तपाईका घरमा हाम्रा डाक्टर



१. म ४५ वर्षको भएँ, मधुमेह भएर औषधि खान थालेको दुई वर्ष भयो । मैले अपनाउनुपर्ने सावधानीका बारेमा अलि विस्तृत जानकारी दिनुभए आभारी हुने थिएँ ।

– लवकुमार क्षत्री, चितवन ।

लवकुमारजी, मधुमेह नसर्ने रोगहरुमध्येको आजको एक जल्दोबल्दो महामारी हो । साथै यो अधिक मात्रामा जीवनशैलीसँग सम्बन्धित रोग हो । केही मात्रामा यो वंशाणुगत रोग पनि हो । त्यसैले रोगको कारण वंशाणुगत भएको भए हाम्रो भूमिका सीमित रहन्छ भने जीवनशैली त सुधारेर रोगको नियन्त्रण वा रोकथाम गर्न सकिन्छ । त्यसैले यहाँले अपनाउने सावधानी वा जिम्मेवारी भनेको नियमित व्यायाम गर्ने, नियमित खानामा परहेज गर्ने तथा त्यसमा एकरुपता अनि निरन्तरता अपनाउने हो । साथै स्वाध्यायन तथा जानकारी प्राप्त गर्ने, चिकित्सकको अनन्त सम्पर्कमा रही सल्लाह सुन्ने गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा औषधि खाने गरेको भए ठिक्क समय अनुसार खानाको अघि वा पछि ठ्याक्क समय मिलाएर नियमित खाने गर्नुपर्छ । नियमित रगत परीक्षण गर्ने तथा परामर्शको अवधारणा अनुसार आफूलाई ढाल्नु पनि महत्वपूर्ण पाटो हो । समस्या शुरु भएको दुई वर्ष भइसकेकोले के खाने, के नखाने वा के खाँदा नियन्त्रितरुपमा खाने भन्ने कुरा अनुभवका साथै चिकित्सकको सल्लाह वा पोषणविद्को व्याख्या अनुसार मिलिसकेको होला । त्यसैलाई नै अनुशरण गर्नुस् । सधैँ हरेक खानेकुराको चिनीजन्य अनुक्रमणिका (नथिअझष्अ ष्लमभह) हेरेर अनि आफ्नो शरीरको ऊर्जाको आवश्यकता हेरेर खानाको परिणामको निर्णय गरी त्यसमै नियमित अडिग हुने गर्नुस् । त्यस्तै मधुमेहीहरुको लागि धूमपान तथा मद्यपानजस्ता कारक तत्वहरु अति नै हानिकारक मानिन्छन्, त्यसमा सजग हुनुहोस् । त्यसका साथै चिनीरोगको उचित नियन्त्रणको लागि नियमित दैनिक कमसे कम एक घण्टा छिटो–छिटो हिँड्ने वा खेल्ने वा व्यायाम गर्ने गर्नुस् । यसमा पनि उमेर तथा बानी हेरेर थपघट गरी आफ्नो दैनिकी बनाउने प्रयास गर्नुहोस् । अरु थप विवरण तथा व्याख्या चाहिएमा सम्बन्धित चिकित्सक वा सम्बन्धित ज्ञानस्रोतको पुस्तक, इन्टरनेट, अरुको अनुभव तथा मिडियाको सहारा पनि लिन सकिन्छ ।

२. मलाई बारम्बार पेट दुख्ने गर्छ । जँचाउँदा ग्यास्ट्रिकको कारणले हो भन्छन् । औषधि पनि कति खानुजस्तो भइसक्यो । यसबाट बच्ने उपायबारे बताइदिन अनुरोध छ ।

– सुजन शाक्य, पाटन, ललितपुर ।

सुजनजी, नेपालमा धेरैको पेट ग्यास्ट्रिकले दुख्ने गर्छ । हाम्रो खानपिन तथा खानाको प्रकृति नै यसको कारण हो । अधिक चिल्लो, मसालेदार, पिरो अनि समयमा नखानेजस्ता कारण ग्यास्ट्रिक भई पेट दुख्ने हुन्छ । तर ग्यास्ट्रिक मात्रै नभएर अरु धेरै कारणले पनि पेट दुख्न सक्छ । जबसम्म राम्रोसँग निदान गरेर समस्याको जरो थाहा लाग्दैन तबसम्म ठ्याक्कै समस्या अनुसारको उपचार नमिल्न सक्छ । हुन त यही कारण हो भन्ने अवस्था सधैँ नहुन सक्ने पक्ष पनि याद गर्नुपर्ने हुन्छ । जो भेट्यो त्यसलाई, कहिले को, कहिले को चिकित्सकलाई परीक्षण गराउँदा अघि बढेर गर्नुपर्ने अरु परीक्षण छुट्ने, पुरानो इतिहास ख्याल नहुने तथा धेरैजसो ग्यास्ट्रिक भनेर औषधि चलाई उम्कने अवस्था पनि हुन सक्छ । यो नै सबभन्दा बढी भेटिने समस्या हुनाले ग्यास्ट्रिक नहुने को पो हुन्छ र भन्ने सोचले पनि काम गरेको हुन सक्छ । यसबाट बच्ने उपाय भनेर साधारण हल्का खाना खाने, अमिलो, पिरो, चिल्लो नखाने, भोको पेट नबस्ने, समय–समयमा मिलाएर खाना खाने, नियमित व्यायाम गर्ने, मद्यपान अनि धूमपान नगर्नेजस्ता उपायहरु अपनाउनुस् । यही सिलसिला मिलाएर एकपटक पेटरोग विशेषज्ञ भेट्नुस् र उहाँकै सल्लाह वा परामर्शमा हिँड्नुहोस् ।

