पाइल्समा अपनाउनुपर्ने सतर्कता



डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

मलद्वार एवं मलाशयमा अनेक समस्याहरु आइपर्न सक्छन् । यस्ता समस्याहरुमा पाइल्स, फिसर, पीप जम्ने, फिस्टुला, रेक्टल प्रोल्याप्स, क्यान्सर, अल्सरेटिभ कोलाइटिस आदि प्रमुख हुन् । यहाँ केही समस्यामा कस्तो प्राकृतिक उपचार गर्न वा सतर्क हुन सकिन्छ भन्नेबारे चर्चा गरिएको छ ।

पाइल्स

मलद्वारमा लाग्ने रोगहरुमध्ये पाइल्स (अलकाई, हर्षारोग, बवासीर) धेरैलाई हुने समस्या हो । यस रोगमा मलाशय र मलद्वारका रक्तनलीहरु सुन्निने वा फुल्ने, छेउछाउका टिस्युहरु तन्किने, झोल्लिने, रक्तनलीहरु बढेर मासु वृद्धि भएझैँ मसिना मांसपेशीको झुप्पा बन्ने हुन्छ । कतिपयलाई रगतको मसिना नली फुटेर रगत बग्ने समस्या पनि हुन्छ । यसबाट मलद्वारमा अनेक थरीका लक्षणहरु उत्पन्न हुन सक्छन् ।
पाइल्समा दिसा गर्न, हिँडडुल गर्न र बस्नसमेत कठिनाइ हुने जटिलता हुन्छ । यसबाट कब्जियत झन् बढ्छ । पाइल्सका कारणले नै कतिपय व्यक्तिलाई आप्mनो काम गर्न निकै बाधा हुन्छ । बढी रक्तस्राव हुने खालको पाइल्सका कारण कमजोर बिरामीमा रक्ताल्पता हुने पनि हुन्छ । अरु रोगको लक्षणका रुपमा पनि पाइल्स निस्केको हो भने सोही रोगअनुसारका समस्याहरु आउँछन् ।

पाइल्सको समस्यालाई गम्भीरताअनुरुप चार श्रेणीमा विभाजन गरिन्छ ।

पहिलो श्रेणी: यसमा रक्तनलीहरु फुलेर मलद्वारको भित्र नै रहन्छन्, बाहिर खस्किँदैनन् । दोस्रो श्रेणी ः यस बेला रक्तनली मासुजस्तै किसिमले बढेको भान हुन्छ र दिसा गर्दा बाहिर निस्कन्छ र दिसा गरेपछि आफैँ भित्र जान्छ ।
तेस्रो श्रेणी: यसमा फुलेका रक्तनलीहरु मलद्वारको बाहिरै डल्लोजस्तो भैराख्छ, कहिलेकाहीँ यसलाई ठेल्दा मलद्वारभित्रै पनि पुग्न सक्छ ।
चौथो श्रेणी: यस श्रेणीको पाइल्समा फुलेका रक्तनलीहरु मलद्वारको बाहिरै मासुको डल्लोजस्तो गुजुमुज्ज भैराख्छ, भित्र पठाउने कोशिश गर्दा पनि बाहिरै रहन्छ, भित्र जाँदैन ।

पाइल्सका लक्षण

पाइल्सको श्रेणी र गम्भीरता अनुसार लक्षणहरु सामान्यदेखि जटिलसम्मका हुन्छन् । शुरुमा मलद्वारमा चिलाउने, हल्का दुख्ने, पोल्ने, घोच्नेजस्ता समस्याहरु देखिन्छन् भने समस्या बढेमा अत्यन्त पीडादायी हुन्छ । यस्ता समस्याहरु प्रायः दिसा गर्ने बेलामा देखा पर्दछन् । दिसा कब्जियत हुने, दिसा गर्न निकै कठिनाइ हुने, दिसामा मिसिएर, टाँसिएर वा दिसाको अघि–पछि रगत आउँछ ।

रक्तस्राव हुँदा कसैलाई अलि–अलि देखा पर्ने, कसैलाई थोपा–थोपा रगत आउने र कसैलाई त एकैपटकमा धेरै नै रगत बग्ने समस्या हुने गर्दछ । पाइल्समा सबैलाई रगत बग्ने नै हुन्छ भन्ने होइन, रगत नआउन पनि सक्छ । यसरी नै रोगको जटिलता अनुरुप हल्का वा तीव्र दुखाइ उत्पन्न हुन सक्छ । दिसा कडा भएमा त्यसबाट पाइल्समा ठक्कर दिँदा पीडा हुने, घोच्ने, पोल्ने र दुखाइमा वृद्धि हुन्छ । रगतको नली फुल्ने, सुन्निने भएकाले मासु पलाएको जस्तो देखिने पनि हुन सक्छ । ग्रेड अनुरुपका लक्षणहरु हुन सक्छन् । मलाशय तथा गुदद्वारमा गह्रुँगो, केही अड्केकोझैँ, बस्दा पनि भारीजस्तो अनुभव हुन्छ ।

