कस्मेटिकले रुप बिगार्दै महिलाहरु



लक्ष्मण अधिकारी

सुन्दर, आकर्षक र चिटिक्क परेर हिँड्न कसलाई मन पर्दैन र ? 

गोरो तथा तनक्क परेको चम्किलो, मुलायम छाला, कालो घना कपाल, सुडौल शरीर सबैको चाहना हुन्छ । तर गोरो बन्ने चाहना पूरा गर्न अनुहारमा खाक्सी नै घोटेर गालाबाट रगत र आँखाबाट आँसु चुहाउँदै छाला रोग विशेषज्ञकहाँ पुग्दाचाहिँ डाक्टरहरु नै छक्क पर्छन् र भन्छन्, ‘ल केटीहरुको मूर्खताले हद नाघ्यो, काठ चिल्लो पार्ने खाक्सीले गाला घोट्नु हुन्छ त ?’  

जन्मजात वा विभिन्न रोग, चोटपटक आदिका कारण दाग–धब्बा तथा खत भएका रोगले सताएकाहरुको अनुहारको छाला उपचार गर्नु त ठिक्कै हो तर दाग–धब्बा हटाउने र गोरो बन्ने लहडमा अनुहारमा जे पायो त्यही दलेर कुरुप भई चिकित्सकहरुकहाँ धाउनेहरुको संख्या बढिरहेकोमा भने छाला रोग विशेषज्ञहरुलाई नै चिन्तित बनाएको छ । 

गोरो हुन, अनुहारको दाग हटाएर राम्री/राम्रो हुनका लागि कतिपयले अनुहारमा खाक्सी घोटेर रगत निक्लेपछि ‘मैले त बर्बादै गरेँ’ भन्दै उपचारका लागि आउनेहरु पनि छन् ।

‘शुरुमा विज्ञापनका भरमा ‘वा! क्या लब्ली लब्ली’ भन्दै आफूखुसी क्रिम लगाउँछन् र पछि अग्ली (कुरुप) भएर निरास अनुहारमा उपचारका लागि अस्पताल आउनेहरु अहिले थुप्रै भएको’ वरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. सन्जुबाबु श्रेष्ठ बताउनुहुन्छ । डा. सन्जुबाबु श्रेष्ठ नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल छाला तथा यौन रोग विभागको प्रमुख तथा कन्सल्ट्यान्ट हुनुहुन्छ । छाला तथा यौन रोग विशेषज्ञ डा. श्रेष्ठ सौन्दर्य प्रसाधन, लेजर तथा केश प्रत्यारोपण विशेषज्ञ हुनुहुन्छ ।

तस्वीर : उजोल डंगोल

सौन्दर्य प्रसाधन (कस्मेटिक) हरुको जथाभावी प्रयोग, यससम्बन्धी विभिन्न भ्रम तथा अज्ञानताका कारण मानिसहरुले आफ्नै सुन्दरता बिगारिरहेको र कोभिड भएका विशेष गरी महिलाहरुको केश झर्ने समस्याले तनाव सिर्जना गरिरहेको सन्दर्भमा प्रस्तुत छ डा. सन्जुबाबु श्रेष्ठसँग कुराकानी गरी महत्वपूर्ण जानकारीहरु समेटेर तयार गरिएको ज्ञानवद्र्धक लेख :

गाला घोटेर राम्री हुने व्यर्थ प्रयास 

मानिस सुन्दर हुनका लागि छालाको महत्वपूर्ण भूमिका हुने भए पनि यसले मात्र पूर्ण हुँदैन । अनुहारको बनावट, कपाल, नङ, शरीरको संरचना र उसको बानी व्यहोराको पनि महत्व हुन्छ । 

