घुँडा दुखाइको सही उपचार



डा. अरुणा उप्रेती

‘मेरो त घुँडाको हाड नै खिइएजस्तो छ, अब त जीवनभर खोच्याएर हिँड्न पर्ने भयो ।’ उनले साथीभाइसँग पनि सल्लाह गरिन् । प्रायः सबैले घुँडाको हाड खिइयो, आराम गर, युरिक एसिड भयो, अब प्रोटिन नखाऊ भन्नेजस्ता सल्लाह दिए । यस्ता सल्लाहले मात्र काम दिएन । त्यसपछि उनी हड्डी विशेषज्ञलाई देखाउन गइन् ।

चिकित्सकले जाँच गरेर भने, ‘तपाईंको हड्डी खिइएको पनि होइन, युरिक एसिड बढेको पनि होइन । घुँडाको तल र माथिका मांसपेशीहरु कमजोर भएकोले दुखेको हो ।’ उनको घुँडाको एक्सरे देखाउँदै पुनः भने, ‘खोइ तपाईं के खानुहुन्छ ? तपाईंको घुँडा त ४० वर्षको महिलाको जस्तो छ, हाड खिइएको छैन । तपाईंले विशेषज्ञबाट सिकेर घरमा हरेक दिन व्यायाम गर्नुपर्छ । जुत्ता पनि विशेष किसिमको लगाउनुपर्छ । साथै तौल घटाए झन् राम्रो ।’

आफ्नो घुँडा नखिइएको सुनेर ती महिला दङ्ग परिन् । त्यही दिनदेखि उनले फिजियोथेरापी केन्द्रमा गएर केही व्यायाम सिकिन् । घरमा आएर पनि प्रत्येक दिन व्यायाम गरिन् । पहिलो दिन केही गाह्रो भयो । घुँडा बढी दुखे चिसो पानीले सेक्नु भन्ने उनले सल्लाह पाएकी थिइन् । त्यही अनुसार घुँडा बढी दुख्दा बरफको टुक्रालाई कपडामा राखेर सेकिन् । ५–६ दिनपछि उनलाई घुँडाको दुखाइमा केही कमी आयो । घुँडा दुखेर चल्न पनि गाह्रो पर्ने उनलाई भ¥याङ माथि–तल गर्दा पनि सहज लाग्न थाल्यो । तर पूर्णरुपमा ठीक हुन त झन्डै ३ हप्ता लाग्यो ।

उनले आफ्नो भोजनमा आलस, तिल, मुगरेलो, मेथी, फर्सीको दाना पनि दिनदिनै खान्थिन् । २ हप्तापछि उनको दुखाइमा ७० प्रतिशत कमी आयो । उनी पुनः फिजियोथेरापी केन्द्रमा गएर खुट्टाको केही नयाँ व्यायाम पनि सिकिन् । उनले हिलवाला जुत्ता चटक्कै छोडिन् । तौल पनि २ किलो जति घटाइन् । अहिले उनले व्यायामलाई दैनिक जीवनको अङ्ग नै बनाइएकी छिन् । यस्ता धेरै महिला र पुरुषहरु छन् जो हाड–जोर्नीको दुखाइले हैरान हुन्छन् ।

तर के गरेर दुखाइ कम गर्ने भन्ने थाहा हुँदैन । चिकित्सकको परामर्श लिएर उपचार गर्नु त पर्छ नै, उमेरसँगै हुने हड्डीको क्षय र घुँडा दुख्ने समस्यालाई पूर्णरुपले निराकरण गर्न नसकिए पनि स्वस्थ जीवनशैली, व्यायाम, सजिलो जुत्ता आदिले दुखाइ कम गर्न सकिन्छ । हरेकचोटि घुँडा दुख्नेबित्तिकै घुँडाको हड्डी नै खिइएको भन्ने आम विश्वास सधैँ सत्य हुँदो रहेनछ । घुँडाको मांसपेशीको कमजोरीको कारणले घुँडा दुख्न सक्छ । शारीरिक तौल ठिक्क भएको मानिसको तुलनामा मोटो मानिसको घुँडा दुख्ने समस्या ४ गुणा बढी हुन्छ । त्यसैले तौललाई बढ्न नदिन युवाहरु पनि जागरुक हुनुपर्छ ।

५ फिट उचाइ र ८० किलो तौल भएकी मिनालाई घुँडा दुख्ने समस्या भएको थियो । स्वास्थ्यकर्मीले उनलाई स्वस्थकर खाना खाएर र व्यायाम गरेर शरीरको तौल घटाउन सल्लाह दिए । मिनाले १२ महिनामा २५ किलो तौल घटाइन् । उनले खानामा भात र रोटी कम गरिन् । दाल र तरकारी बढी खाइन् । अहिले उनको घुँडा दुखाइ हराएको छ । मिना अहिले पनि याद गर्छिन् । ‘१० वर्षअघि मेरो घुँडा नदुखेको भए मैले तौल घटाउन प्रयत्न गर्दैनथेँ । अनि अहिलेसम्म मलाई कति किसिमका रोग लागिसक्थे होलान् ।’

