किशोरावस्थाका सुख–दुःख



श्रीरामसिंह बस्नेत

कुन उमेरदेखि कुन उमेरसम्मलाई किशोरावस्था मान्ने भन्ने विषयमा संसारभर विभिन्न प्रचलन रहेको पाइन्छ । किशोरावस्था निर्धारण गर्ने एक मुख्य आधार उमेर हो तर यो मात्र होइन । शरीरमा आएको परिवर्तनका आधारमा पनि किशोरावस्थाबारे निक्र्यौल गर्न सकिन्छ । यसमा थप धर्म, संस्कृति, कानुन, सामाजिक परिपाटी, शैक्षिक प्रणाली आदिले समेत प्रभाव पारिरहेको हुन्छ ।

जस्तै– प्रजनन स्वास्थ्यका दृष्टिले रजस्वला प्रारम्भ भएपछि केटीहरु बाल्यावस्था पार गरी किशोरावस्थामा प्रवेश गरेको मान्नुपर्ने हुन्छ । तर कानुनले रजस्वलालाई आधार मान्दैन । पश्चिमी समाजमा ‘टिन एज’ (Teen Age) को ठूलो महत्व छ । त्यहाँ १३ देखि १९ वर्ष समूहका केटा र केटीलाई टिन एजर भनिन्छ । अंग्रेजीमा उमेरको गणना गर्दा १३ देखि १९ सम्म पछाडि ‘टिन’ शब्द आउने भएकोले त्यो उमेर समूहलाई टिन एज भनिएको हो । किशोरावस्थालाई अंग्रेजीमा एडोलेसेन्ट (Adolescent) भनिन्छ । हाम्रो कानुनले केटीलाई १८ वर्ष उमेर पूरा नभएसम्म नाबालिग मान्ने गरेको छ । उसको शारीरिक विकास जस्तो किसिमले भएको भए पनि कानुनी दृष्टिमा त्यसले महत्व राख्दैन ।

सुखद पक्ष

जीवनको सबैभन्दा सुखद अवस्था किशोरावस्थालाई मानिन्छ । यद्यपि यो मान्यता सबैलाई लागू हुँदैन । तर तुलनात्मकरुपमा अरु अवस्थाभन्दा यो अवस्थामा बाल्यावस्थाको अबोधपनबाट मुक्ति पाइसकेको तर युवावस्थाको जस्तो गम्भीरता र जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता आई नसकेको हुँदा यो किशोरावस्थालाई चिन्तारहित उन्मुक्त अवस्था मानिन्छ । किशोरावस्था मूलतः विद्यार्थी जीवनको अवस्था हो । यस अवस्थामा ज्ञान आर्जन र भविष्य निर्माणमा केन्द्रित रहनुपर्ने हुन्छ । यसका साथै खेलकुद, शारीरिक सुगठनलगायत व्यक्तित्व विकासका अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहनुपर्दछ । यस अर्थमा अध्ययन र अतिरिक्त क्रियाकलापमा समर्पित रहनुपर्ने भएकोले विद्यार्थी जीवन अर्थात् किशोरावस्था प्रतिस्पर्धाको जीवन पनि हो । यो प्रतिस्पर्धाका कारण किशोर–किशोरीहरु र तिनका अभिभावकहरुले धेरै कुरामा विचार पु¥याउनुपर्ने हुन्छ । यद्यपि प्रतिस्पर्धा किशोरावस्थाभरि मात्र सीमित रहँदैन । व्यावसायिक जीवनमा प्रवेश गरेपछि प्रतिस्पर्धाका अनेकौँ रुपसँग सामना गर्नुपर्ने हुन्छ ।

