जोधा अकबर, देवदासजस्ता बलिउडका सुपरहिट फिल्मको सेटसमेत डिजाइन गरेका बलिउड फिल्मका कला निर्देशक नितिन देसाईले गत महिना मुम्बईस्थित आफ्नै स्टुडियोमा आत्महत्या गरे । बैंकबाट लिएको करिब १ अर्ब ९० करोड ऋणको ब्याज बढेर करिब २ अर्ब ५० करोड पुगेको थियो । आर्थिक तनाव झेल्न नसक्नु नै उनको आत्महत्याको प्रमुख कारण हुन सक्ने अनुमान गरियो ।
‘डिप्रेसनलगायत सबै भावनात्मक रोगहरु महिलाहरुमा बढी हुन्छ भनिन्छ ।
विश्व अर्थतन्त्रमा चलिरहेको आर्थिक मन्दीका कारण नेपालमा पनि यस्ता घटनाहरु भएका समाचार प्रकाशन भइरहेका छन् । न्युरोडको रञ्जना ट्रेडका व्यापारी, चितवनका पोल्ट्री व्यवसायी, विराटनगरका विद्युतीय सामग्रीका व्यापारीको आत्महत्याको प्रमुख कारण आर्थिक संकट तथा ऋणको दलदलबाट उक्सिन नसक्नु नै रहेको पाइएको थियो । यस किसिमका आर्थिक तनावसँग जोडिएका आत्महत्याका घटना नेपालमा थुप्रै भएका छन्, यी केही प्रमुख उदाहरण मात्र हुन् ।
आर्थिक संकटसँग पौँठेजोरी खेल्दाखेल्दै आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेका यस्ता मानिसहरु के मानसिक रोग ‘डिप्रेसन’को सिकार भएका हुन्छन् ?
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘बैंकको ब्याजजस्तै विभिन्न व्यवहारमा फसेर त्यसबाट निस्कने उपाय नै नदेखेपछि यो क्रम बढ्दै जाँदा व्यावसायिक जीवनमा नै पूर्णविराम लागेको अनुभव हुन थाल्छ । जब उसले समस्याबाट पार पाउनुभन्दा झन् भासिँदै गएको अनुभव गर्छ, मनमा अनेक विचार आउँछन् र निराशाको अवधि लम्बिदै जान्छ तब मानिस डिप्रेसिभ मूडमा जान्छ । यो बढ्दै जाँदा आत्महत्याको स्थितिमा पुग्छ ।
डिप्रेसिभ मूडमा पुगे पनि उसलाई डिप्रेसन नै भएको हो-होइन भनेर एकिन गर्न भने निश्चित मापदण्डको आधारमा परीक्षण नै गर्नुपर्छ । व्यक्तिले बाँच्ने कुनै आधार नै नदेखेको, अब म केही गर्न सक्तिन भन्ने अवस्था डिप्रेसनकै लक्षण हुन् । तर डिप्रेसन रोग नै हो चाहिँ भन्न सकिन्न । त्यो रियाक्सन मात्र पनि हुन सक्छ ।
रियाक्टिभ डिप्रेसन भन्ने चलन पनि छ । रोग डिप्रेसन नभए पनि मूड डिप्रेसिभ हुन सक्छ । तनावयुक्त र निराशापूर्ण भएको हुन्छ । यस्तो अवस्थामा डिप्रेसनका लक्षणहरु कम गराइदिनुपर्छ । डर कम गराइदिनुपर्छ, निद्रा लगाइदिनुपर्छ । टाउको दुखाइजस्ता पीडा छन् भने तिनको उपचार गरिदिनुपर्छ ।’
