
काठमाडौं । थाइराइडको क्यान्सर पत्ता लगाउन उपयोगी नयाँ प्रविधि वीर अस्पतालका लागि नेपाल हेल्थ केयर सोलुसनले अनुदानस्वरुप प्रदान गरेको छ । वीर अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्रकुमार बस्नेतलाई सोलुसनका निर्देशक रेमन्तप्रसाद भट्टले बिहीबार उक्त सफ्टवेयर हस्तान्तरण गर्नुभएको हो । निर्देशक बस्नेतका अनुसार थाइराइडको क्यान्सर पत्ता लगाउन सफ्टवेयर निकै प्रभावकारी हुनुका साथै ‘क्यान्सर रोगको थप अनुसन्धानका लागि उपयोगी हुनेछ ।
अस्पतालका रेडियोलोजिस्ट डा. स्वयंप्रकाश पण्डित र नाक, कान, घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले यो प्रविधिको मदतले थाइराइडका स–साना ट्युमरसमेत पत्ता लगाउन सकिने बताउनुभयो । यो सफ्टवेयरले रोग पत्ता लगाउन मात्र नभई पहिलाभन्दा छिटो र उपचार खर्च पनि सस्तो पर्नेछ । सफ्टवेयर जुनसुकै अल्ट्रासाउन्डको मेसिनमा पनि राख्न मिल्ने सोलुसनका निर्देशक रेमन्तप्रसाद भट्ट बताउनुहुन्छ । उक्त नयाँ सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो । यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सहजै पत्ता लगाउन सकिन्छ ।