३. मेरो अण्डकोषमा प्रायः एउटा दाना अलि तल र अर्को अलि माथि भइरहेको हुन्छ । यो कुनै समस्या हो कि ? बुझ्न सकेको छैन, सही सुझावको अपेक्षा गर्दछु ।

– दिलकुमार खड्का, रामेछाप ।

दिलकुमारजी, अण्डकोष छोप्ने छाला खुम्चिएर भित्र ठाउँ साँघुरिएको जस्तो हुन सक्छ । यस्तो हुँदा दुईवटा अण्डकोष सहज मिलेर बस्नुपर्ने अवस्था आउँछ । त्यसैले सीधा अटेसमटेस भएर बस्ने भन्दा यसो तल–माथि भएर सहज किसिमले बसेको हुन सक्छ । यो प्राकृतिक तथा यावत् नियम भएकोले नर्मल अवस्था हो, अन्यथा सोच्नै पर्दैन । यो अवस्थाबाहेक अर्को अवस्था पनि हुन सक्छ । एउटा अण्डकोष तल हुने र अर्को नहुने अथवा नदेखिने हुन सक्छ । किनकि जन्मसँगै पेटबाट दुवै अण्डकोष आफैँ अण्डकोषको दुवैतिर थैलीमा झर्नुपर्नेमा एउटा नझरेर माथि नै तल्लो पेटमा अड्किने हुन सक्छ । यो भने अलि नराम्रो अवस्था हो । यो अवस्थामा क्यान्सर हुन सक्ने भएकाले त्यसलाई समयमै झार्ने वा शल्यक्रिया गरेर फ्याँक्नुपर्ने पनि हुन्छ ।

४. मेरो चार वर्षको छोरा अलि भकभक गरेर बोल्ने गर्छ । यसको उपचार आवश्यक पर्छ कि पर्दैन ? पर्छ भने कहाँ गर्दा उचित हुन्छ ? सुझावका लागि अनुरोध छ ।

– रेश्मा कार्की, धनकुटा ।

रेश्माजी, चार वर्षको छोराको बोली बल्ल फुट्ने, प्रस्टिने, दोहो¥याउने, सोधिरहने बेला आएको छ । बोल्न सिक्ने अति उपयुक्त उमेर हो यो । त्यस्तै भकभकाउने पनि उचित उपचार गरेर सुधार हुन सक्ने समस्या हो । त्यसैले एकपटक स्पीच थेरापिस्ट टेक्निसियन भेटेर सल्लाह गरी उपचार थाल्नुस् । तपाईं धनकुटा हुनाले धरान वा विराटनगरमा भएका अस्पतालहरुमा नाक, कान, घाँटी विभाग तथा ती प्राविधिक भए÷नभएको बुझ्नुस् । यदि त्यहाँ नभएमा काठमाडौं आउनुस् र शिक्षण अस्पताल वा वीर अस्पताल, आफ्नो अनुकूलता हेरी जुनमा मिल्छ त्यहाँ जानुस् । त्यहाँ सक्दो अनि सम्भव भएसम्म ख्याल, परामर्श तथा उपचार मिल्नेछ ।

५. म ५२ वर्षको भएँ । मलाई कहिलेकाहीँ बसिरहँदा पनि मुटुको ढुकढुकी बढ्छ र केही क्षणमा सामान्यजस्तो हुन्छ । यो कुनै समस्याको लक्षण हो कि भन्ने लागेको छ । मैले के गर्नुपर्ला ? सुझावको अपेक्षा गर्दछु ।

– रोशनी थापा, तनहुँ ।

रोशनीजी, तपाईंको समस्याको बारेमा सोच्दा केही सम्भावना चिकित्सकको हैसियतले मलाई महसुस हुन्छ । पहिलो त मुटुको तालमा कहिलेकाहीँ गडबडीवाला समस्या हुन सक्छ । अर्को मुटुको काममा कमी वा मुटुको फेल वा हृदयघात भएमा आउने तालको गडबडीको महसुस पनि हुन सक्छ । धेरै चिन्ता, तनाव वा मानसिक अप्ठेरो भएर महसुस हुने वास्तविक समस्या वा महसुस मात्रै हुने तालको गडबडी जे पनि हुन सक्छ । त्यसैले सोही अनुसारको छलफल, परामर्श तथा परीक्षण गर्नुपर्ने देखिन्छ । मुटुकै अत्यावश्यक परीक्षणहरु जसमा मुटुको काम, ताल तथा बनावट हेर्नुपर्ने हुन्छ । यहाँले एकपटक मुटुरोग विशेषज्ञ भेटेर प्रस्ट हुनुप¥यो कि अवस्था कस्तो हो भनेर । तपाईं तनहुँको भएकाले पोखरा वा काठमाडौं जता गए पनि एकपटक सम्बन्धित अस्पतालका सम्बन्धित विज्ञ भेट्नुस् । तपाईंको समस्याको पहिचान भई उपचारमा सहयोग पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्