तपाईंलाई पनि चिल्लो पच्दैन कि ?



हामी जे खान्छौँ त्यसको स्वाभाविक असर शरीरमा पर्छ । त्यसकारण पौष्टिक भोजन खानु जरुरी छ । साथै राम्रो स्वास्थ्यका लागि हामीले खाएको खाना राम्ररी पच्न पनि जरुरी छ । हाम्रो खानामा चिल्लो पदार्थको पनि अति जरुरी हुन्छ । चिल्लोविना शरीर चल्दैन भन्दा पनि हुन्छ । तर कतिपयलाई चिल्लो पदार्थ नपचेर समस्या भइरहेको हुन्छ । हामीले खाएको चिल्लो अस्वस्थकर छ भने त्यो अपच हुनुका साथै त्यसले अनेक समस्या ल्याउँछ । स्वस्थकर चिल्लोले भने धेरै फाइदा पुर्‍याउँछ । चिल्लोबाट फाइदा प्राप्त गर्नका लागि यो पच्न आवश्यक छ । पुनः प्रयोग गरिएको चिल्लो अस्वस्थकर मानिन्छ । 

हाम्रो खानामा मुख्यतः तीन तत्व हुन्छन्– कोर्बोहाइड्रेट, प्रोटिन र चिल्लो अर्थात् फ्याट । हामीले खाने हरेक खानामा कुनै न कुनै मात्रामा चिल्लो रहेकै हुन्छ ।

फिट्नेसप्रति जागरुक कतिपयले चिल्लो पदार्थले मुटुको बिमारी हुने, मोटोपन हुने हुन्छ भनेर चिल्लो पदार्थ खानामा समावेश नगर्ने प्रयास गर्छन् । विशेषज्ञहरुका अनुसार यो तरिका गलत हो । चिल्लो पदार्थकै कारण शरीरमा ऊर्जा प्राप्त हुन्छ । साथै चिल्लोको कारणले नै शरीरका विभिन्न अंगहरु क्रियाशील हुन्छन् । त्यस्तै हर्मोनको विकास गर्नका लागि पनि चिल्लोको जरुरत पर्छ । अर्थात् चिल्लो पदार्थ हामीले ग्रहण गरेनौँ भने हामीलाई विभिन्न समस्या पर्न सक्छ । ‘जिरो फ्याट डाइट’ले शरीर चल्दैन । 

चिल्लो पदार्थ शरीरका लागि आवश्यक छ र पच्नु पनि पर्छ । चिल्लो पचाउनका लागि खाना खाँदा राम्ररी चपाउनुपर्छ । किनकि खानाको पाचन प्रक्रिया मुखदेखि नै आरम्भ हुन्छ । राम्ररी चपाएको खाना पेटमा पुगेर छिटो तथा राम्ररी पच्ने हुन्छ तर राम्ररी चपाएको छैन भने पच्न मुस्किल हुन्छ । 

चिल्लो पदार्थ राम्ररी पचेन भने छालामा सुख्खापन आउँछ । छालाको ठीकमुनि चिल्लो पदार्थ रहेको हुन्छ, यसले शरीरलाई रक्षा पनि गर्छ ।

चिल्लो कम भएमा वा नपचेमा हरदम थकान महसुस हुन्छ । त्यसैले ठीक मात्रामा चिल्लो दैनिकरुपमा खानुपर्छ । धेरै चिल्लोयुक्त खाना र पुनः प्रयोग गरिएको चिल्लोयुक्त खानाचाहिँ पच्दैन । चिल्लो पचेन भने कमोड वा प्यानमा दिसा गर्दा पानीको तल्लो भागमा नबसी दिसा पानीमा तैरिन्छ र यो हल्का पहेँलो रंगको हुन्छ । फ्लस गर्दा पनि प्रायः जाँदैन । कहिलेकाहीँ हुनु सामान्य हो र सधैँ भएमा चिकित्सकको सल्लाह जरुरत हुनसक्छ । 

चिल्लो पदार्थ राम्ररी पाचन नहुँदा छाती पोल्ने हुन्छ । नाइटोमाथि दुख्ने, असजिलो भइरहने हुन्छ । चिल्लो राम्ररी नपच्दा पेट फुल्ने पनि हुनसक्छ । चिल्लो राम्ररी पचेन भने धेरै चिल्लो भएको खाना खानुहुँदैन । साथै स्वस्थ चिल्लो भएको खाना खानुपर्छ । स्वस्थ चिल्लोको लागि काजु, बदाम, ओलिभ ओयल, ओखर, एभोकाडो, माछा सेवन गर्न सकिन्छ । चिल्लो नपच्ने समस्या धेरै भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । 

स्रोत:ओन्ली माइ हेल्थ 

प्रतिक्रिया दिनुहोस्