नेपाली गीत गायनका शिखर पुरुष नारायण गोपालको एउटा लोकप्रिय गीतले भन्छ– ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी …. ।’ तर उमेरले पाँच–छ दशकको कोसेढुङ्गो पार गरेपछि गीतको बोली यसरी फेरिन सक्छ– ‘यो बिर्सिने मन छ, म सम्झूँ कसोरी …।’
मानिसको जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने कारकहरुमध्ये उमेर एक प्रमुख हो । उमेरले नै जीवनको भोगाइ, उकाली र ओरालीहरु निर्धारण गर्दछ । उमेर छिप्पिँदै गएपछि सम्झना शक्ति कमजोर हुँदै जानु मानिसले भोग्नुपर्ने एउटा बाध्यता हो । जसरी आँखाको दृष्टि शक्ति, कानको श्रवण शक्ति, हातको भारवहन शक्ति, खुट्टाको चलायमान शक्ति घट्दै जान्छ, त्यसरी नै मस्तिष्कको स्मरण शक्ति पनि घट्दै जान्छ ।
मस्तिष्कमा रहेका कोशहरु निष्क्रिय हुन थालेमा वा कोशहरु मर्ने क्रम शुरु भयो भने स्मरण शक्ति प्रत्यक्षरुपमा प्रभावित हुन थाल्छ । यो एक जटिल समस्या हो र यसको निश्चित औषधि उपचार अहिलेसम्म पत्ता लागेको छैन । तर यो समस्याप्रति बेलैमा सचेत र सजग हुन सक्यो भने यसको असरबाट धेरै हदमा बच्न सकिन्छ । यदि यो समस्याले विकाराल रुप लियो भने पार्किन्सन्स् (पक्षाघात) वा पागलपन वा पूर्ण अचेत अवस्थामा पुगिनेजस्ता अत्यन्त कष्टकर व्यथा भोग्नुपर्ने स्थिति आउन सक्छ । अक्सर ६० वर्षको हाराहारीमा पुगेपछि बिर्सिने समस्या शुरु भएको पाइन्छ, तर कतिपयलाई ३०–४० वर्षकै उमेरदेखि नै नजानिदोरुपमा बिर्सिने क्रम शुरु हुन पनि सक्छ ।
यो समस्याले विश्वमा अहिले कति मानिस पीडित छन् भनेर यकिन भन्न त सकिँदैन तर सन् २०२० मा गरिएको एक अध्ययन अनुसार त्यतिखेर विश्वमा पाँच करोड मानिस स्मरण शक्तिमा ह्रासको समस्याले ग्रसित थिए भने सन् २०५० सम्ममा यो संख्यामा वृद्धि भएर १५ करोड पुग्ने प्रक्षेपण गरिएको छ । भारत, चीनजस्ता अत्यधिक जनसंख्या भएका मुलुकहरुमा यो समस्या धेरै पाइन्छ भने जापानजस्तो औसत आयु लामो भएर वृद्धहरुको संख्या बढी हुन गएको मुलुकमा पनि यो समस्या टड्कारो देखिन्छ । छ दशकको आयु भएका २० जनामध्ये औसत एकजनामा स्मरण शक्ति ह्रासको समस्या पाइन्छ भने आठ दशकको आयु भएका पाँचमध्ये एकजनामा यो समस्या पाइने अध्ययनले देखाएको छ ।
पुस्तक नियमितरुपमा पढ्ने बानी बसाल्नु असाध्यै लाभदायक हुन्छ ।
बिर्सिने समस्यालाई चिकित्साशास्त्रको भाषामा डिमेन्सिया ९म्झभलतष्ब० भनिन्छ । विशेषज्ञहरुले डिमेन्सियालाई धेरै किसिममा वर्गीकरण गरेका छन् । तीमध्ये धेरै मानिसमा पाइने तीन किसिमका डिमेन्सिया अल्जाइमर्स, भास्कुलर र लेवी बडिज डिमेन्सिया हुन् । सूक्ष्मरुपमा विश्लेषण गर्दा डिमेन्सियाका सात चरण हुन्छन् भनी व्याख्या गर्ने गरिएको पाइन्छ । यद्यपि मोटामोटीरुपमा भन्दा बिर्सिने समस्यालाई मुख्यतया तीन चरणमा बुझ्न सकिन्छ– सामान्य, मध्यम र जटिल ।