आफैँलाई चिनौँ

मानिसले अरुलाई सजिलै चिन्न सक्छ तर आफैँलाई भने राम्ररी चिन्न सक्दैन । कतिपय मानिस जीवनका धेरै चरण पार गरिसक्दा पनि आफैँलाई चिन्न नसकी असन्तुष्ट र अन्यौलको जीवन बाँचिरहेका हुन्छन् । आफूले आफैँलाई चिन्ने यो प्रयास किशोरावस्थाबाटै शुरु गर्नुपर्दछ । आफूले आफैँलाई चिन्न सर्वप्रथम आफ्नो क्षमता, कमजोरी, रुचि, अरुचिबारे आफैँलाई राम्रोसँग थाहा हुनु जरुरी छ । यो थाहा पाउन आफूले नै आफ्नो स्वविश्लेषण गर्नुपर्दछ । जस्तै– आफूलाई कुन समयमा पढ्दा बढी बुझेजस्तो लाग्छ ? कसैलाई बिहान सबेरै पढ्दा बुझ्न सजिलो लाग्छ भने कसैलाई राति । कुन विषय पढ्दा बढी रमाइलो लाग्छ ? कुन विषयको पुस्तक नै पल्टाउन जाँगर लाग्दैन ? आफ्ना शारीरिक समस्या पनि केही छन् कि ? यस्ता आफ्ना नितान्त व्यक्तिगत विषयहरुमा आफू स्पष्ट र सजग हुने काम किशोरावस्थादेखि नै गर्नुपर्छ । यसले आगामी जीवन सहज बनाउन मद्दत गर्छ । बाबु, आमा, परिवारले पनि छोराछोरीहरुको अभिरुचि र स्वभावलाई बुझेर त्योसँग मेल खाने गरी व्यवहार गर्नुपर्दछ, आफ्नो सोचमात्र जबर्जस्ती लाद्ने गल्ती गर्नुहुँदैन ।

भावनात्मक चुनौती

भावनात्मक दृष्टिमा किशोरावस्था अत्यन्त संवेदनशील अवस्था हो । त्यसअघिको बाल्यावस्थामा कुनै कुरा चित्त बुझेन भने केटाकेटीहरु रोएर वा अभिभावकसँग झगडा गरेर भए पनि आफ्नो प्रतिक्रिया दिएर शान्त हुन्छन् । तर किशोरावस्थामा भावनात्मक पक्ष बढी संवेदनशील हुने त्यसैले मन बुझाउन कठिन हुन्छ । यो अवस्थामा बच्चा बेलामा जस्तो रोएर चित्त बुझाउन सकिंँदैन किनकि रुँदा लाज लाग्दछ । बच्चाहरुले कतिपय मन नपर्ने कुराहरुलाई वास्तै नगरी खेलकुदमै रमाएर भुल्न सक्छन् । तर किशोरकिशोरीले आफूलाई चित्त नबुझेको वा कसैले चित्त दुखाइदिएको कुरालाई मनमै लिएर राख्छन्, सजिलै बिर्सन सक्दैनन् । यसले गर्दा उनीहरुलाई तनावमा फसाइदिन्छ ।

किशोरावस्थाको मुख्य जिम्मेवारी विद्याआर्जन नै हो ।

परिवारको आर्थिक अवस्था र किशोरकिशोरीको भावनाबीच गहिरो सम्बन्ध रहेको हुन्छ । सम्पन्न आर्थिक अवस्था भएका परिवारका किशोरीकिशोरीहरु अक्सर बढी सौखिन, विलासी, खर्चालु, घमण्डी पाइन्छन्, जसले गर्दा उनीहरु कलिलै उमेरदेखि उच्चताभास (सुपेरिटी कम्प्लेक्स) बाट ग्रस्त हुन पुग्छन् । अर्कोतर्फ विपन्न आर्थिक अवस्था भएका परिवारका किशोरकिशोरीहरु आफ्ना स–साना आवश्यकता र आकांक्षा पनि पूरा गर्न नपाएको अभावको विषादले हीनताभास (इन्फेरिटी कम्प्लेक्स) बाट ग्रस्त हुन जान्छन् । यी दुवै सकारात्मक अवस्था होइनन् । यस्तो अवस्थामा किशोरकिशोरीहरुले बाटो बिराउने सम्भावना अधिक हुन्छ ।

