मेरो उचाइ साढे ५ फिट छ, तौल ८६ केजी । हाल मलाई कुर्कुच्चा र कम्मर दुख्ने समस्या शुरु भएको छ । कसै–कसैले उचाइभन्दा तौल बढी भएकोले यस्तो भएको हो भन्छन् । वास्तविकता के होला ? तौल कसरी घटाउन सकिन्छ ? सुझावका लागि अनुरोध छ ।
– रोम कसजू, बुटवल ।
रोमज्यू, तौल र उचाइको सम्बन्ध हेर्ने विधि वा प्रणालीलाई बी.एम.आई. (शरीरको तौलको द्योतक) भनिन्छ । बी.एम.आई. साधारणतया पुरुषको २०–२५ हुन्छ भने महिलाको १९–२४ हुन्छ । बी.एम.आई. निकाल्नका लागि मानिसको तौल (किलोग्राम) लाई उसको उचाइ (मिटर२) ले भाग गर्नुपर्छ । यसरी हिसाब गर्दा जति आउँछ, त्यही नै बी.एम.आई. हो । यस हिसाबले तपाईंको बी.एम.आई. ३०.६ हुन्छ । यो भनेको मोटोपनाको माथिल्लो तह हो । यहाँको तौल अधिक रहेछ । कम्मर दुख्ने, ढाड दुख्ने, खुट्टा दुख्ने अनि खुट्टा सुन्निने यसबाट नै हुने गर्छ ।
तपाईंको लागि उपचार नै तौल घटाउने हो । तौल घटाउन शरीरको ऊर्जा आयातमा कमी गर्ने र ऊर्जा खर्चमा बढोत्तरी गर्ने गर्नुस् । यसो गर्दा प्राकृतिकरुपमै तौल घट्दै जान्छ । तपाईंले क्यालोरी विहीन खानामा जोड दिनुपर्यो । फाइबरयुक्त खाना र सागसब्जी धेरै खाने गर्नुपर्यो। खानाको मात्रामा पनि कमी ल्याउनुपर्यो। शरीरमा जम्मा भएको ऊर्जा खर्च गर्न व्यायाम, हिँडडुल, खेलकुद आदिमा सक्रियता बढाउनुस् । यति गर्न सके आफूले चाहेको नतिजा प्राप्त हुन्छ । अझ पोषण विज्ञ भेटेर खानाको मेनु बनाउने अनि सोही अनुरुप खाने र शारीरिक व्यायामको लागि फिजिकल डाक्टर वा फिजियोथेरापिस्ट भेटेमा राम्रो परामर्श मिल्नेछ ।
मेरो राति घुर्ने बानी छ भनेर घरमा सबैले जिस्क्याउँछन् तर मलाई त्यस्तो लाग्दैन । यो घुर्ने समस्या रोग हो कि होइन ? यसबाट बच्न के गर्न सकिन्छ ?
– रमिता, सिनामंगल, काठमाडौं ।
रमिताजी, पुरुषमा भन्दा महिलामा घुर्ने बानी कम नै हुन्छ तर पनि तपाईंमा त्यो देखिएछ । तपाईंको उमेर तथा तौल थाहा भएन । त्यसले पनि फरक पार्ने हुन्छ । धेरै तौल हुने व्यक्तिमा घुर्ने समस्या अधिक पाइन्छ । त्यसैले तौल घटाउनु जरुरी छ । घुर्नु तसमस्या भइहाल्यो, घुर्दाघुर्दै श्वास रोकिने पनि हुन्छ, त्यो मुख्य समस्या हो । यो समस्यालाई ‘स्लिप एप्निया’ भनिन्छ । यसको जटिलता भनेको उच्च रक्तचाप, स्ट्रोक, सुगर आदि हुनसक्छ ।
यसबाट बच्न, रोक्न, उपचार गर्न एकपटक श्वासप्रश्वास सम्बन्धी चिकित्सक भेट्ने वा स्लिप विज्ञ भेटेर परामर्श गर्ने सल्लाह दिन चाहन्छु । राम्रोसँग तौल घटाउन सकेमा यो घुर्ने समस्या आफैं हराएर जाने पनि हुन्छ ।
मलाई चिल्लो खानेकुरा खाँदा पच्दैन । त्यसैले चिल्लो खानेकुरा सकेसम्म खान्न । मलाई लामो समयदेखि खुट्टा चिलाउने गर्छ, खासगरी जाडोको मौसममा । चिल्लोको कमीले यस्तो भएको हो भन्छन् । वास्तविकता के होला ? उचित सल्लाहको आशामा छु ।
– हिमा, काठमाडौं ।
हिमाजी, खुट्टा चिलाउने र चिल्लो खाने÷नखानेको कुनै सम्बन्ध छैन । खुट्टा चिलाउने भनेपछि कुन भाग चिलाउने अनि शरीरको अन्य भाग पनि चिलाउने कि नचिलाउने भन्ने स्पष्ट भएन । जे होस्, चिलाएको खुट्टा एकपटक छालारोग विज्ञलाई देखाएमा स्पष्ट हुनेछ यसको कारण अनि उपचार । हाललाई सेट्रिजिन भन्ने चक्की १० मिग्राको दिनको एउटा खानुस् र चाँडो चिकित्सक देखाउनुस् ।
म १९ वर्षको भएँ । केही वर्षदेखि मल्याई राति स्वप्नदोष हुने गरेको छ । साथीहरु आँफै ठीक हुन्छ भन्छन् । यो रोग हो कि होइन ? यसको कसरी समाधान गर्न सकिएला ?
