महिला र उच्च रक्तचाप



डा. प्रकाशराज रेग्मी

उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसर मुटुसँग सम्बन्धित रोग हो । यो रोगले हिजोआज धेरै चर्चा पाएको छ । ब्लड प्रेसरले हानेर युवावस्थामै मानिसको मृत्यु भएको समाचार बेलाबखत सुनिरहिन्छ ।

ब्लड प्रेसरले असर गरेको खण्डमा पक्षघात, अन्धोपन, हृदयघात, मिर्गौला फेल आदि हुन सक्छ भन्ने बारे पनि धेरै चर्चा–परिचर्चा भैसकेको छ । ब्लड प्रेसरको नाम नसुनेका मानिसहरु यो विश्वमा कमै होलान् ।

संसारभर ३० वर्ष काटेका ३० प्रतिशतभन्दा बढी जनसंख्या ब्लड प्रेसर बढ्ने रोगबाट पीडित छन् भन्ने सुन्दा कसैलाई अचम्म पनि लाग्ला । तर यो यथार्थ हो । नेपालका गाउँघरहरुमा १८ वर्ष काटेका २० प्रतिशत जनता यो रोगबाट पीडित छन् ।

शहरबजारको कुरा गर्ने हो भने, १८ वर्ष काटेका ३० प्रतिशत जनतालाई ब्लड प्रेसर बढ्ने रोग छ । यसैबाट यो प्रमाणित हुन्छ कि ब्लड प्रेसर बढ्ने रोग धेरै मानिसमा छ, यसबारे सबैले थाहा पाउन जरुरी छ । उच्च रक्तचाप यो युगकै ठूलो स्वास्थ्य समस्या हो ।

औद्योगिकीकरण, शहरीकरण र सामाजिक–आर्थिक विकासको गतिका साथ यो रोग पनि बढ्दै गएको छ । धेरैजसो अवस्थामा यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव र जीवनशैलीमा आएको परिवर्तनको नतिजा हो । यस रोगले कुनै पनि लक्षण नदेखाई शरीरका प्रमुख अंगहरु जस्तै– मुटु, मिर्गौैला, दिमाग, आँखा आदिलाई एकैपल्ट झड्का दिएर क्षतिग्रस्त पार्दछ र बिरामीलाई मृत्युको मुखमा पु-याउँछ ।

थाहै नदिईकन, कुनै पनि लक्षण नदेखाईकन मृत्युको मुखमा पु-याउने भएको हुनाले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलर (थाहै नदिई मार्ने रोग) को संज्ञा दिइएको हो । मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई ‘रक्तचाप’ अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १३०/८० मि.मि. वा सो भन्दा कम हुनुपर्दछ ।

नुन कम खाएर, व्यायाम गरेर, योग–प्राणायाम गरेर मात्र उच्च रक्तचाप नियन्त्रणमा नआउन सक्छ ।

रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् । दिमागभित्रको रक्तनली फुटे पक्षघात हुन्छ, मुटुको रक्तनली फुटे हृदयघात हुन्छ, आँखाको फुटे अन्धोपन र मिर्गौलाको फुटे मिर्गौला फेल हुन्छ ।

उच्च रक्तचाप रोग भएकाहरुले कुनै पनि समयमा, विशेष गरी मानसिक तनाव भएको बेला, धेरै खुशी वा दुुःखी भएको बेला, धेरै शारीरिक श्रम गरेको बेला, धेरै रक्सी वा चुरोट पिएको बेला, धेरै चिसो हावामा हिँडेको बेला एकाएक रक्तचाप धेरै बढ्न गई माथि उल्लेख गरिएका खतरनाक अवस्थाहरु उत्पन्न हुन सक्छन्, जसबाट मानिसको मृत्युसमेत हुन सक्छ ।

ब्लड प्रेसरले महिला र पुरुष भनेर भेदभाव गर्दैन । दुवैलाई यसले आफ्नो प्रभावमा पार्छ तर महिलाहरुमा हुने उच्च रक्तचाप तथा मुटुका रोगहरु पुरुषहरुमा भन्दा केही भिन्न भएको कुरा विशेषज्ञहरु बताउँछन् । यसबारे सबैले, अझ विशेष गरी महिलाहरुले थाहा पाउनु जरुरी छ ।