ढाड र घुँडा कहिल्यै पनि नदुखेको मानिस शायदै होलान् । यी दुवै दुखाइले दैनिक जीवनमा असर पर्न थालेपछि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ गइहाल्नुपर्छ । घुँडाको दुखाइ कम होस् भनेर युवावस्थादेखि नै शरीरको तौलमा ध्यान दिनुपर्छ । व्यायाम दिनदिनै गर्नुपर्छ । घुँडाले शरीरको भार उठाउने भएकाले घुँडालाई धेरै भार नपर्ने किसिमको शरीरको तौल सन्तुलित तथा ठिक्क राख्नुपर्छ । घुँडाको हड्डी जोड्ने कोषहरुको समुह रबरजस्तै नरम र चिल्लो ‘कार्टिलेज’ हुन्छ । यही कार्टिलेजले गर्दा हामी सजिलैसँग घुँडा मारेर, टुक्रुक्क परेर, घुँडा खुम्च्याएर बस्न सक्छौं ।

घुँडालाई जताततै घुमाउन सक्छौं । मोटोपन भए, धेरै चोटपटक लागे यही कार्टिलेजलमा चोट पर्छ । अनि घुँडा सुन्निने, दुख्ने, रातो हुने हुन्छ । हिँड्न र बसेर काम गर्नुपर्दा पनि गाह्रो हुने हुन्छ । घुँडा मारेर लामो समय बस्दा पनि घुँडा दुखाइको समस्या आउँछ । त्यसैले यसरी काम गर्नेहरुले पनि समय–समयमा बसाइ फेर्नुपर्छ । कम्प्युटरमा काम गर्नेहरुले त एक–एक घन्टामा केहीबेर उठेर हिँड्नुपर्छ ।

केही मानिस जिम गर्दा आफ्नो क्षमताभन्दा बढीको व्यायाम एकैचोटि शुरु गर्छन् । कतिपय खेलकुद गर्दा धेरै लड्छन् । यसले गर्दा कार्टिलेजमा पनि चोट लाग्न सक्छ । विभिन्न संक्रमणले पनि घुँडा दुख्छ । यस्तो बेला घुँडा रातो र सुन्निएको देखिन्छ । संक्रमणको उपचारपछि यो दुखाइ कम हुुन्छ ।

घुँडा अनेक कारणले दुख्ने हुन्छ । अस्वस्थ जीवनशैली, हड्डी क्षयको कारणले पनि घुँडा दुख्न सक्छ । घुँडाको समस्या आउन नदिन क्याल्सियमले भरिपूर्ण भोजनहरुको साथै दैनिक घाममा पनि बस्ने गर्नुपर्छ । हिँडेर व्यायाम गर्दा कडा पिच भएको बाटोमा छिटो–छिटो हिँड्ने वा दौडिने गर्नुहुँदैन । घाँसको मैदान, बालुवा भएको ठाउँमा हिँड्ने गर्नुपर्छ । हड्डी रोग विज्ञले घुँडाको दुखाइ कम गर्न विशेष किसिमको जुत्ता लगाउने सल्लाह दिन्छन् । घुँडाको दुखाइ शुरु हुनुभन्दा अघि नै लगाए झन् बेस ।

घुँडाको दुखाइको समस्या आउन नदिनका लागि व्यायाम गर्न सकिन्छ । घुँडामा रक्तसञ्चार राम्रोसँग गर्न तथा घुँडाको वरिपरिका मांसपेशीहरु बलियो बनाउनका लागि तल भनिएबमोजिम व्यायाम गर्न सकिन्छ । एक खुट्टामा १० सेकेन्ड जति उभिने र अर्को घुँडा सीधा राख्ने । १० सेकेन्ड सकिन्न भने भित्ताको सहारा लिन सकिन्छ । यो दुवै खुट्टाले १०–१० चोटि गर्नुपर्छ । एक दिनमा ३–४ चोटि यो व्यायाम गर्नुपर्छ ।
यस्ता किसिमका थुप्रै व्यायमले घुँडा र जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छन् । तर यो जानकार व्यक्तिसँग सिकेर मात्र गर्नुपर्छ । कतिपय आयुर्वेदिक एवं प्राकृतिक चिकित्सकले पनि यो विषयमा सल्लाह दिने गर्छन् । साथै जीवनशैली परिवर्तनसम्बन्धी सुझावहरु पनि उपयोगी हुन्छन् ।

