नर्भिकमा अत्याधुनिक हेमोडायलाइसिस सेवा शुरु



काठमाडौं । आफ्नो रजत महोत्सवको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक सुविधायुक्त चार शय्याको हेमोडाइलाइसिस सेवा शुरु गरेको छ । प्रदेश नं. ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले उक्त सेवाको उद्घाटन गर्नुभएको थियो । यस सेवाका विशेषताबारे नर्भिकका वरिष्ठ नेफ्रोलोजिस्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिनुभएको थियो । पच्चीस बर्से यात्रामा नर्भिकले पार गरेका विविध आरोह–अवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’को पनि प्रदेश प्रमुख कोइरालाले विमोचन गर्नुभएको थियो ।

समारोहका सभापति एवं अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
यसै बीच नर्भिक हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ । अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उनीहरूलाई अभिनन्दन गरिएको हो ।

समारोहमा प्रमुख अतिथि प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. डीबी कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञद्वय डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्यचिकित्सक डा. दिनेशनाथ गोङ्गल, डा. एसके भट्टाचार्य, वरिष्ठ बालरोग विशेषज्ञद्वय डा. हेमाङ्गमणि दीक्षित र डा. मणीन्द्ररञ्जन बराललाई अभिनन्दन गर्नुभयो । साथै उहाँले अस्पतालमा २५ बर्ष काम गरेका दुर्गा चित्रकार, कमलादेवी खाँ, उषामैया केसीलगायतलाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्