नेपाली समुदायमा गोरो छालालाई राम्रो मानिन्छ तर गोरो हुनु नै समग्रमा राम्रोपन होइन । खासगरी अफ्रिकनहरु काला हुन्छन् र कालो छालामा नै मिलेको अनुहार, मुख, आँखा, नाक, कपाल, दाँत, नङ, शरीरको संरचना आदिको कारण सुन्दर देखिएका हुन्छन् । छालाको कुरा गौण भइदिन्छ । कस्तो छाला राम्रो भन्ने कुरा आ–आफ्नो सोचमा भर पर्ने कुरा हुन् । यस्तो रङको छालाचाहिँ राम्रो भन्ने संसारभर एउटै मान्यता हँुदैन । मेरो विचारमा जुन मानिससँग जे छैन, त्यसको चाहना गर्ने प्रवृत्ति हुन्छ । एकदम गोरो मानिस अलि कालो हुन खोज्छ, कालो मानिस गोरो हुन खोज्छ । गोरो छाला मात्र हुँदैमा सुन्दर कहाँ हुन्छ र ? टेक्स्चर ९त्भहतगचभ०  मिल्नुपर्‍यो, टोनिङ भएको हुनुपर्‍यो, मुलायम, चमक भएको र तन्किएको हुनुपर्‍यो, चाउरी परेको  हुनुभएन । साथै दागधब्बा नभएको हुनुपर्छ । कालो, गोरो, सेतो, गहुँगोरो जस्तो भए पनि छाला स्वस्थ हुनुपर्छ, अनि राम्रो हुन्छ । गोरो मात्र राम्रो भन्ने धारणा ठीक होइन । 

तर धेरै मानिसहरु गोरो छाला हुनु नै राम्रो हो भन्ने सोचका कारण गोरो हुनका लागि जे पनि गर्न तयार भएको पाइन्छ । उनीहरु साथीहरुको लहैलहैमा वा विज्ञापनको प्रभावमा परेर, युट्युबहरु हेरेको भरमा गोरो हुने दाबी गरिएका क्रिमहरु लगाएर अनुहारको छाला कुरुप भएपछि बल्ल विशेषज्ञ डाक्टर खोज्दै आउँछन् । 

गोरो हुन, अनुहारको दाग हटाएर राम्री/राम्रो हुनका लागि कतिपयले अनुहारमा खाक्सी घोटेर रगत निक्लेपछि ‘मैले त बर्बादै गरेँ’ भन्दै उपचारका लागि आउनेहरु पनि छन् । यसमध्ये एउटी १७–१८ वर्षकी किशोरी थिइन् । उनले आफ्नै दुर्बुद्धिले फर्निचर घोट्ने खाक्सीले गालामा घोटेर राम्रो हुने प्रयास गरेकी थिइन् । धेरै गहिराइमा घाउ नभएकोले विभिन्न उपचार गरेर सामान्य अवस्थामा ल्याउन सकियो तर यसले उनलाई तनावका साथै आत्मग्लानि भयो, खर्च धेरै भयो । 

युवतीहरुले विभिन्न वस्तुहरुले अनुहारको छाला घोटेर बाहिरी भाग हटाई राम्री हुने प्रयास गर्ने गरेको पाइएको छ । कसैले ओखरको बोक्राको धूलो बनाएर, कसैले बालुवाले, कसैले महमा चिनी मिसाएर अनुहार घोट्ने गर्छन् । यसरी अरुले भनेका भरमा जथाभावी अपनाइएका विधिहरुले क्षणिकरुपमा अनुहार राम्रो भएको अनुभूति कसैलाई देला, अन्ततः दीर्घकालमा त्यसले  कुरुप नै बनाउँछ ।

गोरो बनाउने क्रिम: नाम ‘लब्ली’ काम ‘अग्ली’

सौन्दर्यका दृष्टिले जुनसुकै रङको छाला पनि सुन्दर हुने र स्वास्थ्यका दृष्टिले धेरै गोरोभन्दा अरु रङको छाला राम्रो हुने भए पनि खासगरी दक्षिण–पूर्वी एसियाका मानिसलाई गोरो नै राम्रो हो भन्ने भ्रम छ । त्यसले गर्दा साथीभाइले सुझाएको, विज्ञापनमा प्रचार भएको वा औषधि पसलेले भनिदिएको भरमा छालाको परीक्षण नै नगरी गोरो बनाउने दाबी गरिएका कस्मेटिकहरु लगाएर धेरै महिलाले आप्mनो रुपलाई झन् बिगारिरहेका छन् ।