घुँडाको दुखाइले सुत्न नै गाह्रो हुन्छ भने केवल व्यायामले मात्र पुग्दैन, विज्ञहरुको सल्लाह लिनै पर्छ । घुडाँको दुखाइ कम गर्न स्वस्थ जीवनशैलीमध्ये हाई हिल भएको जुत्ता नलगाउनु पनि एक हो । यदि कतै जाँदा काम विशेषले ठूलो हिलको जुत्ता लगाउनुपर्ने भएमा काम सकिनेबित्तिकै त्यो जुत्ता फुकालिहाल्नु उचित हुन्छ । महिलाहरुले दिनभरि हाई हिल भएको जुत्ता लगाउँदा उनको पुठ्ठा, कम्मर र घुँडा तीनवटै दुख्न सक्छ । त्यसैले महिलाहरुले विचार गर्नुपर्छ । सुन्दरताको लागि स्वास्थ्य किन बिगार्ने ?

घुडाँ दुखेको मानिसलाई व्यायाम गर्दा शुरुमा केही दिन दुखेको जस्तो हुन्छ । तर चिसो पानीले सेकेर, दुख्न कम हुने औषधि खाएर भए पनि व्यायाम छोड्नुहुँदैन । दुखेको बेलामा भ¥याङ ओर्लिने, उक्लनेचाहिँ सकेसम्म कम गर्नुपर्छ ।शरीरका विभिन्न दुखाइको समस्या कम गर्न दूध र बेसार  ने पुरानो राम्रो चलन छ ।

डाको दुखाइका साथै कतिपयलाई खुट्टाका कुर्कुच्चा दुखेर पनि हिँड्न गाह्रो हुन्छ । शारीरिक तौल बढ्नु र नमिलेको जुत्ता लगाउँदा पनि कुर्कुच्चाको दुखाइ बढ्न सक्छ । कुर्कुच्चाको हड्डीभित्र बोसोको एक पत्र हुन्छ । विभिन्न कारणवश जब यो पत्र तन्किन्छ वा खिइन थाल्छ अनि कुर्कुच्चाको हड्डीको दुखाइ शुरु हुन्छ । विभिन्न अफिसमा काम गर्ने महिलाहरुले लामो समयसम्म ठूलो हिल भएको जुत्ता लगाउँदा पनि कुर्कुच्चाको दुखाइ बढ्न सक्छ । सौन्दर्य बढाउन लगाउने जुत्ताले अस्वस्थ नपरोस् भनेर विचार गर्नुपर्छ ।

कुर्कुच्चाको दुखाइ कम गर्न लामो समयसम्म नउभिने, टाढा–टाढा एकैचोटि वा लगातार नहिँड्ने, तौल घटाउने गर्नुपर्छ । गिलोे तलुवा भएको जुत्ता लगाउनुपर्छ । खुट्टाको व्यायाम दिनदिनै गर्नुपर्छ । धेरै दुख्दा दुखेको पैतालामा बरफ कपडामा बेरेर राख्नुपर्छ । साथै तातो नुन–पानी बाल्टिनमा राखेर खुट्टा डुबाउने गर्नुपर्छ ।

– डा. भाष्कर पन्त, हाडजोर्नी विशेषज्ञ

शल्यक्रिया अन्तिम विकल्प मात्र
७० वर्षीया एक महिला मकहाँ घुँडा दुखेको उपचार गर्न आउनुभयो । उहाँलाई साधारण औषधि र फिजियोथोरापी गराइयो । उहाँको घुँडा दुखेको निको भयो । एक दिन त उहाँलाई टीभीमा ‘आयुर्वेदिक तेल दलेर मेरो घुँडा दुखेको निको भएको भनेर’ एक विज्ञापनमा बोलेको देखेँ । मैले उहाँलाई सोधेँ, ‘तपाईंलाई मैले उपचार गरेर ठीक भएपछि कसरी आयुर्वेदिक तेलको मालिस गरेर ठीक भएको भनी बोलेको ?’ उहाँले भन्नुभयो, ‘मलाई रु. १५ हजार दिइयो र यो तेल मालिस गरी ठीक भएको भनी बोलिदिनुस् न भने, मैले पनि बोलिदिएँ ।’

