तपाईका घरमा हाम्रा डाक्टर



१. मेरो मुटु बेला–बेलामा ढुकढुक, ढुकढुृक गरेर धड्कन बढेको जस्तो हुन्छ । केही समयपछि फेरि ठीक भएजस्तो हुन्छ । यस्तो भएको एक वर्षजति भयो । यो सामान्य प्रक्रिया नै हो कि, अरु समस्याको संकेत हो ? सुझावका लागि अनुरोध छ ।

– चन्द्रिका धमला, हालः गोंगबु, काठमाडौं

चन्द्रिकाजी, सामान्यतया मानिसले आफ्नो मुटुको धड्कन महसुस गर्नु नर्मल अवस्था हुँदै होइन । किनकि कुनै पनि स्वस्थ मानिसले आफ्नो कुनै पनि अंगको महसुस गर्न सक्दैन । जुन अंग महसुस हुन्छ, त्यो अंगको समस्या वा त्यो अंग सम्बधित अर्को अंग अथवा मानसिक समस्याले महसुस गराउने हुनसक्छ । यो ढुकढुक हुन जाने अवस्था मुटु हल्लिएर नै पनि हुनसक्छ । त्यस्तै उच्च रक्तचाप हुनेलाई, हृदयघात भएकालाई पनि हुनसक्छ । त्यस्तै मानसिक तनाव, चिन्ता, डिप्रेसन हुनेलाई पनि यो समस्या हुनसक्छ । यो ढुकढुक गरेको बेलामा ईसीजी खिचेर त्यो ढुकढुकको चरित्र चिन्न पाए यसको निदान हुन्थ्यो अनि उपचारका बारेमा निर्देशन गर्न सकिन्थ्यो । यदि तनावले, चिन्ताले भएको भए त्यो साधारण नै मान्न सकिन्छ । चिन्ता–पिर कम गरेमा र कुनै रोगले यस्तो भएको होइन भन्ने कुरामा ढुक्क भएमा त्यो आफैँ हराएर जाने हुन्छ । यी सम्पूर्ण कुराको स्पष्ट उत्तरको लागि केही परीक्षण गर्नुपर्ने हुन्छ । साथै सम्बन्धित चिकित्सक (कार्डियोलोजिस्ट) भेटेर परामर्श गर्नुपर्ने हुन्छ । त्यसको लागि काठमाडौंमै हुनुभएकाले गंगालाल अस्पताल वा वीर अस्पताल अथवा शिक्षण अस्पताल परिसरको मनमोहन मुटु केन्द्रमा गएर देखाउनुहुन सल्लाह दिइन्छ ।

२. म २२ वर्षको भएँ । मेरो अझै दाह्रीजुँगा नआएकाले चिन्तित छु । यो कुनै रोगको संकेत हो कि ? प्रस्ट पारिदिन अनुरोध छ ।

– सुशील ढुंगाना, त्रिशुली 

सुशीलजी, तपाईं जुन कुराले चिन्तित हुनुहुन्छ त्यो त्यति चिन्ता गर्ने कुरा होइन । किनभने कसै–कसैको दाह्री–जुँगा अलि ढिलो आउने हुनसक्छ । हुन त २२ वर्षसम्म दाह्री–जुँगा अलि–अलि त आउनु पर्ने हो, कमसे कम जुँगाका रेखीसम्म भए पनि बसिसक्नुपर्ने हो । उमेर पुगेका सबैलाई यस्ता कुरा मनमा लाग्नु स्वाभाविक पनि हो । तर तपाईंको अत्तालिने उमेर भैसकेको वा काटिसकेको छैन । २५ वर्षसम्म धैर्य गर्नुस्, आउन सक्छ । फेरि दाह्री–जुँगा आउँदा पनि कोहीको अलि पातलो अनि कोहीको बाक्लो जसरी पनि आउन सक्छ । केही मात्रामा हर्मोन अनि केही मात्रामा वंशाणुगत गुणले सबै निक्र्योल गर्ने हुनाले कुनै ट्याक्क उत्तर दिन सकिने हुँदैन । अर्को कुरा, दाह्री–जुँगा नै सम्पूर्ण कुराको उत्तर होइन । स्वस्थ, तन्दुरुस्त तथा यौवन हुँदा पनि दाह्री–जुँगा नआउन पनि सक्छ । तपाईंको हकमा देखाउनै पर्ने भएमा इन्डोक्रिनोलोजिस्टलाई देखाउनु राम्रो हुनेछ ।

