्यमा ठूलो भूमिका खेल्छ भन्ने सम्बन्धमा वैज्ञानिक अनुसन्धान पनि भएको छ । ‘गट माइक्रोबायोम’ को बारेमा छलफल गर्न एक भिन्नै विज्ञान विधा नै स्थापित भएको छ ।
हाम्रो पेटमा विभिन्न थरीका झन्डै दश निल (१०,००,००,००,००,००,०००) अर्थात् १०० ट्रिलियन माइक्रोबायोम रहन्छन् । यी कीटाणु–जीवाणुहरुको उपस्थितिले पेट र मस्तिष्कको संरचनामा र स्वास्थ्यमा पनि प्रभाव पार्छन् । यदि कुनै व्यक्तिलाई केही चिन्ताले सताएर मनमा लगातार तनाव भइरह्यो भने पेटको माइक्रोबायोमको संरचनामा पनि नकारात्मक असर पार्छ । अनि उसको पेट दुख्ने, दिसा लाग्ने पेट गडबड हुने, पेट ढुस्स हुने, खान मन नलाग्ने आदि समस्या देखा पर्छ । अनि पेटको स्वास्थ्य गडबड भएपछि पुनः मानसिक तनाव हुन्छ ।
वैज्ञानिकहरुले मुसाहरुमा अध्ययन गर्दा थाहा भयो कि जुन मुसाको पेटमा स्वस्थ माइक्रोबायोम थिए ती मुसा बढी चलाख देखिए भने त्यसको तुलनामा जसको पेटमा थरी–थरीका स्वस्थ कीटाणु र जीवाणु थिएनन् तिनीहरु कम चलाख थिए ।
‘बीबीसी २१ फेब्रुअरी २०१९’ मा लेखिएको एक लेख अनुसार झन्डै १ सय वर्षअघि भोजन र मानसिक स्वास्थ्यको बारेमा केही अनुसन्धान भए र हाम्रो भोजन तथा मानसिक स्वास्थ्यबीचमा सम्बन्ध देखियो । १९ औं शताब्दीमा डाक्टर जर्ज पोस्टर फिलिपनले लन्डनको बथलेन शाही अस्पतालमा मानसिक रोगीहरुलाई उपचार गर्ने क्रममा देखे कि मानसिक अवसाद भएका उनका केही बिरामीहरुलाई धेरै कब्जियत हुने, छालाको रंग फुस्रो हुने, उनीहरुमा अल्छीपन हुने गरेको पाइयो । प्रायः मानसिक रोगी भएपछि खाना नखाने भएकाले उनीहरुलाई कुपोषण हुन्छ । यसको बारे विचार गरेर डा. जर्जले सोही अस्पतालमा मानसिक बिरामीलाई उपचारको साथै स्वस्थकर खाना दिएर उनीहरुको पेटको स्वास्थ्य राम्रो पारे । अर्थात् ‘गट माइक्रोबायोम’ स्वस्थ पारे ।
बिरामीहरुको कब्जियत हटेपछि उनीहरुको उदास हुने रोग पनि हट्छ कि भन्ने उनको विचार थियो । उनले बिरामीको खानामा मासु हटाइदिए । माछाचाहिँ खान दिए । साथै केफिर (युरोपमा पाइने विशेष प्रकारको बाक्लो दही, जसमा लाक्टो ब्यासिलाइ नामक कीटाणु धेरै हुन्छ र यसले कब्जियत हटाउन मद्दत गर्छ, खाना पचाउन मद्दत गर्छ) पनि दिए । उदासीपनको समस्या भएका बिरामीलाई डा. जर्जले यसरी औषधिका साथै खानामा समेत परिवर्तन गरेर उपचार गर्दा ३२ जना बिरामीमध्ये ११ जना पूर्णरुपमा निको भए भने १२ जनालाई धेरै नै सुधार भयो ।
हुन त यो अध्ययन थोरै मानिसमा गरिएको थियो । तर यो सानो अध्ययनले पनि हाम्रो मानसिक स्वास्थ्यको स्थितिका सम्बन्धमा हाम्रो पेटमा रहेका कीटाणुहरुको पनि ठूलो भूमिका हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । तर जे भए पनि यतिको भरमा मात्रै मानसिक तनाव, डिप्रेसनजस्ता मानसिक रोगको उपचार गर्न त सकिन्न तर भोजन र मानसिक स्वास्थ्यको बीच सम्बन्ध छ भन्ने कुराचाहिँ स्थापित गर्न सकिन्छ ।