महिलाहरु धेरैजसो स्तन र पाठेघरको क्यान्सरबाट तर्सिने र यसबारे बढी सचेत हुने गरेको पाइन्छ । मुटुरोगबारे महिलाहरु सचेत छ्रैनन् । वास्तवमा भन्ने हो भने, महिलाहरुमा क्यान्सरभन्दा मुटुरोगको समस्या बढी छ । जति संख्यामा महिलाहरुको मुत्यु स्तन र पाठेघरको क्यान्सरबाट हुन्छ, यो भन्दा धेरै गुना बढी संख्यामा महिलाहरुकोे मृत्यु मुटुरोगबाट हुने गरेको पाइन्छ ।

महिनावारी (मासिक रक्तश्राव) नरोकिँदासम्म अर्थात् करिब ४५–५० वर्षको उमेरसम्म महिलाहरुको शरीरमा इस्ट्रोजेन नामक रसायन तत्व (हर्मोन) को मात्रा धेरै हुन्छ । यस रसायन तत्वले जवान महिलाहरुलाई हृदयघात हुनबाट बचाउँछ ।

महिनावारी रोकिएपछि महिलाहरुको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा धेरै नै घट्छ, जसका कारण यस्ता महिलाहरु र पुरुषहरु दुवै थरीलाई हृदयघात हुने सम्भावना बराबरी हुन जान्छ ।

महिनावारी रोकिएपछि महिलाहरुमा मुटसँग सम्बन्धित थुप्रै स्वास्थ्य समस्याहरु देखिन थाल्छन् । जस्तै– उच्च रक्तचाप, हृदयघात, मधुमेह, उच्च रक्त–कोलेस्टेरोल, मोटोपन आदि ।

५० वर्ष उमेरभन्दा माथिका धेरै महिलालाई उच्च रक्तचाप भएको देखिन्छ । यो उमेरका महिलाहरुको शरीरको तौल बढी छ, धूमपान गर्ने बानी छ, शारीरिक निष्कृयता छ भने उच्च रक्तचाप हुने र यसका खतरानाक नतिजाहरु देखिने सम्भावना अत्यधिक रहन्छ ।

यदि उपचारपछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार आएन भने गर्भधारण गर्नु हुँदैन ।

अध्ययन–अनुसन्धानबाट यो प्रमाणित भैसकेको छ कि पुरुषहरुमा भन्दा महिलाहरुमा मुटुरोगको आक्रमण कडा हुन्छ र यसबाट मृत्यु हुने सम्भावना पनि पुरुषमा भन्दा महिलामा बढी रहन्छ । महिला गर्भवती भएको अवस्थामा मुटु र रक्त सञ्चालनमा विभिन्न परिवर्तनहरु देखा पर्दछन् ।

यी परिवर्तनहरु गर्भधारण गरेको ५ देखि ८ हप्तामा शुरु हुन्छ, २४ हप्तासम्ममा यी परिवर्तनहरुको असर अत्यधिक रहन्छ र बच्चा जन्मिएपछिको १ महिनासम्म कायमै रहन्छ । गर्भवती महिलाहरुमा रक्त सञ्चालनको गति बढ्छ, मुटुको धड्कनको गति बढ्छ, रगतको मात्रा बढ्छ तर रक्तकणहरुको मात्रा भने घट्छ ।

पहिलो ३ महिनामा रक्तचाप घट्न थाल्छ, ४–५ महिनासम्ममा न्यून रहन्छ, त्यसपछि रक्तचाप फेरि बढ्दै गएर ९ महिनासम्ममा पुरानै स्थितिमा फर्किन्छ । गर्भवती महिलाको रक्तचाप आवश्यकभन्दा बढी देखियो भने यसलाई असामान्य मानिन्छ । कतिपय स्वस्थ महिलाहरुमा गर्भधारणकै कारण रक्तचाप बढ्ने समस्या देखिन्छ ।

यस्ता महिलाहरुमा गर्भधारण गरेपछि, गर्भवती अवस्थाभरि, बच्चा जन्माउने बेलामा र बच्चा जन्माएको केही दिनसम्म रक्तचाप बढ्छ तर पिसाबमा प्रोटिन देखिँदैन र जीउमा सुजन पनि हुँदैन । यस्तो उच्च रक्तचाप बच्चा जन्माएको १०–१५ दिनभित्र ठीक भएर जान्छ ।

उच्च रक्तचाप रोगद्वारा पीडित महिलाहरुले गर्भधारण गरेमा धेरै होस पु-याउनुपर्ने हुन्छ । किनकि गर्भवती अवस्थामा रक्तचाप धेरै बढ्यो, पिसाबमा प्रोटिन देखा प-यो र शरीर सुन्नियो भने यस्तो अवस्था बढ्दै गई छारेरोगमा जस्तै महिलाको सम्पूर्ण जीउ बटारिने र बेहोस हुने स्थिति आउँछ ।

