कोरोनाको तेस्रो लहर शुरु भएको अनुमान



नेपालमा कोरोना महामारीको तेस्रो लहर पनि आउने र यसले विशेष गरी बालबालिकालाई आक्रान्त पार्ने सम्बद्ध विज्ञहरुले आँकलन गरिरहेको सन्दर्भमा भारतको उत्तराखण्ड राज्यमा १९ वर्षमुनिका किशोर–किशोरीमा कोरोनाको महामारी फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार विगत डेढ महिनामा उत्तराखण्ड राज्यका १९ वर्षमुनिका १६ हजारभन्दा बढी किशोर–किशोरी कोरोना भाइरसको संक्रमणमा परिसकेको बताइएको छ । खासगरी १० देखि १९ वर्ष उमेर अवधिका किशोर–किशोरीमा फैलिँदै गएको यो महामारी तेस्रो लहरकै रुपमा आएको कतिपय विज्ञहरुले अनुमान गरेका छन् । त्यहाँ स्वास्थ्य संस्थाहरुले अब यो महामारी उत्तराखण्डमा मात्र सीमित नभई अन्य राज्यमा पनि फैलिन सक्नेतर्फ सचेत गराएका छन् । त्यहाँ विशेष गरी एउटै भवनमा जम्मा भएर भिडियो गेम खेल्ने, अनलाइन क्लास लिने, सुकुम्बासी बस्तीहरुमा साँघुरो स्थानमा बस्ने बालबालिका र पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कोरोना भाइरस फैलिएको छ । पहाडी क्षेत्रमा कोरोना फैलिँदैन भन्ने भ्रम पालेर सावधानीका उपाय नअपनाएका कारण पनि त्यहाँ यो रोगको संक्रमण भइरहेको अनुमान छ ।

भारतको उत्तराखण्डजस्तै हावापानी भएको र बसोबासको स्थिति पनि प्रायः उस्तै भएकोले नेपालमा पनि तेस्रो लहरका रुपमा छ्ट्टिै नै कोरोना भाइरस फैलिन सक्ने अनुमान गरिएको छ । अहिले नेपालमा १८ वर्षभन्दा माथिकालाई मात्र कोरोनाविरुद्धको भ्याक्सिन लगाउने गरिएको छ ।

स्रोत: बीबीसी र अन्य सञ्चारमाध्यम
प्रतिक्रिया दिनुहोस्