जिमले मेन्टल हेल्थलाई पनि सहयोग गर्दो रहेछ



जब डिप्रेसनमा रहेछु भन्ने डाक्टरबाट थाहा भयो, मैले पत्याउन सकिनँ । किनभने मलाई डिप्रेसन हुनुपर्ने कारण केही पनि थिएन ।

त्यसपछि लगातार डक्टरसँग परामर्श लिएँ । यसबाट आफैं कसरी बाहिर आउन सकिन्छ भन्नेतिर लागें । विभिन्न मुभिज हेरें, किताब पढें, साइकोलोजिस्टहरूकोमा पनि गएँ र माइन्ड ट्रेनिङ क्लासहरू लिनुका साथै रिसर्चहरू पनि गरें ।

सशक्त अभिनय र सुन्दर रूपकी धनी नायिका नम्रता श्रेष्ठले जब सानो संसार नामक फिल्मबाट अभिनय करिअरको शुरुवात गरिन्, उनलाई सफलताको ठूलै संसारमा पुर्यायो । त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन, एकपछि अर्को गर्दै मेरो एउटा साथी छ, सुनगाभा, मौन, मेघा, क्लासिक, सोल सिस्टरजस्ता फिल्ममा काम गर्ने अवसर पाउँदै गइन् ।

फिल्मभन्दा अघि नै म्युजिक भिडियो तथा विज्ञापनमार्फत धेरैको मनमा राज गर्न सफल नम्रताको करिअरले उचाइ लिँदै गर्दा ६ हजार १ सय १९ मिटर अग्लोे सगरमाथाको लोबुचे इस्ट पिकको अरोहण पनि गरिन् ।

‘वास्तवमा हामी सगरमाथा बेस क्याम्पसम्म जाने भनेर हिँडेका थियौं । तर बाटोमा हिमाल चढ्न हिँडेका व्यक्तिहरूलाई देखेपछि यहाँसम्म आइसकेपछि किन हिमाल नचढ्ने त भन्ने सोच आयो ।

त्यही अनुरूप लोबुचे आरोहण गरियो’, प्रेमी दाबा स्टेभेन शेर्पाको साथ र सहयोगमा लोबुचे हिमाल आरोहण गरेकी नम्रताले भनिन्, ‘त्यहाँ पुगेपछि अर्कै संसारमा पुगेको जस्तो फिल भयो । त्यति धेरै उचाइबाट तल हेर्नुको अनुभव नै छुट्टै रोमाञ्चक थियो । त्यो मेरो लागि रेयर मुभमेन्ट पनि थियो ।’

नम्रता यति बेला आफ्नो निर्माणमा निर्माणाधीन फिल्म जाइरामा फरकरूपमा प्रस्तुत हुँदै छिन् । ‘जाइरा बदलाको भावमा आधारित फिल्म हो । यसमा निकै मेहनत गरेकी छु । फिल्ममा मिक्स मार्सल आर्ट खेलाडीको रूपमा छु । आशा छ, दर्शकले फिल्म मन पराउनुहुनेछ’, भाद्र ६ गते अल नेपाल रिलिज हुने फिल्मको बाँकी काम र प्रवद्र्धनका लागि व्यस्त रहेकी उनले उत्साहित हुँदै भनिन् ।

धेरै फिल्मको अफर आए पनि फिल्मको स्क्रिप्ट र टिम राम्रो भए मात्र काम गर्ने र वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने गरेको नम्रता सधैँ फिट रहन मन पराउँछिन् । सधैँ फिट एन्ड क्लीन देखिने नम्रताले आफू फिट एन्ड फाइन हुनुको रहस्य खुलाउँदै भनिन्, ‘स्वस्थ रहनको लागि खानेकुरामा विषेश ध्यान दिन्छु । यु आर, ह्वाट यु इट भनिन्छ नि ∕ त्यसैले पनि स्वस्थ रहन खानपान तथा दैनिक बानी व्यवहारमा
सजग रहनुपर्छ ।’

फिल्म जाइरामा अभिनय गर्नुभन्दा अघि कहिल्यै जिम नगएकी नम्रताले फिल्मका लागि करिब ६ महिना लगातार जिममा कडा मेहनत गरिन् । ‘यही ट्रेनिङ गरेपश्चात् जिमको महत्वका बारेमा थाहा पाएँ । फिटनेसको लागि गरिने जिमले मेन्टल हेल्थको लागि पनि सहयोग गर्दो रहेछ भन्ने बुझें । त्यसपछि भने मैले आफ्ना साथीभाइलाई पनि वर्क आउटका फाइदाबारे भन्ने गरेकी छु’, उनी भन्छिन् ।

