तपाईको घरमा हाम्रो डक्टर



१. नियमित परीक्षणका क्रममा अल्ट्रासाउन्ड गराउँदा प्रायः मेरो रिपोर्टमा फ्याट्टी लिभर भनेर लेखेको हुन्छ । डाक्टरले प्रायः औषधि लेख्दैनन् । कस्तो अवस्थामा चाहिँ खराब भनेर बुझ्ने हो ? त्यसको मापदण्ड के हुन्छ ? प्रस्ट पारिदिन अनुरोध छ ।

– अनन्तराज पन्त, तनहुँ ।

पन्तजी, हाम्रा भित्री अंगहरु सुरक्षाको लागि प्रकृतिले नै अलि–अलि बोसोको लेयरले ढाक्ने व्यवस्था गराएको हुन्छ । त्यसको उल्टो धेरै बोसो कलेजोको तन्तु नै प्रतिस्थापन गरेर जम्यो भने त्यो नै कालान्तरमा सिरोसिस भन्ने डरलाग्दो र सन्चो नहुने कलेजोको रोग भएर जान्छ । यी दुवै अवस्था फ्याट्टी लिभर भन्ने नै हुन् । तसर्थ सम्बन्धित चिकित्सकले सम्पूर्णता हेरेर, सबै कुरा विश्लेषण गरेर सल्लाह दिने हो । अल्ट्रासाउन्ड गर्दैमा सब कुरा छर्लंग हुँदैन । त्यो रिपोर्टको तहगत ज्ञान, त्यो फ्याट्टी लिभर लेख्दा गरिएको कलेजोको तन्तुको अध्ययन, शरीरको बनावट, जीवनशैली, कोलेस्टेरोलको मात्रा, पारिवारिक अवस्था आदिको समेत विश्लेषण गर्नुपर्ने हुन्छ । चिकित्सक बन्न त्यसै ११–१२ वर्षको समय अतिरिक्त खर्च हुने होइन नि ∕ गहन अध्ययन, ज्ञान, तथ्यपूर्ण तर्क अनि निदान तथा सोही अनुरुपको कार्ययोजना र उपचार सबै वैज्ञानिक प्रमाणित आधारसहिको हुनुपर्छ । तपाईंको जिज्ञासा तथा कौतुहुलताको लागि मेरो सल्लाह छ– शायद तपाईंले भौतिक श्रम गर्नुहुन्न होला, त्यसैले अब गर्न सक्ने भनेको नियमित व्यायाम वा हिँडाइलाई प्राथमिकता दिनुस् । खानामा चिल्लो करिब–करिब शून्य बनाउनुस् । गुलियो वा अरु आलु, चामलजस्ता ऊर्जादायक खाना पनि आधाभन्दा बढी कटौती गर्नुस् । हरियो सागसब्जी सेवनमा बढी जोड गर्ने गर्नुस् । त्यसपछि तपाईं आफ्नो कलेजो ठीक छ, स्वस्थ छ भनेर ढुक्क हुन सक्नुहुन्छ । चिकित्सकले केही भनेनन् भनेर चिन्ता नलिनुस् । यसको अर्थ केही भन्न जरुरी परेन वा देखिएन होला भन्ने सम्झनुपर्छ ।

२. म हाल ओखलढुंगामा बस्छु । मेरी १४ वर्षकी छोरीलाई सास फेर्न गाह्रो भएपछि स्वास्थ्य संस्थामा जँचाउन लगेको थिएँ । मुटुको भल्भमा समस्या छ, अपरेसन गर्नुपर्छ भनेका छन् । यसका लागि सस्तो र राम्रो अस्पताल कुन हुन सक्छ ? बताइदिन अनुरोध गर्दछु ।

– शिवप्रसाद भट्टराई, ओखलढुंगा ।

शिवप्रसादजी, मुटुको भल्भमा समस्या छ र अपरेसन गर्नुपर्ने भयो भनेपछि स्वास्थ्यकर्मीले मुटुको इकोकार्डियोग्राफी निश्चय गरे होलान् । त्यो रिपोर्टबारे केही उल्लेख गर्नुभएन । भल्भका सबै समस्यामा अपरेसन नै गर्नुपर्ने भन्ने हुँदैन । त्यो त तहगतरुपमा निर्णय हुन्छ । धेरै नै खराबी भए अपरेसन गर्नै पर्ने पनि हुन्छ । त्यो पनि यदि भल्भ साँगुरिएको हो भने खोल्ने प्रविधि हुन्छ । त्यो सहज तथा धेरै नै साधारण उपचार प्रक्रियाबाट सम्भव हुन्छ । भल्भ फेर्नै पर्ने भएमा भने अलि जटिल तथा ठूलो अपरेसन ‘ओपन हार्ट सर्जरी’ नै गर्ने हो । फेरि त्यो अपरेसनपछि पनि जीवनभर रगत पातलो पार्ने औषधि खानुपर्छ । यसका साथै रोकथामका लागि सुई वा औषधि पनि खानुपर्छ । जहाँसम्म उपचारका लागि काठमाडौंको गंगालाल अस्पताल, शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन मुटु अस्पताल, वीर अस्पताल तथा अन्य प्राइभेट अस्पतालमा लग्न सक्नुहुन्छ । तर एउटा कुरामा स्पष्ट हुनुहोस् कि १४ वर्षकी छोरीको मुटुको उपचार निःशुल्क गर्न सकिन्छ । सरकारले बनाएको नीतिअनुसार १५ वर्षमुनिका तथा ७० वर्ष माथिकाको मुटु उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने हुन्छ । त्यसका लागि बिरामीलाई गंगालाल, मनमोहन वा वीर अस्पतालमध्ये जुनमा लग्न पनि सक्नुहुन्छ । ती अस्पतालमा सरकारको नीतिअनुसार बालक र वृद्ध मुटुका बिरामीको उपचार खर्च लाग्दैन । अब सकेको छिटो मुटुको विशेष अध्ययन, पुनः परीक्षण अनि अपेरसन वा अरु के गर्ने भन्ने निक्र्योल गर्नेतिर लाग्न सल्लाह दिन्छु । यी तीनवटै सरकारी अस्पतालमा उपचार गर्न सुरक्षित तथा राम्रो हुने कुरामा द्विविधा नगरीकन त्यताको बाटो लाग्नुहोस् ।

