‘बिहे गरेर जनकपुर जानासाथ काममा यति व्यस्त भइयो कि श्रीमतीलाई सिनेमा देखाउन लान पनि भ्याइएन । जनकपुरमा त्यो बेला एउटा सिनेमा हल थियो । एकदिन बल्ल–बल्ल समय मिलाएर गयौँ । हिन्दी सिनेमा चलेको रहेछ, राम्रै थियो । सिनेमा सकिएकै थिएन, हलमा एक्कासी बत्ती बल्यो र सिनेमा बन्द भयो ।
डाक्टर साब ∕ डाक्टर साब ∕ भन्दै २–४ जना भलाद्मीहरू दौडेर यताउति हेर्दै हलभित्र आए । मेरो छेउमा आई ‘एकछिन् जाऊँ न डाक्टर साब, घरमा बिरामी छ, छिटो गई हेरेर फेरि आइहाल्नुस्’ भने । यसरी खोज्दै आएपछि जानै प¥यो, गएर बिरामी जाँचे । त्यो काम सकेर आउँदा पनि सिनेमा रोकिई नै राखेको रहेछ । आफ्नो सिटमा आएर बसेँ । अनि फेरि सिनेमा शुरु भयो । हामीले पूरा सिनेमा हे¥यौँ । यस्तो पनि हुँदो रहेछ ∕
यस्तै अर्को एक घटना: त्यो बेला वीर अस्पतालका डाक्टरहरूले शाही परिवारलाई घरमै पनि सेवा दिनुपथ्र्यो ।खासगरी तत्कालीन राजा वीरेन्द्रका फुपूहरूलाई । ताहाचलमा तारा राज्यलक्ष्मी देवी र थापाथलीमा रमा राज्यलक्ष्मी बस्ने गर्थे ।मेडिकल डिपार्टमेन्टका केही चिकित्सकको दैनिक अफिसियली ड्युटी नै उनीहरूकहाँ हुन्थ्यो ।
मेरो ड्युटी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पथ्र्यो ।एकातिर हामी चिकित्सकहरू ड्युटी गथ्र्याैं, अर्कोतिर ज्ञानेन्द्र, धीरेन्द्र, कोमल, प्रेक्ष्याले पालैपालो ड्युटी गर्थे । कोही–कोही सिनियर डाक्टर त्यहाँ बिरामी जाँच्न भित्र जाँदा ढोकाबाट छिर्दा नै घुँडा टेकेर हनुमानजस्तो भई घिस्रिँदै जाने गरेको मैले देखेँ । अन्यत्र बिरामी जाँच्दा हामी ‘सास लामो–लामो तान्नुस्, लामो–लामो सास फेर्नुस्’ भन्छौँ ।
त्यहाँ बिरामी जाँच्दा पनि ‘सरकार ∕ सास फेरिबक्सियोस्’ भन्नु नै सही तरिका हो भन्ने मलाई लाग्थ्यो । तर केही सिनियर डाक्टरहरू त्यहाँ सास फेर्नु भन्नलाई पनि ‘सरकार जय होस्, जय होस्’ भन्ने गरेको देखेँ । त्यो देख्दा यो कस्तो सिस्टम चलाएको होला ? भनेर मलाई अचम्मै लाग्थ्यो । डाक्टर भएर किन यसो गर्नुप¥यो र भन्ने भइरहन्थ्यो ।
म जाँच्न जाँदाचाहिँ सरासर हिँडेर जान्थेँ र बिरामीको नजिक पुगी मेचमा बसेर सजिलोसँग बिरामी जाँच्थेँ । ‘लामो–लामो सास फेरौँ सरकार ∕’ भनेर नर्मल हिसाबले नै भन्थेँ । बिरामी त्यसै गर्थे । एकदिन तारा राज्यलक्ष्मीले मलाई भनिन्, ‘ए डक्टर ∕ तिमीले हेरेको जस्तो अरूले हामीलाई किन नहेर्ने ? कोही डाक्टर घुँडाले हिँड्छ, कोही के गर्छ । हामीलाई किन उनीहरूले अर्कै ठानेको ? हामीले पनि संसार देखेको छ, बाहिर गएका छौँ । बाहिर गएर जँचाएका छौँ । बाहिर कसरी बिरामी जाँचिन्छ भन्ने हामीलाई पनि थाहा छ ।