सामान्य चरण: पहिला बिर्सिने बानी नभएका मानिसहरु उमेरले पाँच दशकको छेउछाउ पुगेपछि बेलाबेलामा विभिन्न दैनन्दिनी कामकुराहरु बिर्सिन थाल्छन् । आफूले दैनिक प्रयोग गरिरहेका सामानहरु जस्तै– साँचो, चश्मा, कलम, घडी आदि राखेको ठाउँ बिर्सनु, नियमित सेवन गर्ने गरेको औषधि सेवन गर्न बिर्सनु, कसैलाई भन्नुपर्ने कुरा भन्न बिर्सनु आदि । यतिसम्म बिर्सिने समस्या खासै ठूलो समस्या होइन । तर उमेरको गाडी अघि बढ्दै जाँदा यो बिर्सिने क्रम पनि झन्–झन् बढ्दै गयो भने त्यो मध्यम स्तरको समस्यामा परिणत हुन्छ । त्यसैले उमेर छिप्पिँदै गएको मानिसले आफूमा बिर्सिने क्रम बिस्तारै बढ्न थालेको महसुस हुँनासाथ सम्बन्धित विशेषज्ञको सम्पर्कमा जान ढिलाइ गर्नुहुँदैन । विशेषज्ञले निको नै पार्ने भन्दा पनि बिर्सिने क्रमलाई घटाउने केही उपायहरु सिकाउनमा मद्दत गर्न सक्छन् ।
मध्यम चरण: सामान्य चरणका लक्षणहरु पार गर्दै वा कायमै रही त्यसमा थप नयाँ लक्षणहरु पनि देखिन थाल्यो भने त्यो मध्यम चरणको समस्यामा प्रवेश गरेको मान्नुपर्ने हुन्छ । जस्तै– आफूले राम्ररी चिनेको मानिसको पनि नाम बिर्सनु, नियमितरुपमा एक किसिमको औषधि सेवन गर्नुपर्नेमा अर्कै किसिमको गर्नु अर्थात् बिहान खानुपर्ने औषधि राति खानु, सुपरिचित ठाउँहरुको पनि नाम बिर्सनु, मनमा आएको कुरा पनि झट्ट भन्न नसक्नु, आफू एक्लै पूर्वपरिचित स्थानतर्फ जाँदै गर्दा पनि गन्तव्यमा नपुग्दै बाटो बिर्सनु वा गन्तव्य नै बिर्सनु, दिशा पहिल्याउनमा अलमलिनु, पैसा वा अन्य गन्तीमा पहिलाको जस्तो छिटोछरितो हुन नसक्नु, सामान्य जोड–घटाउको हिसाबमा पनि अलमलिनु, अरुले भनेको कुरा छिट्टै बुझ्न वा ग्रहण गर्न नसक्नु, घरबाहिर निस्कँदा जुत्ता लगाएर हिँड्नसमेत बिर्सनु, लुगाको उल्टो–सुल्टोमा अलमलिनु, सामान्य कामकुरामा पनि बारम्बार झुक्किनु वा भ्रमित हुनु, मनमा धेरै कुरा खेल्नु, भरखरै सम्झेको कुरा पनि तुरुन्तै बिर्सनु आदि ।
जटिल चरण: मध्यम चरणमा आइपुग्दा पनि बिर्सिने समस्याको राम्रो निदान भएन र त्यसको क्रमलाई घटाउन सकिएन भने त्यो मानिसको समस्या बिर्सिने कुरामा मात्र सीमित नरही जीवनयापन नै जटिल हुन जाने गरी स्मरण शक्तिमा ह्रास आउने अवस्थामा पुग्न सक्छ । यो चरणका लक्षणहरु अघिल्ला दुई चरणका भन्दा निकै जटिल हुन्छन् । जस्तै– एउटै कुरा दोहो¥याइरहने, एउटै मानिसलाई उही प्रश्न पटक–पटक सोध्ने, आफूले खाना खाएको वा नखाएको पनि हेक्का नरहने, खान नहुने चिज पनि खाइदिने, खाना निल्न नसक्ने, दिसा–पिसाबको हेक्का नरहने, सीधा उभिन नसक्ने, बोली प्रस्ट नहुने, धारिला हतियार वा जोखिमयुक्त परिस्थितिप्रति सजग रहन नसक्ने (जस्तै– करेन्ट लाग्न सक्ने जोखिमको पनि परवाह नगर्ने), आफ्नै निकट व्यक्तिलाई पनि चिन्न कठिन हुने, घडी हेरेर समय जान्न पनि अलमलिने वा नसक्ने, आफैँ लुगा फेर्न नसक्ने, आफूले वा अरुले भरखरै भनेको कुरा पनि याद नरहने, वर्तमानका सन्दर्भहरु याद नरहने तर धेरै पहिलाको अझ बाल्यकालका सम्झना भने याद रहने, डिप्रेसनसँग मिल्दाजुल्दा कतिपय लक्षणहरु देखिने आदि ।