डिप्रेसन, लागूपदार्थ वा मादक पदार्थको दुव्र्यसन, यौनशोषण आदि जोखिम यस्तै जटिल परिवेशमा जन्मिन्छन् । बैंसविरुद्ध विपन्नता (Puberty vs.Poverty)  निकै पीडादायक हुन्छ । आर्थिक सम्पन्नता र विपन्नताकै पृष्ठभूमिमा वयष्क पुरुषहरु ‘सुगर ड्याडी’ बन्छन् र अपरिपक्व किशोरीहरुलाई ‘सुगर बेबी’ बनाउँछन् । बाल्यावस्थासम्मको भोक प्रायः पेटसम्म सीमित रहन्छ, तर किशोरावस्थामा पुगेपछि धेरै किसिमका भोकले सताउन थाल्दछ । तसर्थ किशोरकिशोरीहरुको भावनात्मक सन्तुलन कायम राख्न अभिभावक, परिवार, विद्यालय, छरछिमेक, दांैतरी साथी आदिको महत्वपूर्ण भूमिका रहन्छ । किशोरकिशोरीहरुलाई सम्पन्नतामा मात्तिन नदिनु र विपन्नतामा आत्तिन नदिनु अभिभावकहरुको ठूलो जिम्मेवारी हो ।

स्वास्थ्य सचेतना
उमेरजन्य कारणले शारीरिक बृद्धि र हरमोन्सहरुको सक्रियता प्रत्येक किशोरकिशोरीले प्रत्यक्ष अनुभव गर्ने परिवर्तन हुन्, जुन बाल्यावस्थामा भएको हुँदैन । यस अवस्थामा शरीरबाहिर र भित्र दुवैतर्फ परिवर्तनका स्पष्ट लक्षण देखिन थाल्छन् । जस्तै– केटाहरुमा जुँगाको रेखी देखिनु, स्वर केही धोद्रो हुनु, आफ्नो कपाल, अनुहार, शरीरिक बनौट, पाखुराको मांसपेशीको कडापन आदिबारे निकै चनाखो रहनु । केटीहरुमा स्तनको आकार स्पष्ट हुँदै आउनु, रजस्वला प्रारम्भ हुनु, सिँगारपटार र लुगामा बढी चनाखो हुनु, बालिका छँदाको चञ्चलता हराएर लज्जाशीलता र गम्भीरता देखिनु, हिँड्दा केही निहुँरिएर हिँड्नु आदि । केटा र केटी दुवैमा हरमोन्स सक्रिय हुँदै आउने भएकोले यो अवस्थामा आएपछि विपरीत लिंगीप्रति आकर्षण बढ्छ । यसका साथै मायाप्रेमका गीत, कविता, गजल आदि साहित्यप्रति आकर्षण बढ्न थाल्छ । केही अघिसम्म फूल, हिमाल, देश आदिको कविता लेख्न जाँगर चलाउनेहरु अब विषय परिवर्तन भएर माया, प्रेम, मिलन र विछोडका कविता, गजल लेख्न थाल्छन् । यो कुनै अस्वाभाविक वा गलत परिवर्तन होइन ।

स्वास्थ्यका दृष्टिले किशोरावस्था निकै संवेदनशील हुन्छ । किनकि यसअघि बाल्यावस्थासम्म केटाकेटीको स्वास्थ्य अवस्थाबारे विशेष गरी आमाबुबा त्यसपछि परिवारका अन्य वयष्क सदस्यहरु चनाखो हुन्थे । तर किशोरावस्थामा प्रवेश गरेपछि आफ्नो स्वास्थ्यबारे आफैं चनाखो हुनुपर्दछ । किनकि यस अवस्थामा पुगेपछि गोपनीयताको नयाँ परिवेश सिर्जना हुन्छ । बाल्यावस्थासम्म यौन अङ्गको गोपनीयताप्रति खासै गम्भीर नभए पनि किशोरावस्थामा पुगेपछि भने त्यो निकै गम्भीर विषय बन्छ र जीवनभर कायम रहन्छ । किशोरावस्थामा प्रवेश गरेपछि कतिपय कामकुरामा आत्मनिर्भर हुनै पर्दछ । बाल्यकालसम्म आमा, बाबु, दिदी आदिले गरिदिने गरेका काम अब आफैँ गर्नुपर्दछ ।