त्यस्तो गर्नुपर्दैन नि ∕’ शाही परिवार भए पनि खाने बेलामा चाहिँ डाक्टरहरू र अरू सहयोगी सबैलाई सँगै राखेर मात्र खाना खाने चलन त्यहाँ थियो । राजपरिवार पनि यस्तो मामलामा सिन्सियर हुँदा रहेछन् भन्ने लाग्थ्यो । हामी त्यहाँ दिनभरि ड्युटी बसिरहँदा ट्वाइलेट जानुपर्ने त भई नै हाल्छ । तर सिनियर डाक्टरहरूसमेत पर्खाल र बारीको कान्ला नाघ्दै खेतमा रहेको ट्वाइलेटमा जाने गरेको देखे । मेरो विचारमा त्यो खेतबारीमा काम गर्ने मानिसका लागि बनाइएको थियो । डाक्टरहरू पनि त्यहाँ गएर हस्याङफस्याङ गर्दै फेरि कान्ला नाघ्दै आउने गर्थे ।
हामी बसेको ठाउँमा फाइभ स्टार होटेल बराबरको सुविधा थियो । गेस्ट बाथरुम, ट्वाइलेट सबै सुविधा मौजुद थियो । यस्तो सुविधा हुँदाहुँदै किन त्यसरी उफ्रिएर खेतको ट्वाइलेटमा गएको होला ? भनेर मलाई छक्क लाग्यो । ट्वाइलेट जान मन लागेका बेला एकदिन मैले त्यहाँ रेखदेख गर्ने देवानजीलाई बोलाएर ‘ए देवानजी ∕ मलाई १५ मिनेट जतिका लागि मोटर दिनुस् न, मलाई ट्वाइलेट जान मन लाग्यो, घरै गएर आउँछु’ भनेँ ।
उनले ‘म जाहेर गर्छु’ भन्दै भित्र गए । १५–२० मिनेटपछि प्रेक्ष्या आइन् । त्यो बेलाको प्रेक्ष्या एकदमै प्रभावशाली । प्रेक्ष्याले मलाई भनिन्, ‘डक्टर ∕ यु केन युज दिस बाथरुम, कि घरै जानुपर्छ ?’ मैले ‘यहीँ गइहाल्छु नि सरकार’ भने । मैले प्रयोग गरिसकेपछि अरु सिनियर डाक्टरहरु पनि त्यहीँ जान थाले । यस्ता थुप्रै रोचक घटनाहरु र जानकारीहरु समेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको हालै प्रकाशन भएको पुस्तक ‘मुटुसँग सहयात्रा’ दोस्रो संस्करण पनि बजारमा आएको छ । उहाँको पुस्तकमा स्वास्थ्यसम्बन्धी रोचक अनुभवहरु त छँदै छन्, साथै मुटु रोगबाट बच्ने उपायहरु र यस क्षेत्रमा भएका नयाँ प्रगतिका सन्दर्भहरुलाई पनि समेटिएको छ, जुन नीति–निर्माता, चिकित्सा विज्ञानका विद्यार्थीलगायत आम पाठकका लागि पनि ज्यादै उपयोगी हुने देखिएकोले केही महत्वपूर्ण सन्दर्भ प्रस्तुत गरिएको छ ।
मुटुरोग नियन्त्रण गर्न सकिन्छ
