म्याद गुज्रिएका खाद्यवस्तु कति घातक ?



– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

अमेरिकाबाट भर्खरै आएकी दुई वर्षीया नातिनीलाई कमलपोखरीकी ५५ वर्षीया खकुरेल थरकी महिलाले सेरेलेक किनेर ख्वाइछन् । खाएको ४ घन्टाजति पछि ती बालिकालाई झाडाबान्ता भयो । बढी नै हुन थालेपछि उनलाई अस्पताल लगियो । उपचारका क्रममा डाक्टरले बालिकाले खाएका खानाबारे जानकारी लिए । उनलाई सेरेलेक खुवाएको जानकारी पाएपछि डाक्टरले सेरेलेकको म्याद गुज्रिसकेको थियो कि भनेर शंका व्यक्त गरे । डाक्टरको कुराले हजुरआमा झसङ्ग भइन् । घरमा गएर राम्ररी हेर्दा सेरेलेक नामक त्यो पीठोमा मसिना कीरा परेको र ढुसी लागेको पाइयो । सेरेलेकको म्याद कतै लेखिएको रहेनछ । त्यो सेरेलेक फालियो । यो केही समयअघिको घटना हो ।

यस्ता घटना हाम्रो समाजमा बराबर भइरहेका हुन्छन् तर प्रकाशमा आइरहेका हुँदैनन् । बाहिर किनिएका पाकेटबन्द खाद्यवस्तुहरुको उत्पादन मिति र खान मिल्ने अन्तिम म्यादबारे नेपाली उपभोक्ता त्यति सचेत रहेको पाइँदैन । त्यसैले गर्दा यस्ता पाकेटबन्द खाद्यवस्तुहरुमा म्याद नलेख्ने, म्याद गुज्रिएको भए पनि बजारमा पठाउने र बिक्री गर्ने गरेको पाइन्छ । साथै कतिपय उत्पादक तथा विक्रेताहरुले त खाद्यवस्तुमा लेखिएअनुसारको म्याद गुज्रिएपछि पुनः नयाँ म्याद लेखिएको लेबल टाँसेर बजारमा पठाउनेजस्ता आपराधिक काम गरेर जनस्वास्थ्यमा खेलबाड गर्ने गरेको पनि पाइएको छ । अझ गाउँघरमा त प्रायः उत्पादन मिति र म्याद गुज्रिने मिति पनि नलेखी वा म्याद गुज्रिएपछि सच्याएर स्टिकर टाँसी पठाउने गरेको पनि पाइन्छ । खाद्यवस्तुमा उत्पादन मिति र त्यसको खान हुने अवधिको मिति हेर्ने बानी नभएकोले पनि उपभोक्ता ठगिने र व्यापारी मोटाउने काम भइरहेको छ ।

गत असोज महिनामा विशाल ग्रुपले यस्तै आपराधिक काम गरेको सार्वजनिक भएको थियो । त्यस समूहले म्याद गुज्रिएका धेरै तयारी खाद्यवस्तुमा नयाँ म्याद लेखिएका स्टिकर टाँसेर बजारमा ल्याएको सरकारी निरीक्षणका क्रममा पत्ता लागेको कुरा प्रकाशमा आएको थियो । यो छड्के जाँचका क्रममा फेला पारेको घटना मात्र हो । कानुनी कारबाही प्रभावकारी नभएकोले त्यस्ता आपराधिक कार्य व्यापारीहरुले सधैँजसो गरिरहेको देखिन्छ । उपभोक्ता सचेत नभएसम्म यस्ता घटनाले प्रोत्साहन पाई नै रहेका हुन्छन् । त्यसैले उपभोक्ताले नै यस्ता वस्तुलाई अस्वीकार गर्ने बानी बसाल्नुपर्छ ।

म्याद जुज्रिएका खाद्यवस्तु खााँ झाडापखाला लाग्ने, बान्ता हुनेजस्ता तत्कालीन समस्या हुन्छन् । साथै म्याद नाघेका र ढुसी परेका खाद्यवस्तुहरु प्रयोग गर्दा दीर्घकालीनरुपमा कलेजोमा समस्या हुन सक्छ ।

