चाडबाडको विशेष मेकअप



सुष्मा महरा
ब्युटिसियन

विवाह, व्रतबन्ध, एकादशी, दशैँ, तिहार, छठ अथवा अन्य महान् चाडहरुमा दिनभरिजस्तो व्यस्त हुनुपर्ने हुन्छ । यस्ता चाड मान्यजन र आफन्तसँग बित्ने गर्छ । त्यसैले यस्ता चाडबाडमा गरिने मेकअप दिनभरि टिकाउ हुने किसिमले गर्नुपर्छ । मेकअपको साथै लगाउने कपडा अनि हेयर स्टाइलमा पनि ध्यान पर्याउनुपर्ने हुन्छ । यस्ता चाडबाडमा मेकअप गर्दा विवाहित महिलाले ब्राइट देखिने हल्का मेकअप गर्ने र अविवाहितले सिम्पल र नेचुरल मेकअप गर्दा धेरै राम्रो देखिन्छ । हेभी मेकअपले आफूलाई मात्र होइन हेर्नेलाई समेत गाह्रो हुन्छ । दशैँको टीका अथवा यस्ता चाडबाडको दिन सर्वप्रथम कुनै मठ–मन्दिर जाने गरिन्छ भने वाटरप्रुफ मेकअप गर्नुपर्ने हुन्छ ।

दशैँको टीका लगाउने दिनमा विवाहित महिलाले रातो एवम् ब्राइट कलरका पहिरन लगाउँदा सेमी–ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ, जसमा आइज स्मोकी हुनुपर्छ । त्यसमा पनि गोल्डेन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ । डार्क सर्कल छ भने कन्सुलरले छोप्ने, पेनस्टिक लगाउने, ह्वाइट पाउडर प्रयोग गर्ने गर्नुपर्छ ।

आई मेकअप

कपर स्मोकी आई साडी, गाउन, कुर्ता जेमा पनि सुहाउँछ । कपर स्मोकीमा गोल्डेन वा सिल्भर आई स्याडो लगाई साइडमा ब्ल्याक वा ब्राउनले मर्ज गर्नु राम्रो हुन्छ । आँखाको सेप गोलो छ भने राउन्ड सेप दिनुपर्छ । मंगोलियन चिन्की आइजलाई स्मोकी आई त्यति सुहाउँदैन । तर आर्यन फेसमा स्मोकी आई निकै
राम्रो देखिन्छ ।

ब्ल्याक स्मोकी आई मेकअपले सानो आँखालाई ठूलो देखाउँछ । पहिले पेन्सिलले सेप कोर्ने त्यसपछि ब्ल्याक आइस्याडो, तल डार्क र माथि ब्राउन कलर प्रयोग गर्दै फेड गर्ने र माथिबाट ह्वाइट स्याडो लगाउने, अनि त सुन्दरताको के बखान गर्नु ? सबैको नजर नपर्ने कुरै भएन ।

फेस कटिङ

यदि गोलो फेस छ भने लाम्चो तरिकाले कटिङ गर्ने, कटिङ गर्दा पहिले ब्राउन्जरले र पछि त्यसकै माथि ब्लसर लगाइदिने गर्नुपर्छ । लामो फेस छ भनेचाहिँ छोटो कटिङ गरी अगाडि अलिकति घुमाइदिनुपर्छ । चिउँडोको हयी ठूलो र मासु बढी छ भने ब्राउन्जरले कटिङ गरी लुकाउनुपर्छ । ब्राउन्जरले नाक पनि कटिङ गर्नुपर्छ । आर्यन नाकमा बीचको भाग ठूलो राख्नु राम्रो हुन्छ । त्यसपछि ब्राउन्जर लगाइएको भागमाथि ब्लसर लगाउनुपर्छ ।

लिप केयर

अघिपछिको भन्दा चाडबाडको मेकअपमा अलि बढी ध्यान दिनुपर्छ । तीजमा रातै लिपस्टिक खुल्छ । पहिरन गाउन वा वानपिस छ भने मरुन कलर प्रयोग गर्न सकिन्छ । दशैँमा भने दिनभर टिकाउको लागि म्याट लिपस्टिक
उपयुक्त हुन्छ ।

ओठको छाला अन्य छालाभन्दा निकै नरम तथा कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्ने र राति सुत्नुअघि पेट्रोलियम जेली लगाउने गर्नुपर्छ । यदि दुवै ओठ मिलेको छ भने लिप पेन्सिल आउट लाइन दिएर लिपस्टिक प्रयोग गर्नुपर्छ । लामो समय टिकाउनका लागि लिपस्टिक लगाउनुअघि फाउन्डेसन लगाउनुपर्छ ।

कुन कलरको लिपस्टिक लगाउने हो निश्चय गरी त्यो भन्दा हल्का डार्क कलरको लिप लाइनरले ओठलाई सेप दिने र  लिपको सेपअनुसार ब्रसको सहायताले लिपस्टिक लगाउनुपर्छ ।

नेल आर्ट

नङलाई आकर्षक देखाउन नेल आर्ट गर्न सकिन्छ । नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ । यस्तै पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त मानिन्छ ।

अरु समयमा त नङलाई आकर्षक बनाउनुपर्छ भने चाडबाडमा झनै नङको सुन्दरतामा ध्यान पर्याउनुपर्छ । अरु चाडबाडभन्दा तीजका बेला नङ झनै आकर्षक देखिनुपर्छ । यदि आफ्नो नङ राम्रो छैन भने फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । नङलाई आकर्षक देखाउन नेल आर्ट गर्न सकिन्छ । नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ । यस्तै पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त मानिन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ । नेल आर्ट पानी खेल्दा वा लुगा धुँदा पनि जाँदैन ।

हेयर स्टाइल

हेयरमा मेसी बन राम्रो देखिन्छ । केश लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट उपयुक्त हुन्छ । लामो केशमा मेसी बन खुल्छ ।

फिनिसिङ मेकअप

सबै मेकअप सकेपछि लङ लास्टिङ फिनिसिङ स्प्रे छर्किनुपर्छ । यसरी मेकअप गरिसकेपछि दिनभरको लागि हुन्छ । तर बेलुका सुत्ने बेलामा अनुहारको मेकअप हटाउनु राम्रो हुन्छ ।

दशैँको कुरा गर्ने हो भने, दिनभरि थापेको टीकाले कहिलेकाहीँ निधारमा एलर्जी हुन सक्छ । त्यसैले राति सुत्नुअघि राम्ररी रेमुभरले मेकअप पुछ्नुपर्छ अनि एकछिन् क्लिजिङ गरेर फेसवास गर्नुपर्छ । त्यसपछि स्किन टोनर र स्किन ब्यालेन्सिङ क्रिम लगाएर सुत्दा स्किन पनि ड्यामेज नहुने र स्वस्थ रहन पनि मद्दत पुग्छ । मेकअप गरेको दिन बेलुका सुत्नुअघि राम्ररी मेकअप रिमुभ गर्ने बानी गर्नुपर्छ । यदि यसो नगरी सुतेको खण्डमा स्किन ड्यामेज हुने र स्किनमा ठूलो समस्या आउन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्