स्वास्थ्यको दृष्टिले किशोरभन्दा किशोरीहरुको स्वास्थ्य बढी संवेदनशील हुन्छ । किनकि किशोरीहरुले पहिला कहिल्यै अनुभव नगरेको मासिक रजस्वलाको अनौठो असजिलो अनुभव गर्नुपर्दछ । रजस्वला हुँदा पीडासमेत हुने भएकोले किशोरीहरु आत्तिने, डराउने सम्भावना बढी हुन्छ । त्यसमाथि हाम्रो सामाजिक, सांस्कृतिक प्रचलनले गर्दा रजस्वला अवधिलाई बर्जित अवधि मानिने हुँदा किशोरीलाई थप अप्ठ्याराहरुको सामना गर्न बाध्य पारिन्छ । सरसफाइतर्फ विशेष ध्यान पु¥याउनुपर्ने यस अवधिबारे राम्रो अभ्यास नभएसम्म किशोरीहरुलाई धेरै चुनौती एकै पटक आइलागेको अनुभूति हुन्छ । यस्तो अवस्थामा परिवारका विशेष गरी परिपक्व महिलाहरुले विवेकपूर्ण तरिकाले किशोरीलाई सहयोग गर्नुपर्दछ ।

आफ्नो पालामा धेरै कडा र अन्धविश्वासपूर्ण नियम पालना गरेको बखान गर्दै आजका किशोरीहरुलाई पनि त्यस्तै नियम पालना गर्न दबाब दिनु अमानवीय र विवेकहीन यातना दिनु हो । किशोरीहरु रजस्वलाकै कारण विद्यालयको नियमित शिक्षा आर्जनबाट वञ्चित हुन नपरोस् भन्नेतर्फ विद्यालय प्रशासन र विशेष गरी शिक्षिकाहरु, विद्यालय नर्स आदि संवेदनशील हुनु जरुरी छ । विद्यालयमा महिला मैत्री शौचालय, पर्याप्त पानी र सरसफाइ, गुणस्तरीय स्यानिटरी प्याड, प्याडलाई सुरक्षितसँग विसर्जन गर्ने प्रणाली आदिको व्यवस्था सुनिश्चित हुनु अति जरुरी छ ।

किशोरकिशोरीको स्वास्थ्यमा आमरुपमा देखिने अर्को समस्या हो– ग्यास्ट्रिक । हुन त ग्यास्ट्रिक रोग कुनै उमेर विशेषमा मात्र हुने बिमारी होइन, यो जसलाई पनि हुनसक्छ । तर विशेष गरी बिहानको स्कुल पढ्ने छात्रछात्रा ग्यास्ट्रिकबाट बढी पीडित हुने गरेको पाइन्छ । त्यसको कारण उनीहरुको खाना खाने टाइम नमिल्नु र बिहान प्रायः लामो सयमसम्म भोकै बस्नु हो । अझ स्कुलबाट फर्केर आई चिसो भइसकेको खाना तताएर वा नतताएरै पनि खाने, त्यसपछि केही घण्टा सुत्ने बानी बिहानको कक्षामा पढ्ने छात्रछात्रामा बढी मात्रामा पाइन्छ । यसका साथै किशोरकिशोरीहरु क्षणिक स्वादप्रति आकर्षित भएर पत्रु खाना (जंक फुड) बढी खान्छन् । अमिलो, पिरो, ट्वाक्क स्वाद भएका अचार, तितौरा, पाउँलगायतका चिज खान विशेष गरी किशोरीहरु बढी लोभिन्छन् । यी सबैले ग्यास्ट्रिकलाई सजिलै निम्तो दिन्छ । तसर्थ ग्यास्ट्रिकबाट जोगिन किशोरकिशोरीहरुले माथि चर्चा गरिएका आनिबानीबाट जोगिनुपर्दछ ।

