सन् १९९८ मा अमेरिकी राष्ट्रपति वील क्लिन्टनले ‘मेरो यौनसम्बन्ध सुश्री लुविन्स्कीसँग छैन’ भनेको कुरा टेलिभिजनमा आएपछि संसारभरि नै त्यसको चर्चा भएको थियो । त्यसै गरी, प्रसिद्ध गायक उदितनारायणको सन्दर्भमा पनि मुम्बईको सफलतापछि यस्तै खाले चर्चा भएको थियो ।
उनको पहिले नै विवाह भएको र सोको पारपाचुकेको सन्दर्भमा स्वीकार नगरिएका कुराहरू चर्चामा आएका थिए । अनि हाम्रो राजनीतिक वृत्तका एक प्रभावशाली नेता शेरधन राईलाई बालिका खड्काले आफ्नो इज्जत लुटेको भनेर लगाएको आरोपलाई राईले अस्वीकार गरेका थिए । त्यसै गरी सुन्दरी प्रतियोगिताका व्यवस्थापक मनोज पाण्डेले घटनाको सन्दर्भमा नशालु औषधिको प्रयोग गरी बालिका बलात्कार गरेको घटना सार्वजनिक भएपछि त्यसलाई नकारेका थिए ।
उक्त बालिकाले पैसा मागेकोले सो दिएर सहमतिमा यौनसम्पर्क गरेको भनेर दोष बालिकामाथि नै थोपरेका थिए ।
प्रेम वा यौनसम्बन्धको सन्दर्भमा यदि सो सामाजिक अपेक्षाभन्दा फरक छ भने त्यसलाई अस्वीकार गर्ने गरेको पाइन्छ । फराकिलोरुपमा मनोविज्ञानलाई हेर्ने हो भने यस्तो अस्वीकार गर्ने चलन यौन वा प्रणय सम्बन्धमा मात्र सीमित नभई समाजका अन्य क्षेत्रमा पनि त्यसरी नै पाइन्छ ।
अस्वीकार्यता के हो ?
वस्तुगत यथार्थ वा अनुभवलाई नमान्ने मनोवैज्ञानिक प्रवृत्ति नै व्यक्तिगत रक्षा संयन्त्रको रुपमा प्रयोग गरिने ‘अस्वीकार्यता’ हो । यो अस्वीकार्यता समान्य दैनिकीमा कसैको अनुरोध वा निर्देशन नमान्ने कुरा मात्रै होइन । यस्तो किसिमको अस्वीकार्यताले गर्दा अचेतन प्रक्रियाको रुपमा मनोवैज्ञानिक असहजता वा चिन्ताबाट व्यक्तिलाई सुरक्षित राख्न सहयोग गर्दछ ।
यो अवधारणा प्रसिद्ध मनोवैज्ञानिक सिगमन्ड फ्रायडले प्रतिपादित गरेको कार्यबाट आएको भए पनि यसलाई विस्तारित उनैकी छोरी अन्ना फ्रायडले गरेकी हुन् । उनका अनुसार वास्तविकतालाई स्वीकार्न नमानेर यस्तो ‘अस्वीकार्यता’ले अचेतनरुपमा इगो (भनय) लाई असजिलो र तनावबाट बचाउँछ ।
फ्रायडका अनुसार इद (क्ष्म), इगो (भ्नय) र सुपर इगो (क्गउभच(भनय) हुन्छन् । अस्वीकार्यता बाल्य तथा किशोरावस्थामा व्यक्तिले धेरै नै प्रयोग गर्ने गर्दछन् र वयष्क अवस्थामा यसको नियमित प्रयोग हुँदा हानिकारक हुन सक्ने भनिन्छ । फ्रायडले प्रतिपादित गरेका कतिपय सिद्धान्त अहिले मान्य नभए पनि यो अवधारणालाई भने मान्य मानिन्छ । अहिलेका मनोविश्लेषकहरूले अस्वीकार्यतालाई समस्याको सामना गर्ने चक्रको पहिलो चरणको रुपमा लिने गर्दछन् । कुनै अप्रिय घटना घटेमा शुरुमा त्यसलाई अविश्वास गर्ने आवेग नै आउँछ र पछि बिस्तारै एक स्वस्थ दिमागमा चेतनरुपमा स्वीकार गर्ने स्थितिमा पुग्ने देखिन्छ ।
अस्वीकार्यताका तहहरू तथ्यको अस्वीकार्यता:
कुनै अनुपयुक्त कार्य गरेपछि त्यस किसिमको घटना घट्यो भन्ने तथ्य कुरालाई मान्न पनि अस्वीकार गर्ने गर्दछन् । यस्तो बेला ‘त्यस्तो भएको नै छैन’ वा ‘ममाथि लगाइएको आरोप झुटो हो’ भन्ने गरिएको पाइन्छ ।
जिम्मेवारीको अस्वीकार्यता:
यसमा घटनाको प्रभाव वा असरलाई अस्वीकार गर्ने गरिन्छ । यस्तो बेलामा ‘यो खासै ठूलो विषय होईन’, ‘यसको बारेमा त्यति संवेदनशील हुन आवश्यक छैन’, वा ‘तिललाई पहाड नबनाऊ’ जस्ता भनाइ हामीले सुन्ने गर्दछौं ।
प्रभावको अस्वीकार्यता:
यसमा घटनाको सन्दर्भमा व्यक्तिले घटना वा समस्याको सन्दर्भमा जिम्मेवारीलाई वा उत्तरदायित्वलाई लिन अस्वीकार्य गर्दछ । यस सन्दर्भमा उनीहरूले ‘यो मेरो नियन्त्रणभन्दा बाहिर थियो’, ‘तिमीले यस्तो गरेकोले नै यो भएको हो’ वा ‘अत्यधिक तनावको कारणले यस्तो भएको हो’ भन्ने गरेको पाइन्छ ।
