‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ को सान्दर्भिकता



सदाझैँ यस वर्ष पनि विश्वभर सेप्टेम्बर १७ मा ‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ मनाइयो । यो वर्षको नारा ‘बिरामीको पक्षमा आवाज उठाऊँ’ (Elevate the voice of patients!) रहेको छ ।

यसको उद्देश्य स्वास्थ्य सेवासँग सरोकार राख्ने पक्षहरु– बिरामी, परिवार, नीति निर्माता, स्वास्थ्य सेवाप्रदायक नेतृत्व वर्ग, स्वास्थ्यकर्मी र बिरामीसँग सम्बन्धित संघसंस्थाहरुले आपसी सहकार्य गरी स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्ने र विश्वभरिका बिरामीको आवश्यकताको आधारमा उनीहरुको स्वास्थ्य उपचारसम्बन्धी सुरक्षा प्रदान गर्न प्रभाव पार्ने नै हो ।बिरामीको सुरक्षाप्रति मानिसको जागरुकता वृद्धि गर्नु, बिरामीलाई गलत औषधि र उपचार हुनबाट बचाउनु हो । विरामीलाई आफूखुशी औषधि किनेर प्रयोग नगर्न, अनधीकृत व्यक्ति तथा संस्थामा गई औषधि उपचार नगर्न र दर्तावाल चिकित्सक वा स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन प्रेरित गर्नु पनि हो । साथै बिरामीलाई चिकित्सकले दिएको निर्देशन बमोजिम औषधि सेवन गर्न प्रेरित गर्नु पनि हो ।

यस किसिमका गम्भीर उद्देश्यहरु राखेर हरेक वर्ष ‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ मनाइए तापनि उपचारका क्रममा बिरामीमा हानि–नोक्सानी पुग्ने क्रम घट्नुको सट्टा बढिरहेको देखिन्छ । यस्ता घटना नेपालजस्ता विकासोमुख मुलकमा अझ बढी हुने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा लापरबाही गरेका कारण गत भदौ १८ गते पाँच वर्षीया बालिकाको निधनसम्बन्धी घटना हो । सो घटना भएपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो र उक्त समितिले सो घटना हुनुमा व्यवस्थापकीय कमजोरी जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो ।

यस किसिमका घटना अन्य स्वास्थ्य संस्थामा पनि हुने गरेको र बिरामी पक्ष तथा अस्पताल व्यवस्थापनबीच उग्र विवाद भई तोडफोड, हात हालाहाल, हड्ताल र क्षतिपूर्ति भराउने गरेका घटना सार्वजनिक भइरहेका छन् । ‘वल्र्ड प्यासेन्ट सेफ्टी डे’ को शुरुवात राष्ट्रसंघको ७२ औं महासभाले प्रस्ताव पास गरेपछि सन् २०१९ देखि भएको हो । बिरामीको स्वास्थ्य सुरक्षाका लागि राष्ट्रसंघले सदस्य देशहरुलाई बिरामीको सुरक्षाका लागि २०२१–२०३० सम्म सञ्चालन गरिने राष्ट्रिय कार्ययोजना बनाउनसमेत आग्रह गरेको छ ।

स्वास्थ्य सेवा प्राप्त गर्दा बिरामीको सुरक्षा उनीहरुको मौलिक अधिकार नै हो । तर पनि विश्वव्यापीरुपमा नै स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा प्रतिकूल घटनाहरु, त्रुटिहरु र जोखिमहरु हुने गरेका छन्, जुन सुरक्षित स्वास्थ्य सेवा प्राप्तिमा ठूलो चुनौतीका रुपमा रहेका छन् । यसैले संघले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा कतै पनि कुनै बिरामीलाई हानि पुग्नुहुँदैन र हरेक बिरामीले हरेकपटक सुरक्षित र आदरपूर्वक सेवा प्राप्त गर्न पाउनुपर्छ भनेर सन् २०२१ मा कार्ययोजना नै बनाएको हो ।

असुरक्षित उपचार अभ्यास र उपचारका क्रममा हुने त्रुटिहरु, बचावट गर्न सकिने चोटपटक र क्षतिको समस्या विश्वव्यापीरुपमा नै प्रमुखरुपमा रहेको छ । विश्वभरमा उपचारसँग सम्बन्धित त्रुटिको कारण हुने नोक्सानी करिब ४२ अर्ब डलर बराबरको हुने गरेको विश्व स्वास्थ्य संघको अनुमान छ । त्रुटि विभिन्न तहमा हुने गरेको छ । उपचारका क्रममा हुने त्रुटिहरु कमजोर उपचार प्रणाली वा मानवीय तत्वहरु जस्तो– कार्यस्थलको कमजोर वातावरण, स्वास्थ्यकर्मीहरुको कमीजस्ता कारणले बिरामीको औषधि उपचारमा कमजोरी हुने र उनीहरुलाई हानि–नोक्सानी हुने गरेको पाइएको छ ।

यसको परिणामस्वरुप कहिलेकाहीँ बिरामीको मृत्यु नै पनि हुने गरेको छ । यसैले यस किसिमको समस्यालाई घटाउन तथा नियन्त्रण गरी बिरामीको सुरक्षा गर्नका लागि विभिन्न उपायहरुको विकास गरेर कार्यान्वयनमा ल्याइएको छ । बिरामीको हानिरहित उपचार अहिले एउटा चुनौतीको विषय बनिरहेको छ । विश्व स्वास्थ्य संघले आगामी पाँच वर्षमा बिरामीको हानिरहित उपचार (Medication Without Harm) अर्थात् हटाउन सकिने क्षति वा चोटपटकको मात्रालाई ५० प्रतिशत घटाउने लक्ष्य राखेको छ ।बिरामीको हानिरहित उपचार नेपालजस्तो देशका लागि ज्यादै नै सान्दर्भिक भएकाले नेपाल सरकार र सरोकारवाला अन्य निकायले यस विषयमा गम्भीरता अपनाउन नितान्त आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्