यस्तो अवस्थामा गर्भवती महिला वा पेटभित्रको बच्चा वा दुवैको मृत्यु हुन सक्छ । यो अत्यन्तै खतरनाक अवस्था हो । यसकारण उच्च रक्तचापबाट पीडित महिलाहरुले गर्भधारण अगाडि र पछाडि निम्नलिखित कुराहरुमा ध्यान पु-याउनु आवश्यक हुन्छ ।

१) उच्च रक्तचाप र गर्भधारण दुवैले मुटु र मिर्गौलालाई असर पार्ने भएको हुनाले उच्च रक्तचापद्वारा पीडित महिलाहरुले गर्भधारणअगाडि मुटु र मिर्गौलाको स्थिति कस्तो छ जँचाएर यदि ठीक छ भने मात्र गर्भधारण गर्नु उचित हुन्छ ।

यदि ठीक छैन भने ती अंगहरुको उपचार गराई गर्भधारणका लागि सुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नुपर्छ । यदि उपचारपछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार आएन भने गर्भधारण गर्नुहुँदैन ।

२) उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि सेवन गरिरहेका महिलाहरुले गर्भधारण गर्नेबित्तिकै आपूmले खाइराखेको औषधि गर्भका लागि सुरक्षित छ कि छैन, चिकित्सकसँग बुझ्नुपर्ने हुन्छ । गर्भको पहिलो ३ महिनाभरि कुनै पनि औषधिको सेवन नगर्नु उचित हुन्छ ।

किनकि औषधिले भू्रणको अंग निर्माणमा नकारात्मक असर पारी जन्मजात विकृतिसहितको बच्चा जन्मिन सक्छ । यस अवधिमा औषधि नखाई रक्तचाप घटाउने उपायहरु जस्तै– नून कम खाने, सागसब्जी एवं फलपूmल बढी खाने, हलुका व्यायाम गर्ने आदि विधि अपनाउनु उचित हुन्छ । यदि यसो गर्दा पनि रक्तचाप धेरै बढ्न गयो भने चिकित्सकको सिफारिसमा औषधिको सेवन गर्नुपर्दछ ।

३) गर्भावस्थामा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिहरु प्रयोग गर्दा ती औषधिहरु गर्भका लागि सुरक्षित छन् कि छैनन्, बुझेर मात्र प्रयोग गर्नुपर्दछ ।

४) उच्च रक्तचापद्वारा पीडित महिलाले गर्भवती भएपछि कम्तीमा महिनामा एकपल्ट रक्तचाप जँचाउनुपर्दछ ।

५) उच्च रक्तचापद्वारा पीडित गर्भवती महिलाको जीउ सुन्निएर आयो, पिसाब कम भयो, आँखाले धमिलो देखियो भने तुरुन्त जँचाउनुपर्दछ । यो अत्यन्त खतरनाक अवस्था हो ।

उच्च रक्तचाप भयो भन्दैमा कोही पनि आत्तिनुपर्दैन । यो सजिलै नियन्त्रण गर्न सकिने समस्या हो । यसको उपचार ठीक तरिकाले ग-यो भने कुनै खतरा छैन । कतिपय उच्च रक्तचाप भएका रोगीहरु ‘बानी पर्छ, साइड इफेक्ट हुन्छ, मिर्गौला बिग्रिन्छ’ भनेर औषधि सेवन गर्न मान्दैनन् ।

कतिपयले औषधि सेवन गरिहाले भने पनि रक्तचाप नियन्त्रणमा आएपछि औषधि सेवन बन्द गर्छन् । यसैको फलस्वरुप कसैलाई हृदयघात हुन्छ त कसैलाई पक्षघात, कसैलाई किड्नी फेल अनि कसैलाई अन्धोपन हुन्छ । यो सब लापरबाहीका नतिजाहरु हुन् ।

नुन कम खाएर, व्यायाम गरेर, योग–प्राणायाम गरेर मात्र उच्च रक्तचाप नियन्त्रणमा नआउन सक्छ । यस्तो अवस्थामा औषधिको सेवन जरुरी हुन्छ । नियमित औषधिको सेवन र स्वस्थ जीवनशैलीको अवलम्बन उच्च रक्तचापका कारण हुन सक्ने सम्भावित मुत्युबाट बच्नका लागि हो भन्ने तथ्य सबैले बुझ्नु जरुरी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्