विश्व स्वास्थ्य समाचार



मोबाइल फोनले बहिरोपन

मोबाइल फोन धेरै प्रयोग गर्नेहरुमा बहिरोपन वृद्धि भएको अनुन्धानबाट पाइएको छ । अमेरिकामा हालै गरिएको अनुसन्धानमा यस्ता सातमध्ये दुईजना किशोर–किशोरीको श्रवणशक्ति कम हुँदै गएको पाइएको हो । किशोर–किशारीहरुले मुख्यतः मोबाइल फोन एवम् हेड फोनमा चर्को स्वरमा गीत–संगीत सुन्ने गरेको कारणले श्रवणशक्ति कमजोर हुँदै गएको विशेषज्ञहरुले बताएका छन् ।

लामो समय चर्को आवाजमा गीत सुन्ने किशोर–किशोरीमा यस्तो समस्या अत्यधिक मात्रामा बढेको अमेरिकास्थित मेरिल्यान्डको अस्पतालले जानकारी दिएको छ । कानसम्बन्धी समस्या लिएर चिकित्सककहाँ उपचार गर्न आउनेमा १० देखि २१ वर्ष उमेरसम्मका युवायुवती बढी रहेको पाइएको छ । श्रवणशक्ति कमजोर हुँदै जाँदा भविष्यमा ठँला समस्या आउन सक्ने बारेमा चिकित्सकहरुले सचेत गराएका छन् ।

बिहेपछि यौनको रोमाञ्चकता घट्ने

अमेरिकामा हालै गरिएको एक सर्वेक्षणले बिहेपछि यौनको रोमाञ्चकता अझ घट्ने देखाएको छ । सातामा ६ पटकसम्म यौनसम्पर्क गर्ने जोडीले बिहे गरेको केही समयपछि सातामा दुईपटकसम्म मात्रै यौनसम्पर्क गर्ने गरेको सर्वेक्षणले देखाएको छ । सो सर्वेक्षण ३० हजार विवाहिता जोडीमा हालै गरिएको हो । प्रत्येक १० मध्ये ७ जोडीले बिहेपछि यौनजीवन खासै रोमान्टिक नभएको बताएका छन् ।

सो सर्वेक्षणमा करिब १६ हजार सहभागीले विवाहपछि श्रीमान्–श्रीमतीको सम्बन्ध एउटा असल साथीजस्तै हुने गरेको बताएका छन् । सर्वेक्षण गर्ने युएसए टुडे पत्रिकाका प्रवक्ता रायनले भने, ‘विवाहपछि पनि श्रीमतीसँगको सम्बन्ध प्रेमिकाको जस्तो भएको खण्डमा उनीसँगको यौनसम्पर्कको चाहना बढी हुनसक्छ । यसको लागि श्रीमान् स्वयम् बढी रोमान्टिक, सहयोगी र बौद्धिक खालको हुनुपर्छ, तब मात्र सयनकक्षमा चाहना बढ्दै जान्छ । अन्यथा आत्मविश्वास जागेन भने यौनजीवनमा निरासा आउँछ ।’

सो पत्रिकाले गरेको सर्वेक्षणमा ६० प्रतिशत जोडीले विवाहपछि यौनचाहनामा कमी आएको महसुस गरेका छन् भने ४० प्रतिशतले बिहेपछिको यौनजीवन राम्रो भएको अनुभव गरेका छन् । यसमध्ये केही पुरुषले आफ्नी श्रीमतीभन्दा बाहिरको केटी पट्याएर गरिने यौनसम्पर्क अति रोमान्टिक हुने बताएका छन् ।

अग्लो हिलको पीडा

अमेरिकामा ६० लाख महिला अग्लो हिल जुत्ताका कारण खुट्टाको मांसपेशी च्यातिएर उपचार गराउनुुपर्ने अवस्थामा पुगेको पाइएको छ । त्यहाँ गरिएको एक अनुसन्धानअनुसार अग्लो हिल लगाउने अधिकांश अमेरिकी महिलाको मांसपेशी च्यातिएको र खुट्टा मर्किएको छ ।
अध्ययनअनुसार अग्लो हिल जुत्ताले पीडा दिए पनि त्यस्तो जुत्ता लगाउँदा अरुले तारिफ गर्ने भएकोले महिलाहरु अग्लो हिल जुत्ता त्याग्न चाहँदैनन् । १५ देखि ७० वर्षका ३० हजार महिलामा गरिएको सर्वेक्षणमा ९० प्रतिशत महिलाले अग्लो जुत्ताका कारण राति खुट्टामा पीडा हुने गरेको बताएका थिए ।

करिब दुई तिहाइ महिलालाई त जुत्ताले दिएको पीडाका कारण अफिसमा काम गर्न नसकेर अस्पताल पुर्याउनुपरेको छ भने ६० प्रतिशत महिलाहरु बिहान उठ्न नसकेर अफिस नै जाँदैनन् । सर्वेक्षणअनुसार ९० प्रतिशत महिला हिल जुत्ताले पीडा दिने थाहा पाउँदापाउँदै पनि यस्ता जुत्ता किन्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्