किन कमजोर हुँदै छ पुरुष प्रजनन क्षमता ?



लक्ष्मण अधिकारी 
कुनै दम्पतीले एक वर्षभन्दा बढी समयदेखि कोशिश गर्दा पनि  सन्तान प्राप्त भएन भने बाँझोपनको दोष महिलालाई लगाउने प्रचलन अझै नेपाली समाजमा छ । तर अहिले महिलामा भन्दा पुरुषहरुमा बाँझोपनको खतरा बढी देखिन थालेको छ । मानिसको जीवनशैली परिवर्तन, जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण पुरुषहरुको प्रजनन क्षमतामा ह्रास आउँदै गएकोले भविष्यमा बाँझोपनको समस्या अझ बढ्ने देखिएको हो ।
विश्व स्वास्थ्य संघले अप्रिल ४, २०२३ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार हाल विश्वका ६ जना मानिसमध्ये एकजना आफ्नो जीवनमा कुनै न कुनै बेला बाँझोपनबाट प्रभावित भएको हुन्छ । करिब १७.५ प्रतिशत वयष्क जनसंख्या बाँझोपनबाट प्रभावित हुनु प्रजनन स्वास्थ्यका दृष्टिले निकै गम्भीर समस्या हो ।
बाँझोपनको समस्या गरिब देशहरुमा भन्दा धनी देशमा करिब १.३ प्रतिशत बढी पाइएको छ । यो प्रतिवेदन सन् १९९० देखि २०२१ सम्मको तथ्यांकहरुको विश्लेषणबाट तयार गरिएको हो । बाँझोपन पुरुष तथा महिला दुवैको प्रजनन प्रणालीको रोग हो ।  सीएनएनले २०२२ मा विभिन्न अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै प्रसारण गरेको एक रिपोर्ट अनुसार विगत ५० वर्षमा विश्वका पुरुषहरुको शुक्रकीटको मात्रा ५० प्रतिशतभन्दा बढी घटेको पाइएको छ ।
शुक्रकीटको संख्यामात्र नभई शुक्रकीटको गुणस्तरमा पनि कमी आइरहेको छ ।
यही हिसाबले घट्ने हो भने सन्तान उत्पादन क्षमतामा ठूलो ह्रास आउन सक्नेछ । पुरुषको शुक्रकीटको संख्यामा कमी र गुणस्तरमा ह्रास आउनुमा मानिसको समग्र स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख छ ।
ब्राउन स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनका डा. हागी लेभिनको टिमले गरेको अध्ययन अनुसार सन् १९७३ देखि २०१९ सम्ममा औसत शुक्रकीटको संख्या प्रतिमिलिलिटर १०४ मिलियनबाट घटेर ४९ मिलियनमा झरेको छ । यो अध्ययनका सन्दर्भमा ५३ देशबाट तथ्यांक संकलन गरिएको थियो । पुरुषमा सामान्यतया शुक्रकीटको संख्या प्रतिमिलिलिटर ४० मिलियन हुन आवश्यक छ । यदि यही हिसाबले घट्दै जाने हो भने पुरुष प्रजनन क्षमतामा ठूलो समस्या आउने देखिन्छ ।
बाँझोपनः के हो, किन हुन्छ ?