डा. शर्मा भन्नुहुन्छ, ‘कुनै व्यवसायमा, आपसी सम्बन्धमा असफल भएर वा कुनै कारणले आफ्नो जीवन नै निरर्थक भयो भन्ने विचार आउन थालेको अवस्थामा परिवारले वा व्यक्ति आफैँ सम्बन्धित चिकित्सकको सम्पर्कमा पुगेको अवस्थामा चिकित्सकले सहयोग गर्न सक्ने स्थिति रहन्छ । जस्तो– निद्रा छैन, भोक छैन, टाउको दुखेको छ, मानसिक घबराहट छ, डर–त्रासको अनुभूति भइरहन्छ, रिस, आवेग, आक्रोश भइरहेको छ, कुनै लागू पदार्थको सेवन गर्न थालेको छ भने यसलाई सम्बोधन गर्न चिकित्सकको भूमिका महत्वपूर्ण हुन्छ ।
साथै परिवार, आफन्त तथा साथीभाइले हौसला दिएर उसलाई समस्याबाट उत्रिन सहयोग पु¥याउनुपर्छ । व्यावसायिक समस्याबाट गुज्रिएको हो भने व्यवसाय गर्नेहरुले नै उसलाई हौसला दिनुपर्छ । कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने कुरा त्यसै क्षेत्रका मानिसहरुले सहयोग गर्नुपर्छ । यस्ता कुरा चिकित्सकलाई थाहा नहुन सक्छ । उसलाई आशा बढाउने, हौसला बढाउने कुराहरु गरिदिनुपर्छ । तर यस किसिमको कुनै सहयोग तथा सकारात्मक वातावरण पाउन नसक्दा तनाव बढ्दै गई ऊ आत्महत्याको चरणमा पुग्न सक्छ ।
डा. शर्माका अनुसार, ‘आत्महत्या गर्नुका अनेक कारणहरु हुन्छन् । विभिन्न किसिमका मानसिक रोगका कारण पनि मानिसले आत्महत्या गर्छन् । अनुभवका आधारमा भन्नुपर्दा डिप्रेसन भएका मानिसहरुमध्ये करिब २० प्रतिशतले आत्महत्या गर्छन् । उपचार गर्दागर्दै वा निको भइसकेको अवस्थामा जीवनमा आएका परिवर्तनलाई आत्मसात् गर्न नसक्दा आत्महत्या भएको हुन सक्छ । समग्रमा आत्महत्या गर्ने मानिसहरुमध्ये ८० प्रतिशत जतिलाई मानसिक रोग भएको हुन्छ, त्यसमा मुख्य डिप्रेसन नै हुन्छ ।’
के हो डिप्रेसन र किन हुन्छ ?
विश्व स्वास्थ्य संघका अनुसार ‘डिप्रेसन कमन मेन्टल डिस अर्डर हो । विश्वका करिब ५ प्रतिशत वयष्क मानिस यो मानसिक रोगबाट पीडित भएका हुन्छन् । डिप्रेसन विश्वकै एउटा ठूलो समस्याका रुपमा रहेको छ । यसले मानिसको कार्यक्षमतामा लामो समय असर गर्न सक्छ ।
१५ देखि २९ वर्ष उमेरका मानिसहरुको मृत्युको चौथो प्रमुख कारण (सन् २०१९) आत्महत्या हो । त्यसमा पनि ७७ प्रतिशत मानिस कम तथा मध्यम आम्दानी भएका देशका छन्, जहाँ उपचार सेवा पनि पर्याप्त छैन । डिप्रेसन सामाजिक, मनोवैज्ञानिक र शारीरिक पक्षहरुको जटिल खालको अन्तरक्रियाबाट हुन्छ । बाल्य जीवनमा भएका प्रतिकूलताहरु, कुनै ठूलो क्षति, बेरोजगारीजस्ता जीवनका विशेष घटनाहरुले डिप्रेसन गराउनमा भूमिका खेलेका हुन्छन् ।’
डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘दुई–तीन कुराको संयोजनले डिप्रेसन हुन्छ । कोही जन्मदै डिप्रेसन हुने सम्भावना नै बोकेर आएको हुन्छ । शरीरभित्रै डिप्रेसन हुने प्रचूर सम्भावना छ भने बाहिर कुनै ठूलो घटना चाहिँदैन । सामान्य घटनाले पनि उसलाई डिप्रेसन हुन्छ । कहिलेकाहीँ बाहिरका घटनाक्रमले डिप्रेसनको प्रचूर सम्भावना ल्याए पनि भित्र सो अवस्था छैन भने डिप्रेसन हुँदैन । वंशाणुगत अवस्था, उसको शारीरिक एवं मनको स्थिति नकारात्मक भएको अवस्थामा बाहिरका सामान्य घटनाले पनि डिप्रेसन हुन्छ ।
कहिले बाहिर डिप्रेसन गराउने खालका धेरै घटना हुँदा पनि भित्रको स्थिति प्रबल छ भने डिप्रेसन हुँदैन । मुख्यतः बाहिरी र भित्री कुराहरुको अन्तरक्रियाबाट डिप्रेसन हुन्छ । साथै लागूपदार्थ सेवन, कडा रोगमा प्रयोग हुने केही औषधिहरु, अल्कोहल, मुटुको रोग, फोक्सोको रोग, बे्रन ट्युमर, बे्रन स्ट्रोक, गिदी सुक्दै जाने रोग लाग्यो, खानपिनबाट नकारात्मक असर प¥यो भने पनि डिप्रेसन हुन सक्छ ।’
डा. शर्मा भन्नुहुन्छ, ‘डिप्रेसन बढी मात्रामा देखिने मानसिक रोग हो । मानिसलाई कुनै मानसिक आघात प¥यो, कुनै असफलता भयो, दिमागमा कुनै विषालु पदार्थको असर प¥यो, पोषणका कारणले शरीरमा असर गर्ने खालको कुनै परिवर्तन भयो, शरीरको कुनै हर्मोनहरुमा गोलमाल भयो र त्यसको प्रत्यक्ष असर दिमागमा प¥यो भने यस्तो अवस्थामा सामान्यतया डिप्रेसनका लक्षणहरु देखिन्छन् । हाम्रो मन (मानसिक अवस्था र व्यक्तित्व) ले प्रतिकूल परिस्थितिमा प्रतिक्रिया देखाउँदा आमरुपमा देखा पर्ने भनेको डिप्रेसनको लक्षण हो ।
अधिकांश मानिस जीवनको कुनै न कुनै बेला डिप्रेसनबाट पीडित हुन्छन् तर त्यो क्षणिक र आफैँले व्यवस्थापन गर्न सक्ने खालको हुन्छ । सबैलाई उपचारको आवश्यकता नपर्न सक्छ । डिप्रेसन नै भनेर डायग्नोसिस गर्नलाई केही सर्तहरु तोकिएका छन् । ती पूरा भएको अवस्थामा मात्र डिप्रेसन भनिन्छ र उपचार गरिन्छ । क्षणिक डिप्रेसनलाई उपचारको आवश्यकता नपर्न सक्छ ।’
डिप्रेसन भएको कसरी थाहा पाउने ?
विश्व स्वास्थ्य संघका अनुसार ‘डिप्रेसन भएको मानिसमा उदास हुने, आनन्दको अनुभूति नहुने, आनन्द दिने अवस्थाले पनि आनन्द नदिने हुन्छ । यसले पाचन क्रिया र निद्रामा पनि असर गर्छ । थकान हुने र कुनै कुरामा एकाग्रता नहुने हुन्छ ।’ डा. शर्मा भन्नुहुन्छ, ‘नैराश्यता, खिन्नता, नरमाइलोपन, हरदम मन उदास हुनु डिप्रेसनको मूल लक्षण हो । यस्तो बेला आनन्द लाग्ने खालको क्षण पनि आनन्द नलाग्ने हुन्छ । अरु बेला त्यसैमा आनन्द हुन्थ्यो भने यस्तो बेला आनन्द लाग्दैन । आनन्द दिने वस्तु, आनन्द दिने सम्बन्ध तथा आनन्द दिने व्यक्तिले पनि उसलाई आनन्द दिन सक्तैन ।