मुटुरोग धनी देशहरूमा घट्दै गइरहेको छ तर नेपालजस्ता विकासशील मुलुकमा भने बढ्दै छ । मुटुरोग गम्भीर खालको हुने भए पनि राम्रो पक्ष के छ भने, यो रोगबाट मानिसलाई बचाउन सकिन्छ । किनकि यसका कारक तत्वहरू पहिचान भइसकेका छन् । जस्तो– अनियन्त्रित रक्तचाप, अनियन्त्रित डायबिटिज, कोलेस्टेरोल वृद्धि, मोटोपन, धूमपान, मद्यपान, व्यायामको कमी, डिप्रेसनलगायत मानसिक रोगहरू एवं अनावश्यक तनाव लिने बानीले मुटुरोग हुन्छ । त्यस्तै गरी वंशाणुगत रूपमा पनि मुटुरोग हुन सक्छ ।
वंशाणुगत कारक तत्वबाहेक सबै कारक तत्वहरू नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा विकसित देशहरूले गरेर देखाइसकेका छन् । पश्चिमी देशहरूले जीवनशैली परिवर्तन गरे, धूमपान एवं मद्यपान कम गरे, खानामा चिल्लो र नुन घटाए, योग अभ्यास गर्न थाले । त्यसैले ती देशहरूमा मुटुरोगको समस्या घट्ने क्रममा छ । पहिला पुरुषले दुई पेग र महिलाले एक पेग मदिरा पान गरे हुन्छ भन्ने कुरा पाठ्यपुस्तकमा नै उल्लेख थियो । केही वर्षयता भएका
रिसर्चले मदिरा पानले मानिसलाई केही पनि फाइदा गर्दैन भन्ने निष्कर्ष दिएको छ ।
विकसित देशहरूमा मदिरा पानको मात्रा कम हुँदै गएको पनि छ । त्यसैले जसले रक्सी खाँदैन, उसले शुरु गर्न जरुरत छैन । जसले खान्छ, उसले पनि मुटुरोगलाई फाइदा गर्छ भनेर ढुक्क भई खानुहुँदैन, घटाउँदै लानुपर्छ । नियमित रक्सी खान थाल्यो भने त्यसले मुटुलाई बिगार्छ । ब्रेनको टिस्युमा असर गरी अल्जाइमर पनि हुन सक्छ । क्यान्सर पनि हुन सक्छ ।
मुटुरोग भनेको ४० वर्ष काटेपछि मात्र लाग्छ भन्ने भ्रम धेरैलाई छ तर मुटुरोग सानो नानीदेखि नै लाग्ने रोग हो । खानपानले गर्दा धमनी साँघुरिने प्रक्रिया बच्चैदेखि शुरु हुन्छ । त्यसको परिणाममात्र ठूलो भएपछि देखिने हो । पहिला पारिवारिक जमघट एवं पार्टीमा जाँदा चुरोट राखिएको हुन्थ्यो, मानिसहरू खुलारूपमा खान्थे । अहिले चुरोट खानेहरू कुनामा बसेर, बाहिर निस्केर खाने गरेको देखिन्छ । उनीहरूलाई गल्ती महसुस भइरहेको जस्तो लाग्छ । उनीहरूले आफ्ना छोराछोरीलाई अवश्य नै यस्तो खान दिँदैनन् होला ।
तर अहिले हामीकहाँ मुटुलगायत स्वास्थ्यलाई हानि गर्ने खाना खाने लहर चलेको छ । आधुनिक खाना खाने भनेर पिज्जा, बर्गर आदि खाने, जंक फुड खाने प्रचलनले हाम्रो स्वास्थ्य धेरै बिग्रिएको छ । विकसित देशबाट हाम्रो जस्तो मुलुकमा निर्यात भएका यी खानाहरू खाने चलनले गर्दा मुटुरोगमा पनि वृद्धि भइरहेको छ । यसमा साना केटाकेटीहरू पनि नराम्ररी फस्दै गएका छन् ।
