स्वास्थ्यमा बजेट घट्यो



सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि स्वास्थ्यमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि विनियोजित उक्त बजेट संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड छुट्याएको छ । स्वास्थ्य क्षेत्रले यो वर्ष पाएको बजेट चालू आर्थिक वर्षको भन्दा कम हो ।

चालु आर्थिक वर्षमा स्वास्थ्यको बजेट संघमा मात्र १ खर्ब १ अर्ब रहेको थियो । चालु आर्थिक वर्षमा स्थानीय तहमा २६ अर्ब बजेट छुट्याईएको थियो । संघ, प्रदेश र स्थानीय तहमा गरेर चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झण्डै एक खर्ब ३५ अर्बको बजेट रहेको थियो ।

बजेटमा आधारभूत स्वास्थ्य संस्थाको निर्माण तथा सञ्चालन, स्वास्थ्य बिमालगायतका सामाजिक स्वास्थ्य सुरक्षा, औषधि, नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य रेकर्ड, २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई पोषण भत्तालगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

नेपालको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि माग हुँदै आएको भए पनि नेपाल सरकारले गतवर्ष केही सुधार ल्याएकोमा यस वर्ष पुनः घटाएको छ । बजेटमा मिर्गाैलाको निःशुल्क प्रत्यारोपणलगायत ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरिएको छ । मेरुदण्डका बिरामीका लागि १ अर्ब ५० करोड छुट्याएको छ । ६५५ स्थानीय तहमा अस्पताल निर्माण गर्न १० अर्ब विनियोजन गरिएको छ ।

क्यान्सर परास्तको अनुभव पुस्तकमा

क्यान्सर विजेता शुभेच्छा घिमिरेले आफूले भोगेका पीडा र त्यसबाट सिकेको सिकाइलाई अंग्रेजी भाषामा लेखेको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी हालै सार्वजनिक गरिएको छ ।

‘क्यान्सर, खानपान र म’ नामक उक्त पुस्तक चलचित्र निर्देशक यादव खरेल, लेखक शुभेच्छा घिमिरे, नेपाली अनुवादक महेश पौड्याल र सम्पादन संयोजन गर्नुभएका डा. अरुणा उप्रेती र युवराज नयाँघरेले संयुक्तरुपमा विमोचन गर्नुभयो ।
पुस्तक विमोचन कार्यक्रममा खरेलले विमोचित पुस्तकमा क्यान्सर लागेर मृत्युसँग डटिरहेको योद्धाले मृत्यु जितेको यथार्थपरक कथा रहेको बताउनुभयो ।

उक्त पुस्तकमा उहाँको यो भोगाइ र अनुभव विश्वका हरेक नागरिकका लागि एक अचुक औषधि बन्न सक्ने यो पुस्तकको नेपाली अनुवादक महेश पौड्याल, सम्पादन संयोजन गर्नुभएका डा. अरुणा उप्रेती र युवराज नयाँघरेको ठम्याइ छ ।लेखिका घिमिरेले क्यान्सर भएपछि आफूले खाएको औषधि, आफ्नो भोगाइ, औषधिको साइड इफेक्टका साथै नेपालीको भान्छामा रहेका थरी–थरीका मसलाहरु नै क्यान्सरको महत्वपूर्ण औषधि रहेको अनुभव समेटेको बताउनुभयो ।

सरल र सरस नेपाली भाषामा अनुवाद गरिएको उक्त पुस्तक साजसज्जा र कभरसहित १ सय पेजमा समेटिएको छ । यसको मूल्य रु. ५ सय ५० रहेको छ । यो पुस्तक बर्मेली भाषामा पनि अनुवाद गर्ने तयारी भैरहेको जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्