उसको खुशी हुने क्षमतामा नै ह्रास हुन्छ । हीनताबोध हुन्छ, कुनै पनि कार्य गर्न सक्तैन, मनमा नैराश्यता हुन्छ । आफूले गल्ती नै गल्ती गरेँजस्तो लाग्छ । मैले यसो नगरेको भए, त्यसो नगरेर यसो गरेको भए यसो हुन्थ्यो कि, त्यसो नगरेको भए मलाई यस्तो हुँदैनथ्यो कि भन्ने जस्ता पश्चात्ताप भइरहन्छन् । आफूले कुनै नराम्रो काम नगरेको भए पनि आफूले सबै नराम्रो नै गरेको र राम्रो काम केही गर्न सकिन भन्ने अनुभूति भइरहन्छ । मेरो कामले अरुलाई पीडा भएको छ भन्ने भइरहन्छ । हीनताबोध, अपराधबोध धेरै हुन्छ । मेरा गलत निर्णयका कारण परिवारका सदस्यहरु, छरछिमेक दुःखी भए भन्ने लागिरहन्छ ।’
‘व्यक्ति आफैँले पनि आफूलाई डिप्रेसन भयो कि भनेर परीक्षण गर्न सकिन्छ । उसले आफ्नो मूड पहिला यस्तो थिएन, यति निराश हुँदैन थिएँ, यति निराशावादी त हुँदैन थिएँ, निद्रा पनि पूरा लाग्थ्यो, अहिले किन यस्तो भयो ? किन घबराहट भयो, त्रास–चिन्ता किन बढ्न थाल्यो ? मलाई भिन्नै प्रकारको अनुभव किन भइरहेको छ ? भनेर विचार गर्नुपर्छ ।
यस्तो भएमा चिकित्सकको परामर्श लिन सकिन्छ । डिप्रेसनसँग सम्बन्धित सामग्रीहरु पनि खोजेर पढ्न सकिन्छ । यस्तो मनस्थितिमा पुगेका मानिसहरुका लागि मिडियाका सामग्री पनि लाभदायक हुन्छन् । साथै मिडियाले पनि डिप्रेसनको बारेमा जानकारीमूलक सामग्रीहरु प्रकाशन गर्नुपर्छ तर आत्महत्या गरेकाका घटनाहरुका सम्बन्धमा भने विस्तृतरुपमा वर्णन गरेर आकर्षकरुपमा प्रस्तुत गर्नुहुँदैन ।’
आत्महत्याको अवस्थामा कसरी पुग्छ ?
वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘कुनै समस्यामा परेर जब मानिस अब म केही गर्न सक्तिन भन्ने अवस्थामा पुग्छ, आत्मविश्वास नै गुम्छ, त्यस्तो अवस्थामा ऊ आत्महत्या गर्न प्रेरित हुन्छ । अर्को अरुले आत्महत्या गरेको सुनेपछि, त्यसबारे चर्चा सुनेपछि, उसले यसरी आत्महत्या गरेछ भनेको सुने-पढेपछि ऊ आत्महत्याको लागि प्रेरित हुन्छ । त्यसैले आत्महत्याको कारणदेखि आत्महत्या गर्दासम्मको डिटेल रिपोर्टिङ मिडियामा गर्नुहुँदैन भनिएको हो ।
यस्तो कुरा सुनेपछि, पढेपछि म पनि त्यही गर्छु भनेर तुरुन्त त छाप पर्दैन तर उसको दिमागमा रेकर्ड भएको हुन्छ । पटक–पटक विभिन्न मिडियामा देखियो, साथीभाइले सुनायो भने उसको दिमागमा त्यही कुरा खेलिरहन थाल्छ । आत्महत्या गर्ने मनसाय नभए पनि ती कुराले उसको दिमागमा बास गर्छन् । अनि ती कुराहरुले आफूलाई पनि कुनै समस्या परेका बेला म पनि त्यही गर्छु भनेर आत्महत्या गर्न प्रेरित गर्छन् । यसकारणले मिडियाले यस्ता विषयमा प्रकाशन गर्दा धेरै विचार गर्नुपर्छ ।