बाबुआमा दुवैजना काम गर्ने परिवारमा त स्कुले केटाकेटीलाई जंक फुड एवं बजारका तयारी खाना दिने चलन अझ धेरै छ । यसले पछि झन् नराम्रो स्थिति ल्याउन सक्छ । बच्चाहरूलाई पहिलेदेखि नै जंक फुडरहित र घरमा बनाएका स्वस्थ खाना खुवाउनुपर्छ । सरकारले बच्चाको दिउँसोको खाजा स्कुलकै भान्सामा पकाउन कडाइका साथ लगाउनुपर्छ । बाहिरका जथाभावी खाना खान दिनुहुँदैन ।
मुटु स्वस्थ राख्नका लागि मानिसले अनावश्यक तनाव लिनुहुँदैन । अनावश्यक तनाव लोभबाट आउँछ । नयाँ–नयाँ गाडी, धेरैवटा घर, जग्गा जोड्नेजस्ता अनावश्यक महत्वाकाङ्क्षालाई मानिसले कम गर्नुपर्छ । अरूको नक्कल गर्दै हिँड्नुहुँदैन । रिस, ईष्र्या, डाहालाई नियन्त्रण गर्न ध्यान–योगतिर पनि लाग्नुपर्छ । योग–ध्यानतिर जाने मानिसको जीवनशैली निकै राम्रो देखिन्छ ।
मुटुरोग लाग्दैमा आत्तिनुपर्दैन
हाम्रो जस्तो गरिब देशका लागि मुटुको उपचार धेरै महँगो पर्छ । त्यसकारण यसको मूल उपाय भनेको मुटुरोगबाट बच्ने नै हो । तर कसैलाई मुटुरोग लागिहाल्यो भने पनि उपचार हुन्छ, आत्तिनुपर्दैन । यससम्बन्धी कुनै जटिलता आएन भने धेरैलाई बचाउन सकिन्छ । मुटुरोग लागेपछि मानिसहरूको समग्र स्वास्थ्य पहिलाको भन्दा राम्रो पाइएको छ ।
मुटुरोग लागिसकेपछि मानिसले अनिवार्यरूपमा नियमित व्यायाम गर्छन्, खाना नियन्त्रण गर्छन्, तौल नियन्त्रण गर्छन् । सुगर, प्रेसर, कोलेस्टेरोल भए त्यो पनि नियन्त्रणमा आएको पाइन्छ । ऊ निकै अनुशासित जीवन बिताउन थाल्छ । समग्रमा भन्नुपर्दा पहिलाभन्दा जीवनको गुणस्तर राम्रो भएको पाइन्छ ।
अहिले नेपालमा मुटुरोगको उपचार राम्रो छ । मुटु प्रत्यारोपणबाहेक भारतमा हुने मुटुसम्बन्धी सबै किसिमको उपचार नेपालमा हुन्छ । सानो स्केलमा भए पनि नेपालमा मुटुरोगको उपचार राम्रो र गुणस्तरीय छ । मुटुरोगको उपचारको कुरा गर्दा मुटुरोगीको पुनस्र्थापना महत्वपूर्ण हो । यसलाई विकसित देशहरूमा अहिले धेरै महत्व दिने गरिएको छ । यसमा चाहिँ नेपालमा खासै काम भएको छैन ।
कार्डियोलोजीमा विकास
पहिला मुटुरोग लागेपछि पूरा आराम गर्नुपर्छ भनेर बिरामीलाई लामो समय सुताएरै राख्ने चलन थियो । मुटुमा रगत सञ्चालन गर्ने आर्टरी साँघुरिँदै गएर त्यसभित्र प्लाक फुटेर रगत जम्न गई ब्लक भएपछि हृदयघात हुन्छ भन्ने कुरा पत्ता लागेपछि चाहिँ उपचारका विधिहरू पनि विकास भए ।