विश्व स्वास्थ्य संघका अनुसार ‘गर्भ निरोधका कुनै पनि साधन प्रयोग नगरी एक वर्ष वा सोभन्दा बढी समयदेखि यौनसम्पर्क राख्दा पनि सन्तान प्राप्त भएन भने त्यसलाई बाँझोपन भनिन्छ । तर गरिब तथा अल्पविकसित देशहरुका लागि यो अवधि दुई वर्षसमेत हुन सक्छ । बाँझोपनले लाखौँ दम्पतीलाई मात्र नभई उनीहरुको परिवार र समुदायलाई समेत असर पारेको हुन्छ ।  बाँझोपन महिलाको मात्र वा पुरुषको मात्र वा दुवैको संयुक्त कारणले हुन सक्छ । र, कहिलेकाहीँ यसको कारण व्याख्या गर्न नसक्ने खालको पनि हुन्छ ।
पुरुषमा बाँझोपन हुनुको मुख्य कारण वीर्य 
निष्कासन हुन नसक्नु नै हो । शुक्रकीट नहुनु वा कम मात्रामा हुनु वा असामान्य आकारको (morphology)हुनु, वा असामान्य खालको चाल वा गतिशीलता (motility) हुनु हो । वीर्यवाहिनी नलीमा कुनै कारणले अवरोध आएमा वा चोट वा संक्रमणको कारणले बन्द भएमा, हर्मोनहरुको असन्तुलन वा गडबडी भएमा पनि पुरुषमा बाँझोपन हुन्छ ।
यस्तै गरी महिलामा बाँझोपन हुनुमा मुख्यतः अण्डाशय, पाठेघर, अण्डबाहिनी नली र इन्डोक्राइन प्रणालीमा असामान्यपन हुनु नै हो । अण्डवाहिनी नली (fallopian tubes) बन्द हुनु पनि एउटा प्रमुख कारण हो । यो समस्या यौन प्रसारित रोगको उपचार नभएर वा असुरक्षित गर्भपतन गराएर, संक्रमणजस्ता कारणले हुन सक्छ । हर्मोनहरुको उत्पादनमा गडबडी भएर पनि हुन्छ ।
मानिसहरुको जीवनशैली जस्तो– धूमपान, अत्यधिक मदिरापान, अत्यधिक मोटोपनले बाँझोपनलाई निकै असर गर्छ । यसका अतिरिक्त वातावरणीय प्रदूषण र विषाक्त वस्तुहरुको प्रत्यक्ष प्रभाव अण्ड र वीर्यमा पर्दछ, जसले संख्या र गुणस्तरमा असर गर्छ ।’
निःसन्तान केन्द्रका प्रमुख एवं स्त्रीरोग तथा प्रजनन स्वास्थ्य विज्ञ डा. उमा श्रीवास्तव भन्नुहुन्छ, ‘महिलामा डिम्ब उत्पादन क्षमता नहुनु, डिम्बवाहिनी नली ठीक अवस्थामा नहुनु, नियमित महिनावारी नहुनु बाँझोपनका प्रमुख कारण भए तापनि यसबाहेक थुप्रै कारणहरु हुन्छन् । समयमा डिम्ब आएन भने पनि बच्चा हुन सक्तैन । धेरैजसो पाठेघरमा हुने भाइरल, ब्याक्टेरियल र फङ्गल इन्फेक्सनका कारण स्त्रीरोग तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या हुन्छ ।
समयमै यसको उपचार नभएमा पछि यसले डिम्बवाहिनी नलीसमेत बन्द गर्न सक्छ । असुरक्षित गर्भपतन, रक्तश्रावजस्ता समस्या भई पछि निःसन्तानसमेत हुन सक्छ । पाठेघरमा मासुका गाँठाहरु उत्पन्न भएको अवस्थामा र हर्मोनल गडबडी हुँदा पनि सन्तान उत्पादनमा असर पर्न सक्छ । पाठेघरवरिपरि ट्युमर आउने र रक्तश्राव धेरै हुने, हर्मोनल गडबडीका कारण सिस्ट पैदा हुनेजस्ता कारणले पनि बाँझोपन हुन सक्छ ।
