हाम्रो परम्परामा लुकेको स्वास्थ्य विज्ञान



रोहिणी घिमिरे

हाम्रा कतिपय परम्पराहरु स्वास्थ्यका हिसाबले उत्कृष्ट मानिएका छन् । बाहिरबाट आउँदा आगो छुने, हाच्छ्यूँ गर्दा नाक–मुख छोप्ने, तीतेपातीको धूप हाल्नेजस्ता पूर्वीय संस्कार स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । हेरौँ यस्ता संस्कारले हाम्रो स्वास्थ्यमा कसरी फाइदा पु¥याएको हुन्छ त ?

तीतेपातीको धूप किन हाल्ने ?
कतिपय समुदायमा गोठधूपको क्रममा तीतेपाती र घिउ मिलाएर धूप हाल्ने गरेको पाइन्छ । यसै गरी मानिसको दाहसंस्कारपछि गरिने दशाह कर्ममा फूलको सट्टा तीतेपाती चढाउने परम्परा छ । त्यस्तै बच्चा वा ठूलो मान्छेलाई पनि चिसो लाग्यो भने तातो ढुंगामा तीतेपाती राखेर त्यसमा बसाउने गरिन्छ । यसरी गोठको धूप गर्दा होस् वा मृत्यु–संस्कारको कार्य गर्दा अथवा चिसो लाग्दा नै किन नहोस्, तीतेपातीको प्रयोग गर्नु भनेको वातावरण कीटाणुरहित बनाउनु र स्वस्थ रहन खोज्नु हो ।

बाँस जलाउँदा निस्कने विषाक्त पदार्थले स्नायुमा असर गर्ने हुन्छ ।

तीतेपातीमा औषधीय गुण हुन्छ । नेपालका तीतेपातीविज्ञका रूपमा परिचित डा. आनन्द केसीले तीतेपातीमा वाष्पशील तेलको मात्रा ४.४२ प्रतिशत हुने र यसैका कारण लामखुट्टे वा अन्य कीराहरू भाग्ने गरेको हुन सक्ने केही वर्षअगाडि रिपोर्टिङका क्रममा मलाई बताउनुभएको थियो । यदि लामखुट्टेका लागि विद्युत्मा जोड्ने झोल (लिक्विड) सकियो भने सोही भाँडोमा तीतेपातीको झोल राखेर विद्युत्मा जोड्न सकिन्छ ।

 


नेपालमा ३० किसिमका तीतेपानी पाइने र यहाँको तीतेपाती मानिसका लागि हानिकारक नभएको तीतेपाती प्रवद्र्धन तथा खोजमूलक केन्द्र, नेपालका तत्कालीन अध्यक्ष ईश्वर बलामीले मलाई केही वर्षअगाडि बताउनुभएको थियो । तीतेपाती प्रवद्र्धन तथा खोजमूलक केन्द्रले मोक्जा उल, मोक्जा स्टिक, तेलजस्ता वस्तु उत्पादन गर्ने गरेको छ । तीतेपातीबाट निर्मित यस्ता वस्तु स्वास्थ्योपचारका क्रममा प्रयोगमा ल्याइन्छन् । गोठपूजामा तीतेपातीको धूप हालेर सो धुवाँले वातावरण कीटाणुरहित बनाएजस्तै मोक्जा स्टिक बालेर त्यसको धुवाँले स्वास्थ्योपचार गर्ने गरिन्छ ।

गुलियो खानेकुरा किन पछि खाने ?
प्रायः गुलियो खानेकुरालाई मीठो भन्ने हाम्रो पूर्वीय परम्परा हो । हामीले विभिन्न परिकारको भोजन गर्दा शुरुमा पिरो र अन्त्यमा गुलियो खाद्य परिकार खाने परम्परा छ । शुरुमा पिरो खाँदा पेटमा पाचन रस र एसिड सक्रिय हुन्छ । यसले गर्दा पाचनतन्त्र शुरुबाट नै सक्रिय हुन्छ । पछि गुलियो खाँदा कार्बोहाइड्रेड पचाएपछि पाचनतन्त्र सहजै पहिलाकै अवस्थामा आउँछ । त्यसैले हामीले मीठो अर्थात् गुलियो खानेकुरा अन्त्यमा खाने गरेका हौँ ।

