आकस्मिक गर्भ निरोधका साधन



प्रा.डा. सुमनराज ताम्राकार

स्त्री तथा प्रसूति रोग बहिरंग विभागमा अनिच्छित गर्भको सम्बन्धमा जिज्ञासा राख्ने सेवाग्राहीहरुको जमात पनि ठूलै हुन्छ । यौनसम्पर्कको दौरान कन्डम फुट्यो भने के गर्ने ? विवाहलगत्तै कुनचाहिँ साधन अपनाउँदा उपयुक्त होला ? विवाहपूर्व आकस्मिक यौनसम्बन्ध हुन जाँदा गर्भ रहन नदिन के गर्ने ? ७२ घण्टे चक्की खाएपछि भविष्यमा के–कस्तो असर देखा पर्छ ? ७२ घण्टे चक्कीले भोलि–पर्सि गर्भ आउन समस्या गराउने हो कि ? भन्ने जस्ता जिज्ञासाहरु बरोबर आइरहन्छन् ।

असुरक्षित यौनसम्पर्कका कारण एचआईभी/एड्स लगायतका यौनरोग सर्ने समस्याको जोखिम त हुन्छ नै । साथै महिनावारी चक्रका सबै दिनमा असुरक्षित यौनसम्पर्क भैहाले पनि गर्भ आइहाल्ने भन्ने होइन । साधारण नागरिकले त कुरै छाडौं, कलेजस्तरमा अध्ययनरत टिनएजरहरुमा पनि महिनावारी चक्रको कहिलेतिर डिम्ब निष्कासन हुन्छ र गर्भ रहन्छ भन्ने खासै तात्विक जानकारी नहुँदो रहेछ ।

भलै प्रायः ती सबैले माध्यमिक स्तरदेखि कलेजस्तरको विज्ञानमा प्रजनन प्रणालीअन्तर्गत यस मामिलामा निरन्तर पढ्नुपर्छ । यसले नेपालको शिक्षा नीतिको गुणस्तरीयता वा व्यावहारिकता पक्ष कस्तो छ भन्ने पनि दर्शाउँछ । त्यसैले यौनजन्य संक्रमणको जोखिमबाहेक असुरक्षित यौनसम्पर्कका कारण रहन सक्ने गर्भको मामिलामा महिनावारी चक्रका सबै दिन गर्भ रहन्छ भन्ने होइन ।

आकस्मिक गर्भ निरोधका लागि ७२ घण्टे चक्की मात्रै उपाय हो भन्ने चाहिँ होइन ।

यसको अर्थ श्रीमती वा महिला पार्टनर वा केटी साथीको अन्तिम महिनावारी कहिले भएको भन्ने सामान्य जानकारी पनि नलिई सीधै ७२ घण्टे चक्की ख्वाउनु मुख्र्याइँ हो । नियमित महिनावारी (२८ देखि ३२ दिनमा) हुने महिला वा युवतीहरुमा पछिल्लो महिनावारीको १४ औं दिनताका डिम्ब निस्किन्छ ।

साधारणतः डिम्ब निस्केको वा डिम्ब निस्किने एक हप्ताअगाडि वा पछाडि गर्भ रहने सम्भावना निकै बढी हुन्छ । यही करिब दुई हप्ताको अवधिमा असुरक्षित यौनसम्पर्क रहन गएको भए मात्र गर्भ रहन सक्छ । अर्थात् आकस्मिक गर्भ निरोधका उपायहरु अपनाउनुपर्दछ । त्यसो भन्दैमा आकस्मिक गर्भ निरोधका लागि ७२ घण्टे चक्की मात्रै उपाय हो भन्नेचाहिँ होइन ।

यसो भन्दै गर्दा आकस्मिक गर्भ निरोधलाई परिवार नियोजनका साधनहरुका विकल्पका रुपमा लिने, गर्भपतनका विकल्पका रुपमा लिने गल्ती गर्नुहुँदैन । किनकि आकस्मिक गर्भ निरोधमा हाई डोजका हर्मोनहरु प्रयोग गरिने हुनाले महिला वा किशोरीको शरीरमा अल्पकालीन वा दीर्घकालीन असर पर्ने सम्भावना हुन्छ । यस मामिलामा पुरुष पार्टनर वा ब्वाई फ्रेन्ड पनि त्यति नै संवेदनशील, विचारपरक र जिम्मेवार हुनुपर्छ ।

तसर्थ कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवं सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित तरिकाले यौनसम्पर्क राख्नु नै बुद्धिमानी हुन्छ । यसका लागि नवविवाहित दम्पतीले सुरक्षित महिनावारी चक्रको सही प्रयोग वा कन्डमको उचित प्रयोग गर्नुपर्दछ ।

गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौनसम्पर्क, वीर्य स्खलन, डिम्ब निशेचन तथा डिम्बारोपणको तारतम्य मिल्नुपर्दछ । त्यसो त प्राकृतिक र चिकित्सकीय नै भए पनि थुप्रै खालका गर्भ निरोधका उपायहरु हुँदाहुँदै पनि सतर्कता नअपनाएर, परिवार नियोजनका साधन बेलैमा उपलब्ध नभएर वा फेल खाएर, यसको प्रयोगमा आलस्यता गरेर, बलात्कार (बलजफ्ती करणी) मा परेर असुरक्षित यौनसम्पर्क हुनु अनिच्छित गर्भ रहन सक्ने परिस्थितिहरु हुन् ।

