म ४० वर्षको भएँ । एउटा बोर्डिङ स्कुलमा पढाउँदै आएको छु । मलाई कुनै स्वास्थ्य समस्या छैन जस्तो लाग्छ । तर म अति डरलाग्दा सपना देख्ने गर्छु । कसैले लखेटेको, जीवजन्तुले टोकेको, यतिसम्म कि आकाश वा रुखको टुप्पोमा पुगे पनि तिनीहरुले भेटेको सपना देख्छु । अलि अलि त यस्तो सपना जसले पनि र जहिले पनि देख्ने हुन्छ । म त प्रायः हरेक रात यस्ता सपना देखेर चिच्याउने गरेको छु । यस्ता सपनाबाट मुक्ति पाउन मैले के गर्नुपर्ला ? उत्तर पाए आभारी हुने थिएँ ।
– वसन्त, ओखलढुंगा
वसन्तजी, सपना देख्नु स्वाभाविक नै हो तर नराम्रो सपना सधैँ देख्नु राम्रो होइन । यसले तनाव दिन्छ, निद्रा अपुग महसुस हुन्छ । त्यस्तै आफँलाई फ्रेस नभएको अनुभव हुन्छ । अर्को विचार पनि छ, मानिसको मनको अन्तष्करणमा भएका भावना अनि कल्पनाहरु नै सपनाको रुपमा प्रकट हुन्छन् भन्ने, तर तपाईंको परिवेशमा त्यस्तो पनि लाग्दैन । तपाईंलाई मनोवैज्ञानिक परामर्श आवश्यक हुन्छ कि जस्तो लाग्यो मलाई । त्यसैले एकपटक काठमाडौं आएर शिक्षण अस्पताल वा वीर अस्पताल वा लगनखेल मानसिक अस्पताल जाने र मानसिक रोग विशेषज्ञ भेटेर परामर्श लिने सलाह दिन चाहन्छु । मानसिक परामर्श आजको युगमा हरेक पाइलामा जरुरी देखिन्छ ।
मेरो कान सुक्खा भएर चिलाउने गरेको छ । गाउँमा हुँदा आमाले बेला–बेलामा तोरीको तेल हालिदिनुहुन्थ्यो । यसरी कानमा तोरीको तेल हाल्नु हुन्छ कि हुँदैन ? कान चिलायो भने औषधि पसलबाट कानमा हाल्ने तेल किनेर हाल्दा हुन्छ कि हुँदैन ? यदि हुन्छ भने सो तेलको नाम के होला ?
– सुमित तामाङ, हाल : बालाजु, काठमाडौं
सुमितजी, कान चिलाउने धेरै कारण हुन्छन् । त्यसमध्ये सुख्खा हुनु पनि यसको एउटा कारण हुनसक्छ । तर तेल राख्ने सल्लाह चिकित्सकले दिने गर्दैनन् । किनकि प्राप्त तेलको शुद्धताको कुरा आउँछ अनि त्यसका अन्य प्रभाव के हुन्छ भन्ने हुन्छ । कानकै लागि खासरुपमा बनाइएका झोल औषधिहरु उपयोग गर्नु राम्रो हुन्छ । किनकि तिनीहरु किटाणुरहित अनि शुद्ध हुन्छन् ।
त्यसबाहेकका चिलाउने मुख्य कारणहरुमा संक्रमण तथा एलर्जी हो । त्यसमा पनि च्याउ जातको जीवाणुले गर्ने संक्रमण धेरै पाइने गर्छ । त्यसैले चिकित्सकलाई नदेखाई औषधि वा तेल वा झोल केही पनि कानमा हाल्नुहुँदैन । आमाहरुले तेल हाल्ने त अज्ञानताले अनि चलनले हो । साथै पहिले पाइने तेल अलि शुद्ध पनि त हुन्थे नि । त्यसैले तपाईंले एकपटक नाक–कान–घाँटी विशेषज्ञलाई भेट्नु उचित हुन्छ ।
मेरा रक्तचाप ठीक अवस्थामा नै छ । तर पनि मेरो टाउको बेला–बेलामा सहन नसक्ने गरी दुख्छ । खासगरी बेलुकाको समयमा दुख्छ । किन यस्तो हुन्छ होला ? समाधानका उपाय बताइदिनुहुन्छ कि ?
