ज्ञान र रुप दुवै आवश्यकः अनु शाह



‘नारी भनेको सृष्टिको सुन्दर उपहार हो, जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ’, यस्तै लाग्छ नायिका तथा मोडल अनु शाहलाई । भन्छिन्– ‘घर–समाजमा नारीको सम्मान हुन सके मात्र सुन्दर समाज र संसारको निर्माण सम्भव छ ।’

डेढ दशकअघि १७ वर्षको उमेरमा म्युजिक भिडियोमा मोडलिङ गरेर यही क्षेत्रलाई निरन्तरता दिँदै आएकी अनुले फिल्म ‘द युगदेखि युगसम्म बाट फिल्मी करिअर शुरु गरेकी थिइन् । त्यसपछि बाजीगर, सकुन्तला, भैरव, धौली, धर्मा, पसिना जस्ता दुई दर्जन फिल्म तथा करिब एक हजार म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘मैले जानेको र रुचि भएको क्षेत्र अभिनय मात्र हो, त्यस कारण पनि मैले यो क्षेत्रबाहेक अन्यत्र जानेबारे सोचिन’, अनु भन्छिन् ।

कला क्षेत्रमा हिरोइनको आयु ४–५ वर्षको मात्र हुन्छ भन्ने गरिन्छ तर अनु ढेड दशकदेखि लगातार यस क्षेत्रमै सक्रिय छिन् । ‘यो क्षेत्रमा लामो समयसम्म बसिरहनुको पहिलो कारण त मेहनत नै हो । त्यस्तै निरन्तरता र आफूमा केही गर्छु भन्ने भावना पनि हुन जरुरी छ । परिवारको सपोर्ट पनि मुख्य कुरा हो जुन मैले पाइरहेकी छु ।’

केही समयअघि मात्र खुट्टा भाँचिएर बेड रेस्टमा बस्नुपरेपछि अनुले स्वास्थ्यलाभ गर्ने क्रममा करिब ढेड महिनामा अफ्नो तौल १० किलो बढेको बताइन् । ‘अहिले भने फेरि आफ्नो काममा व्यस्त हुन थालेकी छु । काममा व्यस्त हुन थालेपछि तौल घटाउन लागिरहेकी छु’, अनुले सुनाइन् । तौल घटाउनको लागि अनुले चिल्लोयुक्त खानपान निषेध गरेको र बेलुकीको खानामा भातको साटो फलफूललगायत हल्का खानेकुरा खाने गरेको बताइन् । ‘म हेल्थ कन्सियस छु । त्यस कारण वेट कम गर्नका लागि प्राकृतिक उपाय अपनाइरहेकी छु । जसले गर्दा स्वास्थ्यलाई नकारात्मक असर नपरोस्’, उनले भनिन् ।

सुन्दरताका बोरमा अनुको आफ्नै परिभाषा छ । भन्छिन्– ‘सुन्दरता भनेको मनभित्रबाटै आउने कुरा हो, जुन मानिसको अनुहारबाट प्रस्ट हुँदैन । मानिसको रुप जस्तोसुकै होस्, मीठो बोली, उज्यालो र हँसिलो अनुहार अनि राम्रो व्यवहार भएन भने त्यो रुपको के अर्थ ?’

अनुलाई हाल नेपालमा भइरहेका सौन्दर्य प्रतियोगिताप्रति निकै लोभ लाग्छ । उनी भन्छिन्, ‘हामी यो क्षेत्रमा आउँदा यस्ता प्रतियोगिता नै हुँदैनथे । अवसर पाउनै गाह्रो थियो । अहिले यस्ता प्रकारका ब्युटी प्याजेन्टको कारण धेरै नवप्रतिभाले राम्रो प्लेटर्फम पाइरहेका छन् । म दुई–तीनवटा प्याजेन्टमा जज हुँदा अहिलेका युवामा धेरै नै परिवर्तन पाएँ । जसमा यस्ता खालका प्याजेन्टको निकै राम्रो भूमिका रहेको छ ।’ अनुको अनुभवमा सौन्दर्य प्रतियोगिता भनेको केवल सौन्दर्यको प्रदर्शन मात्र होइन, बौद्धिकताको मापनका साथै अवसरको ढोका पनि हो ।

फिल्म तथा म्युजिक भिडियोमा शङ्गार गर्नै पर्ने भए पनि घरमा बस्दा र कार्यक्रम छैन भने बाहिर हिँड्दासमेत विनामेकअप हिँड्ने अनु आफ्नो सुन्दरताको लागि अनुहारमा घरमै बेसन, कागती आदिको प्रयोग गरी बनाएको फेस प्याकको प्रयोग गर्ने गरेको बताउँछिन् । ‘मेकअपमा त्यति धेरै खर्च गर्दिनँ । लिपस्टिकचाहिँ अलि धेरै प्रयोग हुने भएकोले बेला–बेलामा किनिरहेको हुन्छु । सस्तो सामान प्रयोग गरेर स्किन बिगार्न पनि भएन । त्यस कारण चलेका राम्रा ब्रान्डका सामान प्रयोग गर्छु, जुन एकैपटक किन्दा महँगो परे पनि टिकाउ हुन्छ’, अनुको अनुभव छ ।

स्वास्थ्य सन्तुलनका लागि हल्का खालका व्यायाम गर्ने अनु योगलाई पनि उत्तिकै समय दिन्छिन् । कहिलेकाहीँ तनाव हुँदा घरबाट टाढा कुनै एकान्त स्थलमा गएर ३–४ घण्टा एक्लै बिताउँछिन् । ‘सबैको आ–आफ्नो बानी हुन्छ । मलाई चाहिँ स्टे«ेस भएको बेला कसैले बोल्यो भने पनि रिस उठ्छ । त्यस कारण एकान्तमा एक्लै बस्छु ।’ अनुको विचारमा ब्युटी विथ ब्रेन त्यस्ता युवतीलाई भन्न सकिन्छ, जसमा सबै कुराको ज्ञान हुन्छ । रुपमा पनि निकै सुन्दर र सीपमा पनि होनहार हुन्छन् ।

प्रस्तुति : रश्मी थापा

प्रतिक्रिया दिनुहोस्