मैले कार्डियोलोजीमा पीजी गर्दा गुरु रहनुभएका प्रोफेसर चाजोभले कोरोनरी आर्टरीमा सीधै औषधि पठाएर ब्लक भएको आर्टरी खोल्ने नयाँ विधि शुरु गर्नुभयो । यो निकै प्रभावकारी पनि भयो । त्यही विधि पछि इन्ट्राभेनस दिएर गर्ने प्रथा आयो । समयसँगै मुटु उपचारका विधिहरूमा परिमार्जन हुँदै आए । हृदयघात भएकालाई सुताएर, आराम गराएर राख्नेभन्दा तत्काल उपचार गर्ने पद्धतिको थप विकास भयो । परिणामस्वरूप हृदयघातबाट हुने गरेको मानिसको मृत्युदरमा पनि कमी भयो । बन्द भएको रक्तनलीमा जमेको रगत (दयियम अयित)लाई औषधि पठाई पगालेर खोल्ने पद्धतिपछि एनजियो गर्ने पद्धति विकास भयो ।
एनजियो गरेर कहाँ ब्लक भएको छ त्यो खोल्ने, आवश्यकता पर्दा एनजियोप्लास्टी गर्ने र जरुरत पर्दा अपरेसन गरेर चाँडोभन्दा चाँडो मुटुको मांसपेशीलाई बचाउने प्रविधिको पनि विकास भइसकेको छ । यसरी कार्डियोलोजीको क्षेत्रमा निकै ठूलो परिवर्तन आएको छ, मुटुको उपचारमा ठूलो फड्को मारिसकेको छ । हृदयघातलगायत मुटुसम्बन्धी समस्यामा तत्कालको उपचार गरिसकेपछि जटिल समस्या छैन भने बिरामीलाई जति सक्यो चाँडो हिँडाउने, पुनस्र्थापना गराउने गर्न थालिएको छ । सकेसम्म मुटुको मांसपेशीलाई बिगार्न नदिने, मुटुको मांसपेशीलाई कम क्षतिमा सीमित गर्ने अहिलेको मुटु उपचारको मूल अवधारणा रहेको छ । त्यसैले कार्डियोलोजीमा ‘टाइम इज द मसल’ भन्ने भनाइ प्रचलित छ ।
त्यस्तै रक्तचापको उपचारमा पनि नयाँ औषधि आएपछि पुरानोले कामै गर्दैन भन्ने रिपोर्टहरू आउने गर्छन् । जस्तो– हामीले एटेनोलोल (Atenolol) भन्ने ब्लड प्रेसरको औषधि लाखौँ बिरामीलाई खुवायौँ होला । एआरबी (ARB) भन्ने ग्रुपको औषधि आएपछि एटेनोलोलले कामै गर्दैन भनेर वैज्ञानिक अनुसन्धानका रिपोर्टहरूमा पनि देखिएको छ । मलाई औषधिमा पनि केही न केही राजनीति भएको, व्यापारीकरण भएको हो कि जस्तो पनि लाग्छ ।
शुुरुमा एस्प्रिन (Aspirin)को डोज कसैले ३ सय मिलिग्राम र कसैले १५० मिलिग्राम चाहिन्छ भनेर लेख्ने गरिन्थ्यो । पछि १०० मिलिग्रामभन्दा कम भए पनि हुन्छ भन्ने आयो । हामीले पढ्दा चलनमा भएका औषधिहरू जस्तो– पेर्सान्टिन, लेभोकार्र्निटिन, ट्राइमेटाजिडिन आदि अहिले खासै प्रयोग नै हुँदैनन् । पहिला यी सबै औषधिहरू मुटुका बिरामीलाई दिइन्थ्यो ।
त्यस्तै मैले मेडिसिन पढ्दा इको (ECHO)को पहिलो खुड्किलो ‘एम मोड’ भन्ने साधारण विधिमात्र आएको थियो । मैले पीजी गर्न थालेपछि त्योभन्दा अलि विकसित ‘टु डी’ भन्ने विधि विकास भयो । मेसिनमा मुटु चलेको प्रत्यक्ष देखिने भयो । त्यस बेला यो विधि विकास भएर प्रचलनमा आउँदा ‘ओहो ∕ बाहिरबाटै मुटु चलेको देखिने भयो ∕ भनेर निकै चर्चा भएको थियो । मैले पीजी गर्दागर्दै डप्लरको थ्यौरी आयो । म काम गर्न आएपछि डप्लरका उपकरण नै आउन थाले, जो मैले दिल्लीमा गएर सिकेको थिएँ । त्यसपछि कलर डप्लर र थ्री डी इको पनि आइसकेको छ ।