डा. जर्ज फिलिपनको अध्ययनपछि चिकित्सकहरु पेटको कीटाणु र मानसिक स्वास्थ्यको बीच सम्बन्ध छ भन्ने कुरामा धेरै सहमत भएका छन् । यद्यपि यो ज्ञानको व्यवहारिक प्रयोग नै गर्ने चिकित्सकहरु भने अझै धेरै कम छन् ।हाम्रो दैनिक अनुभवले भन्छ– हामीलाई तनाव भयो, मानसिक पीडा भयो भने पेटको स्वास्थ्यमा असर पर्छ । जस्तो कि कुनै अति नजिकको मान्छे वा परिवारका सदस्यको मृत्यु हुँदा वा परिवारका धेरैजना बिरामी हुँदा हाम्रो भोक–प्यास हराउँछ, खान मन लाग्दैन । जाँचको बेलामा तनाव भएर विद्यार्थीलाई वाकवाक लाग्ने, खान मन नलाग्ने, घरीघरी दिसा लाग्ने, पेट दुखेजस्तो हुने हुन्छ । आधुनिक चिकित्सा विज्ञानका जनक हिपोक्याटले भनेका थिए, ‘धेरैजसो रोगहरूको जरो पेटमा हुन्छ ।’
आधुनिक विज्ञानले र आयुर्वेद विज्ञानले पनि ‘पेटको समस्याको कारणले पछि विभिन्न रोगहरू उब्जिन्छन् भनेको छ । यसरी परम्परागत ज्ञान, वैज्ञानिक अनुसन्धान आदिले गर्दा बिस्तारै मानसिक रोग र पेटको स्वास्थ्यको बारेमा वैज्ञानिकहरुका बीच छलफल हुन शुरु भएको छ । यो विषयमा धेरै किताबहरू लेखिएका छन् । मुसाहरूमा पनि प्रयोगशालामा अनेक अनुसन्धान भइरहेको छ ।
‘पृथ्वीको मौसममा खराबी आए हरेक देशकै हावापानीमा खराबी आएजस्तै पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरमा खराबी आउँछ, साथै मस्तिष्कमा पनि समस्या पर्छ’ भन्ने जानकारी प्रायः हामीलाई हुँदैन । सबै मानसिक रोगीहरूलाई केवल पेटको स्वास्थ्य राम्रो पारेर मात्रै उपचार हुन्छ भन्नेचाहिँ अवश्य होइन तर भोजनको उचित प्रयोग गर्दा मानसिक स्वास्थ्यको उपचारमा ठूलो भूमिका खेल्छ भन्नेचाहिँ पक्कै हो ।
धेरै अनुसन्धानहरु यस विषयमा हुँदै छन् । जुन अनुसन्धानहरुले शारीरिक स्वास्थ्यसँग मानसिक स्वास्थ्यमा पनि भोजनहरुको ठूलो भूमिका रहेको देखाएका छन् । मानसिक समस्या भएकाहरुलाई उपचार, परामर्शको साथै अति आवश्यक भएको बेला अस्पतालमा भर्नासमेत गरेर उपचार गरिन्छ । तर अहिले के थाहा भएको छ भने, हाम्रो पेट स्वस्थ भयो भने अर्थात्
स्वस्थ खाना खायाैं भने मानसिक स्वास्थ्यको उपचारमा पनि निकै सकारात्मक प्रभाव पर्छ ।
वास्तवमा पेट र मस्तिष्कको गहिरो सम्बन्ध छ भन्ने कुरा त विज्ञानले पहिले नै सिद्ध गरिसकेको छ ।यी दुईको बीचको प्रगाढ सम्बन्ध भएकोले नै पेटलाई त ‘दोस्रो मस्तिष्क’ नै मानिएको छ । यसबारे अध्ययन अझै गरिँदै छ । पेटमा रहेका अर्बौं जीवाणु–कीटाणुको कारण नै हाम्रो भोजन स्वस्थकर वा अस्वस्थकर हुन्छ । अनि तिनै जीवाणु र कीटाणुले हाम्रो मस्तिष्क, भावना, मनको उतारचढावमा भूमिका खेल्छन् ।
४३ वर्षका रमेश नामका एक व्यक्ति मन उदास हुने, झ्याउ लाग्ने, एउटै काम लगातार गरिरहन नसक्ने समस्या लिएर डाक्टरकहाँ आएछन् । उनी घरमा पनि खाना खाने बेलामा एकदम रिसाउने, झर्किने गर्थे । यसै कारण कतिपय अवस्थामा त उनकी श्रीमतीले उनीसँग बसेर खाना नै खान्नथिन् । ती पुरुषलाई मानसिक रोग उदासीपन (डिप्रेसन) भएकोले भोक थिएन । त्यसैले उनी झर्किने र फन्किने गर्थे ।मानसिक रोग उदासीपनको उपचार गरेपछि उनले खाना राम्रोसँग खान थाले । अनि झर्किने, फन्किने बानी पनि कम भयो । वास्तवमा उनी उदासीपन अर्थात् डिप्रेसनको समस्याले गर्दा भोजन गर्दैनथे । अनि झन् समस्या बढ्दै गएको थियो ।
