डिप्रेसनको उपचारमा नयाँ आशा



अमेरिकी वैज्ञानिकहरुले टाउकोभित्र सलाईको बट्टाजत्रो इलेक्ट्रिक डिभाइस (यन्त्र) राखेर मानसिक रोग डिप्रेसनका गम्भीर बिरामीको उपचार हुन सक्ने बताएका छन् । ती वैज्ञानिकले एकजना बिरामीमा गरेको प्रयोगपछि यो आशाजनक तथ्य सार्वजनिक गरेका हुन् ।

सारा नामक ३६ वर्षीया एक महिला बिरामीले यस्तो डिभाइस लगाएपछि आफ्नो जीवन नै बदलिएको बताएकी छन् । उनले करिब एक वर्षअघि टाउको अपरेसन गरी उक्त डिभाइस मस्तिष्कमा इम्प्लान्ट गराएकी थिइन् ।

उनको टाउकोमा राखिएको सो डिभाइस हरसमय चलिरहन्छ र दिमागलाई आवश्यकता परेको बेला त्यसले मद्दत गर्छ । यससम्बन्धी जानकारी प्रसिद्ध स्वास्थ्य जर्नल ‘नेचर’मा प्रकाशित भएको छ ।

अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीका अध्ययनकर्ताहरुले यस किसिमको प्रयोगले डिप्रेसनका बिरामीको उपचारमा निकै राम्रो आशा जगाएको भए पनि साराजस्तै अरु डिप्रेसनका गम्भीर बिरामीलाई पनि यस्तै प्रभावकारी हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था भई नसकेको बताएका छन् ।

साथै उक्त डिभाइसले डिप्रेसनका अरु बिरामीलाई पनि प्रभावकारी हुन सक्ने आशाका साथ थप प्रयोग तथा अध्ययन गर्ने योजना ती अनुसन्धानकर्ताहरुले बनाएका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्