सावधान ! यी खाद्यपदार्थ सँगसँगै नखानुस्



रोहिणी घिमिरे

केही खाद्यपदार्थ यस्ता छन्, जुन केही घण्टाको फरकमा छुट्टाछुट्टै खायो भने अति नै लाभदायक हुन्छ भने सँगसँगै खाँदा त्यही खाद्यपदार्थ स्वास्थ्यका लागि हानिकारक भइदिन्छ । त्यसैले कुन–कुन खाद्यपदार्थ एकैसाथ खान हुन्छ र कुन–कुन एकैसाथ खानुहुँदैन भन्ने कुरा ख्याल गर्नै पर्छ । विपरीत गुण भएका त्यस्ता खाद्यपदार्थ अन्जानवश लामो समय एकैसाथ सेवन गरिँदै गयो भने तत्काल मात्र नभई दीर्घकालीनरुपमा स्वास्थ्यमा नकारात्मक असर पर्छ । यसले गर्दा छालाको रोग, डायबिटिज हुन सक्ने पतञ्जलि योग पीठ, हरिद्वारका आचार्य बालकृष्णले बताउनुभएको छ ।

दूध बच्चादेखि बूढासम्मका लागि अमृतसमान मानिन्छ । त्यस्तै मासुलाई पनि पौष्टिकताले भरिपूर्ण खाद्यका रुपमा लिइन्छ । तर दूध र मासु सँगसँगै खायो भने पेटमा रासायनिक प्रतिक्रिया भई विषसरह हुन्छ । यसले गर्दा ज्यान नै खतरामा पर्न सक्छ । तर यी दुई खाद्यपदार्थ उचित मात्रामा फरक–फरक समयमा खाइयो भने मात्र स्वास्थ्यका लागि लाभदायक हुने आयुर्वेद चिकित्सक डा. रामदेव पण्डित बताउनुहुन्छ । यसै गरी मह र घिउ उत्तम खाद्यपदार्थ हुन् । तर यी दुई पदार्थ बराबर मात्रामा मिलाएर खाँदा विषसरह हुन्छ भने मात्रा घटी–बढी गरेर खाँदा अमृतसरह हुने डा. पण्डितको भनाइ छ । उहाँका अनुसार मह गर्मी चिजसँग खानुहुँदैन । यसले एलर्जी हुन सक्छ । साथै ग्यास्ट्रिक पनि हुन सक्छ । मह तताएर खानु पनि हानिकारक हुन्छ ।

के–के छन् त एकैसाथ खानु नहुने खाद्यपदार्थ ?

दूध–दहीका साथ माछा : दहीले ठण्डा प्रभाव पार्छ भने माछाले गर्मी । यी विपरीत गुणकारी भएकाले एकैसाथ सेवन गर्नुहुँदैन । त्यस्तै माछामा उष्णता बढाउने गुण र दूधमा शीतलता बढाउने गुण भएकाले दूध र माछा पनि एकैसाथ खानुहुँदैन । यदि एकैसाथ खाइयो भने ग्यास्ट्रिक, एलर्जी, छालाको स्वास्थ्य समस्या हुन सक्ने उल्लेख आयुर्वेदमा गरिएको छ ।

दहीका साथ फलफूल : दही र फलफूलमा फरक–फरक इन्जाइम हुने हुँदा एकैसाथ नखानु नै हितकर हुन्छ । दही र फलफूल सँगै खायो भने पच्दैन । निश्चित फलफूल राखेको फ्रुट सलाद कहिलेकाहीँ लिन सकिएला तर यो पटक–पटक खाइरहनु स्वास्थ्यका लागि हितकर हुँदैन ।

दहीका साथ दूध : दूध र दहीमा हुने तत्व एवम् यसले पार्ने प्रभाव फरक–फरक हुन्छ । दहीमा यिस्ट (थभबकत) अर्थात् एककिसिमको मर्चा हुन्छ भने दूधमा यो हुँदैन । त्यसैले यिस्ट नभएको दूधमा दही मिसाउँदा खराब हुन्छ । त्यसैले दूध र दही एकसाथ खायो भने एसिडिटी हुनुका साथै अपच, उल्टी हुने सम्भावना हुन्छ ।

