भगवती तिमल्सिना
धुलिखेल नगरपालिकामा सामान्य परिवारमा जन्मिएर काठमाडौं विश्वविद्यालय अन्तर्गतको हाइस्कूलबाट शिक्षा पूरा गरी अमेरिकाको टेक्सास, सानएनटिनियोका विभिन्न शिक्षण संस्थामा अध्ययन गर्नुभएका डा. सन्तोष तिमल्सिनाले क्यान्सरका विविध विषयमा अध्ययन गर्नुभएको छ । उहाँले क्यान्सर के हो र कसरी क्यान्सर लागेको स्थानमा मात्र सेल मार्ने र उपचार गर्ने भन्ने विधिको खोजीमा १० वर्ष अनुसन्धानमा जुटी स्तन क्यान्सरका विषयमा युनिभर्सिटी अफ टेक्सास हेल्थ साइन्सेसबाट स्नातकोत्तर एवं विद्यावारिधी गर्नुभएको छ । स्तन क्यान्सरका विषयमा स्पेसलाइजेसन गर्नुभई हाल नेपाल आउनुभएका डा. सन्तोष तिमल्सिनासँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:
समयमै उपचार गरे क्यान्सर निको हुन्छ ।
हाल अमेरिकामा कुन क्षेत्रमा काम गर्नुहुन्छ ?
क्यान्सर रिसर्च, विशेष गरी स्तन क्यान्सरका विषयमा काम गर्छु । साथै बाल क्यान्सरका विषयमा पनि काम हुन्छ । म अनुसन्धान बेसमा काम गर्ने हुनाले अस्टियो सार्कोमा र (ब्रेन) मेडुलोब्लास्टोमा, ग्लिओब्लास्टोमा ब्रेन क्यान्सरका विषयमा पनि काम हुन्छ ।
बालबालिका र पाको मानिसमा लाग्ने क्यान्सरमा कस्तो फरक हुन्छ ?
बालबालिकामा हुने क्यान्सर र पाको मानिसमा लाग्ने क्यान्सर फरक हुन्छ । सबै क्यान्सर एकै खालको हुँदैन । शुरु हुुने र कसरी फैलने भन्ने नेचर फरक हुन्छ । समस्या अनुसारको उपचार पनि फरक हुन्छ । जन्मजात तथा सानै उमेरमा र युवा अवस्थामा हुने क्यान्सर फरक–फरक हुन्छ । कतिपय क्यान्सर वंशाणुगत जिनले पनि हुन्छ । धेरैजसो बच्चाहरुमा हुने क्यान्सर वंशाणुगत पनि हुन्छ । वंशाणुगत जिनको सेल, अर्गान, टिस्युहरु जन्मनुअघि नै बन्नुपर्छ । तर क्यान्सरमा चाहिनेभन्दा बढी सेल बनेर परिवर्तन भई सक्रिय हुन्छ र नियन्त्रण गर्न नसक्ने हुन्छ । शरीरमा हरेक तत्वको उत्पादन गर्ने र परिचालन गर्ने दुवै तत्व सक्रिय हुनुपर्छ । उत्पादन गर्ने तत्व सक्रिय भयो र नियन्त्रण गर्ने तत्व निष्क्रिय हुँदा क्यान्सर हुन्छ । अनुसन्धानका क्रममा बच्चाहरुमा हुने क्यान्सरमा बढी यस्तो पाइयो । यस्तो अवस्थामा जिनको वृद्धि हुने क्षमता धेरै बनेको हुन्छ र अन्य तत्वहरुसँग जोडिएर चाहिनेभन्दा बढी सक्रिय हुन्छ । यस्तो अवस्थामा नियन्त्रण गर्ने कुनै पनि तत्व हुँदैन । मानिसको शरीरलाई स्वस्फूर्तरुपमा स्वचालित बनाउने प्रकृतिको नियम हुन्छ । क्यान्सरमा यो नियम कमजोर हुन्छ र सेल नियन्त्रणबाहिर भएपछि क्यान्सर हुन्छ ।
स्तन क्यान्सर र अरु क्यान्सर फरक हो या उस्तैहो ? तपाईंले गर्नुभएको १० वर्षको अनुसन्धानमा के पाउनुभयो ?
स्तन क्यान्सर सानै उमेरमा त्यति धेरै हुँदैन । यो युवा अवस्था अर्थात् पाको उमेरमा हुन्छ । यो क्यान्सर वंशाणुगत मात्र नभई वातावरण, खानपान, जीवनशैली सबैले प्रभाव पार्छ । सेलमा आएको परिवर्तनले एउटा विन्दुमा पुगेपछि सेल नियन्त्रणबाहिर जान्छ र काम गर्न छोडेपछि क्यान्सर बन्छ । एकुमुलेटेड चेन्जले क्यान्सरजस्तो सेल बन्ने हो ।
क्यान्सर लाग्नै नदिने सुरक्षा विधि के छ र कस्तो अवस्थामा पहिलो, दोस्रो, तेस्रो, चौथो चरण हुन्छ ?