‘जैसा खाए अन्न, वैसा होए मन’ भन्ने उखान नै छ । आयुर्वेद विज्ञानले भन्छ, ‘खानाले मान्छेको मन, विचार र व्यवहारमा पनि फरक पार्छ ।’ अर्को एउटा भनाइ पनि छ, ‘शरीर स्वस्थ भयो भने मन स्वस्थ रहन्छ । पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ रहन्छ ।’
मस्तिष्कबाट नै हाम्रो भावना, दुःख, सुख, क्रोध झर्को लाग्ने आदि क्रिया परिचालित हुन्छ भन्ने प्रायः हामीलाई थाहा छ । तर हामीमध्ये कसै–कसैलाई मात्र थाहा छ कि हाम्रो पेटमा पनि मनलाई प्रभाव पर्ने अंग छन् । पेटको स्वास्थ्यसँग मानसिक स्वास्थ्यको सम्बन्ध भएकाले अहिले विभिन्न वैज्ञानिकले बिर्सिने रोग, पार्किन्सन रोग, चिन्ता, मानसिक अवसाद, मानसिक समस्याहरुमा पनि पेटको जीवाणुले भूमिका खेल्छ भनेर वैज्ञानिक अनुसन्धान गर्दै छन् ।
आन्तरिक रस (हर्मोन) सेराटोनिन पनि एक यस्तो तत्व हो, जुन स्वस्थ पेटमा पर्याप्त मात्रामा उत्पादन हुन्छ । यसले हाम्रो मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति जगाउँछ । सेराटोनिनको कमी भएपछि मन उदास हुने समस्या हुन सक्छ । विज्ञानले भन्छ, ‘३० प्रतिशत सेराटोनिन मस्तिष्कमा उत्पन्न हुन्छ र ७० प्रतिशत पेटमा उत्पन्न हुन्छ ।’ जुन तत्व पेटमा उत्पन्न भएर मस्तिष्कको कार्यलाई नियन्त्रण गर्छ, त्यो पेट पनि त स्वस्थ हुनुपर्यो ।
स्वास्थ्य राम्रो रहन विभिन्न सूक्ष्म पोषण तत्व– लौहतत्व, क्याल्सियम, फाइबर, फोलिक एसिड, भिटामिन बी १२ आदिको ठूलो भूमिका हुन्छ । यी सबै तत्व हाम्रो भोजनमा नै पाइन्छ । स्वस्थकर खाना खाए सजिलै प्राप्त हुन्छ । नुन, चिनी बढी भएका खाना खाइरहनेलाई मधुमेह, उच्च रक्तचाप बढ्न सक्छ । यस्ता समस्याले मस्तिष्कलाई नकारात्मक असर पर्छ । स्वस्थकर खाना र व्यायाम, असल जीवनशैलीले यो समस्या कम गर्छ ।
अध्ययनले देखाएको छ कि मधुमेहको समस्या, उच्च रक्तचाप हुनेहरुलाई बिर्सने रोगले च्याप्ने बढी सम्भावना हुन्छ । स्वस्थकर खाना खाए मधुमेह र उच्च रक्तचापको सम्भावना कम हुन्छ । यदि यी समस्याहरु छन् भने पनि स्वस्थकर खाना खाएर यस्ता समस्या नियन्त्रण गर्न सकिन्छ । अर्थात् पेटको जीवाणु र कीटाणुलाई स्वस्थ राख्ने हो भने यस्ता समस्या न्यून गर्न सकिन्छ । अनि मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ ।
यही कारणले अहिले ‘मानसिक स्वास्थ्य र पोषण’ भनेर विज्ञानको भिन्नै विधा नै स्थापित भएको छ । भविष्यमा त मानसिक रोग विज्ञहरुले मानसिक रोगमा कस्तो पोषण दिने भन्ने पनि परामर्श दिने नै छन् । अहिलेदेखि नै तपाईं र हामीचाहिँ पेटको स्वास्थ्य राम्रो राखेर तनावरहित भए राम्रो ।