जाडोमा छालाको स्वास्थ्य



डा. रामदेव पंडित
आयुर्वेद चिकित्सक

मानव शरीरको सबैभन्दा ठूलो अगं हो, छाला । छाला अत्यन्तै संवेदनशील अंग हो तर पनि मानिसहरुले यसको संवेदनशीलतालाई महसुस गरेको देखिन्न । नेपालीहरु छालाको स्वास्थ्य एवं स्याहारमा त्यति सजग भएको पाइन्न ।

जाडो मौसममा साबुनले मुख धुने गर्नुहुँदैन । यसले छाला फुस्रो र झन् सुख्खा बनाउँछ । तातो पानीले मुख धुनाले अनुहारमा चाउरीपना बढाउँछ । त्यस्तै धेरै चिसो पानीले पनि अनुहारलाई सुख्खा बनाई चाउरी पार्न सहयोग गर्छ ।

छालाको स्याहार गरिएन भने छाला अस्वस्थ बन्न सक्छ । छालाको अस्वस्थताले क्यान्सरसमेत हुन सक्छ । स्वस्थ एवं सफल जीवन जिउन छालालाई स्वस्थ राख्न जरुरी छ । केवल सौन्दर्यको लागि मात्र अनुहार र हातको छालालाई स्याहार गर्नु पर्याप्त हुन्न ।

जाडोमा स्नान

जाडोमा छालालाई चिल्लो एवं नरम राख्ने प्रयत्न गर्नुपर्छ । जाडोमा निम, कागती, अमला, गुलाफ आदियुक्त पानीले नुहाउने वा चन्दन वा निम वा तुलसी वा एलोभेरा वा पपयायुक्त फेसवासले मुख धुने गर्नुपर्छ ।

नुहाउनेबित्तिकै सम्पूर्ण शरीरमा शुद्ध नरिवलको तेल दल्नुपर्छ, आयुर्वेदअनुसार छालाको लागि नरिवलको तेल सबैभन्दा उत्तम मोइश्चराइजर हो ।

तातो पानीले छालालाई झनै सुख्खा बनाउने गर्दछ । अतः सकेसम्म चिसै पानीले नुहाउनुपर्छ । अत्यधिक चिसो भए पानीलाई हल्का तातो बनाएर नुहाउनु ठीक हुन्छ । आयुर्वेदअनुसार चिसो पानीमा अति तातो पानी मिसाएर प्रयोग गर्नु राम्रो मानिन्न । यसो गर्दा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा हानि पुग्छ ।

 पिउने पानी

जाडोमा चिसो हुन्छ भन्दै धेरैले कम पानी पिउने गर्छन् । तर अनुहारको छाला स्वस्थ र चम्किलो राख्न प्रशस्त पानी पिउने गर्नुपर्छ । साथै फलफूल तथा जुस पिउनु उत्तम मानिन्छ । जाडोमा पानी कम पिउनाले पनि छाला सुख्खा हुने गर्छ ।

धेरै तातो पानीको प्रयोगले अनुहारको छाला सुख्खा बनाउँछ । बेलुका सुत्ने बेलामा दुई चम्चा कागतीको रस र एक चम्चा मह मिसाएर अनुहारमा लगाउने गर्नाले अनुहारको छाला सुख्खा हुनबाट जोगाउँछ । यसले अनुहारमा
चमक ल्याउँछ ।

 अनुहारको छालाको स्याहार

चिसो मौसममा धेरै मात्रामा अनुहारको छाला फुस्रो हुने, चाउरीपना देखिने हुन्छ । साथै अनुहारमा चाया–पोतोसमेत देखिने गर्दछ । अझ कसै–कसैमा त चिसोले गर्दा राता धब्बाहरु देखिने र चिलाउने समेत हुन्छ ।

साबुनले मुख धुने बानी धेरैको हुन्छ । तर जाडो मौसममा साबुनले मुख धुने गर्नुहुँदैन । यसले छाला फुस्रो र झन् सुख्खा बनाउँछ । तातो पानीले मुख धुनाले अनुहारमा चाउरीपना बढाउँछ । त्यस्तै धेरै चिसो पानीले पनि अनुहारलाई सुख्खा बनाई चाउरी पार्न सहयोग गर्छ । धेरै तातो पानीको प्रयोगले अनुहारको छाला सुख्खा बनाउँछ ।

अतः सकेसम्म अनुहार चिसो पानीले नै धोएको राम्रो । अनुहारको छालाको सुख्खापन हटाउनको लागि गुलाबजल, ग्लिसिरिन प्रयोग गर्न सकिन्छ । धेरै सुख्खा छालाको लागि सनब्लकसँगै लोसन प्रयोग गर्नु अनुहारको लागि धेरै लाभदायक हुन्छ ।

यसले अनुहारको छालालाई नरम राख्न सहयोग गर्दछ । सौन्दर्य विज्ञहरुका अनुसार हरेक दिन तीन चम्चा दूध र एक जम्चा जैतुनको तेललाई मिसाएर अनुहारमा लगाउनाले चाउरीपना कम हुन सक्छ । मेवाको गुदी नियमित रुपमा १० मिनेट जति अनुहारमा लगाएर पखाल्ने गर्दा पनि चाउरीपना कम हुने र अनुहार चम्किलो बन्ने गर्छ ।

