पाइल्स रोगको आयुर्वेदिक उपचार



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

हाल पाइल्ससम्बन्धी समस्या हुने व्यक्तिहरुको संख्या अत्यधिक बढेको पाइन्छ । पाइल्सका बिरामी यत्ति नै छन् भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन । विश्व स्वास्थ्य संगठनको भनाइअनुसार कुल जनसंख्यामा १० प्रतिशतलाई पाइल्सको समस्या हुनसक्छ ।

मानव शरीरमा लाग्ने धेरै रोगको कारण अस्वस्थ खाना र अस्तव्यस्त जीवनशैली नै हो । यस्ता कारणले हुने रोगहरुमध्ये पाइल्स पनि एक हो । पाइल्स गोप्य अङ्ग (दिसाद्वार) मा हुने हुँदा धेरै व्यक्तिहरु रोग लागे पनि समयमा चिकित्सकलाई देखाउन जाँदैनन् । यसले गर्दा पाइल्स बढ्दै जाने र पछि स्वास्थ्यमा अन्य समस्याहरु पनि देखिने हुन्छ ।

 

पाइल्स के हो ?

पाइल्स मानिसमा मात्रै देखिने रोग हो । पाइल्सलाई आधुनिक चिकित्साको भाषामा हेमोरोइड भनिन्छ । हिमको अर्थ ब्लड र सर भनेको रगतको फ्लो हो । यो दुवै शब्दबाट हेमोरोइड बनेको हो । सामान्य नागरिकले बुझ्ने भाषामा यस रोगलाई पाइल्स भनिन्छ । नेपालमा यस रोगलाई अर्श वा हर्ष भनेर पनि बुझ्ने गरिन्छ । मलद्वारको नसाहरुलाई पृथ्वीको गुरुत्व केन्द्रले तानिरहेको हुन्छ, जसले गर्दा पाइल्स हुन्छ ।

मानव शरीरको ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेन्टिमिटर लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ । पाइल्स भएमा मलद्वारको भित्री भाग तथा बाह्य भागमा मासुको डल्लोजस्तो गाँठो पर्ने गर्छ । जहाँबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दबाब दिएर दिसा बस्दा मलद्वारबाट मासुको डल्लोसमेत निस्कने गर्छ ।

 

महिलाहरु गर्भवती भएको बेलामा पेटको दबाब वृद्धि भएको अवस्थामा र बच्चा जन्मिएपछि ज्यादा मासु सेवनको कारणले पाइल्स हुन्छ ।

 

पाइल्स हुनुका कारणहरु

वंशाणुगत कारणले पाइल्स हुनसक्छ । त्यसबाहेक कब्जियत पाइल्सको मुख्य कारण हो । महिलाहरु गर्भवती भएको बेलामा पेटको दबाब वृद्धि भएको अवस्थामा र बच्चा जन्मिएपछि ज्यादा मासु सेवनको कारणले पाइल्स हुन्छ । त्यस्तै प्रोस्टेट गन्थि वृद्धिको कारण र मूत्रनली साँघुरो भएको कारणले पिसाब गर्दा कन्नुपर्ने अवस्थामा अनि उच्च रक्तचापको कारणले पनि पाइल्स हुनसक्छ ।

परिवारको कुनै सदस्यलाई पाइल्स भएको छ भने परिवारमा अरुलाई पनि हुने सम्भावना हुन्छ । दिसा निष्कासन हुने ठाउँमा रक्तनलीहरु हुन्छन् । कुनै कारणले ती रगत नली सुन्निएर आउनु र सोही नसा बाहिर निस्कनु अर्थात् तल झर्नु वा गुदाद्वारबाहिर निस्कनु नै पाइल्स हो । यस रोगमा कहिलेकाहीँ नसा बाहिर ननिस्कने र रगत झर्ने समस्या मात्र पनि हुन्छ ।

 

पाइल्स कस्ता व्यक्तिलाई हुन्छ ?