जति धेरै पटक सामाचार दोहोरिएर आयो त्यति नै गहिरोसँग अवचेतन मनमा त्यस कुराले ठाउँ जमाउँछ र गाह्रो भएका बेला अरु बाटो नदेखेका बेला आत्महत्या गर्न पुग्छ । दिमागको भण्डारमा जे छ त्यही बाहिर आउने हो ।’ ‘आत्महत्या र मानसिक रोगको सम्बन्धलाई हेर्ने हो भने विशेष गरी विकसित मुलुकमा चाहिँ डिप्रेसन र अल्कोहल डिसअर्डर भएको पाइन्छ । जीवनमा आउने आर्थिक समस्या, सम्बन्ध विच्छेद, दीर्घ पीडा र अरु शारीरिक रोगहरुजस्ता समस्याले उत्पन्न तनावहरु झेल्ने क्षमता गुमाएकाहरुले आत्महत्याको प्रयास गरेको पाइन्छ ।
यसका साथै प्राकृतिक प्रकोपको पीडा, आपसी द्वन्द्व, हिंसा, दुव्र्यवहार, पारिवारिक विछोड, एक्लोपनको अनुभूति, भेदभाव आदि आत्महत्याका प्रमुख कारणहरु हुन्’, विश्व स्वास्थ्य संघ भन्छ । डा. शर्मा भन्नुहुन्छ, ‘डिप्रेसन भएर बढ्दै गएपछि मानिसले आफूलाई अक्षम, तुच्छ देख्छ र घृणा गर्न थाल्छ । आफूलाई घृणा गर्न थाल्ने अवस्थामा पुगेपछि आफू अरुका लागि बोझ भएको अनुभूति हुन्छ र किन बाँच्ने भन्ने मनमा विचार उत्पन्न हुन्छ । अरुले माया गर्दा पनि व्यङ्ग्य गरेको, जिस्क्याएको अनि आफू समाजबाट तिरस्कृत भएँजस्तो लाग्छ । त्यस किसिमको भावना बढ्दै गएपछि आत्महत्याको निर्णयमा पुग्छ ।
यो अवस्थामा पुगेको मानिसको मनले कुनै अनुभव नै गर्न सक्तैन । मन लाटो भएर आउँछ, केही थाहा पाउँदैन । हातखुट्टा थिचिएर निदाएको जस्तो, मन पनि निदाएको हुन्छ । मन निदाउने अवस्था यस्तो हुन्छ कि खुशी, दुःख, डर, त्रास आदिजस्ता भावनात्मक कुराको अनुभव नै हुँदैन । तर यो अनुभव नगर्दाको पीडा भने हुन्छ । त्यो एकदमै अनुभूतिहीन पीडा हुन्छ, जुन डिप्रेसन नभएको मानिसले अनुभव नै गरेको हुँदैन । कुनै पनि किसिमको भावनात्मक अनुभूति दिन नसक्ने खालको पीडा हुन्छ । दुःख, सुख केहीको पनि अनुभव गर्न नसकेपछि मन शान्त हुनुपर्ने हो, सबै त्यागेर शान्त भएको हुनुपर्ने हो तर त्यसो हुँदैन, असह्य पीडा हुन्छ । त्यो शारीरिक पीडा होइन, मनको पीडा हो । यो अनुभूति गर्न नसक्दाको पीडा हो र व्यक्त गर्न नसकिने पीडा (आन्हे डोनिया) हो ।
यस्तो स्थितिबाट मुक्त गर्नका लागि परिवारको सहयोग महत्वपूर्ण हुन्छ । उसलाई निद्रा लाग्दैन भने निद्रा लगाउने उपाय गर्नुपर्छ । उपचारबाट हुने कुरा उपचार गरिनुपर्छ । मनोवैज्ञानिक एवं आर्थिक तथा भौतिक स्रोत–साधन जुटाउनुपर्छ, उसलाई खुशी हुने स्थिति सिर्जना गरिदिनुपर्छ र उसलाई परेको समस्या समाधान गरिदिनका लागि साधन–स्रोत जुटाइदिनुपर्छ ।’
डिप्रेसनको उपचार हुन्छ त ?