हाच्छ्यूँ गर्दा किन नाक–मुख छोप्ने ?
हाच्छ्यूँ गर्दा रुमालले वा हातैले भए पनि नाक–मुख छोप्नुपर्ने हाम्रो पूर्वीय मान्यता छ । हाच्छ्यूँ गरेपछि नारायण भन्ने वा भगवान्को नाम लिने, आचमन गर्ने वा हात–मुख नै पानीले सफा गर्ने धार्मिक प्रचलन पनि छ । हाच्छ्यूँ गरेर अरुलाई हानि हुने कुरा गरिएकाले भगवान्को नाम लिएर क्षमा मागिएको र सफाइका लागि पानीको प्रयोग गरिएको बुझ्नुपर्छ ।
एकपटक हाच्छ्यूँ गर्दा औसत १ लाख भाइरसका कोशिकाहरू ९ मिटरसम्म वरपरको वायुमण्डलमा फैलिने गर्छन् । भाइरसका कोशिकाबाट छुट्कारा पाउन हाच्छ्यूँ गर्ने व्यक्तिलाई मद्दत त पुग्छ तर आफ्ना वरपरका व्यक्तिमा ती भाइरसका कोशिका सङ्क्रमण हुने अधिक सम्भावना हुन्छ । त्यसैले हाच्छ्यूँ गर्दा मुख छोप्ने परम्परा बसेको हो ।

बाहिरबाट आउँदा किन आगो छुने ?
घाटमा मलामी गएर फर्कंदा होस् वा टाढाबाट घर फर्कंदा आगो छुनुपर्ने हाम्रो चलन छ । अझ बाहिरबाट आएर बच्चा समाउनुप¥यो भने आगोमा छोएर मात्र समाउने हाम्रो गाउँघरतिर अनिवार्यजस्तै छ । वास्तवमा बाहिरबाट आउँदा हाम्रो शरीरमा विशेष गरेर हातमा कीटाणुको सङ्क्रमण भएको हुन सक्छ । आगोमा छुँदा वा आगोको सम्पर्कमा आउँदा त्यसको रापले कीटाणु नष्ट गर्ने हुन्छ । त्यसैले आगो छुने परम्परालाई रुढिवादीको रूपमा हेर्नु ठीक छैन ।

दूध र माछामासु किन एकैसाथ खानुहुँदैन ?
दही–दूधमा वा यसबाट बनेका परिकारमा माछामासु मिसाउँदा पाप लाग्छ भनिन्छ । वास्तवमा दुग्धजन्य पदार्थ र माछा–मासु विजातीय खाद्यवस्तु हुन् । दहीले ठण्डा प्रभाव पार्छ भने माछाले गर्मी । यी विपरीत गुणकारी भएकाले एकैसाथ सेवन गर्नुहुँदैन । माछामा उष्णता बढाउने गुण र दूधमा शीतलता बढाउने गुण भएकाले दूध र माछा एकैसाथ खानुहुँदैन । यदि एकैसाथ खाइयो भने ग्यास्टिक, एलर्जी, छालाको स्वास्थ्य समस्या हुन सक्छ । अहिलेको भाषामा भन्दा फुड प्वइजन हुन्छ ।

बाँस किन जलाउनुहुँदैन ?

बाँसलाई वंशवृद्धिको द्योतक मानिन्छ । बच्चालाई बाँस बढेजस्तै हलक्क बढोस् भन्ने कामना गरिन्छ । यतिसम्म कि वंशवृद्धि होस् भनेर कतै–कतै बच्चा जन्मेपछि सालनाल बाँसघारीमा गाड्ने प्रचलन पनि छ । तर हवन गर्दा होस् वा खाना पकाउँदा अथवा दाहसंस्कार कार्यमा नै किन नहोस्, बाँसलाई दाउराको रूपमा प्रयोग गर्नुहुँदैन भन्ने हाम्रो मान्यता रहिआएको छ । धार्मिक मान्यता अनुसार बाँस जलाउँदा पितृदोष लाग्छ, पितृहरू भाग्छन् भनिन्छ । कतिपय त बाँस जलाउँदा अशुभ हुने र गोठका गाईवस्तुलाई हानि गर्ने बताउँछन् ।

बाँसमा प्रचुर मात्रामा लिड हुने भएकाले लिड जल्दा लिड अक्साइड बन्छ । यो खतरनाक विष अर्थात् टक्सिन हो । यसले वातावरणीय असर गरी प्राणीजगत्को स्वास्थ्यमा कुप्रभाव पार्ने हुन्छ । विशेष गरी बाँस जलाउँदा निस्कने विषाक्त पदार्थले स्नायुमा असर गर्ने हुन्छ । आजकल धर्मका नाममा सिन्केधूप अर्थात् अगरबत्ती जलाउने चलन यत्रतत्र पाइन्छ । सिन्केधूपको सिन्का बाँसबाट बनाइएकाले यस्तो धूप जलाउनु वातावरणीय दृष्टिकोणले हानिकारक हुन्छ । हरेक धार्मिक कार्यहरू मानवकल्याणका लागि हुने गर्छन् तर सिन्केधूप जलाउँदा मानव स्वास्थ्यमा असर गर्छ भने किन जलाउने ? यद्यपि मानव मृतशरीर हरियो बाँसमा बाँधेर घाटमा पु¥याइन्छ तर सो बाँस चितामा जलाइँदैन ।

प्रतिक्रिया दिनुहोस्