नेपाल रेडक्रस नयाँ चरणमा प्रवेश



काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विराटनगरमा सम्पन्न केन्द्रीय सभाको ४७ औँ महाधिवेशन विधान संशोधनसहितको निर्णय गरी सम्पन्न भयो । सभाले रेडक्रसको मूल मर्म अनुरुप सुरक्षित पहुँचका ८ तत्वहरुको पालना गर्दै संस्थाको उचाइ बढाउने गरी कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्न निर्देश गरेको छ ।

सो अनुसार रेडक्रसलाई उत्कृष्ट मानवीय सस्थाको रुपमा विकसित गर्दै रेडक्रसका सिद्धान्तअनुसारका कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्नेलगायत ११ वटा प्रस्तावहरु पारित गरिएको प्रस्ताव छानबिन समितिका संयोजक शशि पन्थीले घोषणा गर्नुभयो । ती प्रस्तावमा सिद्धान्त अनुरुप कार्यक्रम सञ्चालन, जिल्लाका रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउने, पारदर्शिता, जवाफदेहिताको लागि सार्वजनिक लेखा परीक्षणजस्ता प्रभावकारी औजारहरु प्रयोग गर्ने, प्रत्येक निर्णायक तहमा महिला सहभागिता बढाउने र दक्ष जनशक्तिको वढोत्तरी गर्दै जाने विषयहरु रहेका छन् ।

‘अब रेडक्रस नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको छ’, महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो । महाधिवेशनले महामन्त्री र कोषाध्यक्षबाट प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम तथा बजेट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्