जाडोमा जोर्नीको दुखाइबाट बच्ने तरिका



 डा. रामदेव पण्डित

आयुर्वेद चिकित्सक

जाडोका कारण थुप्रै मानिस जोर्नीको दुखाइबाट पीडित हुने गरेको पाइन्छ । विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला, हड्डीका दीर्घरोगी आदिलाई जोर्नी दुखाइको समस्याले जाडोमा निकै पिरोल्ने गर्दछ । विभिन्न अध्ययनहरुका अनुसार हरेक ४ व्यक्तिमध्ये एकजना जोर्नीको दुखाइबाट पीडित हुने गरेको पाइएको छ ।

यो समस्या पुरुषको तुलनामा महिलाहरुलाई बढी भएको पाइन्छ । अतः जोर्नीको दुखाइ अहिलेको जल्दोबल्दो जनस्वास्थ्य समस्या हो । जोर्नीको दुखाइ सामान्य र गम्भीर दुवै खालको हुन्छ । सामान्य दुखाइलाई त खानपान र जीवनशैलीमा परिवर्तन गरेर ठीक गर्न सकिन्छ तर गम्भीर दुखाइको लागि चिकित्सकीय उपचारको आवश्यकता हुन्छ ।

आयुर्वेदका अनुसार जोर्नीको दुखाइ शरीरमा वात, पित्त र कफमध्ये वात दोषको असन्तुलनको कारण हुने गर्दछ । जब पाचन गर्ने पेटको अग्निबल गलत खानपान वा जीवनशैलीले कमजोर हुन्छ त्यसपछि शरीरमा आम (टक्सिन)को संकलन हुन्छ र वात दोषको असन्तुलन हुन्छ ।

शरीरमा वात दोषको असन्तुलनले वातको वृद्धि हुन जान्छ । वात चलायमान तत्व भएकोले त्यो बढेपछि जोर्नीहरुमा सजिलै पुग्ने गर्दछ । जसले जोर्नीका तन्तुहरुलाई कमजोर बनाउँछ, जोर्नीका तन्तुहरुमा पोषणको अभाव हुन्छ र त्यहाँ चिल्लोपना घट्छ । जसले गर्दा जोर्नीहरुमा कठोरता आउँछ र दुखाइ हुन्छ । वात दोषको असन्तुलन जाडो मौसममा बढी हुने गर्दछ ।

आयुर्वेदले जाडोमा हुने जोर्नी दुखाइबाट छुट्कारा पाउनका लागि बहुपक्षीय उपचार दृष्टिकोणको सिफारिस गर्दछ । जसअन्तर्गत विभिन्न आयुर्वेदिक औषधसिद्ध तेलको प्रयोग गर्न सुझाव दिइएको छ । त्यसको साथै शरीरमा वात दोषको सन्तुलन कायम गर्न आयुर्वेदिक औषधिहरु पनि दिइन्छ।

शरीरमा टक्सिनको सञ्चय हटाउन आयुर्वेदिक पञ्चकर्मका विधिहरु (वमन, वीरेचन, वस्ति, नश्य र रक्क्तमोक्षण) साइड इफेक्टरहित र प्रभावकारी मानिन्छ ।

टक्सिनको निर्माणमा खाना प्रकृति र शैली पनि उत्तिकै जिम्मेवार हुन्छ । अतः खानपिनमा पनि अति नै ध्यान दिनुपर्छ । अम्लपित्त (एसिडिटी) हुने खानपिन गर्नुहुँदैन । जीवनशैली (व्यायाम) पनि शरीरको वात दोष सन्तुलन र टक्सिनको निष्कासनमा निकै जिम्मेवार हुन्छ ।

उमेर बढ्दै जाँदा जोर्नीबीचको कार्टिलेज कुसन लचिलो र चिल्लो बनाइराख्ने लुब्रिकेन्ट्स कम हुने, लिगामेन्टको लम्बाइ र लचिलोपना कम हुने आदि समस्याले पनि जोर्नी दुख्ने हुन्छ । जोर्नी दुख्ने अन्य विभिन्न कारणहरुमा बोन फ्लुइड वा मेम्बे्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्रभित्रै कुनै रोगको संक्रमण बढ्नु, हड्डीको क्यान्सर, आर्थाइटिस, मोटोपना, ब्लड क्यान्सर आदि पनि हुन् ।

जाडो मौसममा चिसो छल्न प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । खानपानको बानीसमेत परिवर्तन हुन्छ । त्यसले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ ।

जोर्नी दुखाइबाट बच्ने उपाय

हड्डी खिइएर वा कार्टिलेजको क्षति भएर हुने जोर्नीको दुखाइ (आर्थाइटिसको) कुनै विशेष उपचार हुँदैन । त्यस्तो अवस्थामा केवल हड्डीलाई बलियो बनाउन क्याल्सियम सप्लिमेन्ट दिइन्छ र दुखाइ घटाउन औषधि दिइन्छ । यस्तो खालको दुखाइलाई घटाउन सकिन्छ तर सदाको लागि निर्मूल पार्न भने सकिन्न ।