कुनै दम्पतीले सन्तान प्राप्त गर्न नसक्नुमा लगभग ५० प्रतिशत कारण पुरुष भएको पाइन्छ । पुरुषहरुमा हुनुपर्ने प्रजनन शक्ति, शुक्रकीटको मात्रा, तिनीहरुको बहाव नली, अण्डकोषको स्थिति सामान्य नभएको अवस्थामा बाँझोपन हुन सक्छ । एउटा निश्चित उमेरसम्म पुरुषको सामान्यरुपमा शुक्रकीट उत्पादन भइरहेको हुन्छ । एउटा तहमा पुगेपछि भने कम हुँदै जान्छ । अलि–अलि कम हुँदै गएको अवस्थामा उपचारको सम्भावना हुन्छ । बढ्छ र उपचार सफल हुन्छ पनि । कहिलेकाहीँ चाहिँ पूर्णरुपमा शुक्रकीट उत्पादन बन्द भइसकेको हुन्छ । त्यसमा ऊबाट सन्तान हुँदैन, दाताहरुबाट लिनुपर्ने हुन्छ ।’
सन्तान उत्पादनमा कमी हुँदै
विगतको शताब्दीमा विश्वको जनसंख्या नाटकीय ढंगले वृद्धि भएको छ । ७० अर्षअघि मात्र विश्वको जनसंख्या २ अर्ब ५० करोड रहेकोमा २०२३ मा आइपुग्दा यो संख्या ८ अर्ब पुगिसकेको छ । तर अहिले सामाजिक र आर्थिक कारणले जनसंख्या वृद्धिमा सुस्तता आउन थालेको छ । साथै यसमा बाँझोपनको समस्या वृद्धि हुने क्रमको पनि असर रहेको अनुमान गर्न थालिएको छ ।
बीबीसीले हालै प्रकाशित गरेको एक समाचार अनुसार सामाजिक र आर्थिक कारणले गर्दा विश्वका आधा जनसंख्या बसोबास गर्ने देशहरुमा प्रतिमहिला औसत २ वटाभन्दा कम सन्तान उत्पादन हुन थालेको छ । यसरी एकातिर सामाजिक, आर्थिक कारणले सन्तान कम उत्पादन गर्ने प्रवृत्ति बढ्दै छ भने अर्कोतिर विविध कारणले मानिसको प्रजनन क्षमतामा पनि ह्रास आउन थालेको छ । यसको कारणमा शुक्रकीटको संख्यामा कमी हुनु, हर्मोन उत्पादनमा गडबडी (decreasing testosterone levels),, यौन उत्तेजना कम हुनु, अण्डकोषको क्यान्सर वृद्धि हुनुलगायत मानिएको छ ।
शुक्रकीटको संख्या तल–माथि हुनु सन्तान उत्पादनसँग प्रत्यक्ष सम्बन्धित छ । प्रतिमिलिलिटर ४० मिलियनभन्दा कम शुक्रकीट हुनुले गर्भधारणको सम्भावना कम गराउँदै लैजान्छ । सन् २०२२ मा गरिएको एक अध्ययन अनुसार सन् १९७३ देखि सन् २०१८ सम्ममा प्रतिवर्ष १.२ प्रतिशतका दरले शुक्रकीटको संख्या घट्दै आएको छ ।
 
प्रजनन क्षमता किन कम हुँदै छ ?
प्रजनन क्षमतामा कमी आउनुमा अहिले जीवनशैली, प्रदूषण र जलवायु परिवर्तनलाई कारण मान्न थालिएको छ । डा. उमा श्रीवास्तव भन्नुहुन्छ, ‘अहिले बाँझोपनको समस्या धेरै देखिनुमा जीवनशैली परिवर्तन पनि एउटा प्रमुख हो भन्ने लाग्न थालेको छ । शहरी जीवनमा हिँडडुल कम भएको छ । मद्यपान, धूमपान बढेको छ ।
शरीरको तौल बढी हुँदा पुरुषमा मात्र नभई महिलामा पनि प्रजनन क्षमता ह्रास हुन्छ । महिलाको तौल अधिक हुँदा बिस्तारै महिनावारी गडबडी हुने गरेको पाइएको छ । केही किसिमको हर्मोनको गडबडीले फ्याटको मात्रा बढ्छ र शरीरको तौल बढ्छ । शारीरिक गतिविधि कम गर्ने, बढी चिल्लो भएका पाकेटबन्द खानाहरु खाने, माछामासु, गुलियोको बढी प्रयोग गर्नाले तौल अझ बढ्छ । स्वस्थ तथा सन्तुलित खानपान र शारीरिक गतिविधिलाई नियमित राखेर शरीरको तौल बढ्न दिनुहुँदैन ।’