–सुशील कार्की, हात्तीगौँडा, काठमाडौं
सुशीलजी, रक्तचाप ठीक अवस्थामा हुनु अति नै राम्रो पक्ष हो । जहाँसम्म टाउको दुख्ने भन्ने कुरा छ, त्यसका कारण धेरै हुन्छन् । ती कारणमध्ये रक्तचाप एउटा हो । यदि यो कारण होइन भने अन्य धेरै कारणको अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ । बेलुका धेरै दुख्ने भनेकोले दिनभरिको थकावट अनि तनावले हुनसक्छ ।
त्यस्तै आँखाको समस्या, पिनास, कानको समस्या, घाँटीको समस्या, दिमागभित्रको प्रेसर बढेर हुने समस्या, माइग्रेन वा अन्य समस्याले पनि टाउको दुखेको हुन सक्छ । यो समस्याको निदान अनि उपचारको लागि एकपटक नजिकको फिजिसियन चिकित्सक वा न्युरोलोजिस्ट भेट्नुस् । त्यसपछि छलफल र परामर्शबाट सही बाटो भेट्टाइनेछ ।
मलाई बिहान उठ्दा सधैँ निराशाको अनुभव हुन्छ । कहिलेकाहीँ मरुँजस्तो पनि लाग्छ । म जागिरबाट अवकाश भएदेखि यस्तो हुन थालेको हो । करिब ६ महिनादेखि समस्यामा छु । उपचार केही गरेको छैन । उचित सल्लाहको आशामा छु ।
– देवेन्द्र, नवलपरासी ।
देवेन्द्रजी, यो तपाईंको सक्रिय जीवनबाट अचानक निष्क्रिय हुँदा विकास भएको डिप्रेसनको लक्षण हो । आफ्नो अवकाशपछि जीवन कसरी चलाउने भन्ने कुरा पहिले नै नसोची अवकाश लिएकाले त्यस्तो भएको हो । यो डिप्रेसनको लक्षण हो । यसको उपचार सम्भव छ । एकपटक भरतपुर वा बुटवल गएर मनोचिकित्सक डाक्टर भेट्नुस् । यो सम्भव नभएमा फिजिसियनलाई भेटेर पनि सल्लाह लिन सकिन्छ । उपचारपछि तपाईंको समस्या ठीक भएर जानेछ ।
म मधुमेह र उच्च रक्तचापको बिरामी हुँ । दिनहुँ औषधि सेवन गरिरहेको छु । कुनै बेला इनर्जी लेस भएको बेलामा रिँगटा लाग्ने, शरीरले नै काम नगर्ने, यद्यपि मस्तिष्कले नै काम नगर्नेजस्तो हुन्छ । आँखाले पनि भर पाउँदैन । ग्लुकोजको कमीले त्यस्तो हुने भएकाले चकलेट साथमा बोकिराख्नु र त्यस बेलामा खाइहाल्नु भन्ने गरिन्छ । खास यस्तो समस्या आउँदा के गर्नुपर्ने हो ? राय–सल्लाह पाऊँ ।
– विष्णुबहादुर ठकुरी, धादिङ
विष्णुबहादुरजी, तपाईं मधुमेह र उच्च रक्तचापको बिरामी भएकाले नियमित औषधि सेवन गरिरहेको कुरा अति नै सकारात्मक हो । औषधिकै सेवनको क्रममा तपाईंले भनेजस्ता लक्षणहरु देखिएमा चकलेट, केरा, चिनी, चिउरा, भातजस्ता सुगर बढाउने ग्लाइसेमिक इन्डेक्स उच्च भएका खानेकुरा जे सहज हुन्छ अथवा नजिक छ, त्यो सेवन गर्नुपर्छ, जुन यहाँले गरिरहनुभएको नै छ भन्ने थाहा भयो । तर यहाँ ख्याल गर्नुपर्ने महत्वपँर्ण कुरा केहो भने, यसरी सुगरको मात्रा बेला–बेलामा शरीरमा घट्नु राम्रो होइन ।
