डेड स्किन कसरी हटाउने ?



बिनु श्रेष्ठ
ब्युटिसियन

हाम्रो शरीर छालाले ढाकेको हुन्छ । छालाको भित्री सतहबाट नयाँ कोष बन्दै जान्छ भने बाहिरी सतहमा मृतकोष निस्कँदै जान्छ । यस क्रममा छालाको बाहिरी तहमा मृतकोषहरु जम्मा हुने क्रम भइरहन्छ । यस्ता कोषहरु छालाबाट नहट्ने हो भने अनुहार वा शरीरको अन्य भागसमेत चमकहीन र निस्तेज देखिने हुन्छ ।

साथै छालामा दाग–धब्बा एवम् चाउरीपना भई फोहोर देखिने हुन्छ । चाउरीपनामा वृद्धि हुँदै गई छाला खस्रो, बाक्लो र रफ देखिने गर्छ । यसरी पत्र–पत्र परी जम्मा भएको मृतछालाले गर्दा सुन्दरता र व्यक्तित्वमा नकारात्मक प्रभाव पर्दछ ।

मृतत्वचा, झन् त्यसमाथि धूलो, धुवाँ, चिल्लो, फोहोर आदि जम्मा हुँदा रोमछिद्र अर्थात् रौंका छिद्रहरुसमेत बन्द हुने गर्दछ । यसले गर्दा वातावरणमा भएको ताजा हावा, हामीले लगाउने क्रिम, म्वाइश्चर आदि पनि छालाभित्र पस्न दिँदैन र छाला झन् खस्रो एवम् सुख्खा बन्छ । यसले छालामा विभिन्न समस्या निम्त्याउँछ । अझ यस्तो समस्या उमेरसँगै बढ्ने गर्छ ।

उमेरसँगै हाम्रो छालाका कोषहरुको पुनर्निर्माण प्रक्रिया पनि ढिलो हुन थाल्छ । तसर्थ आफ्नो अनुहार र शरीरका अन्य भागको छालाको स्याहारमा हामीले केही समय दिनै पर्छ ।

साबुन–पानीले सफा गरेर मात्र मृत छालालाई हटाउन सकिन्न । यसको लागि विशेष विधि अपनाउनुपर्छ । यस विधिलाई एक्सफोलिएसन (Exfoliator) भनिन्छ । यस विधिबाट छाला नरम, मुलायम, ताजा र सफा बनाउन मद्दत मिल्छ । हरेक प्रकारको छालाको लागि उपयुक्त स्क्रबको प्रयोग गरेर एक्सफोलिएसन ट्रिट्मेन्ट गर्नुपर्छ ।

यसले छालाबाट मृतकोषहरु हटाउनुका साथै स्किन पलिसिङको पनि काम गर्छ । मृतछाला मात्र नभएर यसले फोहोरमैला, चिल्लो पदार्थ, ब्ल्याकहेड्स, खिल आदि हटाउन मद्दत गर्छ ।

यस विधिमा स्क्रब लगाएर हल्का मसाज गरिन्छ, जसले मांसपेशीलाई समेत तनावमुक्त बनाउनुका साथै रक्तसञ्चारमा वृद्धि गरी चाउरीपना, दागधब्बा, सुख्खापनाबाट समेत मुक्त बनाउँछ ।

त्यसपछि छालामा चमक ल्याउँछ । यसबाट आनन्दित र तनावमुक्त रहन पनि सहयोग मिल्छ । एक्सफोलिएसन हप्तामा एकपटक गर्नुपर्छ । अनुहारका लागि भने विषेश ध्यान पुर्याउनै पर्छ । अनुहारमा विशेष प्रकारको स्क्रब वा एक्सफोलिएसन पेस्ट/क्रिम प्रयोग गर्नुपर्छ ।

मृतछाला हटाउने एक्सफोलिएसन विधि

  • उपयुक्त फेसवासको प्रयोग गरी मनताटो पानीबाट अनुहार र घाँटी धुने ।
  • क्लिन्जिङ क्रिमको प्रयोग गरी अनुहारलाई सफा गर्ने ।
  • एक्फोलिएसन क्रिम वा स्क्रब लगाउने र ५–७ मिनेटसम्म छोड्ने ।
  • आँखाभित्र स्क्रबमा भएका दानाहरु पस्ने डर हुन्छ, त्यसैले कटन रोजवाटरमा डुबाएर आँखाको भाग छोप्ने, यसको मतलब आँखाको एरियामा स्क्रब नलगाउने ।
  • ५–७ मिनेटपछि हल्का रोजवाटर वा पानीले भिजाएर हल्का सर्कुलर मसाज गर्ने । ४–५ मिनेटसम्म मसाज गर्ने र सफा पानीले पखाल्ने ।
  • नरिसिङ क्रिमको प्रयोग गरी मसाज गर्ने ५–७ मिनेटसम्म ।
  • फेस प्याक वा मास्क लगाउने र १५–२० मिनेटपछि मनतातो पानीले धुने ।
  • म्वाइश्चराइजरको प्रयोग गर्ने ।

मृतछाला हटाउने घरेलु विधि

  • जौको पीठो १ ठूलो चम्चा, दही १ ठूलो चम्चा र थोरै मह मिक्स गरेर स्क्रबको रुपमा प्रयोग गर्ने । सुख्खा छालाका लागि यस्तो स्क्रब प्रयोग गर्नु उपयोगी हुन्छ ।
  • चिनी १ ठूलो चम्चा, आवश्यकताअनुसार नरिवल वा जैतुनको तेल, बेसन २ ठूलो सम्चा, क्रिमयुक्त दूध वा दही १ ठूलो चम्चा मिश्रण गरी स्क्रब बनाएर पनि सुख्खा छालाका लागि प्रयोग गर्न सकिन्छ ।
  • सुन्तलाको बोक्राको पाउडर १ ठूलो चम्चा, दही आवश्यकताअनुसार र कागतीको रस ५–६ थोपा मिलाएर बनाएको स्क्रबको प्रयोग तैलीय छालाको लागि उपयुक्त हुन्छ ।
  • आवश्यकताअनुसार बेकिङ सोडा, कागतीको रस र महको मिश्रण बनाएर पनि तैलीय छालामा प्रयोग गर्न सकिन्छ ।
    एभोकाडोको बियाँको पाउडर १ ठूलो चम्चा, मह १ सानो चम्चा र थोरै जैतुनको तेल मिलाएर बनाएको स्क्रब प्रायः सबै किसिमको छालामा उपयुक्त हुन्छ ।
  • कफी पाउडर १ ठूलो चम्चा, जैतुन वा नरिवलको तेल १ ठूलो चम्चा, थोरै मह र चिनी १ सानो चम्चा मिलाएको स्क्रबको प्रयोगले पनि मृतछाला हटाउन मद्दत गर्छ ।
  • चामलको पीठो १ ठूलो चम्चा, थोरै मह र आवश्यकताअनुसार दूधको मिश्रणबाट बनेको स्क्रब पनि छालाका लागि
    उपयोगी हुन्छ ।
  • उल्लिखित घरेलु स्क्रब वा एक्सफोलिएटर (Exfoliator) को प्रयोग गरी मृतत्वचा हटाएर स्किनमा चमक बढाउन सकिन्छ । स्वस्थ र ताजा छालायुक्त अनुहार प्राप्त गरी सुन्दर बन्नुहोस् । मोटा वा ठूला दानायुक्त स्क्रबको प्रयोग गर्नुहँुदैन । मसिना दानायुक्त स्क्रबको प्रयोग गरी
    एकस्फोलियट गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्