रक्सीसँग मासु किन खाइन्छ ?



डा. रामदेव पण्डित

विश्वभरिको चलनलाई हेर्ने हो भने रक्सी पिउने व्यक्तिले सक्सीसँगै प्रायः केही न केही सितन खाएको हुन्छ । सितन याने त्यस्तो ठोस पदार्थ जुन मूल खानपानसँग सहयोगी खानाको रुपमा खाइन्छ । रक्सीसँग खाइने सितनमा प्रायः मासु हुने गरेको पाइन्छ । रक्सी पिउने शाकाहारी व्यक्तिबाहेक अन्य प्रायले रक्सीसँग मासुको सितन खोज्छ र रोज्छ ।

किन होला ? यसको पछाडि कुनै विज्ञान पनि छ कि, चलन मात्र हो यो ? आयुर्वेद औषधि विज्ञान मात्र होइन, यो आहार विज्ञान पनि हो । आयुर्वेदले के खाने र कति खाने मात्र बताएको छैन, कसरी खाने र केसँग के खाने अनि के नखाने भन्नेसमेत बताएको छ । आहारलाई नै औषधि मान्ने विज्ञान पनि हो आयुर्वेद ।

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रुपमा चिन्तन र चर्चा गरिएको विषय हो अनुपान (अनु: पश्चात्, पान: खाना वा औषधि सेवन) । अनुपान भनेको त्यस्तो खानपान जुन मूल खानपान वा औषधि खाएपछि खाइन्छ । वा सँगसँगै वा अन्य निश्चित समयमा एवं विधिले खाइन्छ ।

जस्तै– सामान्यतया रुघा वा खोकी लाग्दा मरिचको धूलो सेवन गरिन्छ, जसलाई महसँग राखेर चाटिन्छ । आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश निघण्टुमा बताइएको छ कि कफसम्बन्धी रोगका निवारणका लागि हर्रोको चूर्ण नुनसँग खाइन्छ । त्यस्तै गरी हर्रोको चूर्ण पित्तसम्बन्धी रोग दूर गर्न सख्खरसँग, वातसम्बन्धी रोगमा घिउसँग र सामान्यतः सबै प्रकारको रोगबाट बच्न गुडसँग खाइन्छ ।

आयुर्वेद विज्ञान हो । फलतः हरेक घटना वैज्ञानिक तर्कद्वारा पुष्टि हुनु नै पर्छ । किन रुघाखोकीमा मरिचसँग मह खानु लाभकारी हुन्छ र हर्रो चूर्ण गुडसँग खानु सर्वरोग निवारणमा लाभकारी भनिएको होला त ?जस्तै– हर्रोको चूर्ण खाँदा स्वाद अप्रिय लाग्छ, जसलाई दूर गर्न अनुपान मह वा नुन दिइन्छ । अनुपानको प्रयोजन भनेको औषधि सेवन प्रक्रियालाई सुखद (स्वरुप, रङ्ग, रस, गन्ध अनुकूल) बनाउनु पनि हुन्छ ।

जसरी पानीमा राखिएको तेलको थोपा पलभरमै सबैतिर फैलिन्छ, त्यसै प्रकारले अनुपानको सहयोगले औषधि शरीरभित्र सर्वत्र फैलाउँछ । औषधिसँग समान गुण भएको अनुपानले औषधिको कार्यशक्ति बढाउँछ । जस्तै– नीमको चूर्णको प्रभाव बढाउन गुर्जोको काढाको अनुपान दिइन्छ ।

एउटै औषधिसँग खाइएको फरक–फरक अनुपानले फरक–फरक कार्य गर्दछ । जस्तै– मनतातो पानीसँग खाइएको त्रिफलाले कब्जियत खोल्छ भने त्यही क्रिफला महसँग खाँदा त्यो नेत्ररोगका लागि प्रभावकारी हुन जान्छ ।वस्तुतः शास्त्रीय हिसाबमा अनुपानले तृप्ति दिलाउँछ, आहारलाई छिटो पचाउँछ, आयु बढाउँछ, शरीरलाई सुख एवं ऊर्जा दिलाउँछ । शरीरलाई मोटाइ बढाउँछ र अंगहरुलाई दृढ बनाउँछ । मनलाई हर्षित तुल्याउँछ ।

हरेक चिकित्सा विज्ञानको आ–आफ्नै आधारभूत वैज्ञानिक सिद्धान्त हुन्छन् । आयुर्वेदले चिकित्सा कर्मका लागि पञ्चमहाभूत सिद्धान्त अपनाउँछ । विश्व ब्रह्माण्डका सबै वस्तु पञ्चभौतिक हुन्छ भन्ने मान्यता आयुर्वेदको हो । आहार एवं औषधि पञ्चमहाभूतले बनेको हुन्छ र शरीर पनि पञ्चमहाभूतले नै बनेको हुन्छ । आकाश, वायु, जल, अग्नि र पृथ्वीलाई पञ्चमहाभूत भनिन्छ । हरेक महाभूतको निश्चित गुणहरु हुन्छन् । ती गुणहरु नै औषधि वा आहारको विशेषता हुन्छ ।