यस्तो हुनुलाई ‘हाइपोग्लाइसेमिया’ भनिन्छ । यो त सुगर बढ्ने भन्दा धेरै गुना हानिकारक हुन्छ । साथै यो अवस्थाले मृत्युसम्म गराउन सक्छ । त्यसको लागि औषधिको उचित व्यवस्थापन गरेर, मात्रा मिलाएर, कमभन्दा बरु माथि नै सुगरको तह राखेर सेवन गर्नु वाञ्छनीय हुन्छ । त्यसैले योग्य चिकित्सक भेटेर यी सबै घटनाको बारेमा परामर्श गर्नुस् । सुगरको मात्रा नर्मलभन्दा तल घटाउनेवाला औषधिको मात्रा नै घटाउनुपर्ने पनि हुनसक्छ । बढी सुरक्षित औषधि खाएर सुगरको व्यवस्थापन गर्नु राम्रो हुन्छ ।
दुर्घटनामा परी मेरो तिघ्राको हाड भाँचिएको थियो । यसको अपरेसन गरेर स्टिल राखिएको छ । एक वर्षमा झिक्नुपर्छ भनेको थियो । तर कसै–कसैले नझिके पनि हुन्छ भनेकाले झिकेको छैन । अपरेसन गरेको पनि दुई वर्ष हुन लाग्यो । यसलाई अब फेरि निकाल्न मिल्छ कि मिल्दैन ? ननिकाल्दा पनि हुन्छ कि, यसले पछि हानि गर्न सक्छ ? सुझाव पाऊँ ।
– जीवनकृष्ण फुयाँल , जोरपाटी
जीवनकृष्णज्यँ, त्यो स्टिल झिक्न मिल्छ । दुई–तीन वर्षपछि पनि झिक्न मिल्छ । त्यस्तै नझिके पनि खासै हानि नोक्सानी गर्दैन भन्ने आमधारणा छ । तर पनि त्यो बाह्य वस्तु हुनाले केही नयाँ थ्योरी आएको हुन सक्छ । हाडजोर्नी विशेषज्ञलाई भेटेर परामर्श लिन सलाह दिन चाहन्छु ।
म ४६ वर्षको भएँ । गर्लफ्रेन्डसँग बे्रकअप भएपछि विवाह नगरी बसेको छु । यौनचाहना पँरा गर्न सेक्सटोय प्रयोग गर्न सकिने सुझाव पाएको छु । यो स्वास्थ्यका लागि राम्रो हो कि होइन ? मलाई आफ्नै मित्र ठानेर सुझाव दिन अनुरोध छ ।
– अशोक, धोबिधारा, काठमाडौं ।
अशोकज्यँ, अझै पनि जीवनका आशलाग्दा वर्षहरु बाँकी छन् । मन मिल्ने जीवन साथी भेट्टाउन सकिन्छ । तसर्थ यसतर्फ सोच्ने सल्लाह दिन चाहन्छु । जहाँसम्म सेक्सटोय उपयोग गरेर यौनकुण्ठा मेटाउने कुरा छ, त्यसको उपयोग गर्न नहुने भन्ने हुँदैन । निश्चिन्त भएर उपयोग गर्न सक्नुहुन्छ । तर पनि किताब पढ्नु वा केहीमा व्यस्त भएर यौनपट्टि कमै ध्यान दिनु राम्रो हुनेछ । तपाईं काठमाडौंको मान्छे हुनाले सीधै विशेषज्ञ चिकित्सक भेटेर सल्लाह लिन सक्नुहुन्छ ।
स्याचुरेटेड फ्याट नखानु भन्छन् । स्याचुरेटेड फ्याट र अनस्याचुरेटेड फ्याटमा के फरक छ ? उदाहरणसहित बुझ्न पाए आभारी हुने थिएँ ।
– दिलबहादुर तामाङ, नुवाकोट ।