यसरी टीभीमा अनेक थरीका तेल मालिस गरेर घुँडा दुखेको ठीक भएको भ्रमपूर्ण विज्ञापन आउँछन् । तिनमा विश्वास गर्नुहुँदैन । गाउँघरमा मानिसहरु नाङ्गो खुट्टा हिँड्छन् । खेतबारीमा हिलोमा काम गर्छन् । उनीहरुको जीवनशैलीले नै व्यायाम भइसकेको हुन्छ । उनीहरुको खुट्टाको मांसपेशी पनि बलियो हुन्छ । त्यहाँ घुँडा दुख्ने समस्या पनि कम हुन्छ । शहरमा अस्वस्थ जीवनशैली, मोटोपन, मधुमेह आदिको समस्याले पनि घुँडा दुख्ने समस्या बढेको छ । तर घुँडा दुख्ने समस्या हुनेबित्तिकै घुँडाको हड्डी नै खिइएको भन्ने होइन । घुँडावरिपरिका मांसपेशीहरुको कमजोरीले गर्दा पनि घुँडा दुख्ने हुन्छ । त्यो बेला फिजियोथेरापी र घरमा नै हरेक दिन व्यायाम गरेपछि बिस्तारै निको हुन्छ । विदेशतिर पलेटी कसेर बस्ने, टुक्रुक्क बस्ने, वज्रासनमा बस्ने गर्नाले घुँडा दुख्छ भन्छन् ।

वास्तवमा यो कुरासँग म सहमत छैन । पलेटी कसेर भुइँमा बस्नु, वज्रासनमा बस्नु त हाम्रो स्वस्थ जीवनशैलीको परिचायक हो । तर आजकाल टेबलमा बस्ने, खाने, टेबलमा काम गर्नेजस्तो अस्वस्थ जीवनशैलीले घुँडा दुख्छ । दुखेपछिचाहिँ त्यो उपचार भएर ठीक नहुन्जेलसम्म यसरी पलेटी कसेर बस्नुहुँदैन । कतिपयले घुँडा दुख्ने भएमा र घुँडा खिइएपछि त घुँडा नै फेर्नुपर्छ भन्ने विचार गर्छन् । वास्तवमा घुँडाको शल्यक्रिया त अन्तिम विकल्प हो । घुँडाको व्यायाम गर्ने, काम गर्ने शैली फेर्ने हो भने कतिपय घुँडा दुखाइ बिस्तारै कम हुन्छ । घुँडा दुख्दा कतिजनाले तातोले सेक्छन्, यो गलत हो । घुँडा दुखेपछि चिसोले सेक्नुपर्छ ।

वास्तवमा मैले गाउँघरका मानिसहरुको घुँडाको एक्सरे गर्दा देखेको छु कि उनीहरुको घुँडा बाङ्गो भइसकेको हुँदा पनि दुखाइ हुँदैन । त्यस्ता व्यक्तिहरुलाई शल्यक्रिया गर्नुपर्र्दैन । दुखाइ छैन, दैनिक जीवनमा केही प्रभाव पारेको छैन भने शल्यक्रिया गर्नुपर्दैन ।
घुँडा दुखेको बेलामा सकिन्छ भने पौडी खेल्ने वा पानीमा हिँड्ने व्यायाम उत्तम हुन्छ तर सबैको लागि यो सम्भव नहोला । त्यसैले व्यायामचाहिँ घरमा नै बसेर गर्दा पनि हुन्छ ।

घुँडा दुखेपछि अहिले कतिपय स्वास्थ्यकर्मीले बजारको प्रोटिन बिस्कुट, महँगा प्याकेटका खाना खानु भनेर लेख्छन् । म कहिल्यै पनि बिरामीलाई यस्तो सल्लाह दिन्न । हो, प्रोटिनको जरुरत पर्छ । अण्डा, माछा, दालहरु खाने भनेर सल्लाह दिन्छु । शाकाहारीलाई चिज, तोफु, पनिर आदि खान सल्लाह दिन्छु । अहिले विदेशमा बसेका छोराछोरीले आमाबाबालाई अनेक थरीका क्याल्सियम, माछाको तेल पठाइदिन्छन् । त्यस्तोको जरुरत पनि पर्दैन । त्यसको सट्टा प्रोटिन भएका खाना किन्न पैसा पठाए हुन्छ ।

अहिले नेपालमा गहुको रोटी, चिउरा आदिको सट्टामा ‘बोट मिल’ खाने खूब चलन छ । कोदो, फापरजस्ता स्थानीय खानेकुरामा प्रोटिन र रेसादार तत्व बढी हुन्छ । तिनलाई चाहिँ वास्ता गरिन्न । यस्ता वस्तु उत्तम हुन्छन् ।

जुत्ता नमिलेर पनि कतिपयको घुँडा दुखिरहेको हुन्छ । यसतर्फ प्रायः मानिसको ध्यान जाँदैन । त्यसैले शरीरका लागि अनुकूल एवं सजिलो जुत्ता लगाउनुपर्छ । घुँडा दुख्ने कारणहरुमध्ये उमेरको कारण हुने चोटपटक पनि हो । यसको उपचार बेलैमा गर्नुपर्छ । प्राकृतिक जमिन, बालुवा, घाँस भएको ठाउँमा हिँड्नु पनि एक व्यायाम हो । तर शहरमा त्यस्तो ठाउँ कमै हुन्छ । त्यसैले जुत्तामा नै ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्