जोर्नीमा हुने कार्टिलेज तन्तु ७० प्रतिशत पानीबाट बनेको हुन्छ । जाडोमा पानी कम पिउने गरिन्छ, जसले कार्टिलेजमा सुख्खापन आउँछ र दुखाइ हुन्छ । सबैभन्दा पहिले जोर्नी दुखाइको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि चिकित्सको सल्लाह लिएर सही उपचारको छनोट गनुपर्छ ।

जोर्नीको दुखाइ निर्मूल गर्न दुखाइको कारण समयमै सही रुपमा पत्ता लगाउनुपर्छ र त्यही अनुसारको चिकित्साको योजना गर्नुपर्दछ । सामान्य खालको जोर्नीको दुखाइबाट बच्न खानपान र जीवनशैलीमा परिवर्तन गरे पुग्छ । मैथुन क्रिया घटाउनुपर्छ ।

क्याल्सियम र भिटामिनयुक्त खाना

जोर्नीको दुखाइ हुनबाट बच्न क्याल्सियम धेरै भएको खाद्यपदार्थ जस्तै– दूध र दूधबाट बनेको चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गर्नुपर्छ । भिटामिन सी र डी स्वस्थ जोर्नीको लागि अति उपयोगी मानिन्छ ।

यसैले भिटामिन सी र डी भरपूर भएको खाद्यपदार्थ जस्तै– स्ट्राबेरी, सुन्तला, किबी, भुइँकटहर, काउली, ब्रोकाउली, बन्दा, दूध, दही, माछा आदिको पर्याप्त सेवन गर्नु बुद्धिमानी हुन्छ । मदिरा र चुरोट–बिँडीको सेवनले जोर्नीको चिल्लो पदार्थलाई सुकाउँछ । अतः धूमपान र मदिरापान नगर्दा जोर्नी र मांसपेशी मजबुत हुने र दुखाइबाट बच्न सकिने हुन्छ ।

जोर्नीको दुखाइ झेलिरहेको व्यक्तिले व्यायाम गर्दा निकै ध्यान पु¥याउनुपर्दछ । विशेषज्ञ चिकित्सको सल्लाह लिएर सूक्ष्म र सहज व्यायाम मात्र गर्नुपर्दछ । जोर्नीको दुखाइ हुनै नदिन जाडो मौसममा पनि नियमित रुपमा यौगिक सूक्ष्म व्यायाम गर्नु ठीक हुन्छ ।

घाम ताप्नु हितकारी

प्रतिदिन अनिवार्य रुपमा केही समय (कम्तीमा १० मिनेट) घाम ताप्नुपर्छ । यसले शरीरलाई भिटामिन डी मिल्छ, क्याल्सियम निर्माण प्रक्रिया गतिशील हुन्छ । घुँडाको जोर्नीमा दुखाइ भएको व्यक्तिले आफ्नो तौललाई समयमै नियन्त्रण गर्नुपर्छ । तौल धेरै भएपछि जोर्नीमा दबाब पर्छ र दुखाइ बढेर जान्छ ।

फलफूल र सागसब्जी

फलफूल र सब्जीहरुको सेवन धेरै मात्रामा गर्नुपर्छ । जाडो महिनामा घिउ, मह, कागती, अदुवा र बेसारको दैनिक सेवन गर्नुपर्छ । यसले जोर्नी सुन्निने समस्यालाई घटाउँछ । जोर्नीमा टक्सिन बनाएर सुन्निन बढाउने पदार्थहरु जस्तै– सेतो नुन, सेतो चिनी, मदिरा, अधिक क्याफिन, रिफाइन्ड तेल, ट्रान्स फ्याट, रातो मासु आदिको सेवन त्याग्नुपर्दछ ।

जाडोमा भातभन्दा आँटाको रोटी र दालको सेवन जोर्नी दुखाइ हुनेहरुको लागि उपयुक्त हुन्छ । खानेकुराहरु ताजा एवं तात्तातै खानुपर्छ । चिसो खानेकुरा खानुहुँदैन ।

विभिन्न कारणले हुने जोर्नीको दुखाइहरुमा दशमूलारिष्ट, अश्वगन्धा, शतावरी, मुत्तासुक्ति भष्म, योगराज गुग्गुल, सिंहनाद गुग्गुल, त्रिकटु चूर्ण, हरितकी चूर्ण आदि आयुर्वेदिक औषधिको प्रयोग गरिन्छ । यस अलावा अदुवा, लसुन, प्याज, मरिच आदिको प्रयोग गर्न पनि सुझाव गरिन्छ । साथै मालिसका लागि ऐरण्ड तेल, निर्गुण्डी तेल, बला तेल, गन्ध तेल, रसना तेल आदिको प्रयोग चिकित्सकको सल्लाह लिएर मात्र गर्नुपर्छ ।

जोर्नीको दुखाइबाट छुट्कारा पाउन अहिले धेरै मानिसले सिटामोल वर्गका किराना पसलसमेतमा पाइने अनेक औषधि सेवन गर्ने गरेको पाइन्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । अतः अत्यावश्यकबाहेक त्यस्ता खाले औषधि सेवन नगर्न सल्लाह दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्