– विभूषण, बारा ।
विभूषणजी, युवावस्थामा बेला–बेलामा सप्नादोष हुनु प्राकृतिक नियम नै हो । त्यसमा पनि यौनजन्य सपना, यौन परिकल्पना, यौन पुस्तक पढ्ने गरेमा बढी हुने गर्छ । यो रोग होइन, यो फिजियोलोजिकल हो, प्राकृतिक हो, नर्मल हो । समाधानको लागि यौनजन्य कल्पना नगर्ने, त्यस्ता पुस्तक–पत्रिकाहरु नपढ्ने, सधैँ व्यस्त रहने, सकारात्मक सोचका किताब पढ्ने, कुनै व्यावसायिक व्यस्ततामा लाग्ने सल्लाह दिन सकिन्छ । यदि अति नै त्यसमा मन लागेमा बिहे गर्नेबारे पनि सोच्नुपर्ने हुनसक्छ ।
मैले लामो समयदेखि सुगरको औषधि खाइरहेको छु । प्रेसर अलि बढी भएजस्तो छ तर औषधि खाएको छैन । योग नियमित गर्ने र खानपान बार्ने गरेमा सुगरको औषधि नखाए पनि हुन्छ भन्छन् । के गर्दा ठीक पर्ला ?
– भद्रा गुरुङ, कास्की ।
भद्राजी, सुगर तथा प्रेसर दुवै छन् भने दुवै नियन्त्रण गर्नै पर्ने हुन्छ । किनभने यी दुवैले मृगौला फेल गराउन सक्छन् । सुगरको औषधि खाइरहेको राम्रो कुरा भयो तर नियमित सम्बन्धित चिकित्सक देखाउने अनि नियन्त्रणमा राख्ने गर्नुभएको छैन भने तुरुन्त त्यतातिर लागिहाल्नुस् । प्रेसरको जुन शंका गर्नुभएको छ, त्यो सम्बन्धित चिकित्सकलार्य देखाएर वा कतै क्लिनिकमा जाँचेर निश्चिन्त हुन सल्लाह दिन चाहन्छु । योग, व्यायाम, खानामा परहेज गरेमा सुगर निश्चितरुपमा नियन्त्रण हुनेछ ।
औषधि खान पर्ने वा नपर्ने भन्ने कुरा सुगरको मात्रा रगतमा हेरेर मात्रै भन्न मिल्ने हुन्छ । यी दुवैको नियन्त्रण अनि राम्रो नतिजाको लागि मुटुरोग विज्ञ देखाउनुस् । हाम्रो उद्देश्य रोगको नियन्त्रण अनि नकारात्मक जटिलताको रोकथाम गर्ने हो ।
मैले उच्च रक्तचापको औषधि सेवन गरिरहेको छु । रक्तचाप नियन्त्रणमै छ । तर खुट्टा सुन्निने र पोल्ने समस्या छ । यो समस्या रक्तचापसँग सम्बन्धित हो कि ? उपचार कसरी होला ?