विश्व स्वास्थ्य संघका अनुसार मनोवैज्ञानिक र औषधोपचारबाट डिप्रेसनलाई निको पार्न सकिन्छ । डा. शर्मा भन्नुहुन्छ, ‘आफैँले आफैँलाई घृणा गर्ने अवस्थामा पुगेर आत्महत्याको चरणमा पुगेको मानिसको पनि राम्ररी उपचार हुन सक्छ । समय लाग्न सक्ला । कसैलाई छिटो पनि हुन्छ, कसैलाई अलि ढिलो हुन्छ तर उपचारले पूर्ण निको पार्न सकिन्छ । कसैलाई साइको थेरापी, काउन्सिलिङ गर्नुपर्ला, मनोवैज्ञानिक, भौतिक सबै विधिहरु प्रयोग गरेर उपचार गर्नुपर्ला तर डिप्रेसन पूरै निको हुन सक्छ ।
डिप्रेसनका बिरामी पूर्णरुपमा पहिलेकै अवस्थामा फर्किन सक्ने र उत्तिकै क्रियाशील हुन सक्ने हुन्छ । डिप्रेसन भइसकेको मानिसलाई त म निको हुन्छु जस्तो नै लाग्दैन । यो उपचार नै हुँदैन, यसले मलाई लान्छ नै भन्ने अनुभूति हुन्छ । यस्तो कहाँ निको हुन्छ र ? भन्ने लाग्छ । तर पनि उसको मनको अन्तरकुन्तरमा कतै निको हुन पाए हुन्थ्यो भन्ने पनि भएको हुन्छ । यस्तो अवस्थामा भएको बिरामीलाई निको पार्न परिवार र अन्य परिवेशको पनि भूमिका महत्वपूर्ण हुन्छ ।
डिप्रेसनको उपचार गर्दा औषधि खुवाएर एकैचोटि सबै लक्षणलाई निको पार्दैन । स्वीच थिचेर बत्ती बालेजस्तो एकैचोटि झलमल्ल हुँदैन, बिस्तारै निको हुन्छ । पहिला शारीरिक सुधार हुन्छ । टाउको, पेट, ढाड दुखेको भए कम हुन्छ । भोक नलाग्ने, निद्रा नलाग्ने कम हुँदै जान्छ । त्यसपछि हिँडडुल गर्ने, फूर्ति आउने हुन्छ । बोल्ने, गफ गर्ने हुन्छ । त्यसै बेला आत्महत्या गर्ने मनसाय रहेछ भने आँट पनि आउँछ । अरु लक्षण शुरुबाटै कम हुँदै गए पनि आत्महत्याको विचारचाहिँ पछि मात्र हटेर जान्छ । त्यसकारण उपचार शुरु गर्ने अवस्थाभन्दा उपचार शुरु गरेर आंशिक सुधार हुन थालेपछि खतरा बढी हुन्छ । यस कुरामा परिवारका सदस्यले ध्यान दिनुपर्छ ।’
डिप्रेसन महिलामा किन बढी ?