प्रभाव न्यूनीकरणको सम्भावना
डिमेन्सियाको समस्या मूलतः छिप्पिँदो उमेर र वंशाणुगत (जेनेटिक्स) कारणले हुन्छ । त्यसैले उमेर छिप्पिनुभन्दा अगावै र डिमेन्सियाको वंशाणुगत इतिहास भएका व्यक्तिहरुले युवावस्थादेखि नै केही सजगता अपनाउनु जरुरी हुन्छ, जसले डिमेन्सियालाई पूरै रोक्न नसके पनि धेरै हदसम्म पर सार्न वा यसको दुष्प्रभाव न्यूनीकरण गर्न भने राम्रो मद्दत गर्छ ।
यस सन्दर्भमा ल्यान्सेट कमिसनले सन् २०२० मा डिमेन्सियाको प्रभावलाई न्यूनीकरण गर्न विभिन्न १२ वटा सुझाव सिफारिस गरेको छ ।
जसमा मधुमेह नियन्त्रण, उच्च रक्तचाप नियन्त्रण, टाउकोमा चोट लाग्नबाट बचावट, धूमपान निषेध, वायु प्रदूषणबाट उन्मुक्ति, चालीस वर्षको उमेर आसपास पुगेपछि मोटाउने समस्या नियन्त्रण, नियमित शारीरिक व्यायाम, डिप्रेसनबाट बचावट, अधिक मदिरापान नियन्त्रण, श्रवण शक्तिमा आएको ह्रासको तत्काल उपचार, सक्रिय सामाजिक जीवनयापन र नयाँ ज्ञान वा सीप सिक्ने सक्रियता छन् । यसमा निद्रा समावेश थिएन । तर संयुक्त राज्य अमेरिकामा कार्यरत चिकित्सा विज्ञानका अनुसन्धाताहरुले गरेको पछिल्लो अध्ययन–अनुसन्धानले यो सूचीमा पर्याप्त निद्रालाई पनि अपरिहार्य मानी समावेश गर्न सिफारिस गरेका छन् । यी १३ वटा विषयलाई गम्भीरतापूर्वक पालना गर्न सकेमा डिमेन्सियाको प्रभावलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्ने चिकित्सा विज्ञानका अनुसन्धानकर्ताहरुको विश्वास छ ।
डिमेन्सियाबाट पूरै मुक्ति पाउन नसकिए तापनि यसबाट कम प्रभावित हुन र आफ्नो दैनिक जीवन र सामाजिक व्यवहारलाई यथासम्भव सहज बनाउन आफू स्वयं र परिवारजनले मुख्य भूमिका खेल्न सक्नुपर्दछ । समस्याको सामान्य चरण र मध्यम चरणसम्ममा स्वयं बिरामीको पनि अहं भूमिका रहन्छ तर जटिल चरणमा पुगेपछि भने बिरामी पूरै अरुप्रति नै निर्भर रहनुपर्ने अवस्था आउँछ ।
आफ्नो भूमिका
सबैभन्दा मुख्य कुरा आफूमा बिर्सिने समस्या देखा पर्न थालेको बारे व्यक्ति आफैं सचेत र सजग हुनु जरुरी छ । बिर्सिने समस्या भयो भनेर डराउने, चिन्ता लिने, दिक्क मान्ने, आफैंलाई विश्वास नगर्ने वा हीनताबोधले ग्रसित हुने, बिर्सिने समस्यालाई बेवास्ता गर्ने गल्ती गर्नुहुँदैन । बिर्सिन नहुने कुरा बिर्सिन सक्छु भन्ने हेक्का राखेर त्यसलाई बिर्सिन नदिन आफैंले पूरा कोसिस गर्नुपर्दछ । सम्झनुपर्ने कुराहरुलाई लेखेर राख्ने बानी बसाल्न सकिन्छ । बिर्सिने समस्या स्वास्थ्यसँग प्रत्यक्ष सरोकार भएको विषय हुनाले सम्बन्धित अनुभवी विशेषज्ञसँग परामर्श लिन ढिलाइ गर्न हुँदैन ।
