राष्ट्रिय रक्तचाप जाँच अभियान शुरु



दार्चुला । विभिन्न दशवटा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्लामा पनि राष्ट्रिय रक्तचाप जाँच अभियान शुरु भएको छ । सर्ने रोगभन्दा नसर्ने रोगहरुको प्रकोप बढ्न थालेपछि नेपालमा अंग्रेजी मे महिनालाई रक्तचाप जाँच महिनाको रुपमा मनाउने अभियान शुरु भएअनुसार दार्चुलामा पनि अभियानको थालनी गरिएको हो ।

पछिल्लो समय उच्च रक्तचापका कारण धेरै मानिसको अकालमै मृत्यु हुने गरेको पाइएपछि रक्तचाप जाँच अभियानको थालनी गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले बताउनुभएको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको खुल्लामञ्चबाट एक किलोमिटर तल नमस्कार मन्दिरसम्म दगुरेर रक्तचाप जाँच गरी अभियानको थालनी गरिएको हो ।

जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर बहादुर कार्की, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, जिल्ला न्यायाधीश गिरिराज गौतमको रक्तचाप जाँच गरी अभियान शुरु गरिएको सुनारले बताउनुभयो । अभियानमा म स्वस्थ र पाषिलो खाना खान्छु, रक्सी, चुरोट, सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, नियमित स्वास्थ्य जाँच गराउँछु, व्यायाम गर्छु, तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, स्वास्थ्यलाई प्रतिकूल हुने खालका वालविवाह, छाउपडी प्रथाजस्ता सामाजिक कुरीति–कुसंस्कारहरु अनुसरण गर्नेछैन लगायतका दशवटा प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ ।

अभियानबारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी नसर्ने रोगहरुको बारेमा जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले प्रस्तुति गर्नुभएको थियो । उहाँले अभियानलाई एक महिना, एक वर्षभन्दा पनि नियमितरुपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्