म्याद नाघेका खानेकुराहरुले तत्कालै र दीर्घकालीनरुपमा स्वास्थ्यमा असर पु¥याउँछन् तर कतिपयलाई यसबारे जानकारी नै छैन । म्याद गुज्रिएर ढुसी लागेका र कीरा लागेका खानेकुराले हाम्रो स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्छ ।

म्याद जुज्रिएका खाद्यवस्तु खाँदा झाडापखाला लाग्ने, बान्ता हुनेजस्ता तत्कालीन समस्या हुन्छन् । साथै म्याद नाघेका र ढुसी परेका खाद्यवस्तुहरु प्रयोग गर्दा दीर्घकालीनरुपमा कलेजोमा समस्या हुन सक्छ । बाहिरबाट आएका वा कारखानामा बनेका पाकेटबन्द खाद्यवस्तुलाई लामो समयसम्म सुरक्षित राख्न त्यसमा विभिन्न रसायनहरु पनि मिसाइएको हुन्छ । त्यस्ता रसायनहरुमध्ये कतिपय अखाद्य पनि हुन सक्छन् । यदि अखाद्य रसायन मिसाइएको छ भने त्यसले पनि स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

हालैको घटनामा हर्लिक्स र चकलेटजस्ता वस्तुहरुको मिति सच्चाएर ठूलो मात्रामा बजारमा पठाएको कुरा प्रकाशमा आएको छ । यी वस्तु स्वास्थ्यका दृष्टिले राम्रा नभए पनि चेतनाका अभावले नेपाली बजारमा धेरै बिक्री हुने वस्तु हुन् । त्यस्ता वस्तुहरु म्याद गुज्रिएपछि मिति सच्याएर बजारमा पठाउनु भनेको निकै घातक कार्य हो । यस्ता घातक कार्य विगतमा पनि बेलाबेलामा हुने गरेको भए पनि यो वर्ष संसारभर नै लामो समय लकडाउन भएकाले ठूलो मात्रामा पाकेटबन्द खाद्यवस्तुहरु म्याद गुज्रिएको अवस्थामा स्टक रहेका छन् ।

यी वस्तुहरु उत्पादकहरुले मिति सच्याएर नेपालजस्ता पिछडिएका मुलुक र त्यसमा पनि ग्रामीण क्षेत्रमा पठाउने काम गरिरहेकाले यसतर्फ उपभोक्ता सचेत हुन जरुरी छ । अहिले त नेपालमा चाडपर्वको समय पनि भएको र नेपालीहरुले आफन्तहरुकहाँ कोसेलीका रुपमा त्यस्ता वस्तु लान सक्ने भएकाले पनि म्याद गुज्रिएका धेरै पाकेटबन्द खाना नेपाल भित्रिएका छन् । यस्ता वस्तुको बढी बिक्रीका लागि व्यापारीहरुले आकर्षक विज्ञापन गरिरहेका छन् । त्यसको विश्वासमा पर्नेहरुको स्वास्थ्य जोखिममा परिरहेको छ ।

हाम्रो समाजमा घरमा लामो समय राखेको अन्नमा यदि घुन, भुसुना लाग्यो भने घाममा सुकाउने वा धेरै नै पुरानो छ भने चरालाई दिने चलन छ । तर प्याकेटमा कीरा र ढुसी लागेका वस्तुचाहिँ म्याद अर्को राखेर उपभोक्तालाई दिने ठूला व्यापारीको चलन छ ।

घरमा बनाएको अचारमा ढुसी लाग्यो भने त्यो प्रयोग गरिन्न तर बाहिरका व्यापारिक प्रयोजनले बनाइएका अचारमा ढुसी लाग्यो भने त्यसलाई मजासँग चलाइदिएर नयाँ म्यादको स्टिकर टाँसी बेच्दा उपभोक्ताले किनिरहेका हुन्छन् । उपभोक्ताले म्याद गुज्रिएको र ढुसी परेको थाहा नपाउँदै उपभोग गर्छन् । त्यति मात्र होइन, कतिपयले त त्यस्तो वस्तु खाँदा स्वास्थ्यमा गम्भीर हानि पुगिसकेपछि पनि त्यसकै कारणले होला भनेर अनुमानसम्म गर्न सकेका हुँदैनन् ।

