विश्व अंगदान दिवस मनाइयो



भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले गत साउन २८ गते विशेष कार्यव्रmमको आयोजना गरी विश्व अंगदान दिवस मनायो । मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट गरिने प्रत्यारोपणसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतीको प्रमुख आतिथ्यता, भक्तपुर जिल्लाका चारवटै नगरपालिका नगर प्रमुखहरु र वडा अध्यक्षहरुलगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा सञ्चालन गरिएको थियो ।

विकसित मुलुकमा मस्तिष्क मृत्युपश्चात् प्राप्त अंगबाट ७० प्रतिशतभन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्युपश्चात् हुने अंगदान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ । सो अवसरमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भन्नुभयो, ‘नेपालजस्तो गरिब मुलुकमा जीवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा अंग प्रत्यारोपण गर्नुपर्दा दोहोरो खर्च हुने हुँदा बढी खर्चिलो पर्न गएको छ ।

यदि मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुनुका साथै जीवित व्यक्तिबाट अंग झिक्न नपर्दा उसको स्वास्थ्यमा आउन सक्ने समस्या पनि हुने छैन ।’ साथै उहाँले मानव अंग प्रत्यारोपण केन्द्रका भौतिक संरचना विकास र सेवा विस्तारको लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिकाभित्रका सबै तहलाई अनुरोधसमेत गर्नुभयो ।

‘प्रत्येक १० जनामध्ये एकजनालाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरि नै मृगौला रोग बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरुबारे सबैलाई सचेत गराउन आवश्यक छ । नेपालमा बर्सेनि करिब ३ हजार जनाको मृगौला फेल हुने गरेको र उनीहरुमध्ये अंग नपाएर केहीको अकालमा मृत्यु हने गरेको छ’, केन्द्रका प्रमुख कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा. कल्पनाकुमारी श्रेष्ठले बताउनुभयो ।

विश्व अंगदान दिवसको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकका नगर प्रमुख सुनील प्रजापतीले ‘भक्तपुर नगरभित्र अंगदानका सम्बन्धमा व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने र अंगदानको क्षेत्रमा एउटा नमुना नगरपालिकाको रुपमा स्थापति गराउन सधैँ पहल गर्ने’ बताउनुभयो ।

सुर्तीजन्य वस्तुमा प्लास्टिक निषेध

सरकारले अन्तःशुल्क नियमावलीमा संशोधन गरी सुर्तीजन्य पदार्थलाई आगामी २०८१ वैशाख १ गतेदेखि प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने नियम बनाएको छ । २०८० को अन्त्यसम्ममा यस्ता वस्तु उत्पादन गर्ने कम्पनीहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ ।

नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानले १ वैशाख २०८१ देखि प्लास्टिकबाहेकका जैविकरुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’

सरकारको नियम अनुसार अब आयातकर्ताले समेत नेपालभित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् । उनीहरुले पनि यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्