यस्तै कोलेस्टेरोलको सन्दर्भमा पनि समयसँगै धारणाहरु परिवर्तन हुँदै आएका छन् । अहिले ‘लिपोप्रोटिन ए’ को अवस्थाले हृदयघात गराउन सक्छ भनेर ज्यादै महत्व दिइएको छ । यसले कोलेस्टेरोललाई बोकेर ठाउँ–ठाउँमा पु¥याउँछ र धमनीलाई साँघुरिन सघाउँछ । यसलाई पनि घटाउन आवश्यक छ । फलफूल, सागसब्जी, ओखर खाने र माछामासु, चिल्लो कम खाने गर्नुपर्छ । ट्राइग्लिसेराइड्स पनि बढ्नुहुँदैन, एचडीएल पनि उचित मात्रामा भएको राम्रो । खासगरीे एलडीएल १०० भन्दा कम हुनुपर्छ भनिन्छ । साथै खानपिनमा गुलियो र नुनिलो पनि घटाउन आवश्यक छ ।
चिकित्सा विज्ञानमा भइरहेको अध्ययन–अनुसन्धानले मुटुरोगको उपचारमा ठूलो फड्को मारिसकेकाले गर्दा मानिसको औसत आयु पनि वृद्धि भएको छ । नेपालमा पनि यस क्षेत्रमा राम्रो प्रगति भइरहेकोले यसबाट सबैले लाभान्वित हुने अवसर पाउनुपर्छ । साथै व्यक्ति स्वयंले पनि मुटुरोगबाट बच्नका लागि गर्न सकिने जीवनशैली तथा व्यवहारमा परिवर्तन गर्नुपर्छ ।
अधिराजकुमारको उपद्रो
एकपटक वीर अस्पतालको आईसीयुमा राजा वीरेन्द्रकी सासूलाई भर्ना गरिएको थियो । मलगायतका चिकित्सकहरू उपचारमा खटिएका थियौँ । राजपरिवारका सदस्यहरुको बरोबर आउने–जाने भइरहेको थियो । जतिखेर पनि चुस्त, दुरुस्त भएर ड्युटीमा बसिरहनुपर्ने स्थिति थियो ।
एकदिन यसरी ड्युटी गरिरहेका बेला राजाकी सासू बसेको आईसीयु कोठाको निकट डा. मृगेन्द्रराज पाण्डे बस्ने कोठाबाट चुरोटको गन्ध आयो । वीर अस्पतालको भुइँ तलामा आईसीयुभित्र नै रहेको त्यो कोठामा कुनै पनि हालतमा धूमपान गर्न मिल्दैनथ्यो । चुरोटको धुवाँ तथा गन्धले आईसीयुमा रहेका गम्भीर प्रकृतिका बिरामीलाई प्रत्यक्ष असर पर्ने स्थिति थियो ।
त्यसै कारण के भयो भनेर सिस्टरहरू दौडादौड गरिरहेका थिए । त्यहाँभित्र चुरोटको धुवाँ आएको थाहा पाएर म पनि .त्यो कोठातिर गएँ र नर्सहरूलाई ‘के हो, कसरी धुवाँ आयो ?’ भनेँ । उनीहरूले ‘त्यो कोठामा बसेर ज्ञानेन्द्र र धीरेन्द्रले चुरोट खाइरहेको जस्तो छ’ भने । ज्ञानेन्द्र र धीरेन्द्र बिरामी कुर्न आएका थिए । त्यहाँ जसरी पनि चुरोट खान बन्द गराउनुपर्ने थियो ।