तुलनात्मकरुपमा महिलालाई डिप्रेसन बढी हुने गरेको डा. शर्मा बताउनुहुन्छ । उहाँका अनुसार, ‘डिप्रेसनलगायत सबै भावनात्मक रोगहरु महिलाहरुमा बढी हुन्छ भनिन्छ । यसको कारण शारीरिक र मनोवैज्ञानिक मात्र नभई सामाजिक पनि हुन सक्छ । पहिला–पहिला एक पुरुष बराबर दुई महिलालाई डिप्रेसन हुन्छ भनिन्थ्यो । अहिले त्यही रुपमा नभए पनि पुरुषभन्दा महिलामा डिप्रेसनको समस्या बढी छ ।
बायोलोजिकल कारणले नै महिलालाई डिप्रेसन बढी हुने गरेको पाइएको छ । महिलामा भावनात्मक आवेग बढी हुने हुन्छ । उनीहरुको शरीरमा विभिन्न चरणमा हर्मोनल परिवर्तन हुन्छ । पुरुषहरुको यौनिकदेखि शारीरिक विकास बिस्तारै एकनासले हुन्छ र एकनासले घट्छ । महिलाहरुको चाहिँ ह्वात्त परिवर्तन हुन्छ । किशोरावस्थामा शारीरिक परिवर्तन र महिनावारी ह्वात्तै हुन्छ । हर्मोनल परिवर्तन आउँछ । बच्चा पेटमा भएका बेला अर्काे परिवर्तन आउँछ । बच्चा जन्मिदा फेरि अर्को परिवर्तन आउँछ । महिनावारी सुक्ने बेला फेरि अर्को परिवर्तन आउँछ ।
यसरी विभिन्न चरणमा हुने हर्मोनलगायत शरीरको आन्तरिक परिवर्तनले डिप्रेसन आदि मूडसँग सम्बन्धित रोगको लागि उपयुक्त बातावरण बन्छ । बायोलोजिकल कारणले मात्र होइन, सामाजिक कारणले पनि हुन्छ । महिलाको भूमिका समाजमा फरक छ । पुरुषलाई भन्दा महिलालाई घरमा गाह्रो हुन्छ, तनाव बढी हुन्छ । बच्चा हुर्काउने, घरको हेरचाह गर्ने लगायतका जिम्मेवारी बढी छन् । यसको पनि असर परेको हुन्छ । समाजले गर्ने व्यवहार पनि फरक छ ।’
डिप्रेसन दोहोरिन सक्छ
‘डिप्रेसन दोहोरिने सम्भावना हुन्छ । त्यसमा बिरामी सधैँ सचेत रहनुपर्छ । दोहोरिएको कुरा छिटो थाहा पनि पाइन्छ र शुरुमा उपचार गर्दाजस्तो ढिला नगरी उपचार गर्नुपर्छ । डिप्रेसन गराउने कारक तत्वहरुको निराकरण गर्नुपर्छ, शारीरिक रोगहरु भए उपचार गर्नुपर्छ ।
डिप्रेसन गराउने कतिपय लागूऔषधहरु छन्, उपचारमार्फत तिनीहरुलाई छुटाउनुपर्छ । अल्कोहलले पनि डिप्रेसन गराउँछ । यस्तोबाट टाढा रहनुपर्छ । रोगकै उपचार गराउने कुनै–कुनै औषधिले डिप्रेसन गराउन सक्छन् । त्यस्तो बेला औषधि परिवर्तन गर्ने, अरु विकल्प खोज्ने गर्नुपर्छ ।
डिप्रेसन यसलाई हुन्छ, यसलाई हुँदैन भनेर ग्यारेन्टी गर्न सकिँदैन । तर यसलाई हुन सक्छ भनेर केही–केही सम्भावनाहरु भन्न सकिन्छ । यस्तो अवस्थामा बेलैमा सचेत रहनुपर्छ । साथै रोग लागेको जस्तो भएमा रोग जटिल हुनुभन्दा पहिले नै उपचार गर्दा बढी लाभ प्राप्त हुन्छ’, डा शर्मा भन्नुहुन्छ ।
अन्त्यमा:आर्थिक वा कुनै समस्यामा फसियो भन्दैमा जीवन सकिँदैन, आत्तिनुपर्दैन । समाधानका अनेक उपाय निस्किन्छन् । त्यस्तै डिप्रेसनकै अवस्थामा पुगे पनि उपचार गरेपछि राम्ररी निको हुने भएकाले डराउनुपर्ने हुँदैन । तर उपचार नगर्दा डिप्रेसन बढ्दै गएको अवस्थामा रोगले जटिल रुप लिन सक्छ र कतिपयलाई आत्महत्याको डिलमै पु¥याइदिन्छ । त्यसैले डिप्रेसिभ मूड वा डिप्रेसनलाई हेलचेक्र्याइँ गर्नुहुँदैन । डिप्रेसन निको पार्नका लागि चिकित्सकका साथै परिवारका सदस्य र साथीभाइको भूमिका पनि ज्यादै महत्वपूर्ण हुन्छ ।