यस्तै गरी ‘कोरिया, अमेरिका, अस्ट्रेलिया, क्यानडाबाट आफन्तजनले ल्याइदिएको स्किन केयर प्रोडक्ट (क्रिम आदि) चाहिँ असाध्य राम्रा’ हुन्छन् भनेर नेपालीहरु विश्वास गर्छन् । त्यस्तै ‘आयुर्वेदिक तथा होमियोपेथिक उत्पादनहरु, हर्बल उत्पादनहरुको साइड इफेक्ट नै हुँदैन’ भन्ने गलत अवधारणा नेपालीहरुमा बनेको पाइन्छ । यसलाई त्याग्न जरुरी छ । किनभने कुनै पनि क्रिम बनाउँदा केमिकल मिसाइएको हुन्छ । जुनसुकै केमिकलले पनि मानिसको छालामा कुनै न कुनै रुपमा क्षति वा असर गर्न सक्छ । 

अहिले बजारमा अनुहारको विश्लेषण गर्ने थुप्रै किसिमका मेसिन उपलब्ध छन् । कसलाई कस्तो क्रिम लगाउँदा ठीक हुन्छ भनेर विश्लेषण गरी क्रिमहरु लगायो भने त्यसले राम्रो परिणाम दिन सक्छ । त्यसैले अनुहार विश्लेषण नगरी अरुले भनेका भरमा, सामाजिक सञ्जालमा हेरेका भरमा छालामा लगाउने क्रिमहरु नलगाउन मेरो सल्लाह छ ।  

‘लगातार ६ हप्ता लगायो भने गोरो बनाउँछ’ भनेर दाबीसाथ प्रचार गरिएको क्रिमले शुरुमा केही गोरो बनाउँछ तर यसले क्षणिक खुसी दिए पनि दीर्घकालमा हानि पुर्‍याउँछ । त्यसकारण त्यस्ता उत्पादन जरुरी नै छ भने सम्बन्धित विशेषज्ञको परामर्शमा मात्र लगाउनुपर्छ ।  

गोरो छाला सबैलाई सुन्दर लाग्ने र गोरो बनाउने दाबी गरिएका क्रिमले दाबीअनुसार काम गर्ने भए अफ्रिकाका कम्तीमा धनी काला जातिहरु सबै गोरा हुन्थे होलान् । संसारमा कुनै पनि त्यस्तो क्रिम छैन, जसले विनाहानि कालोलाई गोरो बनाओस् । वास्तवमा स्वास्थ्यको दृष्टिले भन्ने हो भने धेरै गोरो छाला पनि हानिकारक छ । युरोप, अमेरिकाका सेतो छाला भएका मानिसहरुमा छालाको क्यान्सर बढी भएको पाइएको छ । सेतो छालामा छालालाई सुरक्षित गर्ने एवं क्यान्सरबाट बचाउने मेलानिन नामक तत्वको कमी हुने हुँदा गहुँगोरो छाला नै स्वास्थ्यका दृष्टिले राम्रो हो ।

पोतो हटाउन खोज्दा विरुप 

चाया–पोतो गाला, निधार, नाक र ओठमाथि अलि कालो धब्बाजस्तो भएर आउँछ । यो समस्या किन हुन्छ ? अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले यसको उपचार पनि छैन भन्दा हुन्छ । तर कतिपय चिकित्सकहरुले नै ‘चार महिना वा छ महिनामा ठीक गरिदिन्छु, यति खर्च लाग्छ’ भनेर ठूलो रकम माग्ने, ग्यारेन्टी गर्ने गरेको सेवाग्राहीहरु नै सुनाउँछन् । रोगको कारण नै थाहा पाइसकेको छैन भने उपचारको ग्यारेन्टी कसरी हुनसक्छ ?  यदि कसैले यस्तो दाबी गर्छ भने त्यो सरासर  झुटो दाबी हो । 