सेना, ट्राफिक प्रहरी, सुरक्षा गार्ड जो एकै ठाउँमा धेरै बेरसम्म बसिराख्नुपर्ने अर्थात् उभिइराख्नुपर्ने हुन्छ, त्यस्ता व्यक्तिमा पाइल्सको समस्या हुने सम्भावना धेरै हुन्छ । गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्भवती महिलालाई पाइल्सको समस्या हुने सम्भावना हुन्छ । गर्भावस्थामा धेरैलाई पाइल्स हुने हुन्छ । अनुभवको आधारमा भन्नुपर्दा नेपालमा २० वर्षभन्दा माथि उमेरका नागरिकमा यो रोग बढी देखिएको छ । २० वर्षभन्दा मुनिका व्यक्तिलाई हुँदैन भन्न खोजिएकोचाहिँ होइन, तर कम हुन्छ । अझ ३५ वर्ष कटेका व्यक्तिहरुमा यस्ता समस्या अलि धेरै देखिन्छ ।

 

पाइल्सका लक्षणहरु

दिसा बस्दा दिसामा रगत आउने, मलद्वारबाट मासु पलाउने, पानी बग्ने एवं चिलाउने पाइल्सका मुख्य लक्षणहरु हुन् । त्यस्तै मलद्वारबाट पलाएको मासु मलद्वारमा च्यापिएको अवस्थामा अत्यधिक दुखाइ हुन्छ । दिसा गर्ने ठाउँ अर्थात् मलद्वारवरिपरि चिलाउनु, मलद्वारबाट सिँगानजस्तो बग्नुजस्ता समस्याहरु पाइल्सको शुरुवाती लक्षण हुन् ।

उपचार

पाइल्सका चारवटा अवस्थाहरुमध्ये पहिलो र दोस्रो अवस्थामा सामान्यतया औषधिबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो अवस्थामा क्षारसूत्र विधिबाट उपचार गरिन्छ । मलद्वारबाहिर रहने पाइल्सको उपचार औषधि वा क्षारसूत्रबाट गर्न सकिन्छ । पाइल्सको उपचार एलोप्याथी चिकित्साबाट प्रभावकारी भएको मानिन्न । एलोप्याथी विधिबाट पाइल्सको शल्यक्रिया गराए पनि पाइल्स फेरि बल्झिने धेरै सम्भावना रहन्छ । अतः पाइल्स रोगमा आयुर्वेद पद्धति नै उत्तम मानिन्छ ।

पाइल्सको शुरुवातको अवस्थामा दिसालाई पातलो बनाउने वा खुलाउने औषधिको प्रयोग गर्न सकिन्छ । एउटा भाँडामा तातोपानी र त्यसमा थोरै नून राखेर मलद्वारलाई सेक्ने कार्य निकै प्रभावकारी मानिन्छ ।

कहिलेकाहीँ पाइल्सजस्तो मानिने क्यान्सर पनि शुरुमा दुख्ने र रगत बग्ने हुन्छ । तर धेरैले क्यान्सरलाई पनि पाइल्स भन्दै बस्न सक्छन् । बिरामीको तौल घट्ने, शरीरमा रक्तअल्पता हुने, शरीर कमजोर हुने, खान मन नलाग्नेजस्ता क्यान्सरका लक्षण हुन् । पाइल्सजस्तो रोग देखिए पनि यस्ता लक्षण भएको खण्डमा क्यान्सर हो कि भनेर स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ । तर सबै पाइल्स क्यान्सर हुँदैन । पाइल्स हुँदा क्यान्सर हो कि भनेर डराउनुपर्दैन । तर यस्तो लक्षण देखा परेको खण्डमा भने क्यान्सर हुनसक्छ र क्यान्सरको चिकित्सककहाँ जान अपरिहार्य छ । शुरुको अवस्थामा पाइल्स नै भए पनि यसको उपचार राम्रोसँग नभएमा क्यान्सर हुनसक्छ ।