क्यान्सर देख्दा उस्तै भए पनि चेनहरु फरक हुन्छ । उदाहरणका रुपमा ब्रेस क्यान्सर र स्कीन क्यान्सर मेलानोमा, ग्यास्ट्रिक क्यान्सर अर्कै हो । सबै सेलमा जिन उस्तै भए पनि त्यो चलाउने चेन अर्कै हुन्छ । कुनै क्यान्सरमा एउटा जिनले परिवर्तन ल्याएपछि बढी फैलन्छ । त्यस्तै अर्कोमा अर्कै जिन जोडिन्छ । सामान्य सेलहरु सबै मिलेर बसेको हुन्छ । पहिलो चरणमा क्यान्सर शुरु हुँदा टिस्युहरुमा परिवर्तन देखिन सक्छ । व्यवस्थित हुुन छोड्छ र सामान्य अवस्थामा जस्तो काम गर्दैन । एपिथ्रिएल सेल भनेको सबै अर्गानहरुमा हुन्छ । यो बढ्दै जाँदा सबै टिस्युहरुमा फैलँदै जान्छ । शुरुमा थोरै भागमा हुन्छ, फैलँदै जाँदा अनियन्त्रित भैसकेको हुन्छ । क्यान्सर बढ्दै जान्छ । कुनै क्यान्सर सेल निष्क्रिय अवस्थामा बसेको हुन्छ तर समय आएपछि सक्रिय भएर बढ्छ र धेरै सेल एकैपटक बनाउन सक्छ । स्टेमसेल भनेको एउटै सेलबाट धेरै प्रकारको सेल बनाउन सक्ने हुन्छ । क्यान्सरमा उपचार गर्दा नमर्ने र स्थिर भएर बस्ने खालको सेल पनि हुन्छ । उपचार गर्न छोडेपछि आफैँ बढ्ने हुन्छ । त्यसैले कतिपय अवस्थामा क्यान्सर दोहोरिने हुन्छ । उपचार ग¥यो देखिँदैन, पछि एकैपटक बढ्ने यस्तै खाले सेलको कारण हुन सक्छ ।
निष्क्रिय भएर एकैपटक सक्रिय हुने सेल कस्तो–कस्तो टाइपको क्यान्सरमा हुन्छ ?
सबै खालको क्यान्सरमा हुन सक्छ । त्यसलाई क्यान्सर स्टेमसेल (ट्युमर इनिसियटिङ सेल) भनिन्छ । यसमा एउटा सेलबाटै ट्युमर बन्न सक्छ ।
कसरी स्तन क्यान्सरका विषयमा अनुसन्धान गर्ने योजना बनाउनुभयोे ?
पहिला क्यान्सरकै विषयमा मास्टर्स गर्दा अनुसन्धान गरेको थिएँ । त्यही क्षेत्रमा काम गरेको अनुभवले यसैमा स्पेसलाइजेसन गर्छु भन्ने लाग्यो । क्यान्सर कसरी लाग्छ, उपचार कसरी गर्न सकिन्छ भन्ने बारेमा खोज–अनुसन्धान गर्ने सोचकै कारण यो विषयमा नै अनुसन्धान गरेँ । जेनेटिक, एपिजेनेटिक हेर्ने काम ल्याबमा गर्ने हुनाले त्यही गर्र्र्र्र्ने अठोट गरेँ । मेरो समूहमा प्रोफेसरलगायतको ठूलै समूह थियो । सबै मिलेर अनुसन्धान ग¥यौँ ।
किमोथेरापी भनेको के हो ?
एकथरीले सेलको डीएनएलाई क्षति पु¥याउने हुन्छ । अर्को थरीले नयाँ सेल बन्न रोक्ने हुन्छ । सेललाई विभाजन गर्न दिँदैन र नयाँ सेल बन्न दिँदैन अनि क्यान्सर नियन्त्रण गर्न मद्दत गर्छ ।
अनुसन्धानको निष्कर्ष कस्तो निस्कियो ?