छालाको चमक कायम राख्न र दाग घटाउनको लागि कोजिक एसिडको प्रयोग गर्ने सल्लाह दिइन्छ । यो एसिड हामीले च्याउमा प्राप्त गर्न सक्छौं । यो प्रयोग गर्नु सबै उमेरमा उत्तम हुन्छ । बजारमा च्याउ र अनारको रस मिश्रित एन्टिएजिङ क्रिम पनि पाइन्छ । एसी, हिटरको प्रयोग वा आगो ताप्नाले छाला झनै सुख्खा र फुस्रो बनाउने भएकोले यी कार्य सकेसम्म कम गर्नुपर्छ ।

 ओठको छाला 

हाम्रो शरीरमा हुने छालामध्ये ओठको छाला अत्यन्तै संवेदनशील हुन्छ, जुन अत्यन्तै कमलो हुन्छ । त्यसैले चिसोको कारण ओठ सुख्खा हुने, फुट्ने र कहिलेकाहीँ रगतसमेत आउने गर्दछ । त्यसैले ओठलाई जोगाइराख्न चिल्लोको मात्रा धेरै भएको लिपस्टिक लगाउनुपर्छ ।

कतिपयमा ओठ सुख्खा भयो भन्दै जिब्रोले थुक लगाउने बानी हुन्छ, यसले ओठलाई झनै सुख्खा गराउँछ । यस्तै ओठ फुटेको छ भने हरेक दिन बेलुका सुत्नुअगाडि काँक्रोको जुस १५ मिनेट ओठमा लगाएर धुने गर्नाले पनि ओठ नरम हुने गर्दछ ।

ओठलाई नरम बनाइराख्न जैतुनको तेल, एलोभेराको रस, ग्लिसिरिन पनि लगाउन सकिन्छ । यसले ओठलाई नरम राखिराख्न सहयोग गर्दछ ।

 टाउकोको छाला

कपाल नुहाउनुअगाडि शुद्ध तोरीको तेलले १० मिनेट जति मसाज गरेर नुहाउँदा कपाल झर्ने समस्या कम हुन्छ र चाया पनि हट्ने हुन्छ । जाडो मौसममा स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको हर्बल स्याम्पुको प्रयोग गर्नुपर्छ । त्यस्तै कपाललाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ ।

जाडोमा सातामा २ पटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु राम्रो मानिन्छ । जैतुन, बदाम र तिलको तेल मिसाएर तताई त्यसमा २ वटा भिटामिन ‘ई’ क्याप्सुल मिसाएर मसाज गरेमा केशमा चमक आउँछ ।

छालाको सौन्दर्य बढाउन प्रयोग गरिने आवश्यक सामग्रीहरु सोझै पसलमा गएर आफैँ जथाभावी किन्नुभन्दा छाला तथा सौन्दर्यविद्को सल्लाह लिएर मात्र खरिद एवं उपयोग गर्नु उपयुक्त हुन्छ ।

 हातखुट्टाको स्याहार

हात, गोडा, ओठ र अनुहारको छाला ज्यादै पातलो, नरम र संवेदनशील भएकाले जाडो मौसममा फुट्नबाट बचाउन मुलायम पार्ने लिप क्रिमको प्रयोग गर्न सकिन्छ । अदुवा, बेसार, पुदिनाको पात, मह तथा काँक्राको प्याक पनि लगाउन सकिन्छ ।

 जीवनशैली

अनुहारमा निखार ल्याउन उचित खानपान र हेरचाहको आवश्यकता हुन्छ । स्वस्थ खानपान, अनुशासित दिनचर्या, सरसफाइले अनुहारमा चमक ल्याउँछ । साथै मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । मनमा पीडा, कुण्ठा, घृणाजस्ता विकार छ भने अनुहारको चमक फिका देखिन्छ । त्यसैले स्वस्थ जीवनशैलीसँगै मानसिक सुखले पनि सौन्दर्यमा अहं भूमिका खेल्छ ।

दैनिक मर्णिङ वाक गर्नुपर्छ । धूमपान, मद्यपान त्यागले छाला एवं समग्र स्वास्थ्यलाई सबल बनाउँछ । तनावको असर छालाको स्वास्थ्य एवं सौन्दर्यमा प्रत्यक्षरुपमा तत्कालै देखिन्छ । तनावमुक्त रहन दैनिक योग, ध्यान वा व्यायाम गर्नुपर्छ । कब्जियतबाट मुक्त रहेमा स्वस्थ छाला प्राप्त गर्न सम्भव हुन्छ ।

सन्तुलित आहारसँगै एन्टिअक्सिडेन्ट, भिटामिनयुक्त आहार, प्रोटिनलगायतका अन्य पोषण तत्वको सेवन गर्न जरुरी छ । डार्क चकलेट, गाजर, बदाम, ग्रिन टीको सेवन पनि लाभदायक हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्