आजकल प्रायः बिरामी (धेरैजसो कोरोनाको) हेर्न जाँदा, किरियापुत्री भेट्न जाँदा बट्टाको जुस दिने चलन छ । फलफूलको रसको भ्रममा यसरी बट्टाको चिनी–पानीको झोल दिँदा त्यसमा भएको रसायनले स्वास्थ्यमा हानि गर्छ भन्नेतिर ध्यान पुगेको पाइँदैन । अझ त्यसमा पनि म्याद सकिएर कीरा र ढुसी परिसकेको छ भने त यो विषबराबर नै हुन्छ । यस्तो बट्टाको चिनी–पानीको झोल हल्लाएर खाँदा उपभोक्ताले थाहा नै नपाएको देखिन्छ । कोसेलीमा दिइएका यस्ता वस्तुको म्याद गुज्रेको वा नगुज्रेको पनि हेर्ने बानी हामी उपभोक्तामा छैन ।

रोग लाग्नै नदिनु स्वास्थ्य विज्ञानको एक महत्वपूर्ण कदम हो । प्रयास गर्दागर्दै रोग लागिहाल्यो भने उपचार आवश्यक परिहाल्छ । जनस्वास्थ्यको दृष्टिले रोग नै नलागोस् भनेर सरकारले नै यस्ता प्रतिरोधात्मक स्वास्थ्य कार्यक्रमहरु व्यापकरुपमा सञ्चालन गर्नुपर्ने हो । तर स्वास्थ्य मन्त्रालयले बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रमबाहेक प्रतिरोधात्मक कार्यक्रममा खासै जोड दिएको देखिँदैन ।

आमसञ्चारमाध्यमहरुले विशाल गु्रपले हालै गरेको बदमासी सार्वजनिक गरेर केही मात्रामा यसबारेमा जनजागरण गरेका छन् । तर यस किसिमको जागरणले विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा प्रभाव पार्न सकेको छैन । अहिले पनि म्याद गुज्रिएका र नयाँ मिति भएको स्टिकर टाँसिएका थुप्रै जंकफूड एवं पत्रु खानाहरु कर्णालीलगायतका पश्चिम नेपालमा पाइएका छन् । त्यसले विशेष गरी स्कुले बालबालिकालाई बढी असर गरिरहेको छ ।

प्याकेटमा बन्द गरिएका त्यस्ता ढुसी परेका खानाले धेरैको कलेजोमा क्षति पुगेको हुन्छ तर पीडितले थाहा नै पाएका हँदैनन् । यस्तो ढुसी परेको भोजनले रोगसँग लड्ने शक्ति पनि कम गर्छ ।

आमसञ्चारमाध्यमले कहिलेकाहीँ मात्र होइन म्याद गुज्रिएका खाद्यवस्तु त्यत्तिकै वा नयाँ मिति भएको स्टिकर टाँसेर बेच्ने कार्य वर्षभरि नै भई नै रहने भएकाले सधैँजसो यस्तो मुद्दालाई निरन्तर उठाएर जनचेतना वृद्धि गर्न आवश्यक छ । एक उपभोक्ता बालकृष्ण दाहालको अनुभव छ, ‘म चाउचाउ धेरै खान्छु । एकपटक केही प्याकेट चाउचाउ किनेर ल्याएको थिएँ । एकदिन चाउचाउको प्याकेट खोलेर हेरेको त सेतो रंगको चाउचाउमा कालो–कालो पदार्थ देखेँ । भाँडामा चाउचाउ खन्याएर हेर्दा थुप्रै स–साना वस्तु पानीमा तैरिएको देखेँ । चम्चाले निकालेर हेर्दा ती त मरिसकेका घुन पो रहेछन् । यसबारेमा सम्बन्धित कम्पनीमा भन्न खोज्दा पनि सफल भइन । मैले त्यो कम्पनीमा इमेल लेखेर पठाएँ, फोन गरँे । वास्तै गरेनन् ।’