रोग देखिनुको कारण पत्ता लागिसकेको नभए पनि के कारणले चाया–पोतो बढ्छ भन्ने कुराचाहिँ पत्ता लागेको छ, त्यसैले बढ्नबाट चाहिँ धेरै हदसम्म रोक्न सकिन्छ । अहिलेसम्मको अध्ययनले सूर्यको पाराबैजनी किरण (अल्ट्राभ्वाइलेट रे) चाया–पोतो वृद्धि गर्ने मुख्य कारण मानिदै आएको छ । साथै अहिले त कम्प्युटर, टेलिभिजन, मोबाइलको लाइटले पनि बढाउँछ भन्ने कुरा आएको छ । चाया–पोतो बढाउने मुख्य कारक तत्व लाइट नै हो । त्यस्तै कुपोषण, तनाव, जथाभावी कस्मेटिकको प्रयोग, हर्मोनहरुको गडबडी, परिवार नियोजनका चक्की, गर्भावस्था र कहिलेकाहीँ अरु औषधिको सेवनका कारण पनि चाया–पोतो वृद्धि हुनसक्छ । कसै–कसैलाई कपालमा लगाउने विभिन्न तेल (जस्तो– तोरी, नरिवल) र कपाल रंग्याउने रङ (हेयर कलर) को कारणले पनि चाया बढ्न सक्ने देखिएको छ । चाया–पोतो वृद्धि गर्ने यी कारणहरुबाट जोगिन सकेमा धेरै हदसम्म यसलाई नियन्त्रण गर्न सकिन्छ । साथै सम्बन्धित विशेषज्ञको सिफारिसअनुसार चाया हटाउने औषधि तथा क्रिमहरु पनि लगाउनुपर्छ । औषधिले मात्र उपचार भएन भने अरु उपचार पद्धति जस्तो– लेजर एन्ड लाइट पद्धति, केमिकल पिलिङ आदिबाट पनि उपचार गरिन्छ । तर बचावटका उपाय अपनाइएन भने रोग फेरि  फर्किएर आउन सक्छ । 

बजारमा चाया–पोतोको औषधि छ्यापछ्याप्ती पाइन्छन् । ती औषधिहरुमा स्टेरोइड (Steroid) भन्ने तत्व मिसिएको हुन्छ । यस्ता तत्व भएका क्रिम लगाउँदा निश्चिय नै राम्रो हुन्छ, तर स्टेरोइडको प्रयोगले छालामा धेरै किसिमका नकारात्मक असर (छाला पातलो हुने, रातो हुने, रौँ निस्कने, भित्रका नसाहरु देखिने) हुने गर्छ । यस्तो समस्या भइसकेपछि उपचार गर्न गाह्रो हुन्छ । त्यसैले स्टेरोइड भएको मलम प्लिज नलागाइदिनुहोला ।

चिकित्सकको सल्लाहअनुसार आफूलाई उपयुक्त हुने कुनै सनस्क्रिन नियमितरुपमा लगाएमा भविष्यमा हुने दागको समस्या, चाउरीपनको समस्यालगायत छालाको अरु केही रोगहरुबाट बच्न सकिन्छ । बजारमा पाइने अधिकांश सनब्लकहरुले सूर्यको किरणलाई मात्र रोक्न सक्छन् । मोबाइल, कम्प्युटर, टिभीबाट आएको लाइटलाई सामान्यरुपमा प्रयोग गरिने सनब्लकले काम गर्दैनन् । आइरन अक्साइड भएको टिन्टेड (Tinted) सनब्लक लगाएमा यस्ता भिजिबल लाइटलाई केही हदसम्म रोक्न सक्छ । भिजिबल लाइटले चाया–पोतो बढेको हो भन्ने लाग्छ भने यस्तो सनब्लक लगाउनुपर्छ । साथै यस्ता सनब्लक क्रिम दैनिक कतिपटक र कति मात्रामा लगाउने भन्ने कुरा पनि थाहा पाउनुपर्छ । यी क्रिमले तीन–चार घण्टाभन्दा बढी काम गर्दैनन् ।  