– मंगलरत्न तुलाधर, भक्तपुर
मंगलरत्नजी, तपाईंले उच्च रक्तचापको औषधि सेवन गरिरहेको अनि नियन्त्रणमा भएको राम्रो हो । जहाँसम्म खुट्टा सुन्निने अनि पोल्ने समस्या छ त्यो कुनै रक्तचापको औषधिको साइड इफेक्ट हुन पनि सक्छ । खुट्टाकै अन्य समस्याले पनि त्यस्तो हुन सक्छ । त्यस्तै मुटुको समस्या वा मृगौलाको समस्याले पनि सो लक्षण देखिन सक्छ । तपाईंले खाएको औषधिको नाम थाहा नभएकोले येही नै कारण हो भन्न सकिएन । बढी सम्भावना रक्तचापको औषधिसँग भएकोले उपचार सहज छ, औषधि परिवर्तन गरे सबै ठीक भइहाल्छ । त्यसैले नजिकैको मुटुरोग विशेषज्ञसँग भेट्नुस् र समस्या समाधानतिर लाग्नुस् ।
मेरो उमेर ५५ वर्ष भयो । पाँच–छ महिनादेखि मेरो आँखामुनिको मासु अलि बढेको जस्तो देखिन्छ । मलाई बाटो काट्दा, अचानक कसैलाई भेट्दा झस्किने भएको छ । यो के कारणले भएको होला ? केही सुझाव पाउन सक्छु कि ?
– जगतकुमार, भक्तपुर ।
जगतकुमारजी, त्यो पलाएको मासु वा बढेको मासु कोही शल्यचिकित्सकलाई देखाइहाल्नुस् । जुन झस्कने भन्ने छ, त्यो मानसिक रोग नै त होइन तर पनि मानसिक अवस्था हो । झस्कने, डराउने शुरुको साधारण अवस्थामै उपचार गरेमा सहजै ठीक भैहाल्छ । कुनै मनोचिकित्सकलाई देखाएमा उचित परामर्श पाउन सक्नुहुन्छ र उपचार पनि भैहाल्नेछ ।
मेरो अनुहारमा कालो पोतो आएर अनुहार नै फोहोर देखिएको छ । यसलाई हटाएर अनुहार सफा बनाउने औषधि वा कुनै उपाय भए बताइदिनुहुन्थ्यो कि ?
– रानी राई, भोजपुर
रानीजी, अनुहारमा कालो पोतो आएकोमा दुःख लाग्यो । यसको उपचारको लागि छालारोग विशेषज्ञ भेटेर परामर्श गर्न जरुरी छ । हाललाई अनुहारमा जे पायो त्यही केही नलगाउने, सीधा सूर्यको किरणबाट अनुहार बचाउने, सादा चिसो पानीले अनुहार धुने गर्नुस् । साधारण निभिया क्रिमसम्म लगाउन सक्ने सल्लाह दिइन्छ । सकेको छिटो सम्बन्धित चिकित्सक भेटेर उपचारतिर लाग्नुस् ।
पिसाब फेर्दा अन्त्यमा पिसाब नै निख्रिँदैन, थोपा–थोपा आइरहन्छ । पिसाब निखार्न अलि कन्नुपर्ने हुन्छ । यस्तो भएको झन्डै एक वर्ष भयो । किन यस्तो भएको र उपचार के होला ?
– हरिप्रसाद चौलागाईं, दोलखा
हरिप्रसादजी, तपाईंले आफ्नो उमेर भन्नुभएन । यो समस्या हेर्दा प्रोस्टेट ग्रन्थि बढेको अनुमान गर्न सकिन्छ । ४०–५० वर्ष नाघेका पुरुषमध्ये कसै–कसैमा प्रोस्टेट भन्ने ग्रन्थि बढ्ने हुन्छ । सो ग्रन्थि बढ्दा तपाईंले भनेको जस्तो लक्षण देखिन्छ । तसर्थ एकपटक काठमाडौं आएर वीर अस्पताल वा शिक्षण अस्पताल गई युरोलोजिस्ट (पिसाबसम्बन्धी विज्ञ चिकित्सक) भेट्नुस् । उहाँले तपाईंको समस्याको उपचारबारे परामर्श दिनुहुनेछ । ढिलो गरेमा जटिलता थपिन सक्ने हुनाले सकेसम्म चाँडो चिकित्सकलाई देखाउनुहोला ।