करिअरले सफलता चुमिरहेकै बेला ४ वर्षअगाडि अचानक डिप्रेसनसँग जुध्न पुगेकी नम्रताले जिम गर्दा यसबाट मुक्त हुन धेरै सहयोग मिलेको बताइन् । उनले भनिन्, ‘जब डिप्रेसनमा रहेछु भन्ने डाक्टरबाट थाहा भयो, मैले पत्याउन सकिनँ । किनभने मलाई डिप्रेसन हुनुपर्ने कारण केही पनि थिएन । त्यसपछि लगातार डक्टरसँग परामर्श लिएँ । यसबाट आफैं कसरी बाहिर आउन सकिन्छ भन्नेतिर लागें । विभिन्न मुभिज हेरें, किताब पढें, साइकोलोजिस्टहरूकोमा पनि गएँ र माइन्ड ट्रेनिङ क्लासहरू लिनुका साथै
रिसर्चहरू पनि गरें ।’

‘यसका साथै ३ वर्षसम्म लगातार औषधिको प्रयोग गरें, अहिले ठीक भएकी छु’, डिप्रेसनसँगको लडाइँ र मुक्तिबारे नम्रताले खुलाइन् । अनि सुझाइन्, ‘कतिपयलाई डिप्रेसन छ भन्ने कुरा पनि थाहा हुँदैन र समाजमा नकारात्मकरूपमा लिइन्छ । कतिपय युथहरू आफूलाई भएको समस्याबारे कुरा गर्न नचाहने पनि देखेकी छु । यसले गर्दा अरुले के भन्लान् भन्ने उहाँहरूलाई लाग्न सक्छ । सबैलाई एउटै लक्षण हुन्छ भन्ने पनि हुँदैन । डिप्रेसनको समस्या भएको मान्छेले आफूलाई केही भएको छ भन्ने कुरा स्वीकार गर्न सक्नुपर्छ र डाक्टरको सल्लाहअनुसार आफूलाई के गर्दा ठीक हुन्छ, त्यही अनुसारका काम गर्नुपर्छ ।’

स्वस्थ रहनको लागि योगको साहरा लिने नम्रतासँग योगले स्वस्थ मात्र नभई सुन्दरता पनि वृद्धि गरेको अनुभव छ । शृङ्गारमा रुचि नराख्ने उनी सौन्दर्य सामग्रीमा खर्च नहुने बताउँछिन् । उनी भन्छिन्, ‘मेरो मेकअप आर्टिस्टले तपाईंको स्किनमा यो प्रयोग गर्नुस् भनेपछि त्यही अनुसारको सामग्री प्रयोग गर्छु । त्यसबाहेक अनावश्यक खर्च गर्दिनँ ।’

नायिका नम्रता केवल अभिनय क्षेत्रमा मात्र छैनन्, उनी व्यापार व्यवसायमा पनि छिन् । राजधानीस्थित ज्ञानेश्वरमा एटिक रेस्टुरेन्ट सञ्चालन गरिरहेकी नम्रताले यो सञ्चालनको प्रसंगमा सुनाइन्, ‘पहिले साथीभाइ भेटघाट गर्ने जक्सनको रूपमा शुरु गरेको थिएँ । हालसम्म आइपुग्दा व्यवसाय राम्रो भइरहेको छ । अहिले त १० वर्ष भइसक्यो एटिक शुरुवात गरेको पनि ।’

ज्ञानोदय माविबाट एसएलसी दिएकी नम्रताले किस्ट कलेजबाट विज्ञान विषय लिएर प्लस टु गरिन् भने मास कम्युनिकेसन विषयमा मोर्डन कन्या कलेजबाट स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् ।

फुर्सदको समयमा गीत गाउन र नृत्य गर्न मन पराउने नम्रताले केही समयअघि रिलिज भएको आफू अभिनित फिल्म सोल सिस्टरमा बिस्तारै बिस्तारै …. भन्ने बोलको गीत पनि गाएकी छिन् ।

‘मैले जति पनि काम गरें, अहिलेसम्म यो फिल्ममा चाहिँ खतरा काम गरें भन्ने लागेको छैन, तर जुन स्थानमा छु आफ्नै डिसिजनको कारणले छु’, उनले भनिन् ।

प्रस्तुति: रश्मी थापा

प्रतिक्रिया दिनुहोस्