यस किसिमका गुनासा थुप्रै भेटिन्छन् । कतिपयले पकाउनुभन्दा पहिले नै देख्छन् र फाल्छन्, कतिपयले देख्दैनन्, खाएर बिरामी पर्छन् । यस्ता सडेका खाद्यवस्तुबाट बालबालिका बढी पीडित हुने गरेको पाइन्छ ।

म्याद नाघेका खानामा ढुसी लाग्ने सम्भावना धेरै हुन्छ । मानव स्वास्थ्यमा नराम्रो असर पार्ने ढुसीबाट उत्पन्न हुने विषहरुको समूहलाई माइकोटक्सिन्स भनिन्छ । विभिन्न प्रकारका माइकोटक्सिन्समध्ये अफ्लोटक्सिन मान्छे र पशुपक्षीको लागि पनि घातक हुन्छ । यसले कलेजोमा क्यान्सर गराउन सक्छ भन्ने अनुसन्धानकर्ता वैज्ञानिकहरुको धारणा छ । सन् १९६० मा टर्कीमा एक लाखभन्दा बढी टर्की नामका पक्षी मरे । कारण खोज्दै जाँदा थाहा भयो, ब्राजिलबाट ल्याइएको बदाममा ढुसी परेको रहेछ । अफ्लोटक्सिन नामक त्यही ढुसीले त्यति धेरै चल्ला मरेका रहेछन् । खाद्यवस्तुमार्फत यस्तो ढुसीले बालबालिका र गर्भवतीलाई बढी असर पु¥याउँछ । नेपालमा यस्ता ढुसी परेका पदार्थ खानेहरु गरिब र गाउँका बढी हुन्छन् । उनीहरु किन बिरामी हुन्छन् भन्ने कुरा नै थाहा पाइन्न तर धेरै घटनामा प्याकेटका खानाको ढुसीका कारण यस्तो भएको हुन्छ ।

केही समयअघि कर्णाली क्षेत्रको भ्रमणमा जाँदा मैले यसरी ढुसी परेको बदाम बच्चाको लागि बेच्न राखेको देखेको थिएँ । प्याकेटमा बन्द गरिएका त्यस्ता ढुसी परेका खानाले धेरैको कलेजोमा क्षति पुगेको हुन्छ तर पीडितले थाहा नै पाएका हुँदैनन् । यस्तो ढुसी परेको भोजनले रोगसँग लड्ने शक्ति पनि कम गर्छ । अहिले कोरोनाको बेलामा त यस्तो खानालाई आफ्नो खानाको सूचीबाटै हटाउनुपर्छ ।

हामीले प्रायः खाने पाकेटबाहिरको खाद्यवस्तु बदाममा पनि ढुसी लाग्ने सम्भावना धेरै हुन्छ । ढुसी लागेका खाद्यवस्तुलाई घाममा राख्दा घामको किरणले ढुसीको प्रभाव केही कम हुन सक्छ । कोसामा भन्दा छोडाएर राखिएको बदामको गेडामा बढी ढुसी उत्पन्न हुन्छ । त्यसैले बजारबाट ल्याएको बदाम कस्तो छ भन्ने राम्ररी हेर्नुपर्छ । त्यस्तै गरी पाकेटबन्द खानाहरुमा पनि ढुसी पर्ने सम्भावना धेरै हुने भएकाले प्याकेटमा राखेका यस्ता वस्तुलाई भोजनमा समावेश नगरेकै राम्रो हुन्छ । ढुसी भएको खाद्यवस्तु खाँदा शरीरभित्र ढुसी प्रवेश गरी कलेजो बिगार्न सक्छ । त्यसैले यस्ता वस्तुभन्दा घरका ताजा खानामा जोड दिनुपर्छ । घरको ताजा रोटी, हलुवा, खिचडी खाँदा कोरोनाको महमारी चलिरहेका बेला रोगसँग लड्ने शक्ति पनि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्