डेंगु: उपचार छैन, बच्ने उपाय गरौ“



भगवती तिमल्सिना

डेंगुले यस वर्ष पनि महामहारीको रुप लिन लागेका संकेतहरु देखिन थालेका छन्, तर नियन्त्रणका लागि सरकारले जति प्रयास गर्नुपर्ने हो त्यति गर्न नसकेको विशेषज्ञहरुको गुनासो रहेको छ । नेपालमा हरेक वर्षजस्तो डेंगुको संक्रमण फैलिँदै गएको छ । गतवर्ष त मुलुकभर डेंगु व्यापकरुपमा फैलियो र काठमाडौं उपत्यकामा महामारीको रुप लिएको थियो । यस वर्ष पनि त्यसरी महामारीको रुप नलेला भन्न सकिन्न । तर सरकारले डेंगुलाई महामारीको रुपमा फैलिन नदिनका लागि कुनै विशेष अभियान वा कार्यक्रम सञ्चालन गरेको पाइएको छैन ।

डेंगु के हो र कहाँ बस्छ ?

‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ अनि त्यही लार्भा वयष्क भएर टोकेपछि डेंगु रोग लाग्छ । यो विशेष गरी सफा पानी जम्ने ठाउँमा बस्छ । प्रायः गाडीको टायर, स–साना प्लास्टिक, प्लास्टिकका भाँडा, गमला, कुलरको पानी, ट्वाइलेट, बाथरुम, बाल्टी, जग, नयाँ घर बनाएका ठाउँहरुमा फालिएका स–साना प्लास्टिकका टुक्रा, रुखको टोड्कामा समेत लामखुट्टेले फूल पार्छ र बच्चा हुर्काउँछ ।

सन् २००४ मा नेपालको चितवनमा एकजनामा देखा परेको डेंगु लामखुट्टेको संक्रमण सन् २०२२ मा नियन्त्रणबाहिर गई काठमाडौंमा महामारीको रुप लिएको थियो । यो वर्ष २०२३ अगस्त दोस्रो सातासम्ममा डेंगु तीव्र गतिमा बढ्नाले सुनसरीको धरानमा मात्र १० हजारभन्दा बढी संक्रमित हुनुका साथै ११ जनाको मृत्यु भैसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यति बेला ७४ जिल्लामा डेंगुको संक्रमण फैलिसकेको छ । गतवर्ष काठमाडौंमा धेरै फैलिएको डेंगु यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा फैलिएको छ ।

महामारीको रुप लिँदै गरेको डेंगु संक्रमितको संख्या धरानमा मात्र १० हजार नाघेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार श्रावण २८ गतेसम्म १० हजार २ सय १८ जना बिरामी पुगेका छन् । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये धरानमा मात्र ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका रहेका छन् ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार जेठ २३ गते ३० वर्षीया महिला, असार १५ गते ४०, वर्षीया महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीया महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, साउन १० गते २९ वर्षीया महिला र साउन ११ गते १० वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भैसकेको छ । साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसै गरी मृत्युको सूचना महानगरलाई ढिला गरी प्राप्त हुने गरेको पनि मेहताले जानकारी गराउनुभयो ।

डेंगु संक्रमणको उच्च रुप लिएकै कारण धरानमा घर–घरमा डेंगु संक्रमितको संख्या बढ्दो क्रममा छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयदेखि सभागृह र उद्योग वाणिज्य संघसमेत भरिएको छ । यो अवस्थालाई ध्यानमा राखी स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाको माग गरेको मेहताले जानकारी गराउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानको अवस्थालाई मध्यनजर गर्दै ‘जनस्वास्थ्य आपत्कालीन अवस्था’ घोषणाका लागि केन्द्र र प्रदेश सरकारलाई अनुरोध गरेको बताउनुभयो ।

यस विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ, ‘देशभर डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । जनवरीदेखि अगस्त दोस्रो सातासम्म तीव्र गतिमा बढेको छ, जसमा आधाभन्दा बढी सुनसरी जिल्लाका नागरिक रहेका छन् । सुनसरीमा मात्र १० हजारभन्दा बढी, मोरङमा १ हजार ५ सय २४, धादिङमा १ हजार १ सय ४०, झापामा ८ सय ८९, कास्कीमा २ सय २७, धनकुटामा २ सय २३, दार्चुलामा १ सय ९३, काठमाडौँमा १ सय ९३, संखुवासभामा १ सय ४८ जना र कञ्चनपुरमा ८१ जना संक्रमित रहेका छन् । ’

सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । सरकारले डेंगु नियन्त्रणका लागि स्थानीय निकायलगायत तीनै तहका सरकार र आम नागरिकलाई घरवरिपरि सफा राख्न, खाल्टाखुल्टी पुर्न, गमला तथा पानीका भाँडामा पानी जम्न नदिन, घरबाहिर खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाउन, गाईवस्तुको गोठ सफा र सुरक्षित राख्न, घरको झ्याल–ढोकामा जाली राख्न र झुल राखेर मात्र सुत्न अनुरोध गरेको छ ।

