जाडोमा कपालको स्याहार



बिनु श्रेष्ठ, ब्युटिसियन

अहिले जाडो मौसमको शुरुआत भैसकेको छ । वातावरणमा चिसोपना वृद्धि हुनुको साथै कपालसम्बन्धी विभिन्न समस्या बढ्न थालेको छ । ठण्डा मौसम, सुख्खा हावा, हिउँको प्रभावका साथै हिटिङ सिस्टम जस्तै– आगो ताप्नु, तातो पानीको प्रयोग गर्नु, घाम धेरै ताप्नु, तापीय विद्युत् उपकरणको प्रयोग गर्नु आदिले गर्दा कपालको प्रकृति र स्वभावमा नै परिवर्तन हुन पुग्छ । वातावरणमा भएको चिसो हावा, हिटिङ सिस्टम आदिले कपालका साथै टाउकाको छालामा भएको नेचुरल म्वाइस्चरलाई सोसेर लिन्छ अनि सुख्खा बनाइदिन्छ । यसले गर्दा विभिन्न प्रकारका समस्या निम्तिन सक्छ ।

एउटा एभोकाडोको गुदी, एक ठूलो चम्चा मह र एक ठूलो चम्चा दही मिसाएर लगाउनुस् । यसले कपाललाई पोषण दिन्छ । यसो गर्दा म्वाइस्चर रि–स्टोर भई कपाल स्वस्थ र चम्किलो बन्छ ।

कपाल स्वस्थ र सुरक्षित राख्ने उपाय : 

अझ बढी त कलर पर्म, स्ट्रेट, हाइलाइट आदि गरिएको कपालमा समस्या हुने गर्दछ । सुख्खा र जिङ्रिङ्ग भएका व्यक्तिहरुको लागि त निकै अप्ठ्यारो स्थिति पैदा हुने गर्दछ । निम्न उपायहरु अपनाएर कपाललाई स्वस्थ र सुरक्षित राख्न सकिन्छ :

१. नुहाउनुअगाडि कपालमा तेल मसाज गरेर, तातो पानीमा रुमाल भिजाई कपाल बेरेर बाफ लिने गर्नुपर्दछ । जैतुन, तोरी, तिल, क्यास्टर, बदाम आदि कुनै पनि तेलबाट मसाज गर्न सकिन्छ । चाया भएमा कागतीको रस मिसाएर मसाज गर्दा चाया हटाउन मद्दत पुग्छ ।

२. मनतातो पानीको प्रयोग गरी नुहाउनुपर्छ । धेरै तातो पानीको प्रयोगले नेचुरल आयल वा म्वाइस्चरलाई कपाल र स्कैल्पबाट हटाउँछ र सुख्खा कपाल बनाउन सक्छ ।

३. स्याक्पु गर्दा म्वाइस्चर री–स्टोर गराउने खालको स्याम्पु प्रयोग गर्नुपर्दछ । आयल बेस वा क्रिम, हनी, एग (अण्डा) बेस स्याम्पुको प्रयोग गरी नुहाउनुपर्छ । सिया बटर (shea butter) , कोकोनट, एलोभेरा, कास्टर (caster) , टी ट्री (tea tree) आयल बेस स्याम्पु उपयुक्त हुन्छ ।

४. कपालमा स्याम्पुपछि डिप कन्डिसनिङको जरुरत हुन्छ । कन्डिसनरको प्रयोगबाट कपालको क्युटिकललाई स्मुथ हुनमा मद्दत पुग्छ र कपाललाई बाहिरबाट सुरक्षित राख्छ । यसले सुख्खापना बढ्न दिँदैन । साथै व्यवस्थित र चम्किलो कपाल बन्छ ।

५. हप्तामा एकपटक हेयर ट्रिटमेन्ट गरेर कपाल र स्काप (scalp) लाई म्वाइस्चरयुक्त अनि बलियो बनाउन सकिन्छ ।