तामाङजी, स्याचुरेटेड फ्याटबाट सीधै कोलेस्टेरोल बन्ने र त्यसले मुटुको रोग लाग्ने हुनाले त्यसलाई जति सक्यो कम गर्ने सल्लाह दिने गरिन्छ । त्यो घिउजस्तो जमेको अवस्थामा अर्थात् ठोस वा अर्धतरल अवस्थामा निहित हुन्छ । यो जैविक फ्याट वा बोसोमा पाइन्छ । अनस्याचुरेटेड फ्याट भने वनस्पति स्रोतबाट आउने, तरलरुपमा पाइने र तुलनात्मकरुपमा अलि सुरक्षित मानिन्छ । तर पनि धेरै लिएमा कुनै पनि फ्याट हानिकारक नै हुन्छ । साथै जुनसुकै फ्याट पनि पटक–पटक पकाएर खाएमा अरु खराबी गर्ने हुनाले त्यसो नगर्न सल्लाह दिइन्छ ।
म २४ वर्षको भएँ । मलाई असाध्यै निद्रा लाग्छ । पढ्न बस्यो भने त झन् उँघ लागेर हैरान हुन्छु । हुन त यो मेरो सानैदेखिको बानी हो तर अहिले झनै निद्रा बढेजस्तो लागेको छ । डिग्री अन्तिम वर्षको परीक्षा नै निद्राले गर्दा बिग्रिने हो कि भन्ने डर लागेको छ । निद्रा कम गर्ने कुनै औषधि वा उपाय बताइदिनुभए आभारी हुनेथिएँ ।
– अमृत सुवेदी, चापागाउँ, ललितपुर
अमृतजी, निद्रा नलाग्ने भएर रातभर जागा बस्ने, दिनभर झोक्राउने, बिरामी हुनेभन्दा त निद्रा लागेको राम्रो । तर त्यो पनि साह्रो, ज्यादा हुनु राम्रो होइन । विद्यार्थीले निद्रा लाग्यो, पढ्न समय पुगेन भन्नु पनि साधारण र स्वाभाविक प्रवृत्ति हो । तपाईंको सानैदेखिको निद्रा धेरै लाग्ने भनेकाले यो असाधारण र कुनै रोग होइन कि भन्नेमा तपाईं निश्चिन्त हुनुहुन्छ भन्ने बुझिन्छ । निद्रा कम गर्नको लागि पानी अधिक पिउने, नियमितरुपमा नुहाउने, मन लागाएर जिम्मेवारीपँर्वक पढ्ने, जति बढी ध्यान केन्द्रित गरी सिरियस भएर पढ्न सक्यो त्यति निद्रा भाग्ने हुन्छ । निश्चित समयमा सुत्ने अनि निश्चित समयमै उठ्ने, दिनमा ८ घण्टाभन्दा बढी सुत्नेछैन भनेर प्रण गर्ने ग¥यो भने सबै ठीक भएर जानेछ ।
मलाई एक वर्षदेखि छिन्–छिन्मा हाच्छ्युँ आउने अनि तुरुन्तै नाकबाट सलल पानी बग्ने समस्या भएको छ । यसबाट बच्ने उपाय तथा उपचारबारे सुझाव पाऊँ ।
– हेमन्त कार्की, उदयपुर ।
हेमन्तजी, छिन्–छिन्मा हाच्छ्युँ आउने कारण नाकभित्र इरिटेसन (कुलुकुलु) हुनु नै हो । यसको कारणमा धेरैजसो चिसो, धँलो, धुवाँ आदिको एलर्जिस भाइरस वा ब्याक्टेरियाको संक्रमण, जे पनि हुनसक्छ. । यी मध्ये सबभन्दा बढी भेटिने भनेको रुघा नै हो, जुन भाइरल संक्रमणले गर्दा हुन्छ । शरीरको आत्मशक्ति (इम्युनिटी पावर) कम भएमा वा रुघा लागेको मान्छेको सम्पर्कमा आउँदा सरेर यो समस्या आउन सक्छ । तपाईंको समस्याअनुसार धँलोको एलर्जी हुनसक्छ । त्यसैले एकपटक काठमाडौं आएर श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ चिकित्सक भेट्नुस् । आवश्यक परेमा एलर्जी टेस्टसमेत गरी सबै कुराको निक्र्योल गर्न सकिन्छ ।