दूधका साथ फलफूल : व्रत लिएको समयमा धेरैले दूध र केरा एकैसाथ खाने गरेको पाइन्छ । आयुर्वेदका अनुसार केराले कफ बढाउँछ र दूधले पनि कफ बढाउँछ । यी दुवै एकैसाथ खाँदा झनै कफ बढाउने र पाचनमा समेत समस्या आउने हुन्छ । दूधका साथ सुन्तला, भुइँकटहरजस्ता फल पनि खानुहुँदैन । फलफूल र दूध एकैसाथ खाँदा दूधमा भएको क्याल्सियमले फलफूलमा भएको इन्जाइम शोषण गेरर आफैंमा मिलाइदिन्छ । यसले गर्दा फलफूलको पोषण शरीरमा मिल्न पाउँदैन ।

दूधका साथ नुनिला खाद्यवस्तु : दूधमा मिनरल र भिटामिन्सका अलावा ल्याक्टोज सुगर र प्रोटिन पनि हुन्छ । दूधमा नुनिलो चिज अर्थात् नून मिलाउँदा दूधमा रहेको मिल्क प्रोटिन्स जम्छ । यसले गर्दा पोषण कम हुन्छ । लामो अवधि दूधसँगै नुनिलो वस्तु सेवन गरिरह्यो भने छालासम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ ।

अमिलो फलसँगै गुलियो फल : सुन्तला र केरा एकैसाथ खानुहुँदैन । किनकि अमिलो फलले गुलियो फलको सुगर शोषणमा बाधा उत्पन्न गर्छ । यसले गर्दा पाचनमा समस्या आउँछ । फलस्वरुप पौष्टिकतामा कमी आउने हुन्छ ।

चिल्लो र धेरै प्रोटिनयुक्त पदार्थ : घिउ, तेल, मख्खनजस्ता चिल्लो पदार्थसँग अण्डा, पनिर, मासुजस्ता धेरै प्रोटिनयुक्त पदार्थ एकैसाथ खानुहुँदैन । यदि यस्ता धेरै चिल्लो र धेरै प्रोटिनयुक्त पदार्थ एकैसाथ खाइयो भने एक–दोस्रोको पाचनक्रियामा असर परी पेट गडबड हुन्छ । दूध र मासु पनि एकैसाथ खान वर्जित रहेको डा. पण्डितको भनाइ छ ।

दूधसँग गहत : दूध मधुर रसवाला र शीतयुक्त पदार्थ हो । तर गहत अम्ल रसयुक्त र उष्ण वीर्ययुक्त हुन्छ । परस्पर गुणविरुद्ध भएकाले यी पदार्थ पनि सँगसँगै खानुहुँदैन, स्वास्थ्यमा हानि पुग्छ ।

कटहर र दही खाँदा झन्डै ज्यान गयो

दीपक भण्डारी, दोलखा

एकपटक पुटुङ गाउँका पृथ्वीप्रसाद शिवाकोटीको घरमा खाना खाने गरी गएँ । त्यहाँ पुग्नुभन्दा पहिले नजिकैको अर्को घरमा पस्नुपर्ने काम पर्‍यो । त्यस घरमा सम्मानपूर्वक मलाई रुख कटहर र दही खान दिइयो । त्यसपछि म पृथ्वीप्रसादको घरतिर लागें । तर उहाँको घर नपुग्दै मलाई सकस भयो, पेट फुलेर आयो, सास फेर्न कठिन भयो । बीचबाटोमै अलपत्र परें । अब ज्यान नै जाने भयो भन्ने लाग्यो ।

उता भने दीपक आइपुगेनन् भनेर अतालिन थालिसकेछन् । बल्लतल्ल घिस्रिँदै १० मिनेटको बाटो १ घण्टा लगाएर पुगें । एकछिन् त बोल्नै सकिनँ । त्यसपछि कटहर र दही खाएकोले बिरामी परेको बताएपछि हतार–हतार दूध तताएर दिइयो । कटहर र दही सँगै खाँदा विषसरह भएछ । त्यसको औषधि तातो दूध रहेछ । केही समयको सकसपछि ट्वाइलेट लाग्यो अनि बल्ल सन्चो भयो ।

त्यतिखेरको अवस्था सम्झँदा धन्न बाँचिएछ जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्