६. आवश्यकताअनुसार कपाललाई कलर, पर्म, स्टे«ट, हाइलाइट, ब्लिच गर्न सकिन्छ । केमिकल र मेकानिकल ड्यामेज कपालका साथै सुख्खा र जिङ्रिङ्ग परेको कपाललाई हेयर मास्क, हेयर सेरम, कन्डिसनर, प्रोटेक्टिभ क्रिम वा लोसन लगाएर म्वाइस्चर सिल गरी सुख्खा हुनबाट जोगाउन सकिन्छ ।

७. हाँगा फाटेको भएमा काटेर फाल्नुपर्छ । टुप्पाहरु छाँट्नुपर्छ । यसले गर्दा लट्टा पर्ने, फोहोर देखिने हुँदैन ।

८. कपाल सुकाउँदा नेचुरल तरिकाबाट सुकाउनु बेस हुन्छ । तर समयको अभाव छ भने अनि चिसोबाट बच्नको लागि हेयर ड्रायरको प्रयोग गनुपर्ने भएमा कम तातो हावामा सुकाउनुपर्छ ।

९. हिटिङ, स्टायलिङ इक्युपमेन्टको प्रयोग गर्नुपरेमा हिट प्रोटेक्टिभ लोसन वा हाइड्रेटिङ लोसनको उपयोग गरेर मात्र प्रयोग गर्नुपर्छ ।

१०. कपाल चिसै भएको अवस्थामा हावामा बाहिर निस्कन ठीक हुँदैन । अन्यथा स्टाटिक इलेक्ट्रिकले गर्दा (static electric) गर्दा कपाल ठाडो हुने डर हुन्छ ।

११. रेगुलर डाइटमा न्युट्रिसनल फुडको मात्रा थप गरेर खानुपर्छ । ताजा फलफूल, भेजिटेबल्स, प्रशस्त मात्रामा पानीको सेवन गर्नुका साथै ड्राइ फ्रुट्स, फर्सीको बियाँ, सूर्यमुखी फूलको बिउ, फ्लेक्स सिड्स आदि खानु राम्रो हुन्छ ।

१२. खुल्ला हावा, कडा घाम, चिसोमा जाँदा कपाललाई कटन वा सिल्क स्कार्फ वा सलले कभर गर्ने वा ह्याट लगाउने गर्नुपर्छ । यसले गर्दा कपाललाई सुख्खा हुन दिँदैन ।

१३. समय मिलाएर घरेलु विधिको प्रयोग गरी कपाललाई सन्तुलित, स्वस्थ र सुन्दर बनाउन सकिन्छ ।

कपाल सुन्दर बनाउने घरेलु विधि

१. एउटा प्याजको जुस, एक ठूलो सम्चा मह र एक ठूलो चम्चा गुलावजल मिसाएर कपाल र टाउकोको छालामा लगाउनुस् । यसले कपाल झर्नबाट रोक्न मद्दत मिल्छ ।

२. एउटा एभोकाडोको गुदी, एक ठूलो चम्चा मह र एक ठूलो चम्चा दही मिसाएर लगाउनुस् । यसले कपाललाई पोषण दिन्छ । यसो गर्दा म्वाइस्चर रि–स्टोर भई कपाल स्वस्थ र चम्किलो बन्छ ।

३. एक ठूलो चम्चा मह, एउटा कागतीको जुस र एक मग मनतातो पानी मिलाएर कपाल पखाल्ने गर्नुस् । यसले चाया हटाउनुका साथै कपाललाई म्वाइस्चर प्रदान गर्छ ।

४. एउटा केराको गुदी, एक ठूलो चम्चा बटर र एक ठूलो चम्चा दही वा दूध मिसाएर कपालमा लगाउनुस् । १५ मिनेटपछि राम्रोसँग पखाल्नुस् । यसले कपाल सुन्दर बनाउन मद्दत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्