बर्सेनि डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि सरकारले झुल, धूप वितरण गर्ने र प्रचारप्रसार गर्ने गरे पनि नियन्त्रणका लागि समयमै पहल गर्न नसकेकै कारण हरेक वर्ष वर्षा यामसँगै डेंगुका बिरामी वृद्धि हुँदै गएका छन् । विगत ३ वर्षको अवधिमा कोरोना भाइरसको महामारी फैलिएर नेपाललगायत विश्वको अर्थतन्त्र नै तहसनहस पारिदियो । फेरि गतवर्षदेखि नेपालमा महामारीकै रुपमा डेंगुको संक्रमणले थप चुनौती दिइरहेको छ । डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोक्छ र डेंगु फैलिँदै जान्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार ‘डेंगुको लक्षण भनेको ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, खाना खान मन नलाग्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, अपच हुने आदि रहेका छन् । यस्तो अवस्थामा सुप, तातोपानी, जाउलो तथा झोलिदो पदार्थ प्रशस्त खाने र चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्छ । जथाभावी एन्टिबायोटिकलगायतका औषधि खानु स्वास्थ्यका लागि खतरा हुन्छ । डेंगु संक्रमण भएका बेला बु्रफिनजस्ता पेनकिलर औषधि प्रयोग गर्नुहुन्न । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।’

‘सुरक्षाका लागि झुलको प्रयोग गर्ने, लामो बाहुला भएको शरीर ढाक्ने कपडा लगाउने, घरवरिपरि पानी जम्न नदिने, पानी भरेका भाँडाकुडा छोपेर राख्ने, कुलरलगायतको पानी समय–समयमा फेर्ने, ट्वाइलेट, बाथरुम पनि सफा राख्ने र घरको झ्याल–ढोकामा जाली लगाउने गरेमा डेंगुबाट जोगिन सकिने डा. पुन बताउनुहुन्छ । डेंगु संक्रमित लामखुट्टेले विशेष गरी दिउँसोको समयमा टेबुलमुनि बसेर अथवा खुल्ला ठाउँमा पनि टोक्छ । एउटा संक्रमित लामखुट्टेले धेरै जनालाई टोक्ने र रोग सार्ने हुनाले यसबाट जोगिनका लागि हरेक घरका व्यक्ति सक्रिय भएर सरसफाइमा जुट्नुपर्छ ।’

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको छ । गत साउन १० गते ४ हजार ६ सय १९ जनामा देखिएको सङ्क्रमण बढेर साउनको अन्तिम साता पुग्दा २० हजारको हाराहारीमा पुगेको भए पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रेकर्डमा अगस्त १५ सम्म पनि पुरानै तथ्यांक रहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका लागि भदौ–असोजसम्म मौसमसमेत अनुकूल हुने बताइन्छ । डेंगुको उच्च संक्रमण रहेका १० जिल्लामा सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौ, संखुवासभा, म्याग्दी, कन्चनपुर, रुपन्देही, मोरङ रहेका छन् । डेंगु रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय हो ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ, ‘वर्षातको समय र वर्षात सकिनासाथै फैलने डेंगु रोग देखा पर्छ । डेंगु मान्छेबाट मान्छेमा सर्दैन । यो वर्ष धरानमा डेंगु व्यापक रुपमा फैलिएको छ । काठमाडौंमा धेरै संक्रमित बिरामी अस्पताल नआएको भए पनि बिरामी भने बढेका छन् । डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्छ र रक्तश्राव गराउँछ । डेंगुको विशेष औषधि यही भन्ने छैन, लक्षणमा आधारित उपचार गर्ने हो । औषधि छैन भन्ने भएकै कारण बिरामीको संख्या अस्पतालमा कम छ । यसमा दुखाइ हड्डी नै भाँचिएजस्तै अत्यधिक हुन्छ । यसका साथै नाक, मुख, दिसाबाट अत्यधिक रक्तश्राव हुने, बान्ता हुने भएमा तत्काल चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्ने हुन्छ ।

डेंगुका बिरामी बढ्दै गएसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु क्लिनिक तथा ३० बेडको वार्ड सञ्चालनमा ल्याएको छ । धादिङमा पनि जिल्ला प्रशासन कार्यालयले सबैलाई डेंगु नियन्त्रणका लागि सचेतना जगाउँदै छ । त्यस्तै काठमाडौं महानगरपालिकाले २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । साथै बिरामीलाई १०२ नम्बरको निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि सुझाव दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगुबाट जोगिन आम नागरिकलाई आ–आफ्नो तर्फबाट सक्दो पहल गर्न अपिल गर्नुभएको छ ।
डेंगु संक्रमणको अवस्था सन् २००४ देखि २०२३ अगस्त १० सम्म:
सन् संक्रमित संख्या

स्रोत: स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया दिनुहोस्