म त्यहाँ गएर ढोकामा ट्वाकट्वाक गर्दै भित्र छिरेँ । मैले आदरपूर्वक ‘सरकार ∕ धुवाँको खारले मुमालाई खोकी आयो, गाह्रो भइरा छ, यहाँबाट खार आएको जस्तो लाग्यो, स्मोक नगर्नु नै बेस होला ∕’ भनेँ । ज्ञानेन्द्रले मलाई यसो हेरेर केही नभनी त्यही कोठाको वास बेसिनमा चुरोट निभाइदिए । धीरेन्द्रले चाहिँ आँखा तरेर मलाई हेरे अनि अगाडिको कफी टेबलमा चुरोट राखी खुट्टाले माडेर निभाए । म बाहिर आएँ । साथीहरूले ‘अब तिमीले गोदाइ खायौ, किन जान्ने हुनुपरेको ? केही भइहाले पनि बिरामी त उनीहरूकै हो नि ∕ उनीहरूले बुझ्नुपर्दैन ?’ भने । मैले हाम्रो काम जसरी नि जीवन बचाउने हो, त्यसो भन्न मिल्दैन’ भनेँ तर मलाई पनि डर त लाग्यो नै ∕ त्यो बेलाको धीरेन्द्र जे पनि गर्न सक्ने भनेर चर्चित थिए ।
भोलिपल्ट म त्यहीँ भित्र बसेर काम गरिरहेको थिएँ । धीरेन्द्र ढोकाबाट प्रवेश गरेर टक–टक गर्दै आएको देखेँ । ‘ल के गर्ने हो ?’ भनेर चिन्ता भयो । उनी सरासर नजिकै आएर टक्क उभिए अनि ‘डक् ∕ आई एम सरी है’ भने ।एकछिन् त म झसङ्ग भएँ । त्यसबारेमा पछि केही भएन । त्यो बेला परिस्थिति नै त्यस्तै थियो, त्यस्तै हुन्थ्यो ।
गाग्रीमा साप बोकेर अस्पताल
एकदिन जनकपुर अस्पतालको कोठामा बसेर केही गरिरहेको बेला अस्पतालको पाले दौडिँदै आएर ‘स्नेक बाइटको केस आएको छ, तुरुन्त आउनुस् डाक्टर साब’ भन्यो । लौ मा¥यो ∕ उस बेला तराईतिर स्नेक बाइटबाट मान्छे म¥यो भने उपचार गर्ने डाक्टरको खैरियत हुँदैनथ्यो, खूब भकुर्थे ।
रूसमा पढ्दा सर्पले टोकेको बारेमा र यसले टोकिहाल्यो भने स्नेक भेनम एन्टिसेरम (Snake Venom Antiserum) दिनुपर्छ भन्नेबाहेक अरू कुरो थाहा पाइएको थिएन । सर्पले टोकेकोलाई औषधि गर्ने मौका नपाइएकोले व्यावहारिक ज्ञानको अनुभव थिएन ।
यस्तो पृष्ठभूमिमा जनकपुरमा सर्पले टोकेको केस आइलागेको थियो । जे भए पनि चुप लागेर बस्ने त कुरै भएन । म दौडिँदै पुगेँ र ‘खै के भयो, कस्तो साप थियो ?’ भनेर सोधपुछ गर्न थालेँ । बिरामीसँगै आएका एकजनाले त्यहाँ ल्याइएको गाग्रीको मुख खोले । गाग्रीबाट स्वाँ–स्वाँ गर्दै गोमन सर्पले फणा फुलाएर ‘नमस्कार डाक्टर साब ∕’ भनेजस्तो ग¥यो । म आफैँलाई भागौँजस्तो भयो ।
‘ल–ल देखे, छोप–छोप’ भनेर गाग्री छोप्न लगाएँ । त्यो बिरामीले टोक्ने साप डाक्टरलाई देखायो भने औषधि गर्न सजिलो हुन्छ भनी समाती लिएर आएको रहेछ । साथै सर्पले टोकेको ठाउँभन्दा अलि माथि बेस्सरी गम्छाले बाँधेको रहेछ । अनि आफ्नै खुट्टाको बूढी औँलाको नङ भाँचेर त्यो घाउ चिरी रगत पनि निचोरेको रहेछ ।उसको परिपक्वता र धैर्यता प्रशंसा गर्नलायक थियो । औषधि उपचार गरेर ठीक पारी उसलाई घर पठाउँदा धेरै आनन्द आयो ।