 

पाइल्सको उपचार एलोप्याथी चिकित्साबाट प्रभावकारी भएको मानिन्न । एलोप्याथी विधिबाट पाइल्सको शल्यक्रिया गराए पनि पाइल्स फेरि बल्झिने धेरै सम्भावना रहन्छ ।

 

क्षारसूत्र विधि

क्षारसूत्र आयुर्वेद चिकित्सा पद्धतिमा शल्यक्रिया गर्ने एक विशेष विधि हो । क्षारसूत्र औषधियुक्त एक विशेष प्रकारको धागो हो । यो धागो तयार गर्न मात्रै २१ दिन लाग्छ । क्षारसूत्र प्रयोग गरेर गरिने उपचारलाई क्षारसूत्र विधि भनिन्छ । यो विधिबाट उपचार गर्दा पाइल्स दोहोरिने सम्भावना एकदमै कम हुन्छ । उपचारपछि बिरामीले तुरुन्त दैनिक काम गर्न सक्ने हुन्छ ।

यो विधिबाट उपचार गर्दा बिरामीलाई लोकल एनस्थेसियामा गर्न सकिन्छ र रगत चढाउनुपर्ने अवस्था सामान्यतया आउँदैन । यो उपचार कम खर्चिलो एवं ज्यादै प्रभावकारी छ । पाइल्स रोगको उपचार सकेसम्म आयुर्वेदको शल्य विशेषज्ञ चिकित्सकबाट मात्र लिनु सुरक्षित हुन्छ । जताततै यसको उपचार गराउन थाल्दा थप जटिलता पनि आउन सक्छ ।

 

पाइल्स रोगबाट बच्न के खाने, के नखाने ?

कब्जियतबाट बच्न हरसम्भव प्रयास गर्नुपर्छ । खानामा सागसब्जी, तरकारी, फलफूल प्रशस्त खानुपर्छ । पानी दैनिक ३–४ लिटर खानुपर्छ । आँटाबाट बनेको खानेकुरा खानुपर्छ । गहुँ, जौको सातु वा चिउरा दूधसँग खानु राम्रो हुन्छ । दैनिक व्यायाम गर्नु उचित हुन्छ । दूध तथा महीले पनि फाइदा पुर्‍याउँछ ।

मासु पलाएको अवस्थामा ओल अथवा सुरणको तरकारीले विशेष फाइदा पुर्‍याउँछ । मासु, माछा, अण्डा, दही, खुर्सानी, अदुवा खानुहुँदैन । अन्य मसलादार खानेकुरा पनि कम खानु राम्रो हुन्छ । बर्गर, पिज्जा खानुहुन्न । मैदाबाट बनेका खानाहरु जस्तै– चाउमिन, चाउचाउ, मम आदि खानुहुँदैन । त्यस्तै एकै ठाउँमा धेरै नबस्ने र धूमपान, मद्यपान नगर्ने बानी बसाउनुपर्छ । दिसा गर्दा धेरै बल लगाएर घन्टौं शौचालयमा बस्नुहुँदैन ।

गर्भावस्था, उमेर र वंशागुणत कारणले हुने समस्यालाई परिवर्तन गर्न सकिन्न । त्यसैले खानपान र शारीरिक व्यायामलाई ध्यान दिन जरुरी हुन्छ । गर्भावस्थामा पाइल्स हुन नदिनको लागि सागसब्जी बढी खाने, कब्जियत हुन नदिन आफूले पनि ख्याल गर्ने गर्नुपर्छ । पाइल्स सानो भए पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । सुर्तीजन्य र मादक पदार्थ धेरै खाने व्यक्तिमा पनि पाइल्सको समस्या देखिन सक्छ । सकेसम्म सुर्तीजन्य र मादक पदार्थ सेवन नगर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्