माथि उल्लिखित परिस्थितिहरुको परिणामस्वरुप गर्भ रहन नदिनको लागि अपनाउने कतिपय परिवार नियोजनका साधनहरुको प्रयोगलाई आकस्मिक गर्भ निरोध वा मेडिकल भाषामा ‘इमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ ।

आकस्मिक गर्भ निरोधहरु

अचेल आकस्मिक गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यसअघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की प्रयोग गरिन्थ्यो । यी पिल्स चक्कीमा पनि साधारण पिल्स चक्कीकै हर्मोनहरु हुने हो तर हर्मोनको मात्रा भने बढ्ता हुन्छ ।

आकस्मिक गर्भ निरोधअन्तर्गत युज्पे विधिमा ०.२५ मि.ग्रा. लेभोनोरजेस्ट्रेल तथा ५० माइक्रोग्राम इथिनाइल इस्ट्राडिओलयुक्त ओभरल नामक पिल्स चक्की शारीरिक सम्पर्क भएको यथाशक्य चाँडो दुई चक्की खानुपर्दछ । त्यसको १२ घण्टापछि पुनः थप दुई चक्की ओभरल खानुपर्दछ ।

त्यसै गरी लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको इक्सी नामक पिल्स चक्की दुई मात्रा १२ घण्टाको अन्तरालमा खानुपर्दछ । इक्सीको पहिलो मात्रा असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्दछ । यो १२ घण्टाको फरकमा दुईपटक वा एकै मात्रा गरेर पनि खान सकिन्छ ।

यस्ता खाले हर्मोनयुक्त औषधिहरुको प्रयोग असुरक्षित यौनसम्पर्कअगाडि वा शारीरिक सम्पर्कको ७२ घण्टाभित्र गरिसक्नुपर्ने भए पनि विश्व स्वास्थ्य संगठनले भने परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधनहरु प्रयोग गर्न सकिने सल्लाह दिएको छ । आकस्मिक गर्भ निरोधकै रुपमा असुरक्षित यौनसम्पर्कको ७२ घण्टाभित्र माथि उल्लिखित पिल्स चक्कीहरु खान भ्याइएन भने पाँचौं दिनभित्र पाठेघरमा राखिने कपर–टी राख्न सकिन्छ ।

प्रभावकारीता र जोखिम

युज्पे विधिमा चाहिँ दुवै हर्मोनको मात्रा बढ्ता भए पनि प्रोजेस्टेरोन मात्र भएको पिल्सभन्दा कम प्रभावकारी छ । प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की ८९ प्रतिशत प्रभावकारी छ भने युज्पे विधिको प्रभावकारिता केवल ७४ प्रतिशत मात्र छ । यसरी साधनपिच्छे यसको प्रभावकारितामा अलि भिन्नताचाहिँ छ ।

समग्रमा पिल्स चक्कीको प्रभावकारिता ७५ प्रतिशत छ । यसको अर्थ यी साधनहरुको प्रयोगले असुरक्षित यौनसम्पर्कका कारण गर्भ रहन सक्ने सम्भावनालाई ७५ प्रतिशतले घटाउँछ । गर्भावस्थामा गल्तीले वा आकस्मिक गर्भ निरोधका लागि औषधि खाँदाखाँदै पनि गर्भ निरन्तर हुन गएमा गर्भेशिशुमा कुनै हानि देखिएको छैन ।

तर गर्भ रहिसकेको अवस्थामा यी आकस्मिक गर्भ निरोधमा प्रयोग गरिने औषधिहरुको प्रयोगले कुनै फाइदा हुँदैन । आकस्मिक गर्भ निरोधका लागि पिल्सको प्रयोगले वा यी औषधि खाँदाखाँदै पनि गर्भ निरन्तरता भएमा पाठेघरभन्दा बाह्य भागमा गर्भ रहने सम्भावना हुँदैन ।

मस्तिष्कघात, माइग्रेन वा रगतको विकार समस्या भएका महिलाहरुमा प्रोजेस्टेरोन मात्र भएको पिल्सको प्रयोग राम्रो हुन्छ । छारेरोगविरुद्ध तथा क्षयरोगविरुद्धको रिफाम्पिसिन औषधि सेवन गरिरहेकी महिलामा पिल्सको प्रभावकारिता घट्न सक्छ अर्थात् उत्तिकै प्रभावकारिताको लागि यस्ता महिलाहरुलाई पिल्सको मात्रा बढाइदिनुपर्ने हुन्छ ।

अन्य बेला परिवार नियोजनको प्रभावकारी अस्थायी साधनको रुपमा प्रयोग गरिने कपर–टी आकस्मिक गर्भ निरोधको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगलाई निरन्तरता दिई परिवार नियोजनका लागि उपयोग गर्न सकिन्छ ।

जटिलता

एकैपटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावश खानुपर्दा वाकवाकी लाग्ने (औषधि वा हर्मोनको प्रकारअनुसार घटी–बढी), उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ । साधारणतया यी साधनको प्रयोगपश्चात् केही समयसम्म अस्थायी तवरले महिनावारीमा गडबडी आउन सक्छ ।

आपत्कालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरुले महिनावारी केही दिन पर सर्न सक्छ । रगतको मात्रा पनि बढ्ता र अलि पीडादायी हुन सक्छ । यदि डिम्ब निष्कासन हुनुअगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी हुन अलि ढिलो हुने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्