परिवर्तनको अस्वीकार्यता:
यसमा घटेको घटना वा समस्याको समाधानलाई आवश्यक पर्ने परिवर्तनलाई अस्वीकार गर्ने गरिन्छ । उनीहरुले ‘जे हुनु भैसक्यो, अब यसको बारेमा कुरा गर्नुको कुनै अर्थ छैन’ वा ‘कोही पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन’ जस्ता कुरा भन्ने गरेको पाइन्छ ।
कसै–कसैले यो चौथो प्रकारको अस्वीकार्यतालाई चेतनाको अस्वीकार्यता पनि भन्ने गरेका छन् । यसमा पीडालाई विषयान्तर गर्न अर्थात् अर्कोतिर फर्काउन, चेतना वा जागरुकताको स्तर अवरुद्ध हुनाले यस्तो भएको भनिन्छ । लागूऔषधको लत परेको व्यक्तिको भनाइ वा परिस्थितिलाई यसमा चर्चा गरिन्छ ।
मनोवैज्ञानिक उपचार
कतिपय स्थितिमा अनुपयुक्त किसिमका क्रियाकलापमा संलग्न भएपछि त्यसका सामाजिक र कानुनी पक्ष हुन्छन् र त्यसै अनुसारको सामाजिक वा कानुनी उपचारमा जान्छ । मनोवैज्ञानिक पक्ष त्यहाँ हुने भए पनि त्यस पक्षको उपचार भने प्राथमिकतामा पर्दैन । तर हामी यहाँ मनोवैज्ञानिक पाटोमा केन्द्रित हुने कोशिश गर्नेछौं ।
मनोवैज्ञानिकरुपमा हेर्ने हो भने यस किसिमको अस्वीकार्यताले छोटो समयमा व्यक्तिलाई यसले समस्याबाट टाढा राख्न मद्दत गरे पनि भविष्यमा भने समस्यामा नै पार्दछ । बाल्य तथा किशोरावस्थामा धेरै प्रयोग हुने यो तरिका वयष्कमा निरन्तर प्रयोग भएमा हानि पु¥याउन सक्छ । यथार्थ के हो भने अहिले अस्वीकार गरे पनि कुनै न कुनै समयमा सत्यतथ्यलाई सामना गर्नु नै पर्दछ र सो स्थितिमा मनलाई आराम हुनेभन्दा हतास नै हात लाग्छ ।
मनोवैज्ञानिकरुपमा हेर्दा, सत्यतथ्यलाई स्वीकार्दा वा सामना गर्दा व्यक्तिलाई अलि गाह्रो नै हुने भएकोले अस्वीकार गर्ने गर्दछन् । उपचारको क्रममा माथि भनिएका अस्वीकार्यताका प्रकारहरूलाई चरणबद्धरुपमा स्वीकृति वा स्वीकार्यतामा परिवर्तन गर्न सकेमा समाधान मिल्दछ ।
समाधानको कुरा गर्दा पहिलो चरणमा समस्यालाई नै अस्वीकार गरेको स्थितिबाट समस्या वास्तवमा नै छ भनेर स्वीकार गर्ने स्थितिमा पु¥याउनु हो । समस्याको वास्तविक समाधान यही विन्दुबाट शुरु हुन्छ । त्यसपछिको स्थितिमा समस्यालाई स्वीकार्नुमात्र होइन, यी समस्याको प्रभावको गाम्भीर्यतालाई पनि स्वीकार गर्दछ । अनि त्यसपछिको चरणमा व्यक्तिले समस्या, त्यसको असरका साथसाथै त्यसको सन्दर्भमा आफ्नो जिम्मेवारीलाई पनि स्वीकार गर्दछ ।
अन्तिमको चरणमा भने व्यक्तिले आफ्नो क्रियाकलापको सन्दर्भमा त्यसलाई निको पार्न पश्चात्ताप गर्दछ । परिवर्तनको लागि गरिने कार्य उसको भनाइ तथा कर्म दुवैको माध्यमबाट प्रस्फुटित हुन्छ । समस्याको समाधानको लागि चाहिने कुरा उसका क्रियाकलापमा झल्कन्छन् ।
तर कुनै व्यक्तिले आफैंले तथ्यसत्यलाई अस्वीकार गर्ने चरणबाट परिवर्तनको चरणसम्म ऊ आफैं नै स्वतः पुग्न सक्ने स्थिति नहुन सक्छ । त्यसैले यस्तो स्थितिमा विशेषज्ञ मनोवैज्ञानिक वा मनोवश्लेषकहरूले सहयोग गर्न सक्छन् । मनोवैज्ञानिक उपचार विधिमा सुरक्षितरुपमा बिस्तारै वास्तविकताको सामना गर्ने वातावरण प्रदान गरिन्छ ।
यसले अस्वीकार्यताको स्थितिबाट बिस्तारै स्वस्थरुपमा स्थितिको सामना गर्न सक्ने सीप दिनुको साथै स्वीकार्यताको स्थितिमा पनि ल्याउन मद्दत गर्दछ । यस प्रकारका उपचार विधिले व्यक्तिलाई चिन्ता वा तनाव गराउने अन्तरनिहित कारणहरूलाई उजागर गर्न सहयोग गर्दछ । कहिलेकाहीँ उपचारकर्ताको सरसल्लाहलाई अस्वीकार गरेको स्थितिमा अलि असजिलो परिस्थिति पनि बन्न सक्छ ।