दिल्लीस्थित जिन्दल हस्पिटल एन्ड फर्टिलिटी केन्द्रका पुरुष बाँझोपन विशेषज्ञ डा. सुनील जिन्दल भन्छन्, ‘सामान्यतया पुरुषहरु कुनै पनि उमेरको होस् शुक्रकीट, यौन इच्छा र यौन क्षमतामा कुनै कमी आउँदैन भन्ने सोच्छन् । तर त्यस्तो हुँदैन, यस्तो भ्रम नपाले हुन्छ, किनभने पुरुषको उमेरसँगै यौन इच्छा, यौन क्षमता र शुक्रकीटको संख्यामा पनि कमी आउँदै जान्छ । यदि बच्चा चाहिने हो भने ठीक उमेरमै पहल गर्नुपर्छ ।
यससम्बन्धमा गरिएको एक अध्ययन अनुसार ४० वर्षको उमेरमा मानिस एक महिनामा ६ देखि ७ पटकसम्म यौनसम्पर्क गर्छ । ५० भएपछि यो चारपटकमा झर्छ । ६० को उमेरमा १ देखि २ पटकसम्म मात्र गर्छ । यौनसम्पर्कको बारम्बारताले गर्भाधानमा ठूलो फरक पर्दछ । यस्तै गरी जसरी उमेर बढ्दै जान्छ त्यसै गरी वीर्यमा पाइने शुक्रकीटको संख्या, गतिशीलता, बनावट फरक वा कम हुँदै जान्छ । २५ वर्षको उमेरपछि शुक्रकीटको संख्या प्रतिवर्ष ३.३ प्रतिशत कम हुन्छ ।
त्यस्तै वातावरण प्रदूषण र उमेरका कारण वीर्यको जीनको गुणस्तरमा फरक पर्छ । रगतमा खराबी, मिर्गौला, कलेजोमा खराबीजस्ता कारणले पनि शुक्रकीटको संख्यामा असर गर्छ । साथै यी रोग लाग्दा उपचारका लागि लिइने कतिपय औषधिले पनि शुक्रकीटको संख्यालाई कमी गराइदिन्छ ।
जब उमेर बढ्दै जान्छ, टेस्टोस्टेरोन हर्मोनको उत्पादन कम हुँदै जान्छ र अण्डकोषको साइज पनि सानो हुँदै जान्छ । अण्डकोषको साइज सानो हुँदै जाँदा स्वाभाविक रुपमा वीर्य उत्पादनमा पनि कमी हुँदै जान्छ । साथै उमेर बढ्दै जाँदा वीर्यमा हुने जेनेटिक वस्तु खराब हुँदै जान्छ । जसले गर्दा नवजात शिशुमा खराबी आउन सक्छ ।’
स्वास्थ्यसम्बन्धी नियमन गर्ने अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल (CDC)का अनुसार जलवायु परिवर्तनका कारण शुक्रकीटको गुणस्तरमा नकारात्मक असर परी पुरुषको प्रजनन स्वास्थ्यमा नै असर परिरहेको छ । मानिस र जनावरमा समेत गरिएको अध्ययनले तातो मौसमले शुक्रकीटको उत्पादन र गुणस्तरमा नकारात्मक असर परेको पाइएको हो । अन्य वातावरणीय प्रदूषणको कारणले पनि विशेष गरी पुरुषको प्रजनन स्वास्थ्यमा नकारात्मक असर परेको छ । कोइला, पेट्रोलियम पदार्थ तथा ग्यासको अधिक प्रयोगको कारणले बर्सेनि पृथ्वीको तापक्रम बढ्दै गएको छ ।