३. आजकल कम उमेरका मानिसलाई नै ब्लड प्रेसर बढ्ने समस्या हुने गरेको सुनिन्छ । ब्लड प्रेसर बढ्ने समस्या आउन नदिनका लागि अपनाउनुपर्ने विधि केही छन् भने बताइदिन आग्रह छ ।

– मोती तिमल्सिना, धादिङ ।

मोतीजी, तपाईंले भनेको शत प्रतिशत सत्य हो । आजकल जीवनशैलीसँग सम्बन्धित रोगहरु, जसमा उच्च रक्तचाप, हृदयघात, चिनीरोग, मोटोपनजस्ता समस्याहरु पर्ने गर्छन् । तिनीहरु जवान भएर गएको मानिन्छ । यसको मतलब पहिले–पहिलेको जस्तो ५०–६० वर्षपछि होइन कि २०–३० वर्षमै पनि देखिन थाल्यो । आफ्नै अनुभव साटासाट गर्ने हो भने, एक वर्षपहिले दुईजना नौ कक्षाका विद्ययार्थीलाई उच्च रक्तचापको औषधि नै चलाउनुपरेको थियो, धेरै नै उच्च भएर । यस्ता समस्या जीवनशैलीसँग सम्बन्धित हुनाले यी समस्या आउन नदिने उपाय भनेको नै जीवनशैली सुधार्नु, बिग्रन नदिनु हो । यसमा चिल्लो–नुनिलो कम खाने, नियमित सक्रिय हुने, व्यायाम नियमित गर्ने, तनावमा कमभन्दा कम रहने, सकारात्मक सोच्नेजस्ता सैद्धान्तिक कुराहरु कायम राख्नु जरुरी रहन्छ । जीवनशैली सुधारियो भने यी समस्या या त आउँदै नआउन सक्छन्, आए पनि अलि ढिलो आउने सम्भावना रहन्छ ।

४. खसी, बंगुर, कुखुराको बोसो खाँदा मुटुलाई असर गर्छ तर माछाको बोसोले असर गर्नेभन्दा फाइदा नै बढी गर्छ भनेको सुनिन्छ । के यो साँचो हो ? माछाको बोसो जति खाए पनि हुने हो ?

– सुरेन्द्र त्रिपाठी, दमौली ।

सुरेन्द्रजी, यहाँले भनेको सत्य हो । माछाको बोसोमा अन–स्याचुरेटेड प्रकृतिको चिल्लो तत्व हुन्छ, जसमा ओमेगा फ्याट्टी एसिड हुन्छ । यसबाट मुटुमा फाइदाजनक प्रभाव हुन्छ भन्ने प्रमाणित तथ्य हो । त्यसैले सकेसम्म, सम्भव भएसम्म हप्तामा दुई छाक माछाको परिकार खानु श्रेयष्कर हुन्छ भनिन्छ । तर यसो भन्दैमा माछाको बोसो किलोका किलो खाने होइन । जे पनि धेरै खाँदा त्यसले फाइदा गर्दैन । ठिक्क मात्रामा खाएको माछाको तेलले मुटुमा मात्रै नभएर मस्तिष्क, रक्तनली, रोगसँग लड्ने रोगप्रतिरोधात्मक शक्ति बढाउने हुन्छ । यसरी माछाको तेलले फाइदा गरेको प्रमाणित तथ्यहरु छन् । त्यसैले ठिक्क मात्रामा मिलेसम्म सबैले स्वस्थ तरिकाले माछाको परिकार बनाएर खाने गरौँ ।