कुनै पनि रोग एवं रोगीलाई आवश्यक चिकित्सा कर्म निर्धारण गरिन्छ । तत्पश्चात् उक्त चिकित्साकर्म सिद्धिका लागि निश्चित विशेषता वा गुण भएको औषधि वा आहारको चयन गरी प्रयोग गरिन्छ । पञ्चमहाभूतको गुण भन्नाले चिल्लोपन, खस्रोपन, हलुका, भारी, तातो, चिसो आदि बुझिन्छ । आयुर्वेदमा ४१ प्रकारका गुणहरुको वर्णन छ । औषधिको रस भन्नाले गुलियो, अमिलो, नुनिलो, पिरो, टर्रो र तीतो बुझिन्छ । यी रसहरु पनि माथि भनिएका महाभूतले नै बनेका हन्छन् र गुणहरु त्यसै अनुसार बुझनुपर्दछ ।

अनुपानको निर्धारण औषधिको प्रकृति, रोगको प्रकृति र रोगीको अवस्था हेरेर गरिन्छ । अनुपानको सेवन भोजनभन्दा पहिले गर्न-गराउन निर्देश गरिएको छैन । यदि अनुपानको सेवन भोजनपहिल्यै गरिए त्यसले शरीरलाई दुब्लो र कमजोर बनाउँछ ।जुन अनुपान मूल आहार वा औषधिभन्दा विपरीत गुणवाला हुन्छ तर कार्यशक्ति विरोधी गुणवाला नहुने हुन्छ ।

त्यस अनुपानलाई उत्तम अनुपान मानिन्छ । आयुर्वेदका अनुसार रक्सीको गुण लघु (हलुकापन), रुक्ष (खस्रोपन), सूक्ष्म, तीक्ष्ण हुन्छ र रक्सीको विपरीत मासुको गुण गुरु (भारीपन), स्निग्ध (चिल्लो), स्थुल, मन्द हुन्छ । मासुले रक्सीको मदकारी कार्यशक्तिलाई फरक पार्दैन भन्नुको तात्पर्य रक्सीको कार्यशक्तिलाई न त बढाउँछ, न त घटाउँछ ।

रक्सीभन्दा विपरीत गुण मासुको भएको कारण केवल मासुले रक्सीले मात लाग्ने प्रक्रियालाई ढिलो गराउँछ । त्यसै गरी मासुको गुरु गुणको कारण पाचन र अवशोषण ढिलो हुने हुन्छ, जब विपरीत गुणवाला रक्सीको साथमा खाइन्छ, त्यसले मासुको पाचन र अवशोषण क्रियालाई तीव्रता दिन्छ ।

रक्सी मासुसँग खाँदा रक्सीको मात लाग्ने शक्तिमा फरक नपारी केवल मात लाग्ने प्रक्रियालाई ढिलो गराउँछ । साथै विपरीत गुणको कारण रक्सीले मासुको पाचनक्रियालाई तीव्रता दिन्छ । यही गुण विपरीतता र कार्यगत स्वतन्त्रता नै रक्सी मासुसँग खानुपछाडिको विज्ञान हो । यसै कारण रक्सीलाई मासुको अनुपानको रुपमा वा मासुलाई रक्सीको अनुपानको रुपमा खाने वैज्ञानिक चलन स्थापित भएको हो ।रक्सीको अपेक्षित मदकारी कार्य त रक्सीले निःशंकोच गर्छ नै, साथै त्यससँगै खाइएको मासु पचेर र अवशोषण भइसकेपछि त्यसले पनि उत्तम बल दिने, इम्युनिटी दिने, शरीरमा मांस पुष्टता दिने आदि कार्य गर्छ । ती कार्यहरु रक्सीसँग खाइने अन्य सितनहरुको तुलनामा मासुले श्रेष्ठकर तवरबाट गर्दछ ।

अतः अनुपानको चिन्तन आयुर्वेदीय चिकित्सा विज्ञानको पृथक र विशेष विषय हो । अनुपानको प्रयोग औषधिको प्रभावकारी कार्यमा जति महत्वपूर्ण हुन्छ त्यति नै महत्वपूर्ण आहारको समुचित पाचन, अवशोषण र शक्ति उत्पादनका लागि हुन्छ ।

अन्य केही अनुपानहरु: कफज रोगको लागि अदुवासँग गुडको सेवन, वातसम्बन्धी रोगमा सुकेको अदुवा (सुण्ठी) सँग गुड सेवन, आमवात रोगमा गुर्जोसँग सुण्ठीको सेवन गरिन्छ । सामान्यतः कुनै पनि धूलो औषधिको प्रयोग गर्दा मह, पानी वा दूध अनुपान प्रयोग गरिन्छ । धूलोलाई चाटेर खाने बेला अनुपान दुई गुना र काढा बनाएर पिउने हुँदा चार गुना अनुपानको प्रयोग गर्ने विधान छ ।

प्रतिक्रिया दिनुहोस्