पाइल्सका कारण

सानो आन्द्रा, ठूलो आन्द्रा, आमाशय, फियो, प्यान्क्रियाज र पित्तथैलीजस्ता भागहरुबाट रगत जम्मा गरी कलेजोमा ल्याउने रक्तनलीमा अवरोध आयो भने रक्तनली र वरपरसमेत सुन्निने हुन्छ । यसरी अवरोध परेर समस्या उत्पन्न गर्न सक्ने रोगहरुमा मुख्यरुपमा कब्जियतको समस्या हो । दिसा कडा हुने र दिसा गर्दा बल गर्ने बानीका कारण प्रायः पाइल्स हुने गर्दछ ।

कलेजो सुन्निने, सिरोसिस हुने, कलेजोमा ट्युमर, क्यान्सर आदि हुनेजस्ता कारणले पनि यो समस्या उत्पन्न हुन्छ । यसरी नै पेटमा दबाब पर्ने रोगहरु जस्तै– पेटका अंगमा सिस्ट हुने, ट्युमर वा क्यान्सर हुने कारणले पनि पाइल्स हुन सक्छ । गर्भावस्थामा बच्चाको भारको कारण प्रायः पाइल्स आउँछ । बढी मोटोपन पनि अर्को कारण हो ।

पाइल्स हुने प्रमुख कारण भने कब्जियत हुनु र बढी चिल्लो–पिरो खानु हो । खानामा सागपात, फलफूल, सलाद, आटा, च्याँख्ला, अन्न, गेडागुडीको चोकर, पानी तथा झोल कुराको कमी भएमा पनि पाइल्सको समस्या हुन्छ । आउँ पर्ने रोग, अपच र पखालाजन्य समस्याहरुमा पनि पाइल्स उत्पन्न हुन्छ । यसका साथै बढी गह्रुँगा भारी उचाल्ने, गुदामैथुन गर्ने कारणहरुले पनि यस्तो समस्या आउँछ ।

पाइल्स कसरी चिन्ने ?

मलद्वारमा देखिने लक्षण, पहिलेदेखिका समस्याहरु र क्लिनिकल जाँचबाट पाइल्स रोगको बारेमा थाहा पाउन सकिन्छ । तर मलद्वारमा हुने दुखाइ र रक्तस्राव हुनुका पछाडि अरु कारण पनि हुने भएकोले प्रोक्टोस्कोपी, कोलोनोस्कोपी, अल्ट्रासाउन्ड, दिसा जाँच आदि पनि गर्न सकिन्छ । आन्द्रा एवं मलद्वारको क्यान्सर आदिमा पनि पाइल्सको जस्तै केही मिल्दा लक्षणहरु देखिन्छन्, त्यसैले सही निदान जरुरी छ ।

योग तथा प्राकृतिक चिकित्सा

पाइल्समा योग चिकित्सा विधिहरु प्रयोग गर्न सकिन्छ । यहाँ केही सहज विधिबारे जानकारीहरु दिइएको छ ।

क) योगासनहरु: सूर्य नमस्कार, भुजङ्गासन, सलभासन, धनुरासन, नाभ्यासन, नौकासन, सर्वाङ्गासन, हलासन, बालासन, पश्चिमोत्तानासन, शशंकासन, मृगासन, मण्डूकासन, योगमुद्रासन, त्रिकोणासन आदि आसनहरु पाइल्समा उपयोगी छन् ।

ख) यौगिक शोधन क्रिया: षट्कर्महरुमध्ये धौति (पानी पिएर वमन गर्ने), वस्ति वा एनिमा, नौलि (पेटको भागलाई हल्लाउने–चलाउने विशेष विधि), कपालभाँती, पद्मासन, वज्रासन, सुखासन आदिमध्ये कुनै एक ध्यानात्मक आसनमा बसी आँखा चिम्लेर पेटलाई भित्र तान्दै झड्का दिएर लयबद्धरुपमा मुख बन्द गरी नाकबाट श्वास बाहिर छोड्ने अभ्यासले लाभ प्रदान गर्दछ ।

ग) एनिमा: यसमा उमालेर सेलाएको मनतातो स्वच्छ पानी मलद्वारबाट ठूलो आन्द्रा वा पेटभित्र पठाई पेट सफा गरिन्छ । पाइल्समा एनिमाको प्रयोगले लाभ प्रदान गर्दछ । तालिमप्राप्त व्यक्तिबाट मात्र यो अभ्यास गर्नु÷गराउनुपर्छ ।