सम्झने वा बिर्सिने कुरा सोझै मानिसको मस्तिष्कसँग सम्बन्धित छ । त्यसैले मस्तिष्कलाई स्वस्थ राख्न आवश्यक छ । मस्तिष्क स्वस्थ नभएमा बिर्सिने समस्या मात्र होइन पागलपनजस्तो अत्यन्तै जटिल समस्यासमेत भोग्नुपर्ने अवस्था आउन सक्छ । बिर्सिने समस्याबाट जोगिन स्व–अभ्यास सबैभन्दा प्रभावकारी उपाय हो । उमेरका कारण उत्पन्न स्मरण शक्तिमा ह्रासको समस्यालाई पूर्णतया निको पार्ने कुनै भरपर्दो औषधि आजसम्म आविष्कार नभएकाले यस समस्यालाई कसरी सम्हाल्ने र यसबाट व्यक्तिलाई हुन सक्ने क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्नेतर्फ प्रयास केन्द्रित हुनुपर्छ । कहिलेकाहीँ केही कामकुरा बिर्सनु कुनै समस्या होइन तर बारम्बार बिर्सिने र त्यसले मानिसको दैनिक व्यवहार र सामाजिक जीवन नै असहज बन्न गयो भने त्यो गम्भीर समस्या हुन्छ ।
मानिसको जीवनमा अक्सिजन अर्थात् प्राणवायुको सबैभन्दा महत्वपूर्ण भूमिका रहन्छ । मस्तिष्कलाई स्वस्थ्य राख्न पनि पर्याप्त मात्रामा अक्सिजन ग्रहण गर्नुपर्दछ । पर्याप्त अक्सिजनको स्रोत भएको प्राकृतिक वातावरण अत्यन्त आवश्यक मानिने मुख्य कारण यही हो । त्यसैले प्रातः भ्रमण, सन्ध्या भ्रमण, उद्यान वा वनबाटिका भ्रमणलाई समय दिनु आवश्यक छ । पानी हाइड्रोजन र अक्सिजनको मिश्रणबाट बन्छ । शरीरमा अक्सिजनको मात्रा पूरा गर्न पर्याप्त पानी पिउनु पनि त्यत्तिकै आवश्यक हुन्छ ।
हाम्रो समग्र स्वास्थ्य तन्दुरुस्त राख्न सबै किसिमका भिटामिनका साथै सोडियम, पोटासियम, म्याग्नेसियम, आइरन, ओमेगा आदि अत्यावश्यक तत्वहरुको पनि सन्तुलन मिलेको हुनुपर्दछ । यीमध्ये कुनैको स्तरमा असाधारण कमी आयो भने त्यसले स्मरण शक्तिमा ह्रासलगायत विभिन्न समस्या निम्त्याउँछ ।
मस्तिष्कलाई सक्रिय राख्न नयाँ कुरा सिक्ने प्रयास गर्नु उत्तम तरिका हो । उमेर हदको कारण आफ्नो पेसा व्यवसायबाट अवकाश प्राप्त गरेका प्रौढहरुले आफ्नो मस्तिष्कलाई सक्रिय राख्न पहिला नजानेको भाषा, संगीत वाद्यवादन, चित्रकारिता वा अन्य सीप सिक्ने गरेको पाइन्छ । यसले मस्तिष्कलाई सक्रिय राख्दछ, जसले गर्दा बिर्सिने समस्याबाट जोगिन सकिन्छ । यसै गरी बराबर हिज्जे वा गणितको अभ्यास गर्ने, पज्जल गेम खेल्ने, चेस खेल्ने, क्विज शो नियमितरुपमा हेर्ने आदि अभ्यास गरेर मस्तिष्कलाई सक्रिय राख्नु निकै लाभदायक हुन्छ । यसै गरी प्रत्येक दिन कुनै निश्चित समयमा आफूलाई रुचि लाग्ने विषयका पुस्तक नियमितरुपमा पढ्ने बानी बसाल्नु असाध्यै लाभदायक हुन्छ ।
मस्तिष्कलाई प्रतिकूल असर गर्ने मदिरा, धूमपान वा लागूपदार्थको सेवन गर्नेहरुलाई बिर्सिने समस्याले छिटो समाउँछ । मदिरामा हुने अल्कोहलले मस्तिष्कको न्युरोनलाई मारिदिन्छ, जसको कारण अल्जाइमर्स हुन जान्छ । त्यसैले त्यस्ता पदार्थको सेवन गर्ने कुलतबाट जोगिनु अत्यावश्यक हुन्छ ।