३. मानिस शाकाहारी हो कि मांसाहारी भन्नेबारे धेरै विवाद सुनिन्छ । वास्तवमा मानिस जन्मसिद्धरुपमा शाकाहारी वा मांसहारी के हो ? साथै शाकाहारीरुपमा जीवन जिउँदा मानिसलाई आवश्यक पौष्टिक तत्व पुग्छ कि पुग्दैन ?

– रमेशचन्द्र कार्की, सानोठिमी, भक्तपुर ।

रमेशचन्द्रजी, मानिसलाई जन्मजात शाकाहारी भन्न मिल्दैन । यो जैविक विकासको क्रममा जब मान्छे जनावरबाट ढिलो–ढिलो गरेर पूर्णतया मानवमा विकास भयो, त्यो जंगली युगमा मानव विकासको क्रममा मान्छे मांसाहारी नै थियो भन्ने कुरा डार्बिनको सिद्धान्तबाट प्रस्ट हुन्छ । साथै मान्छेको सोधखोज गर्ने जीवविज्ञान, मानवविज्ञानको अध्ययन–अन्वेषण गर्नेहरुको विचारसहितका तथ्यहरु अध्ययन गर्दा पनि मानव मांसाहारी थियो भन्ने प्रस्ट हुन्छ । त्यस्तै मान्छेमा हुने कुकुरदाँत पनि अर्को एउटा उदाहरणसहितको प्रमाण हो, मान्छे मांसाहारी हो भन्ने कुराको । जुन दाँत मांसाहारीका लागि नभई नहुने हो र उनीहरुको मात्रै त्यो दाँतको विकास भएको हुन्छ । त्यस्तै मान्छेको शरीरमा नभई नहुने अत्यावश्यक प्रोटिनको एमिनोएसिड तत्व ९भककभलतष्ब िबmष्लय बअष्म० खालि जनावरबाट प्राप्त खानामा मात्र पाइन्छ । यो आठवटा हुन्छ । यसका लागि पनि मांस आहार गर्नुपर्ने हुन्छ । हुन त आंशिकरुपमा दूध, दही, मही, पनिरबाट पनि पाइन्छ भन्ने विश्वास छ । तर पर्याप्तताका लागि मासुको सेवन गर्नुपर्ने देखिन्छ ।

४. म ५० वर्षको भएँ । तौल बढ्ने समस्याबाट हैरान छु । अलिकति घटायो, फेरि बढिहाल्छ । शरीरको तौल घटाउने र सधैँ त्यही तौल कायम राख्ने उपाय बताइदिनुभए आभारी हुने थिएँ ।

– राजकुमार शर्मा, रौतहट ।

राजकुमारजी, तौल एकपटक घटाएर फेरि आफैं बढ्दैन । हो, बढ्यो भने त्यो आफ्नै लापरबाहीले हो । तौल घटाउने भनेको शरीरको ऊर्जा सन्तुलन नकारात्मक पक्षतिर लैजाने र त्यो प्रक्रियालाई निरन्तरता दिने हो । हाम्रो शरीरलाई एउटा पानीको ट्यांकीसँग तुलना गर्नुस, तौल घटाउन त्यो ट्यांकीको पानीमा कमी ल्याउनुपर्ने हुन्छ । त्यो कमी ल्याउन पानी भर्ने स्रोत कटौती तथा खर्च वा निकास बढी गराउनुप¥यो । हाम्रो शरीररुपी ट्यांकीको पानीको स्रोत भनेको खानपिन हो भने निकास व्यायाम हो । त्यो दुवै मिलाउन सक्यो भने र त्यो निरन्तर अपनायो भने मात्रै आफ्नो लक्ष्य प्राप्त हुन्छ । त्यस्तै पानीको वा बालुवाको गतिशीलताजस्तो स्वास्थ्यको वा तौलको छिटो घटबढ हुने हुँदैन । यसमा लामो प्रक्रिया हुन्छ । तौल घटाउने भनेको अलि–अलि गर्दै हो । नियमित नकारात्मक सन्तुलन गराउने हो । त्यसैले उच्च ऊर्जायुक्त खाना नखाने, खानाको मात्रा कम गर्ने, नियमित पसिना बगाउने गरी व्यायाम वा मेहनत गर्ने बानी गरेमा तौलको समस्या २ सय प्रतिशत समाधान हुन्छ । मान्छेको कमजोरी र हेलचेक्य्राइँले नै हुन नदिने हो तौलको उचित व्यवस्थापन । दुई–तीन दिन गर्ने अनि तौल घटेन भनेर पुरानै ढर्रामा फर्कने हो भने कहिल्यै आफ्नो चाहेको तौल बनाउन सकिँदैन । त्यसैले खानपान, व्यायाममा लामो समय निरन्तर ध्यान दिन सुझाव दिन्छु ।

प्रतिक्रिया दिनुहोस्