घ) आहार चिकित्सा: पाइल्स भएमा बढी चिल्लो, पिरो र मसला आदि नभएको, शाकाहारी, ताजा र सुपाच्य खाना खानुपर्छ । सागपात तथा अन्य ताजा तरकारी, हरियो, काँचो सलाद, अंकुरित काँचो टुसा पलाएको गेडागुडी, चोकरसहितको रोटी, च्याँख्ला खाएर कब्जियत तथा पाइल्स कम गर्न सकिन्छ । पाइल्सका बिरामीले पटक–पटक गरी दैनिक चार–पाँच लिटर पानी पिउनुपर्छ ।

ङ) शंखप्रक्षालन विधि: कब्जियतको समस्या बारम्बार भैरहने व्यक्तिका लागि यी लघु तथा पूर्ण शंखप्रक्षालन विधिको प्रयोग गर्न पनि सकिन्छ । यस अभ्यासमा पानी पिउँदै अग्निसारक्रिया र विभिन्न आसन (ताडासन, तीर्यकताडासन, कटिचक्रासन, उदराकर्षण) लगायत थप भुजंगासन, पवनमुक्तासनादि गरिन्छ ।

यसो गर्दै गरेपछि दिसा लाग्ने अवस्था आउँछ र बारम्बार उही क्रिया दोहो-याइन्छ । दिसा भएपछि लघुशंखप्रक्षालन पूरा हुन्छ । यसरी गर्दै जाँदा दिसाबाट पानी नै निकालेर मुखदेखि पेट, आन्द्रा मलद्वारको भाग पखाल्ने (शंखप्रक्षालन विधि) गरी यस उपचारको अन्त्यमा घिउ राखेर बनाएको खिचडी खानुपर्दछ र आराम गर्नुपर्दछ ।यो विधि शुरुमा योग तथा प्राकृतिक चिकित्सक वा योगविज्ञकै साथमा रही अभ्यास गर्नुपर्छ ।

च) फलाहार, रसाहार एवं उपवास: तीव्र दुखाइ र रगत आउने छ भने त्यस बेला फलफूल वा त्यसको रस मात्र खाएर बस्नुपर्छ वा पानी मात्र पिई उपवास गर्दा निकै लाभ पाइन्छ र हिलिङ प्रक्रिया छिटो हुन्छ । साथै पाइल्सको उपचारमा गणेशक्रिया, मूलबन्ध क्रिया पनि गर्न सकिन्छ । यसरी नै अनेक योग तथा प्राकृतिक चिकित्साका विधिहरु प्रयोग गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

पाइल्सको उपचारका लागि बिरामीले आफ्नो जीवनशैली सुधार्नुपर्छ । बढी रक्तस्राव हुने बिरामीलाई कहिलेकाहीँ औषधि वा अप्रेसनको पनि आवश्यकता पर्न सक्छ । तर अप्रेसन गरे पनि यो समस्या खानपान र जीवनशैलीमा भएको गडबडीका कारण पुनः पहिलेजस्तै बल्झिने गर्दछ । यसरी नै पाइल्स उत्पन्न गर्ने कारक रोगहरुको निवारण पनि अनिवार्य छ ।

कब्जियत भई साह्रो वा गोटायुक्त दिसा भएमा वा पाइल्सको डल्लो ठूलो छ वा दुखाइ बढी भएमा वा रक्तस्राव भैरहने खालको पाइल्स भएमा केही दिनसम्म सुत्ने बेलामा एक–डेढ चम्चाजति त्रिफलाचूर्ण र त्यति नै मात्रामा शुद्ध इसबगोलको भुस (पाउडर) प्रयोग गर्नुहोस् । मलद्वारमा सेक्ने वा तातो कटिस्नान गरेपछि वा पेटमा चिसो माटोको पट्टी राखेपछि एनिमाको प्रयोग गर्ने र मलद्वारको भित्र ५–१० मिलिलिटर जति पानी र जैतुन, तोरी वा तीलको तेल सुत्ने बेलामा प्रयोग गर्नुस् ।

दिसाबाट रगत आउँदैमा वा मलद्वारमा डल्लो बढ्दैमा त्यो पाइल्स रोग नहुन सक्छ । मलद्वारका अन्य रोगहरु फिस्टुला, फिसरलगायत ठूलो आन्द्रा वा मलद्वारको क्यान्सर, अल्सरेटिभ कोलाइटिसलगायत अन्य इन्फ्लामेटरी बावेल डिजिज आदि पनि हुन सक्छ । त्यसैले रोग पत्ता लगाउन चिकित्सकको सल्लाह र थप विशेषज्ञहरुको जाँच जरुरी पर्छ अन्यथा पाइल्स भन्दै बसेमा समस्या गम्भीर र अत्यन्त घातक बन्न सक्छ । कहिलेकाहीँ पाइल्सको अति रक्तस्राव नियन्त्रण गर्न शल्य चिकित्सा पनि जरुरी हुन सक्छ र औषधोपचार पनि जरुरी हुन सक्छ । यसका लागि सम्बन्धित विशेषज्ञको सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्