५. मेरो उमेर २४ वर्षको भयो । अहिले म गर्भवती छु । बच्चा पैदा गर्दा धेरै कठिन हुन्छ भन्ने सुनेकीले अपरेसन गरेर बच्चा पाउने विचारमा छु । यसले पछि कुनै अप्ठ्यारो पर्ला कि नपर्ला ? स्पष्ट पारिदिनुहुन अनुरोध छ ।

– जसुदा देवी, सिन्धुलीमाडी ।

जसुदाजी, तपाईंलाई मेरो एउटा सल्लाह छ । प्रकृति अनुसार हामी हिँड्नुपर्छ र सकेसम्म प्राकृतिक रुपमै बच्चा जन्माउनुपर्छ । यो संसारमा बच्चा पाउने जिम्मा लिनुभएको अवस्थामा अप्ठेरो नपरीकन, अप्रेसन गर्नै पर्ने सल्लाह सम्बन्धित चिकित्सकले नदिएसम्म त्यस्तो बिचार नसोच्नुहोला । मातृत्व ग्रहण गरेर, आफैँ सबै कुरा भोगेर, मेहनत गरेर जन्मेको बच्चा अनि जन्मेपछिको अपनत्व अर्कै हुन्छ । यसबाहेक प्राकृतिक रुपमा जन्मदा यदि अन्य केही समस्या आइलागेन भने अस्पताल बसाइ अलि कम हुन्छ । साथै आमाको दूध आउने रिफ्लेक्स अलि सहज विकास भएर दूध छिटो तथा सजिलै आउने सम्भावना हुन्छ । अपरेसन गरेपछि हुने घाउ, घाउ सन्चो भएर रहने खत वा दाग अनि अपरेसन गर्दा हुनसक्ने अन्य समस्याहरु प्राकृतिक रुपमा बच्चा जन्माउँदा हुने कुरै भएन । प्राकृतिक रुपमा बच्चा जन्माउँदा हुने क्षणिक दुखाइ पृथ्वीमा भएका सबै जीवित माताहरुले सहजै पार गर्नुभएको छ भने यहाँलाई अलग्गै गाह्रो हुने कुरै भएन । तर चिकित्सकले अपरेसन गर्नै पर्छ भनेमा त अरु कुरा सोच्दै नसोची गर्नुपर्छ । अब त यसबारेमा स्पष्ट हुनुभयो होला ।

६. मेरो छोराको उमेर १० वर्ष भयो । सानोमा लडेर ओठमा चोट लागेकोले त्यस बेला सिलाइयो । त्यसको खत बसेकाले अहिले उसलाई निरासा भएको छ । म धेरै खर्च गर्न पनि सक्तिन । समाधानका लागि कुनै सहज उपाय भए बताइदिनु अनुरोध छ ।

– नरबहादुर कार्की, उदयपुर ।

नरबहादुरजी, हेर्नुस् आजकल चिकित्सा विज्ञानले विकासको ठूलो फड्को मारेको छ । अहिले सौन्दर्य चिकित्सा तथा प्लास्टिक सर्जरी नेपालमा पनि निजी क्षेत्रका अस्पतालमा हुने गरेको छ । त्यस्तै साधारण खालको त सरकारी अस्पतालमा समेत हुन्छ । त्यसैले निरास हुने होइन कि मिल्न सक्ने आफूले जानेको, बुझेको, खोजेको जति प्रयास गर्ने अनि सम्झाउने हो । एक त छोरीहरुलाई जस्तो छोराहरुलाई त्यति चिन्ता गर्नुपर्दैन हाम्रो परिवेशमा, तर पनि राम्रो हुनु, सुन्दर देखिनु सबैमा हुने जन्मजात गुण हो र अधिकार पनि । त्यसैले एकपटक काठमाडौंमा आएर कान्ति बाल अस्पताल अथवा कीर्तिपुरको अस्पतालमा सम्पर्क गरी परामर्श लिएमा समाधान निस्कने नै छ । धेरै नै सानो दाग हो भने त त्यति फरक पर्दैन, चिन्ता नलिई बस्न सल्लाह दिइन्छ ।

(सकेसम्म छोटो र एकपटकमा एउटामात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected][email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्