निष्कर्षमा किमोथेरापी कसरी घटाउने र क्यान्सरलाई मार्ने अरु शरीरको लागि आवश्यक सेललाई बचाउने भन्ने नै हो । कुन जिन अर्थात् प्रोटिनले औषधि पचाउने काम गर्छ । त्यो जिनलाई लक्षित भयो भने औषधि प्रभावकारी हुन्छ । कुन जिन क्यान्सरमा बढी सक्रिय हुन्छ र अरुमा हुँदैन । त्यसलाई लक्षित गर्ने, थोरै मात्रा औषधि चलाउँदा क्यान्सर पनि मर्छ, सामान्य सेल पनि सुरक्षित हुन्छ भन्ने खोज–अनुसन्धानमा १० वर्ष बितायौँ । सामान्य सेल पनि नमरोस् र क्यान्सरलाई पनि मद्दत गरोस् भनेर औषधि चलाएर सहज बनाउने खोजी अभियान हो । यसले कति मानिसलाई मद्दत पनि पुगेको छ । यस्तै विषय पत्ता लगाउन अनुसन्धान गरिन्छ ।
जुन भागमा क्यान्सर लागेको छ त्यही भागमा मात्र सेल मार्ने कुनै विधि पत्ता लाग्यो कि ?
त्यस्तो खालको अध्ययन पनि शुरु भएको छ । स्पेसिफिक टिस्युमा छिर्ने बनाएको हुन्छ । एन्टिबडीमा मात्र औषधि जाने विषयमा अनुसन्धान भैरहेको छ । सबै खालको इमिनोथेरापीहरु पनि छन् । खोप बनाउनेजस्ता विषयमा पनि अनुसन्धान जारी छ । कतिपय अनुसन्धानको निष्कर्ष निकाली प्रमाणित पनि भैसकेको छ । क्यान्सर देख्नेबित्तिकै त्यसलाई मात्र मार्ने खालको औषधि बनेको छ । पाठेघरको मुखको क्यान्सर लाग्नै नदिन क्यान्सरविरुद्धको खोप बनेर प्रयोगमा पनि आइसकेको छ । क्यान्सरका लागि पनि खोप शुरु भएको छ । सामान्य सेललाई सुरक्षित राखेर बिग्रेकोलाई मात्र उपचार लाग्ने अनुसन्धान नजिक पुगिसकेको छ । एन्टिबडी खोप पनि बनिसकेको छ । खोप र औषधिको फरक–फरक नाम छन् । कुनै क्यान्सरमा राम्रो काम गरेको छ । किमोथेरापीको प्रभावकारिता बढी हुन्छ । औषधिहरुले पनि सामान्य सेललाई असर गर्न सक्छ तर किमोथेरापीभन्दा धेरै राम्रो हुन्छ । युमिनोथेरापी हालको नयाँ प्रविधि हो ।
स्तन क्यान्सर महिलामा मात्र हुन्छ कि पुरुषमा पनि ?
स्तन क्यान्सर महिला र पुरुष दुवैमा हुन्छ । तर पुरुषमा भन्दा महिलामा धेरै बढी हुन्छ । कारण महिलाको दूध बन्ने, हर्मोन परिवर्तन हुने हुन्छ । हर्मोनले महिलाको स्तनमा बढी असर गर्छ । त्यस्तै पाठेघरको मुखको क्यान्सर पनि महिलामा नै हुन्छ । धेरैमा हुने ईआर पोजेटिभ सेलबाट हुन्छ । ईआर नेगेटिभले पनि आक्रामक तरिकाले क्यान्सर बढाउँछ । यसको उपचार विधि फरक हुन्छ । यस्ता खालका अनुसन्धान धेरै हुनुपर्छ । समयमै उपचार गरे क्यान्सर निको हुन्छ । खोज–अनुसन्धानले नयाँ–नयाँ समस्याको पहिचान गरी उपचार विधि अपनाउन सकिन्छ । शुरुको स्टेजमा थाहा भयो भने छिटो निको हुन्छ । शरीरमा फैलिएपछि उपचार विधिमा समस्या हुन्छ । क्यान्सर सबैमा हुँदैन समयसँगै बढ्दै जान्छ । बर्सेनि स्वास्थ्य परीक्षण गर्ने गरेमा शुरुकै अवस्थामा क्यान्सर पत्ता लाग्छ र उपचार पनि हुन्छ । खानपान, व्यायाम, दैनिकीलाई सुधार ग¥यो भने क्यान्सर हुनबाट जोगिन सक्छ । विशेष गरी क्यान्सर केबाट हुन्छ भन्ने स्पष्ट कारण पत्ता लागिसकेको छैन । पत्ता लगाउन विश्वमा धेरै खालका अनुसन्धान भैरहेका छन् ।
भविष्यमा के गर्ने, योजना बनाउनुभएको छ ?
भविष्यमा क्यान्सरका धेरै बिरामीको उपचारमा योगदान दिनका लागि औषधि उत्पादनतर्फ लाग्ने सोच बनाएको छु ।