चाया–पोतो महिलालाई अलि बढी र पुरुषलाई अलि कम देखिन्छ । महिलाहरुमा हर्मोनको गडबडी हुने, गर्भवती हुने हुन्छ । उनीहरु अनुहारमा अलि बढी केमिकल प्रयोग गर्छन् । केमिकलले पनि पोतो आउँछ । केटाहरु कस्मेटिक प्रायः प्रयोग गर्दैनन् । त्यसैले पनि उनीहरुमा यो समस्या तुलनात्मकरुपमा कम छ ।

डन्डिफोर त निको हुन्छ 

डन्डिफोर किशोर अवस्थामा शुरु हुन्छ र २५–२६ वर्षको उमेरमा प्रायः हराइसकेको हुन्छ । केहीलाई चाहिँ ४० वर्षको उमेरमा पनि फाट्टफुट्ट डन्डिफोर आउँछ तर समस्याको रुपमा हुँदैन ।

शरीरमा सेवासियस ग्लान्ड (Sebaceous gland) हुन्छ र यो सबैभन्दा बढी अनुहारमा हुन्छ । छाती, ढाड र पाखुरामा पनि हुन्छ । शरीरको जुन भागमा सेवासियस ग्लान्ड हुन्छ, त्यही ठाउँमा पिम्पल्स वा डन्डिफोर आउँछ । हर्मोनको गडबडीको कारणले सेवासियस ग्लान्डले सिवम् भनिने चिल्लो पदार्थ बढी उत्पादन गर्छ तर यो चिल्लो सजिलै बाहिर निस्कन पाउँदैन अनि डन्डिफोरको रुपमा देखा पर्छ । रातो, पहेँलो फोकाको रुपमा देखिन्छ । यस्तो फोका चिमोट्ने, निचोर्ने गर्दा घाउ हुन्छ र स्थायीरुपमा दाग बस्न सक्छ । यस्तो खतको उपचार गर्न गाह्रो हुन्छ । यसै कारण डन्डिफोरलाई कोट्याउनु, निचोर्नुहुँदैन । 

डन्डिफोर आएमा उपचार गर्न आवश्यक छ । यसको उपचार सजिलो छ । राम्रो फेस वासले धुने, डन्डिफोरका लागि लगाउने राम्रो मलहम लगाउने गर्नुपर्छ । सनब्लक क्रिम लगाइरहनुपर्छ । चिकित्सकको सल्लाहमा खाने औषधि पनि लिनुपर्छ । अरुले भनेको भरमा अनुहारमा टुथपेस्ट, लसुन, कागती लगाउनुहुँदैन ।

डन्डिफोर हुनुको कारण हामीलाई थाहा भएकोले यसको उपचार शत प्रतिशत नै सम्भव हुन्छ ।  यदि उपचारले निको भएन भनेचाहिँ उसको सही उपचार भइरहेको छैन भनेर बुझे हुन्छ ।

चाउरीपनबाट कसरी बच्ने ? 

जन्म र मृत्युको बीचका कतिपय कुरा हामीले स्वीकार गर्दै जानुपर्ने हुन्छ । त्यसमध्ये चाउरीपना पनि एक हो । घामको अल्ट्राभायलेट रे चाउरीपनाको मुख्य कारण हो । साथै धूलो, धुवाँलगायतको प्रदूषण, धूमपान गर्नु, मद्यपान गर्नु, पोषणयुक्त खाना नखानु, पानी कम पिउनु, छाला सुख्खा हुनु, आदि छाला चाउरी पर्ने र दागहरु आउने मुख्य कारण हुन् । भित्री कारणहरुमा बोसोको मात्रा कम हुँदै जानु, कोलाजन लस भएर पनि चाउरीपना हुन्छ । यसले गर्दा छाला खुकुलो हुँदै आउँछ र चाउरीपना बढ्दै जान्छ । 