किशोरकिशोरीहरुलाई हैरान पार्ने अर्को समस्या हो– डण्डिफोर । बाल्यावस्थासम्म सफा अनुहार भएका केटा, केटीहरु पनि किशोरावस्थामा प्रवेश गरेपछि अनायास अनुहारमा आउने डण्डिफोर र अन्य घाउ, खटिरा, दागबाट हैरान हुन थाल्छन् । किशोरावस्थामा पुगेपछि शरीरमा उत्पादन हुने विभिन्न किसिमका हर्मोन्सका कारण डण्डिफोर आउन थाल्छ । यसका साथै पानी कम पिएमा, खानामा चिल्लोको मात्रा बढी भएमा, फलफूल, सागसब्जी नखाएमा, कब्जियत भएमा, अनुहारमा विभिन्न किसिमका रासायनिक क्रिमहरु प्रयोग गरेमा, साबुन स्वस्थकर नभएमा, नुहाउने, मुख धुने पानी स्वच्छ नभएमा पनि अनुहारमा अनेकौं समस्या आउँछन् । यो समस्याको सही निदान र सही उपचार गर्नुपर्दछ । अरुको कुरामा लागेर अनुहारमा अनेकौं वस्तु प्रयोग गर्दा झन् हानि पुग्न सक्छ ।

किशोरावस्थामा पुगेपछि राम्रो ध्यान पु¥याउनुपर्ने अर्को पक्ष हो– भित्री पहिरन अर्थात् अन्डर गार्मेन्ट । बाहिरी पहिरन त चलनचल्तीको फेसनमा आधारित हुने भएकोले किशोरकिशोरी र अभिभावक सबैले विचार पु¥याएकै हुन्छन् र आफ्नो गच्छेअनुसार व्यवस्थापन गरेकै हुन्छन् । तर भित्री पहिरनमा भने यथोचित ध्यान पुगेको हुँदैन । जबकि मानिसको स्वास्थ्यसँग भित्री पहिरनको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।

बालिका छँदासम्म प्रयोग गर्नु नपरेको ब्रा किशोरी भएपछि प्रयोग गर्नै पर्ने हुन्छ । किशोरीको स्तनको आकार प्रस्टिन थालेपछि स्तनलाई ठीकसँग राख्न आमा, दिदी वा आफूभन्दा परिपक्व महिलाले ब्रा लगाउन सिकाइदिन्छन् । ब्रा लगाएको पहिलो दिन किशोरीलाई शारीरिक र मनोवैज्ञानिकरुपमा नौलो अनुभूति भइरहेको हुन्छ । ब्राले छाती कस्सिएर शरीरमा असजिलो महसुस भइरहेको हुन्छ भने आफू अब ठूली भएको आभासले मनमा अनेकौं रंगिन कुराहरु खेल्न थाल्छन् ।

कतिपय किशोरीहरु पहिलोपटक रजस्वला शुरु नहुँदै स्तनको आकार बढेर ब्रा लगाउन बाध्य हुन्छन् । त्यसो भएमा ब्रा लगाउन थालेको दिनदेखि किशोरीले अब आफ्नो बाल्यकाल समाप्त भएको बुझेर नवयौवनमा प्रवेश गरेको मनस्थिति बनाउँछन् । आमाहरुले पनि छोरीले ब्रा लगाउन थालेपछि बेग्लै जिम्मेवारीको भार महसुस गर्न थाल्छन् । देख्दा सानो टुक्रा कपडा भए पनि ब्राको आकर्षण र मनोवैज्ञानिक प्रभाव निकै ठूलो हुन्छ । किशोरीहरुको मासिक रजस्वला, पिसाबलगायत योनिबाट विभिन्न तरल स्राव आदि भइरहने भएकोले भित्री पहिरन प्यान्टी बारम्बार फेर्नुपर्दछ । पसिना र तरल स्राव आदिको कारण ब्रा र प्यान्टी छिटो फोहोर हुन्छ । त्यसैले अरु खर्चमा कटौती गरेर भए पनि गुणस्तरीय भित्री पहिरन पर्याप्त मात्रामा आफूसँग हुनुपर्दछ ।