सन् १८८० यता हरेक दशक कम्तीमा ०.१४ डिग्री फरेनहाइटका दरले पृथ्वीको तापक्रम बढ्दै आएको छ । र, विगत ४० वर्षयता त्यसको दोब्बरभन्दा बढी (०.३२ डिग्री फरेनहाइट) का हिसाबले तापक्रम बढिरहेको छ ।  उक्त संस्थाको अध्ययन प्रतिवेदन अनुसार वातावरण प्रदूषणको कारण पनि पुरुष प्रजनन स्वास्थ्यमा असर पर्ने पाइएको छ । चेक गणतन्त्रमा भएको एक अध्ययन अनुसार वायु प्रदूषणको कारण शुक्रकीटको गुणस्तर र गतिशीलता (motility) मा कमी आएको पाइएको थियो । यस्तै गरी चीनमा सन् २०२१ मा १० हजार जोडीबीच गरिएको अध्ययन अनुसार कम प्रदूषण भएको स्थानका पुरुषमा भन्दा उच्च प्रदूषण भएका स्थानका पुरुषको शुक्रकीटको गुणस्तर दोब्बर नै कमजोर भएको पाइएको थियो ।
इन्भाइरोमेन्टल साइन्स युरोप (भोलम ३४, २०२२) अनुसार विश्वभरि नै केही वर्षदेखि पुरुषहरुमा बाँझोपन एउटा प्रमुख समस्याको रुपमा देखा परिरहेको छ । यसको एउटा प्रमुख कारण वीर्यको गुणस्तरमा ह्रास आउनु नै हो । वीर्यको गुणस्तरमा ह्रास आउनुको कारणमा वायुको गुणस्तर, विषादीको प्रयोग र हानिकारक रसायनको प्रयोग, बढी तातोमा रहनु प्रमुखरुपमा रहेका छन् ।
सम्बन्धित विशेषज्ञ चिकित्सकले दिएको तथ्यांक अनुसार नेपाल र भारतमा बाँझोपनको समस्या लगभग उस्तै नै (करिब १५ प्रतिशत) छ । तोमर नर्सिङहोम मुम्बईका लापारोस्कोपिक कन्सल्ट्यान्ट सर्जन डा. विशाल तोमर भन्छन्, ‘मेरो नर्सिङ होममा आएका २० देखि ४० वर्ष उमेरका युवाहरुको वीर्यमा शुक्रकीटको संख्या कमी भएको पाइरहेको छु । युवाहरुको शुक्रकीटको गुणस्तर र मात्रा दुवैमा ह्रास आउन थालेको छ । करिब ४० प्रतिशत युवाहरुमा कुनै न कुनै किसिमको शुक्रकीटसम्बन्धी समस्या देखिएको छ ।
यसरी शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउनुमा एउटा प्रमुख कारण तापक्रम पनि हो । जो व्यक्ति बढी तातो भएको कपडा बढी लगाउँछन, तातो बढी भएको स्थानमा काम गर्छन्, उनीहरुमा यो समस्या बढी देखिन सक्छ । एक डिग्री सेल्सियस तापक्रम बढ्नाले १७ प्रतिशतसम्म शुक्रकीटको संख्या कम हुने र गुणस्तरमा असर पर्न सक्छ । अर्को कारण अधिक मोटोपन हुनु पनि हो । मोटोपनले टेस्टोस्टेरोन हर्मोन कम उत्पादन हुन्छ, जसले शुक्रकीटको उत्पादनमा असर गर्छ ।
साथै मोटोपनले डायबिटिज, उच्च रक्तचापको समस्या पनि हुन थाल्छ, जसको कारण वीर्य उत्पादनमा असर गर्न सक्छ । यस्तै गरी धूमपानले पनि शुक्रकीटको उत्पादन र गुणस्तरमा गम्भीर असर गर्छ । यस्तै जसले निकै बढी मदिरा पिउने गर्छन्, जो दैनिकरुपमा पिउने गर्छन्, उनीहरुको समग्र स्वास्थ्य त कमजोर हुन्छ नै, साथै वीर्यको गुणस्तर पनि कमजोर हुने गरेको पाइएको छ । शुक्रकीटको संख्या सामान्य भए पनि गुणस्तर कमजोर हुने गरेको पाइएको छ ।’