छालालाई नरम बनाइराख्नुपर्छ । यसको लागि छाला नरम पार्ने क्रिम लगाइराख्नुपर्छ । घामबाट अनुहारलाई जोगाउनुपर्छ । प्रशस्त मात्रामा पानी पिउनुपर्छ । शरीरलाई पानी पुगे/नपुगेको थाहा पाउन पिसाबको रङ हेर्नुपर्छ । यदि पिसाब पहेँलो आउँछ भने पानी बढी पिउनुपर्छ र पानीजस्तै सेतो कन्चन छ भने पानी  पुगेको बुझ्नुपर्छ । 

त्यस्तै गरी भिटामिन ‘सी’, भिटामिन ‘ई’ लगायत विविध किसिमका भिटामिन र खनिज भएका फलफूल र तरकारीहरु खाइरहनुपर्छ । फलफूल, तरकारी छान्दा विविध रङका छान्नु राम्रो हो । आहार सन्तुलित हुनुपर्छ, त्यसमा पनि फलफूल तरकारीमा जोड दिनुपर्छ । सनब्लकचाहिँ अनिवार्यरुपमा लगाएकै हुनुपर्छ । यति गर्दा पनि चाउरीपना धेरै आयो भने एन्टिरिंकल क्रिमहरु लगाउनुपर्छ । साथै आवश्यक पर्दा सर्जिकल विधि, लेजर विधि प्रयोग गरिन्छ । औषधि प्रभावकारी नहुँदा बढी प्रयोग गरिनेचाहिँ बोटक्स इन्जेक्सन नै हो । 

‘बोटक्स भनेको हिरो–हिरोइनले मात्र लाउने हो, उमेर गइसकेपछि लगाउने हो’ भन्ने आम मानिसहरुको सोचाइ रहेको हुन्छ । तर अहिले बोटक्स धेरैले प्रयोग गर्न थालेका छन् । बोटक्स भनेको प्रशोधित प्रोटिन हो । यसको इन्जेक्सन लगाएको खण्डमा मांसपेशीलाई रिल्याक्स वा आराम पुग्छ । छाला विशेषज्ञहरुद्वारा बोटक्स सबैभन्दा बढी अनुहारमा प्रयोग गरिन्छ । हाँस्दा आँखाको छेउमा आउने चाउरी, रिसाएको बेला निधार र आँखिभौँतिर आउने चाउरी र कसै–कसैको नाकको तल्लो भागको दायाँ–बायाँ आउने चाउरी हटाउन यसको  प्रयोग गरिन्छ । यस्तै कसैको चौडा खालको अनुहार छ र छालालाई उचालेर मिलाउनुपर्‍यो भने पनि बोटक्स प्रयोग गरिन्छ । बोटक्स इन्जेक्सन आवश्यकताअनुसार सम्बन्धित चिकित्सकको परामर्शमा लगाउनुपर्छ । बोटक्स सुन्दरताको लागि मात्र होइन, उपचारका लागि पनि लगाइन्छ । हात, पैताला, काखीमा धेरै पसिना आउने मानिसलाई पनि यो प्रयोग गरिन्छ । एकपटक इन्जेक्सन लगाएपछि चारदेखि छ महिनासम्म काम गर्छ । 

समग्रमा भन्नुपर्दा गोरो हुनु मात्र सुन्दरताको प्रतीक होइन । छाला सुन्दर हुनका लागि छाला स्वस्थ हुन जरुरी छ । छालालाई स्वस्थ राख्नका लागि घामबाट बचाउने, चिकित्सकको सल्लाहमा आफूलाई मिल्ने क्रिम तथा सनब्लक लगाउने, सन्तुलित खाना खाने, प्रशस्त पानी पिउने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्