पर्याप्त आराम र निद्रा नपाएका मानिसहरुमा पनि बिर्सिने वा कतिपय महत्वपूर्ण विषयहरु पनि सम्झनामा नरहने समस्या हुन्छ । त्यसैले पर्याप्त आराम र निद्राको आफ्नो प्राकृतिक अधिकारप्रति हरेक मानिस सजग हुनु जरुरी छ । त्यसै गरी सन्तुलित भोजन र स्वस्थ मस्तिष्कका बीच गहिरो सम्बन्ध छ । बिर्सिने समस्याको एउटा कारण तनाव पनि हो । मनमस्तिष्क तनावपूर्ण अवस्थामा रहने मानिसहरुले पनि कतिपय महत्वपूर्ण विषयहरु स्मरणमा राख्न सक्दैनन् । तसर्थ बिर्सिने समस्याबाट जोगिन सर्वप्रथम तनावबाट जोगिनु आवश्यक छ ।
कतिपय जटिल रोगको दुष्प्रभावका रुपमा पनि स्मरण शक्तिमा ह्रास आएको पाइन्छ । जस्तै– लामो समयदेखि थाइरोइडको समस्या झेलिरहेका विशेष गरी महिलाहरुको स्मरण शक्तिमा समस्या आएको पाइएको छ । त्यसै गरी उच्च रक्तचाप, मधुमेह, मिर्गौला, स्नायु, हर्मोन डिस्अर्डर आदिका दीर्घरोगीहरु पनि ६० वर्षको उमेर पार नगर्दै बिर्सिने समस्याको मारमा परेका देखिएका छन् । यस्तो अवस्थामा आफू जुन मुख्य रोगबाट पीडित भइरहेको हो त्यसकै समाधानमा केन्द्रित रहनुपर्छ । त्यो रोगको प्रभावलाई कम गर्न सकियो भने त्यसका कारणबाट उत्पन्न बिर्सिने समस्यालाई पनि न्यूनीकरण गर्न सकिन्छ ।
कतिपय जटिल स्वास्थ्य समस्यामा चिकित्सकको सल्लाह अनुसार पेनकिलर, स्टेरोइड आदि कडा औषधि सेवन गर्नुपर्ने हुन्छ । कडा औषधिको असरका कारण पनि बिर्सिने समस्या आउन सक्छ । यस्तो अवस्थामा विशेषज्ञको सल्लाह अनुसार केही विशेष थेरापी वा अभ्यासहरु गर्नुपर्ने पर्ने हुन सक्छ । त्यसो भएमा सम्बन्धित बिरामी आफैं त्यसमा सक्रिय हुनुपर्दछ ।
परिवारको भूमिका
आफ्नो परिवारमा उमेर वा अन्य कारणले कसैलाई बिर्सिने समस्या देखा परेको छ भने ऊप्रति परिवारका अन्य सदस्यहरुको महत्वपूर्ण दायित्व रहन्छ । यसमा मुख्य त बिर्सिने समस्याबाट ग्रसित व्यक्तिप्रति परिवारका सदस्यले सद्भावको व्यवहार गर्नुपर्दछ । उसलाई उपेक्षा गर्ने, उपहास गर्ने, बिर्सिन्छ भनेर उसलाई बताउनुपर्ने जरुरी कुरा पनि नबताउने आदि गर्नुहुँदैन ।
जटिल चरणमा पुगिसकेका बिरामीको खानपान, औषधि, शौचक्रिया आदि नियमित कार्यप्रति परिवारले पर्याप्त समय दिनुपर्दछ । स्मरण शक्तिमा ह्रास हुनुका साथै पार्किन्सन्स् वा पागलपनले समेत गाँजिसकेको छ भने उसको स्याहारसुसार निकै नै कठिन र चुनौतीपूर्ण हुन जान्छ । स्मरण शक्तिमा गम्भीर ह्रासको कारण अल्जाइमर्सबाट पीडित हुन पुगेका बिरामीको अवस्था देख्ने जो–कोहीले पनि बिरामीका साथै उसको परिवारको स्थिति देखेर मन खिन्न बनाउँछन् । त्यस्ता बिरामीलाई मृत्युले मात्र त्यो अवस्थाबाट मुक्ति दिन सक्छ ।
(वरिष्ठ पत्रकार बस्नेत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)