भित्री पहिरन सुती अर्थात् कटनबाट बनेको, सकेसम्म नरम र तरल सोस्ने किसिमको हुनुपर्छ । सामान्यतया रजस्वला अवधिभर दिनको कम्तीमा दुईपटक र अन्य सामान्य दिनमा प्रत्येक दिन प्यान्टी फेर्नुपर्दछ । बाहिरी पहिरन अरुलाई धुन लगाए पनि किशोरीहरुले आफ्ना भित्री पहिरन भने आफैं धुने बानी गर्नुपर्दछ । धोएर सुरक्षित स्थानमा सुकाउनुपर्दछ । सुकाउँदा धूलो पर्ने, पुतली वा झुसिलकीरा आदि बस्ने, अरुका लुगासँग मिसिने आदि सम्भावना नभएको सुनिश्चित हुनुपर्दछ ।

अन्यथा, त्यस्तो भित्री पहिरन लगाउँदा एलर्जी भई स्तन वा यौनांगमा चिलाउने समस्या आउँछ । किशोरहरुले पनि आफ्नो भित्री पहिरन गन्जी र अन्डरवेयरतर्फ विशेष ध्यान दिनुपर्छ । किशोरहरु भित्री पहिरन आफैँ धुने, बारम्बार फेर्ने आदि काममा अक्सर अल्छी गर्छन् । प्रायः नुहाएपछि मात्र भित्री पहिरन फेर्ने बानी धेरैमा पाइन्छ । तर यो ठीक होइन । ननुहाए पनि पसिनाले भिजेको गन्जी अनि पिसाब, वीर्य आदि लागेको हुनाले अन्डरवेयर हप्तामा कम्तीमा तीनपटक फेर्नु स्वस्थकर बानी हो ।

किशोरावस्थाको मुख्य जिम्मेवारी विद्याआर्जन नै हो । त्यसैले उनीहरुको सम्पूर्ण ध्यान त्यसमै केन्द्रित हुनु स्वाभाविक नै हुन्छ । यद्यपि व्यक्तित्व विकासका अरु पक्षमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । त्यसमध्ये एउटा प्रमुख पक्ष किशोरकिशोरीको स्वास्थ्य हो । तर हाम्रो समाजमा उनीहरुको स्वास्थ्यप्रति जति सजगता अपनाइनुपर्ने हो त्यो अपनाइएको पाइँदैन । मुख्य कुरा यी किशोरकिशोरी मूलतः विद्यार्थी वर्ग हुनाले पनि केही व्यावहारिक कठिनाइ रहेको पाइन्छ ।

नेपालका सबैजसो अस्पताल वा उपचार केन्द्र शनिबार बन्द हुन्छन्, यी विद्यार्थीलाई फुर्सद पनि शनिबार नै हुन्छ । आफूलाई फुर्सद हुने दिन अस्पताल बन्द हुने भएकोले उनीहरुले सजिलै जँचाउन जान पाउँदैनन् । अस्पताल खुल्ने दिन जँचाउन जाँदा एक दिनको पढाइ माया मार्नुपर्ने हुन्छ, जो उनीहरु चाहँदैनन् । यदि विद्यार्थी वर्गका साथै शिक्षक, कर्मचारी आदि शनिबारमात्र फुर्सद हुने वर्गको हितलाई समेत ध्यानमा राखी शनिबार अस्पताल र उपचार केन्द्रहरु सञ्चालन हुने व्यवस्था भएमा रोग पालेर बस्नुपर्ने थिएन । शनिबार अस्पताल पूरै खोलेर हप्ताको अरु नै कुनै एक दिन साप्ताहिक बिदा गर्ने परिपाटी बसालेमा लाखौं किशोरकिशोरीहरुले पढाइ नछोडीकनै बेलैमा आफ्नो स्वास्थ्योपचारको अवसर पाउने थिए ।
(वरिष्ठ पत्रकार बस्नेतले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)

प्रतिक्रिया दिनुहोस्