डा. तोमर भन्छन्, ‘हाल हाम्रो खानामा पश्चिमी शैलीका खानाको मात्रा बढ्दै गएको छ । यो खाना भनेको प्रोसेस्ड फूड अर्थात् जंक फूड नै हो । खानामा ट्रान्सफ्याट र चिनीको मात्रा बढ्दै गएको छ । यसमा पोषण कम, क्यालोरी बढी हुन्छ । जसले डायबिटिज, अधिक मोटोपन बढाउँछ । इलेक्ट्रोनिक ग्याजेट र अन्य व्यावसायिक व्यस्तताका कारण मानिसहरुमा पहिलेको भन्दा सुताइको अवधि कम हुन थालेको छ । यो पनि बाँझोपनको एउटा प्रमुख कारण हो ।’
विभिन्न अध्ययनहरुले उमेर ४० वर्ष काटिसकेपछि बाँझोपनको सम्भावना बढी हुने कुरा देखाएको छ । यस्तै गरी वातावरणीय रिस्क फ्याक्टरहरुमा रंग उद्योग, एक्स रे गर्ने ठाउँ, विषादीको कारखाना वा विषादी छर्किने काममा लामो समय काम गर्नु पनि पुरुष प्रजनन क्षमता कमजोर हुँदै जानुको कारणका रुपमा औँल्याइएको छ । साथै यस्ता जोखिमपूर्ण वातावरणमा काम गर्ने, जंकफूड बढी खाने, लागू पदार्थ खाने, धूमपान, मद्यपान गर्ने महिलाहरुमा पनि बाँझोपनको समस्या देखिने गरेको सम्बद्ध चिकित्सकहरुको भनाइ छ ।
समाधान के त ?
विशेष गरी नेपाली समाजमा अझै पनि बाँझोपन हुनुको मूल कारण महिला नै हो भनेर पटक–पटक महिलाको परीक्षण गर्ने, सकेसम्म पुरुष परीक्षणमै नजाने र गर्भाधान भएन भने अर्को बिहे गर्ने कुप्रथा हटिसकेको छैन । तर यससम्बन्धमा पटक–पटक भएका अध्ययनहरुले बाँझोपनको समस्या हुनुमा महिला र पुरुष दुवैको कारण बराबरी नै देखाउँदै आएको छ । अझ पछिल्लो समय वातावरण प्रदूषण, जीवनशैली र पृथ्वीको तापमानमा वृद्धिजस्ता कारणले गर्दा पुरुष शुक्रकीटको उत्पादन, गुणस्तर र गतिशीलतामा असर परिरहेकोले पुरुषमा बाँझोपनको समस्या अझ बढी हुने संकेत गरिरहेको छ ।
बाँझोपनको समस्याबाट बच्नको लागि शंका लाग्नासाथ दम्पतीले नै समयमै सम्बन्धित चिकित्सकको परामर्श लिनु उत्तम उपाय हो । अहिले बाँझोपनको उपचारका लागि नेपालमै पनि विभिन्न किसिमका प्रविधिहरु भित्रिइसकेका छन् र सफलता दर पनि राम्रो हुँदै आएको छ । यसबाहेक प्रजननका लागि बढी उर्वर उमेर (२०–३० वर्ष)को उपयोग गर्नु, हानि गर्ने खालको वातावरणबाट बच्नु, स्वस्थ जीवनशैली अपनाउनु उपयुक्त हुन्छ ।
साथै युवाहरुले हरियो तरकारी, फलफूलहरु, दूध, केरा, विभिन्न बियाँ तथा बीजहरु, बदाम, मुंगफली बदाम, ओखर खानु पनि लाभदायक हुन सक्छ । आफूले खाएका विभिन्न औषधिको असरले पनि शुक्रकीटको संख्यामा कमी आउन सक्ने भएकाले यसका बारेमा डाक्टरसँग छलफल गर्नु आवश्यक हुन्छ । जंकफूडको सट्टा ताजा फलफूलमा जोड दिनुपर्छ । यसका साथै भिटामिन सी, डी, जिंकलगायत विभिन्न मिनरल्स, ओमेगा ३ फ्याट्टी एसिड आदि खानामा समावेश गरेमा धेरै हदसम्म समस्या समाधान हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्